site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
जो कसैसामु झुकेन
Sarbottam CementSarbottam Cement

– नरेश फुयाँल


०१७ वैशाख ३० गते ‘सगरमाथा संवाद समिति’ स्थापना भयो । त्यसमा काम गर्ने पत्रकार खाँचो परेको खबर साथीहरूबाट केदारमानसिंह श्रेष्ठको कानमा प¥यो । भोलिको जिन्दगी सोचेर उनका खुट्टा त्यतै लम्किए । आवेदन दिए । पढेलेखेका थिए, विशेष प्रतिनिधिका रूपमा नियुक्ति पाइहाले ।

०१६ पुस १ गते स्थापना भएको ‘नेपाल संवाद समिति’ र ‘सगरमाथा संवाद समिति’ मर्ज भएर ०१८ फागुन ७ गते ‘राष्ट्रिय संवाद समिति’ भयो । त्यसमा चार जना सिनियर पत्रकारमध्ये केदारमान एक थिए । ‘राष्ट्रिय समाचार समिति ऐन, २०१९’ आएपछि ०१९ मंसिर १९ गतेबाट ‘राष्ट्रिय समाचार समिति’ भयो । यही समाचार संस्थाबाट केदारमानले पत्रकारिताको बाह्रखरी शुरु गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

अन्तर्राष्ट्रिय समाचारका लागि भारतीय समाचार समिति ‘प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई)’को नेपाल सदस्य थियो । ‘पीटीआई’ले जस्तो समाचार दिन्छ, रेडियो नेपाल र ‘गोरखापत्र’ले त्यस्तै प्रसारण र प्रकाशन गर्थे । भारत र पाकिस्तान तथा भारत र चीनबीच टकराव थियो । सरकारी समाचार समिति भएकाले भारतीय सरकारको पक्षमा समाचार आउँथे । त्यो स्पष्ट थियो । तर, पनि त्यस्तै समाचार प्रकाशन तथा प्रसारण गर्नु परिरहेको थियो । भारतीय दृष्टिकोणमात्रै नेपालका सरकारी सञ्चार माध्यममा आइरहेको थियो । त्यसमा पाकिस्तान र चीनले असन्तुष्टि जनाइरहेका थिए ।

राजा महेन्द्रलाई तत्कालीन परराष्ट्रविद तथा जानकारहरूले भने, “अन्तर्राष्ट्रिय समाचारका लागि ‘पीटीआई’ बाहेक अर्को पनि एजेन्सीको समाचार चाहियो, जसले निष्पक्ष समाचार वितरण गरोस् ।”

Global Ime bank

अमेरिकाको ‘एपी’, बेलायतको ‘रोयटर्स’ र फ्रान्सको ‘एएफपी’— कसको समाचार लिने ? ‘एएफपी’ र नेपालको विदेश नीति मिल्यो । नेपाल ‘एएफपी’को सदस्य बन्ने त भयो तर नेपालले त्यसका लागि एउटा शर्त राख्यो— नेपालका समाचार पठाउन ‘एएफपी’ले यहीँ एकजना प्रतिनिधि राख्नुपर्छ । ‘एएफपी’ले स्वीकार ग¥यो । ‘रासस’ले आफ्ना सिनियर पत्रकार केदारमानलाई अघि सार्‍यो । १८ महिनाको तालिमका लागि उनी फ्रान्स गए ।

काम भर्खरभर्खर शुरु भएको थियो । केदारमानले रिपोर्टिङ गर्न थालेका थिए । त्यही बेला राजा महेन्द्र पाकिस्तानको राजकीय भ्रमणमा जाने भए । केदारमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर रिपोर्टिङ गर्नुपर्ने भयो । लाइनमा बसेर राजाको स्वागत गर्ने चलन थियो । केदारमानले त्यस्तै गरे । त्यहाँ उनले देखे— शाहज्यादी शारदा शाह र शान्ति सिंहलाई पनि । उनीहरू पनि महेन्द्रसँगै भित्र गए । महेन्द्रसँगै उनको टोली डिपार्चर भयो । केदारमानलाई साथीहरूले भने, “सरकार डिपार्चर भइसके । अब किन बस्नू ?”

‘ठिकै त हो’ भन्दै केदारमान साथीहरूसँगै प्लेन नउड्दै कार्यालय फर्किए । समाचार लेखे—महेन्द्रका साथमा शारदा र शान्ति पनि पाकिस्तान गए ।

वित्यास पर्‍यो ! उनीहरू त महेन्द्रलाई बिदाइ गर्न मात्रै पो विमानस्थल गएका रहेछन् । त्यहीँबाट फर्किएका रहेछन् ।

रामराज पौडेल सम्पादक थिए । दण्डस्वरूप उनले केदारमानलाई एक महिना निलम्बनमा राखिदिए । “पटनाबाट पत्रकारिता पढेर आएको म एक महिनासम्म अफिस गएर हाजिरमात्रै गरेर बसें,” सामान्य हेलचेक्र्याइँ गर्दा पाएको सजाय केदारमानले सम्झिए ।

\"\"राजपरिवार सखाप भएको पहिलो समाचार

०५८ जेठ १९ गते शुक्रबार । साँझ केदारमान केन्द्रीय कारागारपछाडिको आफ्नै घरमा थिए । उनलाई फोन आयो— दरबारमा ठूलो दुर्घटना भएको छ ।

घटना सवा ९ बजेतिरको थियो । उनलाई केही समयमै सूचना आयो । घटना दुःखद् थियो तर समाचार त पठाउनै पर्‍यो । उनले फोन थिचे, कांग्रेस नेतृ सुजाता कोइरालालाई । उनले भनिन्, “केदारजी ! हो, त्यो रक्सीबाज युवराजले सबैलाई खत्तम गर्‍यो ।”

राजारानीसहित परिवारै खत्तम भएको विश्वको ध्यानाकर्षण गर्ने समाचार एकजनाले भनेकै भरमा पठाउने कुरै भएन । उनले तुरुन्तै गृहमन्त्री रामचन्द्र पौडेललाई फोन गरे, “गृहमन्त्रीज्यू ! के हो, दरबारमा त ठूलै घटना भएको सुन्छु त, हो ?”

गृहमन्त्रीले भने, “ए केदारजी ! बर्बाद ! बर्बाद ! सबै खत्तम भयो ।”

“कसले ?”

“त्यही गजडी पियक्कडले त हो नि ! लागूपदार्थ खानेको बुद्धि बिग्रिएकाले त हो नि !”

केदारमान ट्याबमा समाचार टाइप गर्न थाले । उनका छोराले भने, “ड्याडी, राजारानीसहित पूरै दरबार नै सखाप भएको समाचार एक–दुई जनाले भन्दैमा विश्वास गरेर नपठाऊँ । भोलि झुन्डाउँछ सेनाले ।”

उनले अर्को फोन गरे आफ्नै डक्टर साथीलाई, जो राजा वीरेन्द्रका निजी फिजिसियन थिए । पहिलो घण्टीमै फोन उठाए ।

केदारमानले नेवारी भाषामा सोधे, “ए डाक्टरसाब, राजारानीसहित दरबार त सखाप नै भयो भन्छन् त हो ?”

उनले पनि नेवारी भाषामै भने, “ख (हो) । म अहिले व्यस्त छु, पछि म तिम्रो कल रेस्पोन्स गर्छु ।”

डक्टर, त्यो पनि आफ्नै साथीले ‘हो’ भने । तीन जनाले कोट नगर्ने शर्तमा ‘हो’ भने । अब केदारमान विश्वस्त भए— राजारानीको हत्या भएकै हो । वीरेन्द्रको वंश विनाश भएकै हो ।

घटनाबारे दरबारले केही नबोले पनि उनले ‘बीबीसी वल्र्ड सर्भिस’का लागि विभिन्न व्यक्तिको प्रत्यक्ष/अप्रत्यक्ष कोट राखेर समाचार फाइल गरे । सबैभन्दा पहिलो उनकै समाचार विश्वभर फैलियो ।

“मलाई नेताहरूले गर्ने विश्वासका कारण पनि उनीहरू मसँग बोले र अरूभन्दा करिब ४०–४५ मिनेट नै एड्भान्स थिएँँ,” केदारमान दरबार हत्याकाण्ड सम्झिन्छन्, “त्यो समाचार प्रसारण भइसक्दा पनि कतिले विश्वासै नगरेर ‘बीबीसी’को कार्यालयमा फोन गरेका थिए रे !” 

