चितवन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल विद्यार्थी संघ (नेविसंघ) को नेतृत्वले दायित्व पूरा गर्न नसकेका कारण राजीनामा दिएको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा मंगलबार नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले नेविसंघ अध्यक्ष नैनसिंह महरले दायित्व पूरा गर्न नसकेकै कारण राजीनामा दिएका बताएका हुन् ।
उनले कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले छिट्टै नेविसंघको नयाँ नेतृत्व चयन गर्ने पनि जानकारी दिए । नेविसंघको विधानमा कसैलाई तोकेर चिठ्ठीमार्फत् चयन गर्ने परिपाटी नभएको र यसरी काटिने चिठ्ठीको कुनै अर्थ नहुने पौडेलले दावी गरे ।
उनले सरकार गतिहिन भएको आरोप लगाउँदै जनताको आशा निराशामा परिणत गरेको बताए । पौडेलले सरकारको कुनै गति पनि नभएको र विधिमा पनि नचलेको आरोप लगाए । कांग्रेसले भर्खरमात्रै प्रतिपक्षको भूमिका निर्वाह गर्न लागेको भन्दै उनले संसदमा भएका सदस्यहरुलाई खवरदारी गर्न निर्देशनसमेत दिएको बताए ।