काठमाडौं । क्रिएटिभ एकेडेमीको विशेष सक्रियता एवम् कीर्तिपुर नगरपालिका, कथालय, बाल कला संग्रहालय र शिल्पी थिएटरको संयुक्त आयोजनामा “दोस्रो कीर्तिपुर बाल साहित्य महोत्सव–२०७५” हुने भएको छ । मूलतः पठन संस्कृतिको विकास गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
पठन संस्कृतिको विकासले हाम्रा बालबालिकाहरूको आत्मनिर्भरता तार्किक क्षमता, सिर्जनात्मकता तथा शैक्षिक उन्नयनमा सहयोग पुग्नुका साथै समाज र सिङ्गो मुलुकलाई सकारात्मक टेवा पुग्ने विश्वास आयोजकको छ ।
गतवर्षको पहिलो बाल साहित्य महोत्सव–२०७४ झण्डै ६ हजार बढीले अवलोकन गरेका थिए ।
यसवर्ष त्यो संङ्ख्या बढेर कम्तीमा आठ हजार पुग्ने अपेक्षा आयोजकको छ । महोत्सवमा विभिन्न श्रोत व्यक्तिहरूबाट कथालेखन, निबन्ध लेखन लगायतका धेरै कार्यशालाहरू सञ्चालन गरिनेछ । उक्त कार्र्यशालाहरूबाट हाम्रा बालबालिकाहरूले नयाँ कुरा सिक्ने र आफूलाई थप परिमार्जित गर्ने अवसर प्राप्त गर्नेछन ।
फागुन १८ गते १० बजेदेखि बेलुका ५ बजेसम्म कार्यक्रम चल्नेछ ।
महोत्सवमा साङ्गीतिक, काव्य गोष्ठि, “डम्वरी” नामक नाटक मञ्चन, पुस्तक प्रदर्शनी, पुस्तक विमोचन, पुस्तक परिचर्र्चा, नाटकका कार्यशाला लगायत दुई दर्जन भन्दा बढी कार्यक्रमहरू सम्पन्न हुनेछन् । महोत्सव अवधिभर फेस पेन्टिङ्ग, सांस्कृतिक तथा साँङ्गीतिक प्रस्तुतिहरू, प्राचीन सांस्कृतिक महत्वका सामाग्रीहरूको प्रदर्शनी र खानाका स्टलहरू चलिरहनेछन् ।