site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अहिलेको पिँढी साह्रै अनुशासित छ
Ghorahi CementGhorahi Cement

– माधुरी दीक्षित


माधुरी दीक्षित बलिउडकी त्यस्ती ‘धक–धक गर्ल’ हुन्, जसलाई सुन्दर मुस्कानकै कारण दर्शकहरू कहिल्यै भुल्न सक्दैनन् । सन् १९९० को दशकमा सर्वाधिक पारिश्रमिक लिने कलाकार बनेर दशकसम्म बलिउड राज गरेकी माधुरीलाई अभिनय र नृत्यका कारण बढी रुचाइन्छ । फिल्मी करिअरमा ६ वटा ‘फिल्मफेयर अवार्ड’ जितिसकेकी माधुरी १४ पटकसम्म मनोनयनमा परेर राखीपछिको दोस्रो कीर्तिमानी कलाकार हुन् । सन् १९८४ मा ‘अबोध’बाट डेब्यु गरेकी माधुरीले सफलताको स्वाद चार वर्षपछि नै (१९८८ मा) ‘तेजाब’बाट चाखेकी थिइन् । त्यसपछि उनले लगातार ‘रामलखन’, ‘त्रिदेव’, ‘कृष्ण कन्हैया’, ‘दिल’, ‘साजन’, ‘बेटा’, ‘खलनायक’, ‘हम आपके है कौन’, ‘राजा’, ‘दिल तो पागल है’ जस्ता हिट फिल्म दिइन् । अहिले इन्द्रकुमारको कमेडी सिक्वेल ‘टोटल धमाल’मा देखिएकी माधुरीसँग ‘नवभारत टाइम्स’ले गरेको संक्षिप्त कुराकानीको अनुदित अंशः

१) तपाईंले करियरको पहिलो इनिङमै सबैखाले भूमिका गर्नुभयो । कमब्याकपछि ‘गुलाब ग्याङ’, ‘डेढ इश्किया’मा शक्तिशाली भूमिका निभाउनुभयो । अहिले ‘टोटल धमाल’, ‘कलंक’जस्ता मल्टीस्टारर फिल्म गरिरहनुभएको छ । के यो कलाकारको रूपमा स्वयं आफूलाई ‘रि–डिस्कभर’ गर्ने प्रयास हो ?

Agni Group

यस्तो होइन । एउटा कलाकारले हरेक खाले काम गर्न चाहन्छ । ‘टोटल धमाल’ मैले धेरै कारणले गरें । अनिल (कपुर)जी र मेरो जोडी ‘पुकार’पछि पहिलोपटक पर्दामा देखिँदै छ । यसमा हाम्रो फरकखाले केमेस्ट्री देख्न पाइन्छ । नत्र दर्शकले हामीलाई सधैं रोमान्टिक फिल्ममा देख्नुभएको छ । इन्द्रकुमार (निर्देशक), अजय देवगन, अरशद वारसी, जावेद जाफरी सबैसँग मैले काम गरिसकेकी छु । त्यसैले मलाई यो फिल्ममा काम गर्न रहर लाग्यो । त्यसबाहेक– मैले कमेडी नगरेको थुप्रै समय भइसक्यो । यसले पनि मलाई ‘टोटल धमाल’तिर तानेको हो । रह्यो कुरा मल्टीस्टाररको । मल्टीस्टारर फिल्ममा काम गर्नुको फाइदा के भने फिल्म पूरै आफूमा मात्रै निर्भर रहँदैन । धपेडी धेरै हुँदैन । यसो भन्दैमा आफ्नो भूमिका कम भने हुँदैन, किनकि आफू पनि त्यसको मुख्य पात्र हो । धेरै जनासँग काम गर्दा मजा पनि आउँछ । साथी कलाकार जबर्जस्त छन् भने आफूलाई पनि जबर्जस्त प्रस्तुति दिने हुटहुटी हुन्छ । त्यो चुनौती पनि हो ।

२) ‘टोटल धमाल’मा तपाईंले पुराना सहकर्मीसँग काम गर्नुभएको छ । अर्कातिर ‘कलंक’मा वरुण धवन, आलिया भट्ट, आदित्य रोय कपुर, सोनाक्षी सिन्हाजस्ता नयाँ पुस्ताका कलाकारसँग देखिँदै हुनुहुन्छ । उनीहरूसँग काम गर्दा कस्तो अनुभव रह्यो ?

Global Ime bank

‘कलंक’मा पनि धेरै मजा आयो । अहिलेका कलाकारहरू एकदमै अनुशासित छन् । उनीहरू समयको ख्याल राख्छन्, सम्मान गर्छन् । आजका कलाकारहरू फिल्मलाई लिएर धेरै नै संवेदनशील छन् । हामीले काम शुरु गर्दा यस्तो थिएन । हामी यो उद्योगसँग जोडिएका परिवारबाट आएका थिएनौं । आफैं आफ्नो धरातल बनाएका हौं । अहिलेको पिँढीसँग ज्ञान छ, फिल्मसँगै हुर्किएका छन् । के गर्ने, के नगर्ने— उनीहरूलाई राम्ररी जानकारी छ । अहिले त इन्टरनेटमा पनि सबै ज्ञान पाइन्छ । सेटमा उनीहरूले मलाई सोध्थे, “तपाईंको पालामा एकैपटक त्यति धेरै फिल्म गर्नुहुन्थ्यो । दुई–दुई सिफ्टमा कसरी काम गर्नुहुन्थ्यो ?” यस्ता विषयमा उनीहरू एकदमै जिज्ञासु छन् । आजकलका कलाकार त एकपटकमा एउटामात्रै फिल्म गर्छन्, जुन राम्रो हो । किनकि, यसो गर्दा आफ्नो रोलका लागि राम्ररी तयारी गर्न पाइन्छ ।

३) तपाईं कलाकारसँगै निर्माता पनि बन्नुभयो । यो भूमिका कत्तिको चुनौतीपूर्ण रह्यो ?

मलाई निर्माताको भूमिका धेरै हदसम्म रोमाञ्चित लाग्यो । हामीले मराठी भाषाको ‘१५ अगस्ट’ फिल्म बनायौं । आगामी मार्चको अन्तिमतिर रिलिज हुँदै छ । एउटा आइडियाबाट पूरै फिल्म बनाउनु अलग्गै प्रक्रिया हो । त्यसको आफ्नै अनुभव हुन्छ । यो फिल्म बन्ने बेला म ‘टोटल धमाल’ र ‘कलंक’मा व्यस्त थिएँ, त्यसैले मेरा पति (श्रीराम माधव नेने)ले हाम्रो प्रोडक्सन हाउसको कमान सम्हाले । उनको साथ–सहयोग सधैं रह्यो । फिल्म तयार भइसकेपछि हेर्दा हामीलाई आनन्द लाग्यो ।

४) तपाईंका डक्टर पतिलाई निर्माता बन्नु कत्तिको सजिलो या असजिलो भयो ?

उनको बिजनेस सेन्स एकदमै राम्रो छ । डक्टर हुनुका साथसाथै उनी एकदमै सिर्जनशील व्यक्ति पनि हुन् । उनी बिरामी हेर्ने डक्टरमात्रै होइनन्, बहुप्रतिभाशाली व्यक्ति हुन् । उनले जुन विषयमा दिमाग लगाउँछन्, उसलाई बहुतै राम्ररी सम्पन्न गर्छन् । जस्तोः उनलाई गितार सिक्ने रहर लाग्यो । सिके । तीन महिनामै उनी पारंगत भए । उनले गजब गितार बजाउँछन् ।

५) प्रियंका चोपडाले तपाईंलाई लिएर एउटा अन्तर्राष्ट्रिय टीभी सिरिज बनाउने चर्चा थियो । अहिले के भइरहेको छ ?

टीभी एकदमै मुस्किल माध्यम हो । तर, त्यसमा काम भइरहेको छ । हेरौं, अगाडि के हुन्छ ।

६) तपाईं भारतबाट डेनवर (अमेरिकाको कोलोराडो राज्यको राजधानी) बसाइ सर्दा रहनसहन र संस्कृतिमा पक्कै केही असजिलो भयो । अहिले तपाईं दुई छोराहरूसँग भारतमै बस्न थाल्नुभएको छ । उनीहरूलाई पनि त्यस्तै असजिलो महसुस भएको होला । उनीहरू के भन्छन् ?

त्यस्तो हुन पनि सक्छ तर हामी सही समयमा फर्कियौं । हामी जाँदा छोराहरू ६ र ८ वर्षका थिए । असजिलो महसुस हुने गरी उनीहरू ठूला भइसकेका थिएनन् । उनीहरू त्यो समाजमा राम्रै गरी भिजेको भए भारत फर्किंदा निकै अप्ठ्यारो हुन सक्थ्यो । तर, हामी सही समयमा आयौं । यहाँ उनीहरूले साथी बनाएका छन्, रमाइरहेका छन् । त्यसो त पहिले म भारत आउँदा उनीहरूलाई पनि सँगै ल्याउँथें । त्यसैले उनीहरूका लागि भारत कुनै विरानो ठाउँ होइन । उनीहरू त हजुरआमासँगै रमाउँछन् । उनीहरूका साथी जतिखेर पनि घर आउने–जाने गर्छन् । सबै साथीहरूसँग रम्न पाउँदा उनीहरू दंग छन् ।

७) तपाईंले भन्नुभएको थियो कि उनीहरूले तपाईंको अभिनयलाई लिएर लिखित प्रतिक्रिया दिएका थिए । अहिले कस्तो प्रतिक्रिया दिन्छन् ?

उनीहरूले नोट लेखेका थिए, “मम, ह्वाई यु आर एक्टिङ क्रेजी ?” अहिले रायन १३ र एरिन १५ वर्षका भए । अहिले उनीहरू बुझ्छन् कि उसकी आमा एउटी कलाकार हो र उसले अभिनय गर्छे । उनीहरूलाई यो ‘कुल’ लाग्छ । उनीहरूको नजरमा म ‘कुल मम’ हुँ ।

८) अभिनयमा उनीहरूको रुचि छैन ?

उनीहरू दुवैलाई त साइन्समा रुचि छ । त्यो गुण शायद बुवाबाट आयो होला । कलामा पनि रुझान छ । शायद त्यो मबाट गयो होला । अब भविष्यमा कुन बाटो हिँड्छन्, अहिल्यै भन्न सकिन्न ।

९) अनिल कपुर र निर्देशक इन्द्रकुमारसँग तपाईंको जोडी सुपरहिट रह्यो । अनिल कपुरसँगको ‘बेटा’देखि इन्द्रकुमारको ‘दिल’सम्म । ‘टोटल धमाल’मा तपाईंले यी दुवैसँग वर्षौंपछि काम गर्नुभएको छ । कत्तिको फरक पाउनुभयो ? सुटिङमा कत्तिको धमाल मच्चियो ?

मलाई असाध्यै मया आयो । अनिलजीमात्रै होइन, सबै को–स्टार उत्तिकै रमाइला छन् । छायांकनको बीचमा उनीहरूको मस्ती चलिहाल्थ्यो । मलाई खुब रमाइलो लाग्थ्यो । मलाई कत्तिखेरै पनि यस्तो लागेन कि हामीले वर्षौंपछि सँगै काम गरिरहेका छौं । यस्तो लाग्यो— मानौं हामी ‘बेटा’पछि सीधै ‘टोटल धमाल’ गरिरहेका छौं । सेटमा पहिलेजस्तै नै पारिवारिक वाला वातावरण थियो । केही फरक थियो त त्यो हो प्रविधि, उपकरण । अहिले क्यामरा, भीएफएक्स, स्पेसल इफेक्ट नयाँ लागे । हाम्रो पालामा यस्तो प्रविधि थिएन । अहिले त सबै कुरा नयाँ–नयाँ लाग्छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ४, २०७५  १०:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC