काठमाडौं । महेन्द्रनगर युनाईटेड धनगढी प्रिमियर लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । काठमाडौ गोल्डेन्स्ले आजको दोस्रो क्वालिफायर खेल्न अस्वीकार गरेका कारण रिफ्युज टु प्लेका आधारमा मेहन्द्रनगर फाइनलमा पुगेको आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ ।
आफ्नो खेलाडीलाई कारबाही गरेको भन्दै काठमाडौले खेल बहिस्कार गरेको हो । यसअघिका दुई खेलमा खराब बलिङ गरेको भन्दै काठमाडौंका भारतिय खेलाडी अंकित दबासलाई प्राविधिक टोलीले बलिङ गर्नबाट रोक लगाउने कारवाही गरेको थियो ।
टेक्निकल कमिटीका प्रमुख बुद्धि प्रधानले खेलाडीको शंकास्पद बलिङको बारेमा टोलीलाई जानकारी गराईसकेपछि खेलाडीलाई टिमले जानकारी नगराएको हुन सक्ने बताए । काठमाडौले नखेल्ने जानकारी आएपछि क्वालिफायर्सको अर्को टोली महेन्द्रनगरलाई फाइनल खेल्ने मौका दिने निर्णय गरिएको म्याच रेफ्रि मोहम्मद सफिकले बताए । महेन्द्रनगर र सिवाईसी अत्तरियाबीच अब शनिबार फाइनल हुनेछ । काठमाडौंलाई हराउँदै अत्तरिया फाइनल पुगेको थियो ।