site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सुशील दा’ लाई कांग्रेसले बिर्सेकै हो ?

नेपाली राजनीतिमा पूर्वप्रधानमन्त्री सुशील कोइराला अविस्मरणीय व्यक्तित्व हुनुहुन्छ । नेपाली कांग्रेसको सभापतिको पदमा रहेकै अवस्थामा उहाँको निधन भएको थियो । यही माघ २६ गते चौथो स्मृतिदिवस थियो । तर, उहाँको सम्झनामा नेपाली कांग्रेसले कुनै कार्यक्रम त के विज्ञप्तिसम्म निकालेर दुनियाँलाई उहाँको सम्झना ताजा बनाउने कामसमेत गरेन ।  उहाँको स्मृति दिवस कांग्रेस स्वयंले बिर्सेछ क्यारे ?

सुशील कोइरालालाई कांग्रेसले मात्रै होइन नेपाल राष्ट्रले नै सम्झनुपर्ने थुप्रै कारण छन् । सबभन्दा महत्त्वपूर्ण कारण त ऐतिहासिक योगदानप्रतिको कृतज्ञ संस्कार बचाइराख्न सधैँ न सके पनि जयन्ती र स्मृतिदिवसमा यस्ता व्यक्तित्वको सम्झना गर्नु वाञ्छनीय हुन्छ । किन यसपटक कांग्रेस यो मामलामा चुक्यो वा बेवास्ता गर्यो । 

स्मृति दिवस होइन, जन्मजयन्ती मनाउने हो, एउटा तर्क गर्न सकिन्छ वा गरिएको छ । स्मृतिदिवस परिवारका हकदारले श्राद्ध गर्ने दिन हो । योगदानको सम्झना जन्मजयन्तीको अवसरमा गर्नुपर्छ । यो तर्कलाई मान्न सकिएला । तर, एउटा राजनीतिक संस्थाले आफ्ना स्मरणीय नेताको सम्झना गर्ने दिवसमा समान मापदण्ड बनाउनुपर्छ । कसैको मनाउने, कसैको छाड्ने दोहोरो शैली अपनाउनु उपयुक्त हुँदैन । 

Prabhu Bank
Agni Group
NIC Asia

कांग्रेसले जन्मदिनमा मात्र स्मृति कार्यक्रम गर्ने निर्णय गरेको थाहा छैन । त्यसो हो भने सार्वजनिक जानकारीमा आएको भए गुनासो रहन्थेन । गिरिजाप्रसाद कोइराला सभापति रहँदा नेपाली कांग्रेसले मनाउने वा कार्यक्रम गर्ने दिनहरूको विवरण क्यालेन्डर बनाएरै जिल्ला समितिहरूलाई समेत परिपत्र गरेको थाहा थियो । अहिले पार्टी कार्यालयमा त्यस्तो क्यालेन्डर छ कि छैन ? शंका गर्ने कुरा भएन तर त्यही नभएर सुशील’दालाई उसले बिर्सिन पुगेको हो कि ? कुनै नेताको दुवै दिन, कुनैको एक दिन सम्झने दिवस बनाउन खोजेको हो वा ?  
यहाँनेर अर्को खड्कने कुरा त, जतिबेला उहाँको स्मृतिदिवस थियो,त्यतिबेला कांग्रेस केन्द्रीय समितिको बैठक लगातारजस्तो बसेको हो । त्यसले न कुनै स्मृति निर्णय लेख्यो वा कुनै सम्झना विज्ञप्ति निकाल्यो । अथवा, बैठक पूर्व केही मिनेटको श्रद्धाञ्जली कार्यक्रम राखेर उहाँको तस्बिरमा दुई थुँगा फूल अर्पित गर्ने कष्ट नै सहकर्मी साथीले गरे । केही गरेको तर हाम्रो तहसम्म जानकारी नआएको भए आफ्नै अज्ञानको कुरा भयो । के कांग्रेसजनका लागि सुशील कोइराला यतिछिटै बिर्सन मिल्ने नाम हो ? 

यही स्मृतिदिवस प्रसंगसँग जोडिएको एउटा घटना छ । कांग्रेस महामन्त्री डा.शशांक कोइराला सुशील कोइराला मेमोरियल फाउन्डेसनको अध्यक्ष पनि हुनुहुन्छ । उहाँले यस फाउन्डेसनका सदस्य सचिव अतुल कोइरालामार्फत पठाउनु भएको एकलाख रुपियाँ देवघाटस्थित महेश आश्रम(गुरुकुल)लाई कोइरालाको स्मृतिमा हस्तान्तरण गर्नुभएछ । विज्ञप्ति र सामाजिक सञ्जालबाट जानकारी सार्वजनिक भयो । यो दान पारिवारिक श्रद्धाको श्राद्धको कोटीमा बुझ्न लायक हुन्छ । भलै महामन्त्रीको तर्फबाट प्रदान गरिएको भए पनि । यहाँ पार्टीको संस्थागत कार्यक्रम र दृष्टिकोणको सन्दर्भप्रति लेख्न खोजिएको हो । 

Global Ime bank

सम्झिन लायक कारण । सुशील कोइराला मानिस भएकाले मानवीय कमीकमजोरी उहाँमा थिएन भन्ने होइन । तर, केही त्यस्ता गुण र योगदानले उहाँलाई औसत मानिसभन्दा बढी साबित गरिदिए । सरल, त्यागी र सहिष्णु समवेत गुणका उदाहरण सभापति कोइरालाको प्रजातन्त्रप्रतिको अविचलित समर्पण र राष्ट्रप्रतिको बफादारी अत्यन्त उच्च थियो । यी शब्द प्रशंसाको पुल बाध्न लेखिएको होइन । उहाँसँग झन्डै तीन दशकभन्दा लामो चिनारी र नजीकबाट हेर्ने अवसरजन्य अनुभूतिको प्रस्फुटन हो । 

उहाँको धेरै भनाइबाट प्रभावित, अझ जीवनपद्धतिबाट पनि प्रभावित मैले कहिल्यै बिर्सन नसक्ने र बारम्बार सम्झने वाक्य – ‘चुनाव हारियोस् तर जित्नका लागि गलत तरिका अपनायो भन्ने आरोप बोकेर नआउनोस् ।’

नेपाल प्रेस युनियनको महाधिवेशन दाङ तुलसीपुरमा उद्घाटन भयो । कारणवश चुनाव रोकियो । यसको ६ महिनापछि सुनसरीको इटहरीमा चुनावी कार्यक्रम थियो । सम्पर्क कार्यालय महाराजगंजमा उहाँ १०२ डिग्री ज्वरोले थलिएर बसेका बखत म भेट्न गएँ । वीरेन्द्र दाहाल हुनुहुन्थ्यो – नभेट्न सल्लाह दिनुभयो । म निराश फर्कन खोज्दै थिएँ के लागेछ कुन्नी, भेट्न पाएँ । भित्तातर्फ मुख फर्काएर सुत्नु भएका सुशील’दा मतिर पर्कनुभयो । म ढोकामा उभिएको थिएँ, केही भित्र गएँ । चुनावी कुरा गरेँ । हो, त्यसैबेला उहाँले मलाई दिनुभएको सल्लाह हो त्यो । जो बिर्सन सम्भव छैन । यो वाक्य मलाई सल्लाहमात्रै भएन सुशील’दा को सिंगो जीवन बुझ्ने मन्त्र पनि बन्यो । 

सुशील कोइरालामा देशभक्तिको अन्तरंग गहिराइ जो नजिकबाट सुनेको छु, त्यसको एक अध्येताजस्तै भएँ । त्यसो त कोइरालाहरूको देशभक्तिको धड्कन मैले स्पष्टसँग सुनेको छु । जसरी मैले सुशील दालाई बुझेँ, चिने र सिकेँ त्यसरी नै सबैले गर्नेहुन् भन्ने पनि मान्दिन । ‘कुण्डकुण्ड पानी, मुण्डमुण्ड बुझाइ ।’ सत्ता, शक्ति र सम्भावनाको खेलमा सभापति सुशील कोइरालालाई कसले कसरी बुझ्यो, लियो र दियो त्यो उसैको काम कुरा भयो । उहाँलाई ‘कोटरी’ चलाएको आलोचना सञ्चारमाध्यममा प्रशस्त भयो । तर, अभिव्यक्तिको स्वतन्त्रताप्रति उहाँले अहिलेको सरकारले जस्तो अपराध टिप्पणी र धम्की  कहिल्यै दिएको सुनिएन, पढिएन । 

निष्ठा, त्याग र समर्पणको जीवन केही पंक्तिमा समेट्न सक्ने धृष्टता कसैले गर्दैन । तर, कांग्रेसले बिर्सँदा सुशील’दाको केही त्यस्ता विशेषता बारे कोर्न मन लागेको हो । चुनावी बेला होस् कि केही अघिसम्म इतिहासको नेतृत्व कांग्रेसले गरेको यसको नेता भन्थे । भाषण गर्थे । जनप्रतिनिधि, संविधानसभाबाट संविधान बनाउने झन्डै सात दशक लामो जनताको धोको कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा सम्भव भयो, कांग्रेस नेता दोहोर्याई रहन्थे । हो पनि । 

सहमति, सहकार्य र एकता प्रधानमन्त्री सुशील कोइरालाको तन्त्रमन्त्र थियो । मेलमिलापको यही बाटो हिँडेर उहाँले प्रमुख सबै दललाई संविधान बनाउन सहमत बनाउनुभयो । उहाँमाथि विभिन्न दबाब आए रे तर झुक्नु भएन । संविधान ल्याउन, तत्कालीन एमालेले प्रधानमन्त्री र सरकार आफूले पाउनुपर्ने सर्त तेस्र्याएछ । सरकार दिन वा छोड्न तयार तर संविधान बनाउनै पर्ने अडानले उहाँलाई सफल बनायो । 

कांग्रेस सभापति कोइरालाले हार्ने जान्दाजान्दै पुनः प्रधानमन्त्री पदका लागि किन उम्मेदवारी दिनुभयो ? शेरबहादुर देउवा र रामचन्द्र पौडेल किन बसे प्रस्तावक र समर्थक ? थरीथरीका मानिसले उहाँमा सत्ता लालसाको आरोप पनि जडे । तर, जुन कामको कर्ता जो हो, त्यसको सत्य प्रवक्ता पनि त उही स्वयं होला नि ? अर्थात्, उम्मेदवारी दर्ताको स्वंय प्रवक्ता सुशील कोइराला नै हो । सोची हेर्दा उहाँको भनाइ सत्य नजिक लाग्छ । 

संविधान बनाउँदा मधेस केन्द्रित दलहरू संविधानसभा बाहिर बसे । संविधानप्रति उनीहरुको स्वीकृति थिएन । कोइरालाले प्रधानमन्त्रीमा उम्मेदवारी दिए ती दलका सांसद्ले व्यवस्थापिका संसद्मा आएर उहाँलाई मत दिने भए । संविधान अस्वीकृत गर्ने दल, त्यही संविधानको प्रक्रियामा सहभागी हुने प्रतिबद्धताले कोइरालालाई उत्साहित बनायो । आफूले सहमति जुटाएको संवैधानिक प्रक्रियामा सबैको सहभागिता हुनु कोइरालाको इच्छा र प्रतिबद्धता स्वाभाविक हो । यो मान्यताको अघिल्तिर उहाँलाई जय पराजय गौण भयो ।

संविधानको स्वीकार्यता महत्वपूर्ण रह्यो । कांग्रेस सभापति कोइरालाले त्यही रोज्नुभयो । लेखिएका यी कुरा उहाँले नै भन्नुभएको हो । आफ्नो उम्मेदवारीको अर्थ उहाँले नै यसरी उद्घाटित गर्नुभएको थियो । त्यही उम्मेदवारी  पहिलो प्रहर थियो, मधेस केन्द्रित दलहरु सशर्त भए पनि यो संविधानको प्रक्रियामा क्रमशः आउनु, सरकारमा बस्नु वा संसदीय कार्यप्रणालीमा हिस्सा जनाउनुको । त्यो प्रहर उद्घाटित हुन्थेन भने अहिले कस्तो हुन्थ्यो होला ? 

सुशील कोइराला राजनीति बुझेको मानिस हो । उहाँको उम्मेदवारी पक्कै अबुझ थिएन । त्यसैले, हलाहल विष पानले नीलकण्ठ बनेका शिवशंकरजस्तै उम्मेदवारी कोइरालाले दिनुभयो । संविधान, त्यसको पहिलो संशोधन र पहिलो प्रयोगमा सुशील कोइरालाले जुन सुझबुझ प्रयोग गर्नुभयो, त्यसैले उहाँलाई एक  नेताबाट राजनेता बनायो । वर्तमानले भविष्यद्रष्टा साबित गर्यो । 

उहाँ प्रधानमन्त्री हुँदा जनस्तरबाट निकै सद्भाव मिल्यो । कारण स्वच्छछवी, भ्रष्टाचार गर्दैनन्, देश डुबाउने छैनन् भन्ने विश्वास थियो । उहाँको सादगी नागरिकका लागि आकर्षण, सद्भाव र विश्वासको कारक बन्यो । उहाँप्रतिको यही विश्वास निर्वाचनमा कांग्रेस ठूलो दल बन्ने प्रमुख आधार बन्यो । अहिले हिन्दुस्तान र पाकिस्तानबीचको तीव्र झगडाले सार्कको भविष्य अन्यौल मात्रै के अन्त्यको डिलतिर पुगेजस्तो छ । फर्कने कहिले हो भन्न सकिँदैन तर नेपालमा सार्कको १८ औं सम्मेलन सम्पन्न गर्न प्रधानमन्त्री कोइरालाको नेतृत्व सफल मानिएकै हो ।  

यस्ता राजनेतालाई चटक्कै बिर्सन कांग्रेस र कांग्रेसका कार्यकर्तालाई पटक्कै मन छैन होला । तर, कांग्रेसको परिस्थिति कस्तो बन्यो कुन्नि ? आफ्नो निष्क्रियता, निस्पृहता वा लघुताभाषलाई सरकारको लागि प्रतिपक्षीको रचनात्मक सहयोगको ‘सुतुरमुर्गे’ अर्थ दिन कांग्रेस नेता व्यस्त छन् । पार्टी संरचनालाई व्यवस्थित, जुझारु र संगठनको आन्तरिक कार्यलाई सक्रिय पार्दा सरकारलाई असहयोग हुने हो र ? कि सरकारकै सहयोगका लागि पार्टी पनि लथालिङ्ग पार्नु परेको हो ? संगठन नगर्ने तर भाषणमात्र गर्ने कांग्रेसका नेता अकर्मण्य भइसके ? 
श्रद्धाञ्जली सुशील दा । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ९, २०७५  ०७:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC