site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मृगनयनी
Ghorahi CementGhorahi Cement

– महेश पौड्याल


उनको नाम मृगनयनी । धरानबाट काठमाडौंको बसमा हो मैले उनलाई पहिलोपल्ट भेटेको । बूढा बासँगै थिइन् उनी । उनका बा अलि कमजोर । हल्लिरहने जिउ । शायद उनी मदिराका पियक्कड थिए । उनले मलाई भने, “बाबु ! कहाँसम्म जाने होला?”

मैले ‘काठमाडौं’ भनें । उनले फेरि भने, “मृगनयनी अलि बिरामी छे । म बूढो मान्छे, ताकत पनि छैन । लड्ने हो कि । बाबुले आफूसँग राखिदिनुस् न, झ्यालपट्टिको सिटमा ।”

Agni Group

मैले ‘हुन्छ’ भनेर सहजै स्वीकार गरें ।

मैले मृगनयनीलाई आफूसँगै राखें । झ्याल खोलें र मन्द बतासले उनको अनुहारलाई स्पर्श गर्न दिएँ । सामान्य र अलि पुराना लाग्ने लुगामा उनलाई देख्दा लाग्यो— खासै सुखमा हुर्किएकी छोरी होइनन् उनी । मैले पुलुक्क उनको अनुहार हेरें । प्रकृतिले आफ्नै हातले कुँदेुर बनाएको मुखमण्डल । हल्का कालो रङको चश्माभित्रका आँखा स्पष्टै देखिन्थे । राराको एउटा भाग उठेर आएर थपक्क बसेर बनेजस्ता नीला, गहिरा लागे मलाई ती आँखा । सौन्दर्यको त्यो हद मैले कुनै छोरीमा बिरलै देखिको थिएँ, त्यो दिनसम्म । अलि अलि ईष्र्या पनि लाग्यो— मेरी आफ्नै छोरी तारामा त्यो सौन्दर्य किन आएन ! अलिकति दोष आफैंलाई लगाएँ, अलिकति अनुराधालाई ।

Global Ime bank

केहीबेर गाडी गुड्दै, रोकिँदै गरिरह्यो । नयाँ यात्रु टिप्दै, सामान हाल्दै, सिट मिलाउँदै, किचकिच गर्दै अगाडि बढ्न खोजेकोले निकै खैलाबैला थियो । बल्लतल्ल भरियो । बस धरान र इटहरीबीचको जंगल छिचोलेर राजमार्गमा आइपुगेपछि पुनः रोकिँदै गुड्दै गर्न थाल्यो । अन्तिमतिरका दुई–चार सिट अझै खाली थिए । सहचालक त्यहाँ पैसा फलाउने उपक्रमका लागि आफ्नो गलाको लगानी गरिरहेको थियो, हावामा ।

र, अन्ततः बस भरियो र गुड्न थाल्यो, एउटा स्थायी गतिमा । इटहरीबाट पश्चिम केहीबेर लागेपछि जंगलको बाटो आयो । गाडीभित्र होहल्ला र हलचल बन्द भयो । म मृगनयनीतिर फर्किएँ ।

“मृगनयनी ! तिमी कति कक्षा पढ्छ्यौ ?”

“तीनमा ।”

उनको उचाइ हेर्दा लाग्थ्यो— उनी करिब १४ वर्षकी हुन् । तर, ३ कक्षामा मात्रै पढ्ने भनेपछि मलाई अलि पत्यार लागेन । मैले भनें, “होइन होला । यति ठूली मान्छे पनि ३ कक्षामा मात्रै पढ्छन् त ?”

“हो । ढिलो शुरु गरेको नि त पढाइ,” उनले भनिन् । मैले शंका गर्ने ठाउँ रहेन ।

यसै पनि केटाकेटी औधि मनपर्ने मान्छे, सहयात्रीको रूपमा मृगनयनीलाई पाउँदा म ज्यादै खुशी थिएँ । बालबालिकासँग कुरा गर्दा विचार र वादको छाया नपरेका निर्दोष कुरा आउँछन् । त्यस्ता विचार प्रायः वैश्विक हुन्छन् र सार्विक हुन्छन् ।

यत्तिकैमा सहचालकले बसको जडित मोनिटरमा चलचित्र चलायो । केही यात्रुको ध्यान त्यतातिर तानियो ।

“तिमी सिनेमा कत्तिको हेछ्र्यौ ?” मैले सोधें । 

“हेर्दिनँ । सुन्छु ।”

“मैले गीतको कुरा गरेको होइन । फिल्म के, मुभी । कत्तिको हेछ्र्यौ घरमा भनेको ?”

“म मुभी हेर्दिनँ अंकल । सुन्छु मात्र ।”

मैले सोचें— घरमा मुभी प्लेयर अथवा टिभी रहेनछ । शायद रेडियो अथवा म्युजिक प्लेयरमात्रै होला । शायद कसैसँग एन्ड्रोइड फोन पनि छैन होला । मैले यसो हेरें, उनका बुवालाई । मैलो टोपी, पुराना लुगा र बेरङको इष्टकोट । सामान्य जुत्ता । मैले पक्का गरें— गरिबीको तुसारोले घरमात्रै होइन, बालबालिकाको सपनाको बाली पनि खाइरहेको छ कुटुकुटु ।

थप केही कुरा गरिनँ । गाडीमा गीत बज्न थाल्यो, ‘कुटुमा कुटु सुपारी दाना ...।’

अलि पर पुगेपछि झकाएछु । एकैचोटि बर्मजिया पुगेपछि एक्कासि कानमा परेको खैलाबैलाले ब्युँझिएँ । खाना खान रोकेको रहेछ गाडी ।

मृगनयनीका बाबु छोरीलाई लिन आए । म आफू पहिले निस्किएँ र सजिलो पारिदिएँ । उनले हात समाते बच्चीको र तल झारे । हात समातेरै होटलतिर पसे, त्यसैगरी होटलपछाडिको शौचालयतिर लगे र त्यसैगरी भित्र ल्याए । भीडभाड थियो । कुन टेबलमा बसे र के खाए, मैले हेरिनँ । गाडीमा चढ्दा पुनः हात समातेरै ल्याए । मैले सोचें, बिहानै लगाएको ट्वाँकले बूढा थर्थर छन् र छोरीको आडमा हिँडिरहेका छन् । धिक्कारें ती बाउलाई ।

सबै यात्रु सिटमा फर्किए । झ्यालबाहिरबाट एउटा १२—१३ वर्षे केटो कराउन थाल्यो, “माला, माला, माला, माला, माला !”

हेरें, छोरीहरूले लाउने विभिन्न रङका नेकलेस बेचिरहेको रहेछ । मैले पुलुक्क मृगनयनीको गलामा हेरें । खाली थियो ।

“नेकलेस लाउने ?” मैले सोधें । ऊ मुस्कुराई तर बोलिन । मैले स्वीकृति ठानें ।

“कुन रङ मनपर्छ ?”

“जुन भए पनि हुन्छ, अंकल ।”

“भन न । आफूलाई मन पर्ने रङ त हुन्छ नि कुनैः रातो, हरियो, पहेंलो, गुलाबी...”

मैले यति भनिरहँदा उसले हातमा औंला भाँचेर ती रङ गनेजस्तो गरी । तर, केही भनिन । उता गाडी छुट्ने बेला भइसकेको थियो । मैले एउटा रातो मालाको दाम सोधें । मोलमोलाइको समय थिएन । उसले मागेको ५० रुपैयाँ दिएँ र माला मृगनयनीको गलामा लगाइदिएँ । उनको सौन्दर्य थप आलोकित भएर आयो ।

“सेल्फी हानौं है ?” मैले भनें । उसले ‘हुन्छ’ भनी । मैले मोबाइलको क्यामेरालाई सेल्फी मोडमा लगें र सेल्फी खिचें ४–५ वटा । अनि उनलाई देखाउँदै भनें, “हेर त, कस्तो राम्रो फोटो । यो माला लगाएपछि त तिमी विश्वसुन्दरीजस्तै देखियौ ।”

उसले एउटा लज्जामिश्रित मुस्कान छोडी र दाहिने हातले गलाको माला छाम्न थाली । मैले सेल्फी फेसबुकमा पोस्ट गरें ।

गाडीले गति लियो । हाम्रो संवाद बन्द भयो । खुलदुली भई नै रह्यो मलाई, गाडीभित्र । केही मिनेटपछि डाटा चलाएर फेसबुक हेरें । सेल्फीमा निकै लाइक आइसकेका रहेछन् । कमेन्टले ५० को संख्या नागिसकेको रहेछ, २० मिनटभित्रै । मैले उत्साहित हुँदै उसलाई देखाएँ र भने, “हेर, तिम्रो फोटो त भाइरल भएछ नि फेसबुकमा ।”

उसले मोबाइल हातमा लिई र आँखा नजिकै लगेर हेरी । मैले भनें, “त्यत्ति नजिक नलैजाऊ । राम्रो देखिँदैन । आँखा पनि बिग्रिन्छन् ।”

गुडिरहेको गाडीमा त्यसै पनि हल्लिरहन्छन् आँखा । फेरि त्यति नजिकबाट हेर्दा झन् गाह्रो हुने मेरो सोझो बुझाइ मैले पोखें । उसले मलाई मोबाइल फिर्ता दिई । मैले डाटा बन्द गरेर खल्तीमा हालें र ढल्किएँ ।

अलिअलि भाते निद्राले पनि झ्वाम्म पार्दै लगेको थियो । हामीमध्ये सबैजसो निदाएछन् बसभित्र । हेटौडानजिक पुगेपछि म ब्युँझिएँ । बाहिर घना जंगल । अघिल्लो रात बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेस्ट हाउसमा अबेर रातिसम्म युवाहरूसँग कुरा गरेर बसेको थिएँ । निद्रा पुगेको थिएन । मैले गाडीमै निद्रा पु¥याएछु ।

मृगयनीलाई पुलुक्क हेरें । ऊ बाहिर जंगलको हरियाली आँखाले पिइरहेकी थिई । सोचें, त्यो कालो चश्माभित्रबाट देखिएको हरियालीमा केही त कमी होला नै । मैले फुत्त उसको चश्मा निकालिदिएँ र भनें, “खुला आँखाले हेर्नुपर्छ हरियाली । त्यसको मज्जा नै बेग्लै हुन्छ, नानी ।”

चश्मा मेरो हातमा रह्यो । ऊ खुला आँखाले हरियाली पिइरही । गाडी गुडिरह्यो ।

अलि पर पुगेपछि मैले उसका आँखामा हेरें । बाहिरको सिरसिर हावाले हानेर होला, आँखाबाट आँसु झरिरहेका थिए । मैले आफ्ना हातले उसका आँसु पुछिदिएँ । ती आँखालाई स्पर्श गर्दा लाग्यो— मैले आकाशको एक किनार छोएको छु । हृदयमा वात्सल्यको एउटा विलक्षण लाभा उम्लेर आएको थाहा पाएँ । खप्नै सकिनँ । उसलाई गुम्लुङ्ग अँगालो हालें र भनें, “छोरी !” अनि सुस्तरी चश्मा उसका आँखामा लगाइदिएँ ।

धेरैबेर हामी बोलेनौं ।

गाडी भरतपुर पुगेर रोकियो । उसका बाबुले मृगनयनीलाई हात समातेर बाहिर ताने । म सिटबाट उठें र सजिलो बनाइदिएँ । बाबुले छोरीलाई आफूसँग राखिदिएकोमा मलाई धन्यवाद दिए । मैले मृगनयनीको गला हेरें । मैले किनिदिएको माला हेरें । त्यो त्यहीँ थियो— गाढा रातो, गुलाफको रङजस्तो । मेरो स्नेहको निशानी, मलाई निकै प्रिय लाग्यो ।

बाहिर उसका बाबुले सफारीलाई ‘अस्पताल’ भनेको सम्म सुनें । मनमा चिसो पस्यो । बस अगाडि बढिहाल्यो । थप बुझ्न सकिनँ । यति यकिन गरें— जुन ठाउँमा बस रोकियो, त्यहाँबाट दक्षिण जाने गल्ली परेका थिए उनीहरू, सफारीमा ।

धेरै दिनसम्म मेरो मनमा यो शब्द गुञ्जिरह्यो— अस्पताल, मानौं यो मेरो समयको सबैभन्दा ठूलो आकाशवाणी हो र मैले अबको आधा शताब्दी यसलाई दोहो¥याइरहनु पर्नेछ ।

यसैबीच मसँग मृगनयनीको कुनै निशानी रहेन, बाहेक केही थान फोटाहरू । पालैपालो फेसबुकमा हालिरहें । प्रतिक्रिया लिई नै रहें । उसको सौन्दर्य थियो नै त्यस्तै— कसैको मन हर्न सक्ने । मैले आफैंलाई भाग्गेमानी ठानें, यात्राको कुनै मोडमा ऊ मेरी सहयात्री थिई ।

करिब दुई वर्षपछि म भरतपुर पुगें, कवि भीष्म उप्रेतीको कविता संग्रह ‘आधा उज्यालो’को परिचर्चामा भाग लिन । मन मान्दै मानेन, म उनीहरू पसेको गली पुगें र नजिकै कुन अस्पताल छ, पत्ता लगाएँ । त्यो भरतपुर आँखा अस्पताल थियो । हिमालको सबै हिउँ मेरो छातीमा आएर घोप्टिएको अनुभव गरें ।

मैले ‘प्लस टु’मा पढाएका विद्याथी आशिष ठाकुर त्यहाँ चिकिस्तक भएर पुगेका रहेछन् । मलाई देख्नेबित्तिकै उनले नमस्कार गरे र नजिकै आए । मैले उसलाई मृगनयनी नाम गरेकी कुनै आँखा बिरामीको यहाँ उपचार हुँदै गरेको वा नगरेको पत्ता लाउन अनुरोध गरें ।

धेरै बेरपछि आशिष आए । उनले सबै रेकर्ड ल्याएका थिए । 

“धरानको हो सर ?”

“हो,” मैले भनें । मोबाइलबाट फोटो पनि देखाएँ ।

“उसको अन्धता निको नहुने किसिमको रहेछ, सर । ऊ केही वर्षदेखि आउन छोडेकी छ यहाँ ।”

मलाई आकाश खसेर किचेजस्तो भयो । मुख सुकेर आयो एक्कासि । हदै भए दृष्टिविहीनसम्म होला । अस्पतालै आउन छाड्नू ?

म त्यहाँ बसिरहन सकिनँ । रेकर्ड हेरेर उसका बाबु वीरसिंह थापाको फोन नम्बरसमेत टिपें र अशिषलाई ‘जान्छु’ भनेर अस्पतालबाट निस्किएँ ।

मभित्रको खुल्दुली मेटिएन । मृगनयनी छाइरही मेरो स्मृतिभरि, मेरो मस्तिष्कभरि । करिब दुई वर्षपछि सोध्दै खोज्दै म धरान पुगें । बाबुलाई क्षयरोग रहेछ, मरेछन् । आमालाई मृगनयनीजस्ती दृष्टिविहीन छोरीको व्यवस्थापन गर्न धौधौ भएकोले लौकहीमा एउटा स्कुलमा संगीत प्रशिक्षण गर्ने दृष्टिविहीन कलाकार उमेश केसीसँग बिहे गरिदिइन् रे !

धेरैपछि कोशी बाँध फुटेर लौकही डुबानमा पर्दा एक–अर्काको हात समातेर भागेका ती दुई दृष्टिविहीन दम्पतीको आजसम्म अत्तोपत्तो नभएको स्थानीयले सुनाए । कसैले भने, भारततिर गए । कसैले डुबेको आशंका गरे । ठोस कुरा कसैसँग पनि थिएन ।

हृदयको गति नै स्तब्ध होलाजस्तो भयो । सोचें, देख्नमात्रै सक्ने भएका भए उनीहरू यसरी बेपत्ता हुने थिएनन् । त्यस दिनदेखि म ऊनीजस्ता हजारौं मृगनयनीको मसिहा बन्ने अठोटका साथ जीवन कर्ममा लागिरहेको छु ।

० ० ०

यो थियो— उपन्यासकार प्राञ्जलको उपन्यास ‘मृगनयनी’को मलाई सबैभन्दा मनपर्ने अंश । आज बिहानैको समाचारमा उसको पुस्तकले २ हजार युरोको प्रतिभा पुरस्कार जितेको समाचार सुनेपछि मैले ¥याकबाट निकालेर यति अंश पढें । उसले थाहै पाएको छैन होला र मैले आफैं फोन गरेर उसलाई सप्राइज दिनु पर्ला भनेर सोच्दै थिएँ, उसले फोन गरिहाल्यो ।

समाचार सुनाएर अलि लजायो । भन्यो, “माफ पाऊँ है सर । लजाउँदै भनेको छु । सरलाई नभनेर कसलाई भन्नू !”

कथाकार प्राञ्जल मभन्दा केही वर्ष कान्छो भए पनि हामी साथीतुल्य थियौं । मनका कुरा पनि साटासाट गथ्र्यौं । एक–अर्काका पाण्डुलिपि पढ्थ्यौं र सुझाव–सल्लाह साट्थ्यौं । ऊ अलि कलिलै भएकोले होला— अलिअलि आत्मश्लाघा भने थियो । म भनिरहन्थें, “राम्रो लेखक हुनलाई अभिमान घटाउनु जरुरी छ, विनम्रता बढाउनु जरूरी छ । हामी लेखक भावनाका किसान हौं । अरूको भावना टिप्छौं । विनम्रताबिना हृदयमा पस्न सकिँदैन ।”

ऊ मान्थ्यो । तर, बेलाबेला फुत्त निस्कन्थ्यो उसको पुरानो आत्मप्रशंसा गर्ने बानी । अनि म तत्काल टिप्पणी गरिदिन्थें । ऊ लजाउँथ्यो ।

त्यसैले हुनुपर्छ उसले फोनमा ‘लाज लाग्यो’ भनेको । तर, मैले कर गरेपछि भन्यो ।

“आहा ! यस्तो कुरा भन्न पनि लजाउनुपर्छ त ? यो त ढोल पिटेर सबैलाई सुनाउने कुरा हो । कहाँबाट कसले दिने भएछ पुरस्कार ?”

“क्रिस्टोफेल ब्लाइन्डेन मिसन भन्ने एउटा जर्मन संस्था रहेछ । दृष्टिविहीनहरूबीच काम गर्दै रहेछ । त्यसैले दिने रहेछ ।”

“रकम त मदन पुरस्कारको भन्दा पनि पो बढी रहेछ । लौ बधाइ ।”

“धन्यवाद, सर । यसो हुनुमा तपाईंको ठूलो देन छ,” उसले भन्यो । 

“कसरी ? यो तपाईंको प्रतिभा र योगदानको कदर हो ।”

“तपाईंले पाण्डुलिपि नहेरिदिनुभएको भए यो हुने थिएन ।”

“त्यो त मैले नहेरेको भए अरु कसैले पनि हेरिहाल्थ्यो नि । चुरो कुरो त कथा हो, जो तपाईंले ल्याउनुभयो ।”

“कृतज्ञ छु सर । अब जिम्मेवारी बढेको महसुस गरेको छु । सरलाई भोलि भेट्न आउँछु । अहिले बिदा मागें ।”

मैले पाण्डुलिपि पढेको थिएँ । सम्पादन के गर्नु, उसको कथा पढेर म र रमा दुवै भावविह्वल भएका थियौं । हुन त हामीले पहिले पनि यस प्रकारका कथा पढेका थियौं, तर प्राञ्जलको भाषाको जादू र कथाकारिताको विलक्षण छटाले हामीलाई भित्रैबाट हल्लाएको थियो । हामी दुवैले रस्किन बोन्डको कथा ‘द आइज आर नट हियर’ पनि पढेका थियौं, जसको छाप प्राञ्जलको कथामा परेको स्पष्टै देखिन्थ्यो । तर पनि, उसको किताबको केही केही अंश पढेर त हामी रातभरि रोएका थियौं । आज त्यही कथांश दोहो¥याएर पढें ।

यति पढेपछि मैले प्राञ्जलको उपन्यास बन्द गरें । आँखाभरि मृगनयनी आइरही । मृगनयनीको जीवनसँग एकाध घण्टामात्रै साक्षात्मकार गरेको प्राञ्जलभरि कति धरै पसिसहेकी थिई मृगनयनी, ऊ लामो समयसम्म दृष्टिविहीनहरूकै बारेमा कारुणिक कथा लेखिरह्यो । उनीहरूको दृष्टिकोणबाट संसार चिहायो । उसका कथा र लेख पढेपछि करुणा र दयाका लाभा उठेर आउँथे । हामी पनि सोच्न थालेका थियौं, सबै गुमे पनि सम्झौता गर्न सकिएला तर दृष्टि नै नरहेपछि त जीवन नै के पो रह्यो र ? न रंगीन संसार बुझ्नु छ, न बाग–बगैंचामा रमाउनु छ । फूल भन्नु, चरा भन्नु, चित्रकला भन्नु, चलचित्र भन्नु... सबै आधा अर्थ बोकेका निस्सार वस्तु ! लेखकहरूले जति ढाँटे पनि माया पलाउने एउटा बलियो आधार अनुहारको बुनोट पनि हो । दृष्टि नहुँदा त्यो आधार पनि हुँदैन । अरूले भन्दिएको भरमा कसैलाई लोग्ने अथवा स्वास्नी मानेर बिहे गर्नुपर्ने र सँगै बस्नुपर्ने । पुलपुलेसा, सडक, सहरबजार जाँदा, अरूकै भर । स्कुल कलेज छामेकै भर । उफ् !

प्राञ्जलले हामीलाई पनि निकै पगालिसकेको थियो । उसका राचनाका नियमित पाठक हामी दृष्टिविहीनता भनेको संसारकै कठोरतम अभिशाप हो भन्नेमा पुगिसकेका थियौं । प्रभाव न हो, मैले पनि लेखेको थिएँ केही मुटुछेड कविता, केही कारुणिक कथा । हामी एउटा गैरसरकारी संस्थाका सदस्य पनि बनिसकेका थियौं र दृष्टिविहीनहरूको उत्थानका लागि आफूले सकेको काम पनि गर्न थालिसकेका थियौं ।

यसैबीच त हो, एकाबिहानै प्राञ्जलले पुरस्कारको समाचार सुनाएको !

प्राञ्जलको नाम चल्यो देशभरि । पत्रिकाले ठूला ठूला तस्बिरसहित समाचार छापे । अन्तर्वार्ता लिइयो । ऊ एक सामान्य लेखकबाट सेलेब्रिटी लेखकमा परिणत भयो ।

यसैबीच एकदिन उसलाई ललितपुरको बुङमतीममा अवस्थित एउटा अपांग सेवा केन्द्रबाट सञ्चालकको फोन आएछ । त्यहाँ पुगेर त्यहाँ दृष्टिविहीनतालगायत अन्य प्रकारका अपांगता भएका करिब सय बालबालिकाहरूलाई उत्प्रेरणाको भाषण दिन उसलाई बोलाइएको थियो । उसले भन्यो, “सर पनि जाऔं न । म एक्लै कता जाऊँ ?”

हामी मेरै मोटरसाइकल चढेर त्यहाँ पुग्यौं । पुगेपछि केही त बोल्नै पर्ने होला । उसको जस्तो पुरस्कृत नभए पनि म पनि अलि–अलि लेखेरै आएको मान्छे । बोल्न त पक्कै भन्लान् । बाटोभरि कुरा खिपें । संवेग, करुणा र दयाका भाव र शब्द सँगालें र राखें मुटुभरि । दर्द, दुभाग्य, नियति, कठोरता, निस्सरता...मैले खिपेका शब्दहरू थिए । संवेगको खेलोमा मभन्दा पनि खप्पिस प्राञ्जलले झन् समुद्र नै उता¥यो कि हृदयमा, भन्न सकिनँ । उसको त आँखको बुनोटै यस्तो थियो कि जसले हेरे पनि आँसु टिल्पिलाएजस्तो देखिन्थ्यो ।

मनभरि अनौठो गह्रुंगोपन भए पनि गफगाफ गर्दै, हास्दै हँसाउँदै हामी त्यहाँ पुग्यौं । सञ्चालक कृष्ण ताम्राकारले हामीलाई स्वागत गरे । हामीले सकेसम्म मुस्कानलाई नियन्त्रित ग¥यौं । अनुहारलाई सकेसम्म मलिन बनायौं । बोलीलाई थप दबायौं ।

एकछिनको तयारीपछि हामीलाई एउटा ठूलो हलमा लगियो । प्राञ्जलका लागि माला पनि तयार गरिएको रहेछ । सञ्चालकले सबैका माझ उसको परिचय गराए र अभिनन्दस्वरूप माला पनि लगाइदिए । मलाई खादाले स्वागत गरे ।

प्राञ्जलको योजना समुद्र त्यस भवनभित्र उतार्ने थियो । संवेगको गहिराइ छुने योजना थियो । करुण रसले मन्थन गर्ने सोच थियो, यो समयलाई । आँखाहरूमा भेल उतार्ने सपना थियो— शायद ।

तर मैले भनें, “एकछिन बालबालिकाका कुरा सुनौं । उनीहरूलाई बुझेपछि झन् सजिलो हुन्छ ।”

सबैको त सम्भव थिएन, केही बालबालिकाको परिचय गराउने सञ्चालकले चाँजो मिलाए ।

उँचो, चर्को र आत्मविश्वासपूर्ण स्वरमा एकजना बालकले भने, “म रोहित सराइली । मेरो घर कालिकोट हो । म कक्षा ९ मा पढ्छु । म पूर्ण दृष्टिविहीन हुँ । म गीत गाउँछु । एउटा गीत एल्बममा पनि आइसकेको छ । म यहाँ धेरै खुशी छु । मलाई जिन्दगीदेखि कुनै गुनासो छैन । म भविष्यमा राम्रो गायक बनेर देशको शान बन्न चाहन्छु । धन्यवाद ।”

उनले यत्ति भने र गीतको एक टुक्रो पनि गाएर सुनाए । निकै कर्णप्रिय गीत थियो । परर तालीले हल गुञ्जियो ।

“म दिनेश नेपाली । कक्षा १० मा छु । मेरो घर सुर्खेत हो । म पनि पूर्ण दृष्टिविहीन हुँ । मलाई ‘दृष्टिविहीनले केही गर्न सक्दैन, ऊ दायाको पात्र हो’ भनेको मन पर्दैन । म मेरो जिन्दगी धान्न तयार छु । मान्छेहरू हाम्रो नाममा आँसुको व्यापार गर्छन् । मलाई त्यो मन पर्दैन । म बाँसुरी बजाउँछु । ठूलो भएर बाँसुरीकै क्षेत्रमा नाम कमाउन चाहन्छु ।”

उनले बाँसुरी पनि बजाए— फूलको थुंगा बहेर गयो, गंगाको पानीमा ।

हल फेरि गुञ्जियो ।

छेउका साथीले कोट्याएपछि एकजना बहिनी बोलिन्, “म रेश्मा शाही । मेरो घर दाङ हो । म पनि दृष्टिविहीन हुँ ।”

उत्साह र मुस्कानले भरिएको स्वर थियो उनको । 

“सर ! ऊ कान पनि सुन्दिन,” कसैले भन्यो । 

सबै गलल हाँसे । रेश्मा पनि हाँसिन् ।

“सञ्जयले पनि सुन्दैन, सर ।”

“भरतले पनि सुन्दैन, सर ।”

गलगल हाँसो । हलमा कुनै विषाद पल छैन । सबै उल्लासमा देखिन्छन् ।

“मेरो नाम सुवर्ण राउत । मेरो घर सुर्खेत । म पनि कक्षा १० मा पढ्छु । म आँखा देख्छु तर मेरो एउटा खुट्टामा अपांगता छ । म सानै हुँदा माओवादी युद्धमा हानिएको बमको छर्रा परेर यस्तो भएको हो । यो घटनापछि ५ वर्ष मेरो पढाइ रोकियो । त्यसैले म उमेरले अरूभन्दा ठूलो छु । अपांग भए पनि अहिले मलाई दुख्दैन । म गरिखान सक्छु । मेरो एउटामात्रै माग छ— मजस्तो अपांगता भएकाहरूका लागि अपांगमैत्री भवन र सडक बन्नु प¥यो र हामीजस्ताको अवस्था बेचेर डलर कमाउने खेल बन्द हुनु प¥यो । हामीलाई दया होइन, हौसला दिनुपर्छ । हामीलाई आँसु होइन, उत्साह दिनुपर्छ ।”

हामीले करिब २० विद्यार्थीको परिचय सुन्यौं । एक तहको दुःख सबैको थियो— कसैको दृष्टि थिएन, कसकैको श्रवणशक्ति थिएन । कसैसँग दुवै थिएन । कोही–कोही हातगोडाका अपांग पनि थिए । तर, कसैसँग हीनताबोध थिएन । जीवनप्रति गुनासो थिएन । निराशा थिएन ।

मैले नबोल्ने निर्णय गरें । तर, सञ्चालकले धरै दिएनन् । बिस्तारै शुरु गरें, “म बुझ्छु तपाईंहरूको पीडा । यो रंगीन संसार नदेख्नुको दुःख ।”

एकजना भाइ जुरुक्क उठे र भने, “सर ! यो रङको कुरा हाम्रो दिमागमै छैन । तपाईंहरू हाल्दिनुहुन्छ र दुख्न सिकाउनुहुन्छ । छोड्नुस् त्यो कुरा ।”

अर्काले भन्यो, “सर्, रातो अथवा सेतो भन्नु हाम्रा लागि केवल आवाज हो, ध्वनि हो । रङ होइन । हामीलाई त्यस आवाजले दुखाउँदैन । कहिल्यै नदेखिएको स्वर्ग वा नर्कको बयानले तपाईंलाई के फरक पार्छ ? भन्नुस् त !”

मलाई दाँतमा ढुंगा लागेजस्तै भयो । मैले सचेततापूर्वक केही शब्द बोलेर मन्तव्य पूरा गरें । प्राञ्जलले जिन्दगीकै छोटो भाषण ग¥यो, हेलेन केलरलाई साक्ष्य बनाएर । कार्यक्रम सकेर हामी घरतिर लाग्यौं ।

मेरो घर ठिमी, उसको लोकन्थली । लोकन्थली पुगेपछि उसले भन्यो, “सर, म पनि ठिमी जान्छु । एक मिनेट कोठा पस्छु ल । एउटा कुरा निकाल्नु छ ।”

मैले मोटरसाइकल उसको कोठाबाहिर रोकें । ऊ फुक्त भित्र पस्यो र उसको पुरस्कार विजेता उपन्यास ‘मृगनयनी’ लिएर आयो । सोचें, पुरस्कार पाएको खुशीमा ऊ मलाई त्यो पुस्तक उपहार दिन चाहन्छ ।

हामी ठिमी पुग्यौं । नयाँ बस्ती जान हनुमन्ते नदीको पुलमा पुगेपछि भन्यो, “सर, एकछिन बाइक रोक्नू न ।”

सोचें, केही भयो होला । ऊ बाइकबाट ओर्लियो । पुलको रेलिङको फलाममा बस्यो र आफ्नो उपन्यास ध्वार्र पारेर पाना पाना च्यात्दै हनुमन्तेमा फाल्दै गर्न थाल्यो । मलाई ‘किन ?’ भनेर सोध्नु थिएन, सोधिनँ ।

पछि सुनियो, प्राञ्जल उसले जितेको पुरस्कार ग्रहण गर्न गएन अरे ! उसको प्रकाशकलाई उक्त पुस्तकको नयाँ संस्करण निकाल्ने अनुमति पनि दिएन रे !

हामीले घरमा फेरि पढ्यौं प्राञ्जलको उपन्यास ।

रमाले भनिन्, “बाबा, दृष्टिविहीन त मृगनयनी होइन, प्राञ्जल हो ।”

मैले उनलाई आश्चर्यमिश्रित आँखाले हेरें । उनको आत्मविश्वास हेर्नलायक थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ११, २०७५  ०६:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC