site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अमेरिका रोज्ने कि भेनेजुएला ?

भेनेजुएला र अमेरिकामध्ये कतातिर उभिने भन्नेमा पनि द्विविधा देखिने हो भने त्यो कूटनीति नेपाली जनताको पक्षमा छैन भन्ने ठोकुवा गर्न सकिन्छ । भेनेजुएलाको राजनीतिक संकटमा नेपाल सरकार र सत्तारुढ नेकपा (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालको विज्ञप्तिप्रति समाजिक संजालमा व्यक्त प्रतिक्रियाले पनि यही मान्यतालाई पुष्टि गर्छ । कुनै पनि विदेशी राष्ट्रसँगको कूटनीतिक सम्बन्ध जनताको हित हेरेर निर्धारण हुन्छ भन्ने मान्यता राख्ने हो भने अमेरिकासँग सम्बन्ध बलियो बनाउनु अहिलेको आवश्यकता हो । आर्थिक सम्बन्धमात्र हैन जनस्तरमा पनि अमेरिका र नेपाल नजिक छन् । यो तथ्यलाई नेपालले महत्त्व दिएको देखिँदैन । 

नेपाल र नेपालीको फाइदाका लागि कस्तो कूटनीतिक रणनीति अपनाउनुपर्छ भन्ने चासो नभएका कर्मचारी र राजनीतिक नेताका कारण नेपाल अमेरिका सम्बन्धमा औपचारिकतामा मात्र सीमित हुँदैआएको छ । दुई देशका सरकारी अधिकारीहरुबीच भेटवार्ता हुँदा अमेरिकी व्यापार र लगानीको चर्चा हुन्छ । तर, यो व्यवहारमा चरितार्थ हँुदैन । अपौचारिकताका लागिमात्र यस्तो विषय उठाइने भएकाले लगानी र व्यापारका विषय कागजमा सीमित भएका हुन् । 

नेपाल र अमेरिकाबीच दुई पक्षीय विवादका विषय छैनन् । यस अवस्थामा विश्वकै आर्थिक र राजनीतिकरुपमा शक्तिशाली मुलुक अमेरिकासँग नेपालले बलियो सम्बन्ध बनाएर आर्थिक विकासलाई दू्रत बनाउने पहल गर्नुपर्नेमा नेपाल कूटनीतिकरूपमा सधैँ चुक्दैआएको छ । अमेरिका र नेपालको सम्बन्ध जब केही राम्रो हुन खोज्छ त्यहाँ केही न केही बखेडा नेपालले झिकिहाल्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपालको आर्थिक, समाजिक र जनस्तरमा कुनै पनि साइनो नभएको भेनेजुएलाको राजनीतिमा एउटाको पक्ष लिँदै अमेरिकालाई दुत्कारेर विज्ञप्ति निकालेर सत्तारुढ दलका अध्यक्ष दाहालले अमेरिकासँगको सम्बन्ध चिस्याएका छन् । त्यसो त अमेरिकासँगको सम्बन्ध मजबुत बनाउन नेपालको परराष्ट्र मन्त्रालय पटकपटक चुक्तै आएको छ । मूलतः परराष्ट्र मन्त्रालयको कर्मचारीतन्त्र पनि यसका लागि जिम्मेवार छ । 

अहिले एअर बस कम्पनीको वाइडबढी जहाज किन्दा ठूलो आर्थिक घोटला भएको तथ्यहरु सार्वजनिक भइरहेका छन् । जहाज खरिद प्रक्रियामा एयर बसको प्रतिस्पर्धी अमेरिकी बोइङ कम्पनीलाई प्रतिस्पर्धा गर्ने वातावरणै नबनाइनु पनि यस प्रकरणसँग जोडिन पुग्छ । 

Global Ime bank

नेपालको अर्थतन्त्रको एउटा आधार विदेशबाट नेपालीले पठाउने पैसा ‘रेमिट्यान्स’ पनि हो । नेपालमा रेमिट्यान्स पठाउने देशमा अमेरिका पहिलो नम्बरमा छ । गत आर्थिक वर्ष २०७४÷७५ को तथ्यांकअनुसार अमेरिकाबाट नेपालमा करिब १ खर्ब ७० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो । खाडीका देश र मलेसियाबाट बढी रेमिट्यान्स आउँछ भन्ने भ्रम थियो । तर, अमेरिकापछि नेपाल आउने रेमिट्यान्स साउदी अरब पर्छ । अमेरिकामा नेपालीको संख्या वृद्धि, व्यवसायमा संलग्नताजस्ता कारणले नेपाल जाने रेमिट्यान्स बढेको हो । 

अमेरिका नेपाली समुदायको स्थायी बसोवास भएको देश पनि हो । अमेरिकामा ३ लाखभन्दा बढी नेपाली रहेको अनुमान छ । यसबाहेक लामो समयदेखि शरणार्थीका रुपमा नेपालमा बसेका नेपाली भाषी भुटानी यहाँ करिब एक लाख छन् । भुटनी शरणार्थीका रुपमा अमेरिकामा बसोवास गर्नेको पनि नेपालसँगै निकट साइनो छ । 

अमेरिका नेपाली विद्यार्थी पढ्न जान चाहने पहिलो प्रथामिकताको देश हो । अमेरिकी कलेजमा बर्सेनि १० हजारभन्दा बढी नेपाली विद्यार्थी आउँछन् । पर्यटकका हिसाबले पनि अमेरिका नेपालका लागि महत्त्वपूर्ण देश हो । नेपाल आउने पर्यटकमध्ये अमेरिकीको संख्या सधैँ उच्च पाँचमा पर्छ । 

नेपालीहरुको बढ्दो उपस्थितिसँगै अमेरिकामा नेपालीहरु व्यवसायमा पनि संलग्न भइरहेका छन् । हवाईदेखि फ्लोरिडासम्मका सहरमा नेपालीले संचालन गरेका व्यवसाय भेटिन्छन् । टेक्ससमा एकै जनाले सयभन्दा बढी स्टोरमा लगानी गरेका छन् । यस्तै ५, १० वटा स्टोर हुने त थुप्रै नेपाली छन् ।

नेपालीले अमेरिकामा व्यवसायमा २ सय अर्ब नेपाली रुपैयाँभन्दा बढी लगानी गरेको अनुमान छ । होटल, स्टोर, रेस्टुराँ, घरजग्गा, ब्युटी सैलुनलगायतका क्षेत्रमा नेपालीले लगानी गरेका छन् । व्यवसायमा लगानी गर्ने बढेकाले यहाँका नेपालीको आम्दानी पनि बढेको छ ।  

यहाँ आम्दानी गर्ने कैयौं नेपालीले अहिले नेपालमा पनि लगानीका लागि चासो देखाएका छन् । घरजग्गालगायत नयाँ क्षेत्रमा कम्पनी स्थापना गरेर लगानी गर्ने नेपालीहरु छन् । यही पैसा रेमिट्यान्सका रुपमा नेपाल गएको हो । अमेरिका र नेपालबीचको सम्बन्ध राम्रो भयो भने यहाँबाट अझ धेरै पैसा जान सक्छ । यसका लागि एउटा देशमा मात्र कर तिरे पुग्ने दोहोरो कर मुक्तिसम्बन्धी सम्झौता भएमा सहयोग पुग्छ । अमेरिका र नेपालमा व्यवसाय गर्नेले यसको आवश्यकता महसुस गरिरहेका छन् । 

अमेरिका र नेपालबीच गत डिसेम्बर १८ मा वासिंटसन डीसीमा भएको पराराष्ट्रमन्त्री स्तरीय वार्तापछि दुई देशबीचको सम्बन्धमा नयाँ तरंग उत्पन्न भएको थियो । विश्वको शक्तिशाली र सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश अमेरिकासँगको सम्वन्धका विषयमा त्यसरुपमा चर्चा बहस भएको १७ वर्षपछि पहिलो पटक थियो । अमेरिकाले नेपाललाई सधैँ भारतको आँखाबाट हेर्छ भन्ने सोचबाट हामी ग्रस्त थियौं । वासिंटन डीसीको राजनीतिक र कूटनीतिक क्षेत्रमा पनि नेपालबारे खासै चासो राखिदैनथ्यो । तर, उक्त वार्तापछि अमेरिका र नेपालबीचको सम्बन्धमा अमेरिकामा पनि बहस हुनथालेको थियो । 

परराष्ट्रमन्त्री स्तरको वार्तालगत्तै अमेरिकी विदेश मन्त्रालय डिर्पाटमेन्ट अफ स्टेटका सहायक प्रवक्ता रोबर्ट पालाडिनोद्वारा जारी विज्ञप्तिमा स्वतन्त्र, खुला र समृद्ध इन्डो प्यासिफिक र विश्वस्तरीय तथा उत्तर कोरियासहितका विषयमा नेपालको केन्द्रीय भूमिकाका बारेमा कुराकानी भयो भन्ने उल्लेख गरिएको थियो । विज्ञप्तिमा इन्डो प्यासेफिकसँगै विश्वस्तरका विषयमा पनि कुरा भएको भनिएको छ । त्यसैले यो वार्ता अमेरिकी रुचिको इन्डो प्यासेफिक रणनीतिमा मात्रै केन्द्रित थियो भन्ने थिएन ।  तर, यसलाई आधार मानेर पनि बहसहरु भएका थिए । करिब एक वर्षअघि अमेरिकाको हवाईमा इन्डो प्यासेफिक क्षेत्रका देशका प्रतिनिधिको सम्मलेन भएको थियो । त्यहाँ अमेरिकाका लागि नेपाली राजदूतपनि सहभागी भएका थिए । त्यसैले यो कुनै नयाँ विषय भने थिएन । 

उच्च सरकारी तहमा १७ वर्षपछि गत डिसेम्बरमा किन वार्ता भयो ? यसका केही कारण हुन सक्छन् । पहिलो, अमेरिकाले अहिले नेपाललाई ‘मिलिनेयम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) अन्तर्गत ५० अर्ब रुपैयाँभन्दा बढी अनुदान दिएको छ । चार वर्षअघि नै यसबारेमा निर्णय भए पनि प्रक्रिया सकिएर गत वर्षमात्र यो सहयोग नेपाल पुगेको छ । यो पैसा विद्युत् प्रसारण लाइन विस्तार, सडक मर्मतलगायतका क्षेत्रमा खर्च हुँदैछ । नेपालसँगै यो सहयोग पाउनेमा तीनवटा देश थिए । अमेरिकी सरकार आफ्नो करदाताको यो पैसाको पूर्ण सदुपयोग होस् भन्ने चाहन्छ ।  सदुपयोग नहुँदा सरकारले पनि अमेरिकी जनतालाई जबाफ दिनुपर्ने हुन्छ । 

दोस्रो, अमेरिका र नेपालबीच राम्रो सैनिक सम्बन्ध पनि छ । दुई देशबीच नियमितरुपमा सैनिकको आउजाउ भइरहेको हुन्छ । अमेरिकाले एक वर्षअघि सेनाका लागि केही जहाजलगायतका सैनिक समग्री प्रदान गरेको थियो । अहिले नेपाली सेनाका लागि अमेरिकाबाट हतियार किन्ने प्रक्रिया चलिरहेको छ । वासिङटनस्थित कूटनीतिक स्रोतका अनुसार नेपालले अमेरिकाबाट सेनाका लागि हतियार किन्ने लगभग निश्चित भएको छ ।  रकम भुक्तानी प्रक्रियामात्र टुंगो नलागेको हो । नेपालको खरिद ऐनका केही प्रावधानले पैसा लेनदेनमा समस्या देखिएकाले टुंगो नलागेको हो ।

अमेरिका विश्वकै सबैभन्दा ठूलो हतियार विक्री गर्ने देश हो । यसलाई अमेरिकी सरकारले प्राथमिकता पनि दिन्छ । नेपाली सेनाका लागि पनि आधुनिक हतियार आवश्यक पर्छ । केही वर्षअघि पनि सेनाले अमेरिकाबाटै  बन्दुक किनेको थियो । 

अमेरिकाले विश्वव्यापी मुद्दामा बढीभन्दा बढी देशको समर्थन जुटाउन खोज्नु उसको कूटनीतिक रणनीति हो । सन् १९९० को दशकका सुरुमा इराकले कुवेतमा आक्रमण गरेपछि अमेरिकाले गरेको सैनिक कारबाहीमा नेपालसँग समर्थन मागेको थियो । नेपालले त्यसलाई स्वीकार पनि गरेको थियो । त्यसैले आफ्नो चासोको विषय वार्तामा उठाउनु स्वाभाविक नै हो । नेपालले यसलाई स्वीकार गर्दा वा नगर्दा अमेरिकालाई खासै फरक पर्ने होइन । तर, नेपाललाई भने फरक पर्छ ।

इजरायलको राजधानी जेरुसेलममा अमेरिकी दूतावास सार्ने निर्णयविरुद्ध राष्ट्रसंघमा एक वर्षअघि भएको मतदानमा नेपालले अमेरिकाको प्रस्तावविरुद्ध मतदान गरेको थियो । तैपनि, अमेरिकाले नेपाललाई इन्डो प्यासेफिक र ग्लोबल मुद्दामा नेपालले केन्द्रीय भूमिका खेल्न सक्छ सन्देश दिनु निकै महत्वपूर्ण हो । यो भूमिका लिनसक्ने नसक्ने भने नेपालको कूटनीतिक क्षमतामा निर्भर हुने हो ।  चुनौतीपूर्ण देखिएपनि नेपालले यस अवसरलाई उपयोग गर्नुपर्ने थियो  । यो भूमिका लिए पनि नलिए पनि अमेरिकासँग सम्बन्ध राम्रो बनाउनु भने नेपालको हितमा छ । यो अहिलेको आवश्यकता पनि हो । तर, नेपालको कूटनीतिक नेतृत्वले यसलाई ठीकसँग विश्लेषण गर्नसकेको देखिएन । 

अमेरिका नेपालले कूटनीतिक सम्बन्ध राखेको विश्वको दोस्रो मुलुक हो । दुई देशबीचको कूटनीतिक सम्बन्धको इतिहास ७० वर्षभन्दा लामो छ । कूटनीतिक रुपमा लामो सम्बन्ध भए पनि आर्थिक र व्यापारिक रुपान्तरणका लागि नेपालले अझै अमेरिकाबाट लिनसकिने जति फाइदा लिन सकेको छैन । 

अमेरिका नेपाल सम्बन्धको चर्चा हुँदा जहिले पनि नेपालमा छिमेकी देश र राजनीतिसँग जोडेर हेर्न गरिएकाले पनि नेपाललाई नोक्सान परेको छ । परराष्ट्रमन्त्री स्तरमा दुई देशको वार्तापछि पनि यस्तै टिप्पणी भए । यसलाई राजनीति र छिमेकी देशसँगको सम्बन्धसँग जोडिएर हेरिएको छ । केहीले अमेरिकाले नेपाललाई आफ्नो पक्षमा ल्याउन प्रयास गरिरहेको उदाहरणका रुपमा पनि वार्तालाई अथ्र्याएका थिए । अमेरिकी प्रस्तावअनुसार जाने न नजाने बारेमा नेपालले सोच्नुपर्छ भन्नेसम्मका अभिव्यक्ति आए । यसता हल्काफुल्का टिप्पणीभन्दा पनि अहिले नेपालका लागि अमेरिका आर्थिकरुपमा महत्वपूर्ण देशका रुपमा अगाडि आइरहेको छ तथ्य मनन गर्नु जरुरी हुन्छ । 

अमेरिका बस्ने नेपाली समुदायका कारण पनि अब नेपालले अमेरिकासँगको सम्बन्ध अझ विस्तार गर्नुपर्ने आवश्यकता बढिरहेको छ । तर, अमेरिकाको नेपाली दूतावास र परराष्ट्र मन्त्रालयले यसअनुसार सम्बन्धलाई हेरेको देखिएको छैन ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २१, २०७५  ०७:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC