काठमाडौं । मूलतः बालबालिकाहरुमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले क्रिएटिभ एकेडेमी, कीर्तिपुर नगरपालिकाले कथालय, बाल कला संग्रहालय र शिल्पी थिएटरको संयुक्त प्रयासमा एक दिने “दोस्रो कीर्तिपुर बाल साहित्य महोत्सव– २०७५” आयोजना गर्ने जानकारी गराएको छ ।
पठन संस्कृतिको विकासले बालबालिकाहरूको आत्मनिर्भरतामा, तार्किक क्षमता, सिर्जनात्मकता तथा शैक्षिक उन्नयनमा सहयोग पुग्नुका साथै समाज र सिङ्गो मुलुकलाई सकारात्मक टेवा पुग्ने विश्वास आयोजकको रहेको छ ।गत वर्ष आयोजना गरिएको पहिलो बाल साहित्य महोत्सवमा झण्डै ६ हजारभन्दा बढीले अवलोकन गरेको कार्यक्रममा जानकारी गराइएको थियो । यो वर्ष त्यो आँकडा बढेर जाने विश्वास आयोजक समितिको रहेको छ ।
यही फागुन १८ गते शनिवार, क्रिएटिम स्कूल परिशर, कीर्तिपुरमै आयोजना हुने सो महोत्सवमा विभिन्न श्रोत व्यक्तिहरूबाट कथालेखन, निबन्ध लेखन लगायतका कार्यशालाहरू सञ्चालन गरिने पनि जनाइएको छ । उक्त कार्र्यशालाहरूबाट हाम्रा बालबालिकाहरूले नयाँ कुरा सिक्ने र आफूलाई थप परिमार्जित गर्ने अवसर प्राप्त गर्ने बताईएको छ ।
यो वर्ष महोत्सवको मुख्य आकर्षणको रूपमा वाङमय शताब्दी पुरूष तथा संस्कृतिविद् सत्यमोहन जोशीलाई विशेष सम्मान गरिने पनि जनाइएको छ । महोत्सवमा साङ्गीतिक, काव्य गोष्ठि, “डम्वरी” नामक नाटक मञ्चन, पुस्तक प्रदर्शनी, पुस्तक विमोचन, पुस्तक परिचर्र्चा, नाटकका कार्यशाला लगायतका कार्यक्रमहरू हुने महोत्सबका संयोजक खगेन्द्र गौतमद्वारा प्रेशित वक्तव्यमा जनाइएको छ ।