काठमाडौं । कक्षा एकमा भर्ना भएका मध्ये ५७ प्रतिशतले मात्रै कक्षा १० पूरा गर्ने गरेको सरकारी तथ्यांकले देखाएको छ । शिक्षा मन्त्रालयको ०७४ को तथ्यांकअनुसार १७ प्रतिशतले मात्रै कक्षा १२ उत्तीर्ण गर्छन् । कक्षा १० पछि ठूलो संख्यामा विद्यार्थीले पढाइ छोड्ने गरेको तथ्यांकले देखाएको छ ।
कक्षा १० पनि उत्तीर्ण नगर्दै ठूलो संख्यामा छात्रहरु विद्यालयबाट हराउने गरेका छन् । २०७१ यताका झण्डै चार वर्षदेखि विद्यालय शिक्षाबाट छात्र संख्या क्रमिक रुपमा घट्दो छ । बरु, छात्राको संख्या छात्रको तुलनामा केही बढेको सरकारी तथ्यांकले देखाएको छ ।
कक्षा १ मा भर्ना हुँदा छात्राको तुलनामा छात्र संख्या ३० देखि ३५ हजारले बढी हुनेगरेको छ भने कक्षा १० को परीक्षासम्म आइपुग्दा छात्रा संख्या झण्डै ३ देखि ४ हजारले बढी देखिने गरेको छ । कुनै शैक्षिक सत्रमा ठूलै संख्यामा छात्राको अनुपातमा छात्र संख्या कम देखिने गरेको छ ।
०७५ को एसईईको परीक्षा यही चैतमा हुँदै छ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का अनुसार शैक्षिक सत्र २०७४ को एसईईको परीक्षार्थीको तथ्यांकअनुसार नियमिततर्फका जम्मा ४ लाख ५२ हजार ७८१ विद्यार्थीमध्ये छात्रको संख्या २ लाख २१ हजार ८०५ रहेको थियो भने छात्रा संख्या २ लाख ३० हजार ९७६ रहेको थियो । यसरी हेर्दा ०७४ मा ठूलो संख्यामा अर्थात् ९ हजार १७१ले छात्र संख्या कम देखिएको छ ।
त्यस्तै, ०७३ मा नियमिततर्फ ४ लाख ६४ हजार ७४३ परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये २ लाख ३० हजार ८ सय ८० जना छात्र र २ लाख ३३ हजार ८ सय ६३ जना छात्रा रहेका थिए । यसरी हेर्दा छात्रको तुलनामा छात्रा संख्या २ हजार ९ सय ८३ अर्थात् झण्डै तीन हजार बढी रहेको थियो । कक्षा १० को परीक्षा दिनेमा गत वर्षको भन्दा यस वर्ष ५३ हजार विद्यार्थी घटेका छन् ।
त्यस्तै, २०७२ मा ५ लाख ८८ हजार १ सय ५२ विद्यार्थीले परीक्षा दिएका थिए । परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक गुरुप्रसाद पौडेलका अनुसार यसपटकको कक्षा १० को परीक्षामा रेगुलर र एक्जाम्टेड गरी छात्रको तुलनामा १८ हजार ७१८ जना छात्राको संख्या बढी रहेको छ ।
छात्रको ड्रपआउट गर्ने बढ्दो प्रवृत्ति
२०६४ मा कक्षा १ मा भर्ना भएका विद्यार्थीहरुले गत वर्ष कक्षा १० को परीक्षा दिएका थिए । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्यांकअनुसार २०६४ मा कक्षा १ मा १३ लाख ३४ हजार १९५ विद्यार्थी भर्ना भएका थिए । तीमध्ये छात्र संख्या ६ लाख ८२ हजार ३ सय २३ छ भने छात्रा संख्या ६ लाख ५१ हजार ८ सय ७२ रहेको छ ।
यसरी हेर्दा भर्ना हुने बेला छात्राको तुलनामा छात्र संख्या ३० हजार ४ सय ५१ ले बढी देखिन्छ भने कक्षा १०को एसईई परीक्षा दिने बेलासम्म झण्डै तीन हजारले सो संख्या कम देखिन्छ । यसरी छात्राको संख्यामा छात्रको (ड्रप आउट) पढाइ छोड्ने प्रवृत्ति बढेको देखिएको छ ।
भर्ना भएका मध्ये ८ लाख ८७ हजार ३ सय ८५ विद्यार्थी कक्षा १० सम्मपनि आइपुगेनन् । आएका मध्येपनि छात्राको तुलनामा छात्र संख्या तीन हजारले घटेर आयो । यसरी हेर्दा कक्षा १० सम्मपनि नआइपुग्दै देशका ३५ हजार छात्र हराउँदै छन् ।
त्यस्तै, केन्द्रको तथ्यांकअनुसार २०६८ सालमा ७ लाख ४२ हजार ९ सय ३७ विद्यार्थीमात्रै कक्षा ५ सम्म आइपुगे, जसमध्ये छात्रको संख्या ३ लाख ६६ हजार ६२८ छ भने छात्रा संख्या ३ लाख ७६ हजार ३ सय ९ रहेको छ । यसरी विद्यार्थी घट्ने क्रम कक्षा ९ सम्म रहेको तथ्यांकले देखाएको छ ।
प्रत्येक दुईमा एकजना माध्यमिक तह उत्तीर्ण
शिक्षा मन्त्रालयको ०७४ को तथ्यांकअनुसार भर्ना भएकामध्ये ५७ प्रतिशतलेमात्रै कक्षा १० पूरा गर्छन् भने १७ प्रतिशतले मात्रै कक्षा १२ उत्तीर्ण गर्छन् । यसरी हेर्दा कक्षा १० पछि बालबालिकाहरु ठूलो संख्यामा पढाइ छोड्ने गरेका छन् ।
सरकारी तथ्यांकअनुसार सालाखाला प्रत्येक २ जनामा १ जना युवाले माध्यमिक तह उत्तीर्ण गर्ने गरेका छन् भने हरेक ६ जनामा भने १ जनालेमात्रै १२ कक्षा उत्तीर्ण गरेका छन् ।
यस विषयमा शिक्षाविद् धनन्जय अधिकारी भन्छन्, “पहाड र तराईका छात्रहरु सात–आठ कक्षा पढ्दापढ्दै कामको सिलसिलामा भारतदेखि अरबसम्म जाने प्रवृत्तिले विद्यालय शिक्षाबाट छात्रहरु हराउँदै गएका छन् । यसको मुख्य कारण गरिबी र देशले रोजगारी सृजना गर्न नसक्नु नै हो ।”
केही वर्षयता छोरीहरुलाई पढाउनुपर्छ भन्ने व्यापक चेतना विकास भए पनि गरिबीको कारण रोजगारीमा जाने हुँदा छात्र संख्या घट्दै गएको तर्क उनले गरे ।
एक दशकमा कहाँ कति छात्र संख्या घटे ?
छात्र संख्या घट्ने क्रम तराई र पहाडका जिल्लाहरुमा बढी देखिएको छ । केन्द्रको तथ्यांकअनुसार पूर्वी तराईमा २०६४ मा कक्षा १ मा छात्र भर्ना संख्या ७१ हजार ५ सय ४१ मध्ये कक्षा १० सम्म उक्त संख्या घटेर २४ हजार १ सय ३७ मा झरेको छ । अर्थात् ४७ हजार ४ सय ४ छात्र हराइरहेका छन् ।
पूर्वी पहाडमा २०६४ मा ९८ हजार २ सय १९ भर्नादर मध्ये छात्र संख्या ४९ हजार ७ सय ८९ तथा छात्रा संख्या ४८ हजार ४ सय ३० मध्ये कक्षा १०मा आइपुग्दा छात्र संख्या १३ हजार ३ सय ७५ मा झरेको छ भने छात्राको संख्या १५ हजार ९ सय ३९ रहेको छ ।
त्यस्तै मध्य तराईका भर्ना भएका छात्र संख्या १० लाख ६ हजार ३ सय ४६ मध्ये २४ हजार २ सय ५६ छात्रमात्र कक्षा १० सम्म आइपुगे । मध्य तराईमा उक्त संख्या डरलाग्दो गरी घटेर ८२ हजार ९० मा झरेको तथ्यांकले पुष्टि गरेको छ । मध्य पहाडमा २०६४मा कुल छात्र भर्नादर ६५ हजार २४ मध्ये ०७३ मा कक्षा १०मा आइपुग्दा सो संख्या ह्वात्तै घटेर १६ हजार ६सय १ मा झरेको देखिन्छ ।
पश्चिमी तराईमा पनि छात्र हराउने क्रम उस्तै छ । २०६४मा छात्र भर्नादर ४६ हजार ५ सय रहेकोमा कक्षा १० मा उक्त संख्या घटेर १७ हजार ५ सय ६१ मा झरेको छ । पश्चिमी पहाडमा भर्ना हुँदा ८३ हजार ९ सय ४२ कुल छात्र संख्या मध्ये कक्षा १० मा आइपुग्दा २९ अजार ६ सय २६ मा झरेको केन्द्रको तथ्यांकले देखाउँछ ।
पछिल्लो एक दशकमा ठूलो संख्यामा छात्रहरुले विद्यालय बीचमा छोड्ने गरेको तथ्यांकले पुष्टि गरेको छ । केन्द्रका महानिर्देशक बावुराम पौडेलले विद्यालय शिक्षा बीचमै छोडेर छात्र हराउनुको धेरै कारणहरु रहेको बताए ।