(दरबार हत्याकाण्डको समाचार कसले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा ब्रेक ग¥यो भन्नेमा धेरैले दाबी गर्दै आएका छन् ।)

प्रधानमन्त्रीको धम्की

पञ्चायती व्यवस्था थियो । मरिचमान सिंह प्रधानमन्त्री थिए । उनी आफैंले फोन गरेर भने, “केदारमानजी, तपाईंले यो राजदरबार र राजाको विरोधमा चाहिने÷नचाहिने अफवाह फैलाउने समाचार रोक्नु पर्‍यो । हैन भने सहँदैनौं ।”

केदारमानले भने, “प्रधानमन्त्रीज्यू ! म त भोलि बाटोमा हिँड्ने मान्छे, जनताले मलाई समातेर हान्दैनन् ? मार्दैनन् ?”

मरिचामानले भने, “जनताले लात हानोस्/नहानोस्, तपाईंले यो रोक्नुभएन भने हामी तपाईंको घरमा आगो लगाउन पठाउँछौं ।”

केदारमानलाई पनि रिस उठ्यो, भनिदिए, “ए प्रधानमन्त्रीज्यू ! के कुरा गर्नुभएको ? मेरो घरमा ८० वर्षका बुवामुवासहित १४–१५ जना मान्छे छौं । तपाईंलाई मसँग रिस उठेको छ भने मलाई बोलाएर ड्याम्म गोली हानेर मार्दिए तपाईंको इन्ट्रेस्ट त्यसबाटै पूर्ति भइहाल्छ । किन मेरो घरमा लागो लगाउनु पर्‍यो ?”

उनले यत्ति के भनेका थिए, मरिचमानले ढ्याक्क फोन राखे ।

“पत्रकारको दायित्व, धर्म र चरित्रसँग उसको कलमको निबको सम्बन्ध छ, मैले कसैको एक पैसा पनि नलिएर पत्रकारिताको धर्म र मर्मलाई केन्द्रमा राखेर काम गरेकैले प्रधानमन्त्रीसँग पनि सवालजवाफ गर्न सकें,” केदारमान भन्छन्, “रक्सी खायो, एकैछिनमा पिसाब गरेर सकिन्छ । अरु खायो, भोलिपल्ट ट्वाइलेट जानेबित्तिकै सकिन्छ । त्यसको लोभमा फसेर पत्रकार जिन्दगीभर अरूको हेपाइमा इमान र जमान बेचेर बस्नुपर्छ । यसो गर्ने पत्रकारले कहिल्यै पनि स्वच्छन्द भएर कलम चलाउन सक्दैन । मैले कसैको एक पैसा पनि खाइनँ । प्रलोभनमा परिनँ । त्यसैले दरबारले मलाई कहिल्यै पनि मन पराएन । त्यही भएर मैले स्वतन्त्र पत्रकारिता गर्न सकें ।”

कर्के आँखा लगाउने दरबार

दबारका सचिवहरू राजाको गुणगान गाइदियोस् भन्थे । केदारमान भएको कुरा लेख्थे । त्यो दरबारका सचिवहरूलाई ग्राह्य हुँदैनथ्यो । त्यसैले दरबारका संवाद सचिवहरूले कहिल्यै उनलाई मन पराएनन् ।

एकपटक अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उत्कृष्ट कभरेज गरेको भन्दै राजा स्वयंले केदारमानलाई ‘गोरखा दक्षिणबाहु तेस्रो’ले विभूषित गर्ने निर्णय गरेछन् । केदारमान भन्छन्, “त्यो बेला राम्रो काम गर्नेलाई ‘गोरखा दक्षिण बाहु पाँचौं’ दिने चलन थियो । तर, मलाई तेस्रो दिने खबर आयो । मैले ‘बीबीसी’लाई सोधें । ‘बीबीसी’ले भन्यो, ‘हाम्रो पोलिसीमा लाभको कुनै पनि कुरा लिने प्रावधान छैन । कुनै व्यक्ति, संस्था अथवा राज्यबाट लाभ लिएपछि त्यसको मूल्य चुकाउनु पर्ने हुन सक्छ ।’ मैले गोरखा दक्षिणबाहु तेस्रो अस्वीकार गरें । त्यसैले त मैले लामो समयसम्म विश्वै प्रख्यात समाचार संस्था तथा मिडियामा काम गरें । समाचार लेख्दा कलम हल्लिएन ।”

