काठमाडौं । वि. सं. २०४४ मा धादिङको मलेखुमा विवाह समारोहमा जाँदा सुनेको वाक्य ‘आमाभन्दा छोरी तरुनी’मा लिपिष्टिक पाउडरले लगायत अन्य वाक्य थपथाप पारेर लोक गायक कुमार बस्नेतले गीत नै तयार पारे । त्यही गीत उनले ०४८ सालमा म्युजिक नेपालमा रेकर्ड गरे ।
गीत रेडियो नेपालमा बज्न थाल्यो । सुपर हिट भयो । कुमारका अनुसार रेडियो नेपालको सुर्खेत प्रशारणमा केटाहरु यो गीत बजाउ भन्ने अनि केटीहरु ब्यान्ड गर्नुपर्छ भन्न थाले । रेडियो स्टेशनका रेडियोकर्मीहरुले केटाहरुको फर्माइस थेगिनसक्नु भएपछि गीत बजिरहेको थियो । तर गीत प्रतिबन्ध लगाउनु पर्छ भन्ने महिनाहरुको आवाज कायमै थियो । केही समयपछि सिंहदरबारस्थित रेडियो नेपालको केन्द्रीय प्रशारणले पनि गीत ‘ब्यान’ गर्यो । त्यहि समय एउटा पत्रिकामा कुमारले अन्तर्वार्ता दिए ।
त्यसअघि पनि कुमारका केही गीतमा प्रतिबन्ध लागिसकेको थियो । त्यसैले त्यो अन्तर्वार्तामा कुमारले भने, “एकातिर हामी पशुपतिनाथ गएर शिवलिंगको पूजा गर्छौं । मन्दिर र दरबारका टुँडालमा अश्लिल चित्रहरु कुँदिएका छन् । कि ती भत्काइदिनुस् होइन भने हाम्रा गीत किन ब्यान हुन्छन् ? प्रधानमन्त्री मनमोहन अधिकारी थिए । उनको कानमा त्यो कुरा परेछ । उनले फुकुवा गर्न निर्देशन दिए । गीत बज्न थाल्यो । पछि प्रदीप नेपाल सञ्चारमन्त्री हुँदा फेरि गीत ब्यान गरियो ।”
रेडियो नेपालमा गीत र लय ठिक छ कि छैन भनेर हेर्ने निकाय नै थियो । उक्त निकायले स्वीकृत गरेपछि मात्रै गीत रेकर्ड हुन्थ्यो । तर निजी स्टुडियोमा रेकर्ड भएका गीतमा सेन्सर गर्ने कुनै संयन्त्र थिएन । गीत बजारमा आइसकेपछि त्यसमा आपत्ति जनाएको खण्डमा सर्जकले परिमार्जन गर्दै आएका थिए ।
खेम गुरुङको ‘वारी जमुना पारी जमुना’ पनि विवादमा मुछिएको गीत हो । यो गीतमा उल्लेख भएका शब्दले जातीय विभेदलाई बढावा दिने काम गरेको भन्दै विरोध भएको थियो । ‘पोडे होला चमार होला तिमै्र माया लाग्छ...’ भन्ने शब्दावली गीतमा उल्लेख थियो । दलित समुदायबाट पोडे र चमार भन्ने शब्द गीतबाट हटाउन दबाब दिँदै विरोध गरेपछि खेम गुरुङले परिमार्जित गीत बजारमा ल्याएका थिए । यो गीत अझै पनि लोकप्रिय छ ।
गायक तथा संकलक कमलीकान्त भेटवालको गीतमा पनि केही विवाद भएको थियो । उनको ‘भम्के गुलेली...’ मा ‘अरु है आउँदा जेसुकै भन म आउँदा चाहिँ ओइ भन हौ झम्के गुलेली’ भन्ने हरफमा सुरुमा ‘ओइ’ भनका ठाउँमा ‘पोइ’ भन्ने शब्द थियो । कमलीकान्तका अनुसार रेडियो नेपालमा रहेको गीत जाँच पास गर्ने बोर्डले ‘पोइ’ भन्ने शब्द नराख्न भनेपछि त्यसको ठाउँमा ‘ओइ’ राखिएको हो ।
कमलीकान्त भन्छन्, “गीत रेकर्ड भएपछि परिमार्जन गरिएको होइन, रेकर्डमा जानु अगाडि नै शब्द परिवर्तन गरिएको थियो ।”
लोकलयमा आधारित शब्द र भाका देश र जनताको हुुने भएकाले त्यसले कसैको चित्त दुखाउन नहुने उनको भनाइ छ । “लोकगीतसँग जोडिएपछि त्यसले जनताको मन जित्न सक्नुपर्छ । जनताकै बीचबाट ल्याएका शब्द र लय छन् भने त्यसले जनताको मन दुखाउँदैन,” कमलीकान्तले बाह्रखरीसँग भने, “कस्तो शब्द र लयले जनताको हृदय बोल्छ र उनको मन नचाउँछ, त्यो नै लोक गीत हो ।” गीतसंगीत कस्तो र कतिसम्म दिने भन्ने सन्दर्भमा निर्णय गर्ने अधिकार व्यक्ति स्वयम्मा हुने तर त्यसमा गम्भीर हुनुपर्ने उनको भनाइ छ ।
गायिका कोमल ओली पनि गीतकै कारण विवादमा आइरहने व्यक्ति हुन् । उनको तीज गीत ‘पोइल जान पाम शिव पोइल जान पाम’ लाई प्रतिवन्ध लगाउनुपर्छ भनेर आवाज उठेको हो । ‘पोइल जान पाम शिव पोइल जान पाम’ मा नेपाल टेलिभिजनले प्रतिवन्ध लगाएको पनि थियो ।
गायिका ओली अहिले राष्ट्रिय सभा सदस्य छिन् । उनी व्यङ्ग्य गर्ने नाममा कुनै पनि कलाकारले सीमा नाघ्न नहुने बताउँछिन् । गीतमा चित्त नबुझे त्यसमा प्रतिबन्ध लगाउने नीति राज्यको नरहे पनि सर्जक स्वयम्ले आफ्नो सीमा नाघ्न नहुने उनले बाह्रखरीसँग बताइन् । “कलाकार स्वयम्ले मेरो दायित्व के हो र मैले केसम्म गर्न हुन्छ र हुँदैन त्यसबारे स्वमूल्यांकन हुनु जरुरी छ,” उनले बाह्रखरीसँग भनिन् ।
गीतकार राजेन्द्र थापा गीतसंगीतमा प्रतिबन्ध लगाइनु नहुने बताउँछन् । गायक पशुपति शर्माको गीतको प्रसंगमा उनले राज्यले प्रतिबन्ध नलगाएको भन्दै युवासंघको विरोध मात्रै भएको बताउँछन् ।
“युवा संघ सरकार होइन र युवा संघ एमाले निकट संस्था होला तर यो सरकार युवा संघको मात्रै होइन, हाम्रो पनि हो,” राजेन्द्रले भने, “सरकारले गीत हटाएको भनेर भनेको छैन । अनावश्यक रुपमा उचालिएको विषय मात्रै हो । सकारले पशुपति शर्माको गीतमा हामीले प्रतिबन्ध लगाएको हो भनेर भन्यो भने अर्कै कुरा हो ।”
पशुपतिको गीत समाजमा भइरहेका घटनाप्रतिको व्यङ्य मात्रै भएको उनको भनाइ छ । “हामीले दिनदिनै उठाइरहेको र असन्तुष्टि जनाइरहेको कुरा गीतमा छ । एक दुईवटा शब्दका ठाउँमा अरु नै शब्द चयन गर्दा अझ राम्रो सुनिन्थ्यो होला । राष्ट्रपति अहिले महिला भएकाले संस्थालाई विरोध गर्न खोजेको भए छिन् भनेर सम्बोधन नगरेको भए हुन्थ्यो,” उनले बाह्रखरीसँग भने, “शब्द चयनमा केही कमजोरी भएको मात्रै हो जस्तो लाग्छ । त्यसलाई परिमार्जन गर्छु भनिसकेका छन् । यो गीत गणतन्त्रको विरोधमा होइन, पक्षमा छ जस्तो लाग्छ मलाई । युवा संघको विज्ञप्ति चाहिँ गणतान्त्रिक शासनको विरोधमा छ ।” साहित्यमा बिम्ब र प्रतीकको प्रयोग गर्न पाइने उनको तर्क छ ।
गीतकार थापा गीतसंगीत सेन्सर गर्नुपर्ने पक्षमा आफू नरहेको उनी बताउँछन् । विश्वमै गीतसंगीत र साहित्यमा सेन्सर नभएको भन्दै उनले चलचित्रमा रहेको सेन्सर पनि विस्तारै हट्दै गएको अवस्थामा नेपालमा गीतसंगीतमा यसको माग गर्नु गलत भएको बताए ।
कुनै पार्टी विशेषको झण्डा देखाउन नहुनेमा त्यसमा पशुपतिले झुक्किएर भएको भनिसकेको भन्दै त्यसमा अल्झिएर बस्न नहुनेमा उनको जोड छ । “राणा र पञ्चायतकालमा समेत नरहेको सेन्सर अहिले मागिँदैछ, यो गलत हो,” उनी भन्छन्, “रेडियो नेपाललाई देखाएर सेन्सर बोर्ड थियो त भन्ने पनि छन् तर वास्तवमा त्यो सरकारले बनाएको होइन । त्यो त एउटा संस्थाले आफूले कस्ता गीत बजाउने र कस्ता नबजाउने भनेर बनाएको नियममात्रै हो ।”
राष्ट्र, राष्ट्रियता, एकता र सहिष्णुता भड्काउने अथवा कसैले अपमानित गरेमा त्यो संविधान विपरित हुने भन्दै राजेन्द्र थापा भन्छन्, “त्यसका लागि मानहानी विरुद्ध अदालत जान सकिन्छ । राष्ट्रिय एकता र सहिष्णुतामा खलल पुर्याउन खोजेको मुद्दा चलाउन सकिन्छ ।”
लोक गायक तथा संकलक जयनन्द लामा सेन्सर बोर्ड आवश्यक रहेको बताउँछन् । “सेन्सर बोर्ड नहुँदा जथाभावी छाडा गीत आए । त्यसको नियमनका लागि पनि सेन्सरबोर्ड चाहिन्छन्,” उनले बाह्रखरीसँग भने, “म सेन्सरबोर्ड चाहिन्छ भनेर दशकौंदेखि भन्दै आएको छु ।”
यता जनवादी गीत गाउँदै आएका जीवन शर्मा पशुपति शर्माले गाएको गीतको सन्देश राम्रो भएको बताउँछन् । “शब्द चयनका बारेमा उहाँ आफैँले परिमार्जन गर्छु भनिसक्नु भएको छ, त्यसमा म पनि सहमत छु,” बाह्रखरीसँग उनले भने, “विकृति र विसंगती रोक्ने पवित्र उद्देश्यले कुनै संयन्त्र भयो भने पनि ठिकै हो तर त्यस्तो संस्था वा संंयन्त्र अभिव्यक्ति स्वतन्त्रता नियन्त्रण गर्ने खालको भने हुनु हुन्न ।”