\"\"

राजा महेन्द्र र शीर्ष नेता

निर्दलीय पञ्चायती व्यवस्थामा वाक् तथा प्रकाशन स्वतन्त्रता थिएन । जनताको मुख थुनिएको थियो । ‘तैं चुप्, मै चुप्’को अवस्था थियो । साहित्यिक भनेर ढाँटेर दर्ता गरिएका पत्रपत्रिकाले समाचार प्रकाशन गरे भने त्यसको आयु त्यही दिनसम्मका लागि मात्रै हुन्थ्यो । दरबार र तत्कालीन शासन व्यवस्थाको विरोध गरे पत्रिकाको दर्ता खारेज हुन्थ्यो । सम्पादक, पत्रकारको कारागार बास हुन्थ्यो । जेलनेलसम्मको भागिदार बन्नु पथ्र्यो । त्यो समयको पत्रकारले लेख्ने अक्षर–अक्षरमा अञ्चलाधीशले कैंची चलाउँथे । केदारमान सम्झन्छन्, “अलिकति दरबार र पञ्चायतको विपक्षमा भयो भने कुन बेला सरकारले कारबाही गर्छ भन्ने डर हुन्थ्यो । दरबारको पक्षजस्तो समाचार देखियो मात्रै भने यसले दरबार र पञ्चको चाकडी गर्‍यो भन्थे ।” 

केदारमान सधैं यी दुवै पक्षबाट बच्ने प्रयास गरे । बच्ने प्रयासमा उनले समाचारको मर्म र धर्ममा प्रहार भने गरेनन् । प्रायः समाचारमा एकपक्षीय कुरामात्रै नराखेर दुवै पक्षको कुरा राख्दा सबैको कुरा समेटिन्थ्यो । यसो गर्दा न कसैको हप्कीदप्कीको सामना नै गर्नु पथ्र्यो न त समाचार अपूर्ण नै हुन्थ्यो ।

यद्यपि, समाचारमा असन्तुष्टि जनाउने मरिचमानजस्ता शासकहरू पनि थिए । तर, त्यसको कहिल्यै परवाह गरेनन् उनले । आफूअनुकुलको समाचारमात्रै आउनुपर्छ भन्ने शासनसत्ताको रवाफमा धम्की दिनेहरू भने बेलाबेलामा टाउको उठाइरहन्थे । केदारमानको शीर तिनको भन्दा उँचो हुन्थ्यो ।

दरबार आफूले लादेको निर्दलीय व्यवस्थाविरुद्धको समाचार बाहिरी मुलुकमा सकेसम्म नजाओस् भन्ने मनशाय राख्थ्यो । प्रतिबन्धित कांग्रेस र कम्युनिस्टहरू पञ्चायती व्यवस्थाविरुद्धको समाचार अन्तर्राष्ट्रिय जगतसम्म पुगोस् र त्यसविरुद्ध उनीहरूले दबाब सिर्जना गरून् भन्ने चाहन्थे । र, कांग्रेस, कम्युनिस्ट नेताहरू केदारमानलाई भन्थे, “लौन केदारमानजी ! हाम्रो कुरा ‘एएफपी’ र ‘बीबीसी’मार्फत प्रचार गर्नुपर्‍यो ।”

यसो भन्ने दोस्रो तहका नेता हुन्थे । बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई (किसुनजी), मनमोहन अधिकारी, मदन भण्डारीलगायत नेताहरूले कहिल्यै पनि आफ्ना अन्तर्वार्ता ‘बीबीसी’, ‘एएफपी’मा पठाइदेऊ भनेको उनलाई सम्झना छैन ।

बीपी केदारमानलाई खुब रुचाउँथे । पत्रकार भेटघाट कार्यक्रमहरूमा पत्रकारको ठूलै संख्या हुन्थ्यो तर बीपीले केदारमानलाई बोलाएर आफूछेउमा सिट देखाउँदै भन्थे, “केदारमान यहाँ बस ।”

“म आफैंलाई लाज लाग्थ्यो र म अगाडि नै गएर बस्थें,” केदारमान सुनाउँछन्, “उहाँसम्म पुग्नलाई मलाई कुनै गाह्रो थिएन । त्रिपुरेश्वरमा नम्बर वन गेस्ट हाउस थियो । त्यसको माथि तलामा उहाँ बस्नुहुन्थ्यो । चिट लिएर जानु पथ्र्यो । पातलो–पालतो जिउको मान्छे, सधैं चिटिक्क परेर बस्नुहुन्थ्यो । रमेशनाथ पाण्डे र म कतिपटक सँगै गएका छौं । पछि रमेशनाथ पाण्डे मन्त्री पनि भए ।”

बीपी अन्तर्वार्ता दिँदा राजनीतिक स्वतन्त्रता र संसदीय व्यवस्थाको खुलेर वकालत गर्थे । यसकै लागि जिन्दगी अर्पण गरेका बीपीलाई यी दुई कुराको प्राप्तिका लागि यति खुलेर कुरा गर्थे कि लाग्थ्यो— त्यो पाएको खण्डमा सबै कुरा बिस्तारै व्यवस्थापन हुँदै जान्छ ।

मनमोहन अधिकारीले बोलेको केदारमानलाई अहिले सम्झँदा पनि सपनाजस्तो लाग्छ रे ! उनले जे–जे भन्थे, त्यही अहिले पूरा हुँदै गएका छन् । भलै केही पूरा हुन बाँकी छन् ।

जस्तै ?

जनताद्वारा निर्वाचित प्रधानमन्त्री, दलीय स्वतन्त्रता, स्वतन्त्र परराष्ट्र नीति मनमोहनका मुख्य माग हुन्थे । केदारमानलाई लाग्छ— उनी एउटा खुला किताब थिए । आफ्ना माग स्वतन्त्रतापूर्वक राख्थे । मनमा कपट थिएन । जनताप्रति समर्पित थिए । अहिले उनले भनेका कुराहरू क्रमशः लागू हुँदै गएजस्तो लाग्छ केदारमानलाई । त्यसैले मनमोहनलाई उनी दूरदर्शी नेता भन्न रुचाउँछन् ।

सानैदेखि कांग्रेसप्रति केदारमानको झुकाव थियो । गणेशमान सिंह जातीय हिसाबले पनि नेवार । केदारमान पनि नेवार । उनले गणेशमानलाई ‘दाइ’ भन्थे । गणेशमान उनलाई खुब माया गर्थे । ‘काम इमानले गर्नुपर्छ है’ भन्थे । केदारमानमा इमानको खडेरी थिएन । 

केदारमानले अर्को एउटा प्रसंग सुनाए— इमान्दारी, संस्थागत नीति र त्यसको पालनाको ।

०४६ सालको परिवर्तन भयो । दलहरूले बहुदलीय व्यवस्थाको अभ्यास गरे । तर, दलहरूमा अनुशासनको कमी देखिन्थ्यो । राजनीतिक खिचातानी थियो । राजनीतिक अस्थिरता थियो । दलहरू विकासको गतिमा हिँड्न नसकेको प्रस्टै देखिन्थ्यो ।

केदारमान राजा वीरेन्द्रको अन्तर्वार्ता लिन दरबार पुगे र सोधे, “सरकार ! दलहरू अनुशासित भएनन् । जनताले दुःख पाए । यसमा सरकार किन उचित कदम चालिबक्सन्न ?”

राजा वीरेन्द्रले अस्वाभाविक उत्तर दिए । आफ्ना दुई हातका नाडी खप्टिएर वीरेन्द्रले अंग्रेजीमा भने, “तिमीलाई थाहा छ केदार, मेरा दुवै हात र खुट्टा नयाँ संविधानले बाँधिएका छन् । त्यसैले म संवैधानिक अधिकारविरुद्ध बोल्न र केही कदम चाल्न असमर्थ छु ।”

वीरेन्द्र खासै संवाद गर्न रुचाउँदैनथे, मात्रै अरूको कुरा सुन्थे भन्छन् धेरै पत्रकार तथा उनलाई नजिकबाट चिन्नेहरू । तर, केदारमान भन्छन्, “आफूले विश्वास गरेका व्यक्तिहरूसँग जब राजा वीरेन्द्र बोल्न थाल्थे, असाध्यै फ्र्यांक भएर कुरा गर्थे ।”

महेन्द्रसँग पनि तीनपटक अन्तर्वार्ता लिए केदारमानले । क्षेत्रीय भ्रमणका क्रममा जनकपुर जाँदा धनुषामा एकजनाले उनको सवारीमा विष्फोटन गराए । तत्कालीन अञ्चलाधीश दिलबहादुर श्रेष्ठको निर्देशनमा ती विष्फोटनकारी व्यक्तिलाई काठमाडौं ल्याई झुन्ड्याएर मारियो । केदारमानले सुनाए, “वास्तवमा त्यो बम आक्रमण थिएन, अलि पावरफुल पटाका थियो ।”

जनकपुरबाट आफ्नो क्याम्प वीरगन्ज पुगेर बसे महेन्द्र । त्यहीँ केदारमानले महेन्द्रलाई सोधे, “आजको आक्रमणप्रति सरकारको धारणा के छ ?”

महेन्द्रले भने, “मैले देश र जनताको सेवाका लागि अगाडि बढ्ने निर्णय गरेको छु । यसक्रममा चाहे जस्तोसुकै घटना भए पनि अथवा मलाई कालो झन्डा र रातो झन्डाले विरोध र स्वागत गरे पनि म परवाह गर्दिनँ ।”

पञ्चायत जन्मिएको दिन

केदारमानका साथी जर्नेलका छोरा थिए । उनी पनि आर्मी अफिसर थिए । उनले भने, “ए केदार, खाना खान हिँड् जाऊँ । राति यसो आँखा चिम्लियो मात्रै भने बुटले हान्छन् । आज पनि त्यस्तै हो, खान पनि पाइँदैन । हिँड जाऊँ अहिले खान ।”

बीपी प्रधानमन्त्री थिए । गणेशमान सिंह यातायातमन्त्री । थापाथलीमा तरुण दलको सम्मेलन थियो । सम्मेलनमा उनीहरू सहभागी थिए । मञ्चमा युवती हातमा दियो बोकर नाचिरहेकी थिइन् । बीपी सोफामा अडेस लागेर मस्तसँग नृत्य हेरिरहेका थिए । सेनाहरू दौडिएर आए । चारैतिरबाट घेरा हाले । मञ्चमा उक्लिएर राजाका एकजना जर्नेल आएर बीपीलाई भने, “तपाईंलाई सरकारबाट हुकुम बक्सेको छ, तुरुन्तै जानु पर्‍यो ।”

बीपीले सोधे, “अहिले ?”

जर्नेलले ‘हो’को भावमा मुन्टो हल्लाए ।

मञ्चमा बीपीसँगै गणेशमान, गृहमन्त्री सूर्यप्रसाद उपाध्याय र सहायकमन्त्री होराप्रसाद थिए । बीपी अगाडि लागे । उनलाई क्रमशः सूर्यप्रसाद, गणेशमान र होराप्रसादले पछ्यााए । बीपीसहित चारै जना मञ्चबाट खुसुक्क निस्किए र आफ्नो मोटरतर्फ अगाडि बढे । जर्नेलले ‘होइन होइन यसमा’ भन्दै आफ्नो (सेनाको) जिप देखाए ।

केदारमान कुदेर गए र बीपीलाई सोधे, “तपाईंहरू कहाँ जान लागेको ? के गरेको यो ?”

बीपीले अंग्रेजीमा भने, “आई डोन्ट नो ।”

केदारमानले भने, “कहाँ जाँदै हुनुहुन्छ ? कहाँ लगिँदै छ ?”

बीपीले फेरि पुरानै जवाफ दोहोर्‍याए, “आई डोन्ट नो ।”

अर्को प्रश्न गर्न लागेका केदारमानलाई जर्नेलले हुत्याइदिए । केदारमान ढुल्मुनिँदै अर्कोतिर पुगे । बीपी जिपमा चढे, सँगै अरू पनि । जिप गुड्यो । दरबारले जननिर्वाचित सरकारलाई अपदस्त गरेर त्यही दिनबाट पञ्चायती व्यवस्था लागू गरे । त्यो पञ्चायतले ३० वर्ष राज गर्‍यो ।

त्यो समाचार पहिलो पटक अन्तर्राष्ट्रिय समाचार संस्थामा केदारमानले ‘ब्रेक’ गरे ।

\"\"

केदारमानलाई उनका सैनिक साथीले अघिल्लो रात सुत्न नदिएको बल्ल उनले थाहा पाए । सेनाले आफ्ना अफिसरहरूलाई भोलिपल्टको तयारीका लागि ‘अलर्ट’ राखेको रहेछ ।

‘एपी’, ‘एएफपी’ र ‘रोयटर्स’का नेपाल प्रतिनिधिहरूमा कसले पहिला समाचार पठाउने भन्ने प्रतिस्पर्धा हुन्थ्यो । केदारमान भन्छन्, “बाबु, पाँच मिनेट अगाडि–पछाडि भयो भने पनि त्यसले उनीहरूको बिजनेसमा ठूलो प्रभाव पार्दोरहेछ नि ! अरूले भन्दा पहिला समाचार ब्रेक गर्‍यो भने तत्काल त्यसको फिडब्याक आउँथ्यो । त्यसकै आधारमा सेवा–सुविधामा थप पनि हुन्थ्यो ।”

बीबीसी प्रवेश

पञ्चायतविरुद्ध चर्को आवाज उठिरहेको थियो । दलहरू पञ्चायतको चर्को विरोधमा थिए । जनता विद्यमान व्यवस्थाको पक्ष र विपक्षमा विभाजित थिए । अन्तर्राष्ट्रिय जगतलाई पनि नेपालप्रति चासो थियो ।

‘बीबीसी’लाई नेपाल प्रतिनिधि चाहिएको रहेछ । ‘बीबीसी’का दक्षिण एसिया ब्युरो प्रमुख मार्ट लीले केदारमानलाई भने, “हामीसँग किन काम गर्दैनौ केदार ? समाचार फाइल गर्न शुरु गर ।”

केदारमानले भने, “मैले ‘एएफपी’सँग अनुमति लिनुपर्छ ।”

मार्क टलीले भने, “चिन्ता नलेऊ, म तिम्रो बोससँग दिल्लीमा कुरा गर्छु ।”

उनैले ‘एएफपी’सँग कुरा गरेर अनुमति मागे । केदारमानलाई ‘बीबीसी’मा ताने । जनमत संग्रहका बेला शुरु भएको ‘बीबीसी’सँगको यात्रा १८ वर्षसम्म जारी रह्यो ।

उहिले र अहिले 

ऊ बेला स्वतन्त्रता थिएन । अहिले छ । ऊ बेला समाचार लेख्न डराउनु पथ्र्यो । अहिले पर्दैन । ऊ बेला ‘अनपढ युवक बिग्रिए ड्राइभर हुन्छन्, पढेको युवक बिग्रिए पत्रकार’ भन्थे ।

“अहिले पत्रकारिता व्यवसाय त भयो तर जसले जे पनि लेख्छ । विश्वास गर्नै सकिन्न,” केदारमान भन्छन्, “अहिले पनि पत्रकारलाई गाह्रो छ । मैले धाक लगाएर हुँदैन । मैले पो फरेन मिडियामा काम गरें । राम्रो सेवा–सुविधा पाएँ । राम्रै भयो । रिटायर्ड लाइफमा पनि सुविस्ता छ । तपाईंहरूलाई अहिले पनि गाह्रो छ ।”

८० वर्षे केदारमान अन्तिममा त्रिचन्द्र कलेजतर्फ फर्किए । आफ्ना क्लासमेट केशव झालाई सम्झिए र भने, “बाबु ! पूर्वराजदूत त्यो केशव झा मेरो कलेजको साथी हो । त्यसले न जिन्दगीमा कहिले नराम्रो काम गर्‍यो न दुई पैसा नाजायज ढंगले कमाउनेबारे नै सोच्यो । त्यसलाई कसले किन मार्‍यो ? आजसम्म खै पत्ता लागेन । के बोलौं बाबु, भयो म केही बोल्दिनँ ।”

तस्बिरः सरिता खड्का

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १९, २०७५  ०९:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC