कलाकारहरूः माधुरी दीक्षित, अनिल कपुर, अजय देवगण, रितेश देशमुख, अरशद वारसी, सञ्जय मिश्रा, बोमन इरानी, जाभेद जाफरी, महेश मान्जरेकर, पितोबास त्रिपाठी
निर्देशकः इन्द्र कुमार
० ० ०
‘धमाल’ शृंखलाको तेस्रो संस्करण ‘टोटल धमाल’ हेर्न दिमाग चाहिँदैन । आँखा र कानमात्रै भए पुग्छ ।
एउटा चिम फेर्न कति मान्छे चाहिन्छ होला ?
इन्द्र कुमारको ‘टोटल धमाल’ले यो पुरानो चुट्किलाको पुनर्परिभाषा दिन्छ । एउटा खजाना हत्याउन र आफ्नो मूर्खता प्रदर्शन गर्न कति कलाकार चाहिन्छन् होला ?
आफ्नो क्षेत्रका उम्दा कलाकारहरूलाई गुचुप्प एक ठाउँमा ल्याएर क्यामराले खिचेजस्तो छ ‘टोटल धमाल’ । पानी, जमिन, मरुभूमि र आकाशमा ‘¥यान्डम्ली’ खिचेका सिक्वेन्सहरूलाई जोडेर पर्दामा देखाइएको जस्तो छ यो फिल्म । अरशद वारसी र जाभेद जाफरीजस्ता चम्किला हास्य प्रतिभाले योभन्दा कयौं गुणा राम्रा फिल्म पाउनुपर्ने हो ।
‘ब्रेनलेस कमेडियन’हरू पनि हेर्नका लागि मनोरञ्जक हुन सक्छन्, जब तिनका कथा कुनै अब्बल र स्मार्ट लेखकले लेख्छन् । ‘टोटल धमाल’का कलाकारभन्दा बरु चिडियाखानाका जनावरले बढी प्रभाव पार्छन् । गैंडाको खागले उचाइ (सफलता)बाट खस्दा हुने दुर्घटनाप्रति सचेत बनाउँछ । चिम्पान्जी र हात्तीले करुणाको पाठ सिकाउँछन् । बाघको हुंकारले शक्ति र सामथ्र्य जनाउँछ । गान्धीले अंग्रेजलाई त्यस्तै हुंकारले त भगाए ।
महिलाप्रतिको हेयभाव त कति हो कति । यो ‘धमाल’ शृंखलाको ट्रेडमार्क नै हो । ‘कामवाली बाई ठीक छन्, पत्नीहरूको केही काम छैन’, ‘केटीहरू पैसा उडाउने चिज हुन्’ आदि इत्यादि कति सुन्न पाइन्छ कति । दक्षिण भारतका मानिस काला हुन्छन्, धोती लगाउँछन्, उट्पट्याङ बोल्छन् । यस्तो रंगभेदमा पनि ‘टोटल धमाल’ उत्तिकै बलियो छ ।
दर्शकलाई त्राण दिने कामचाहिँ सदाबहार जोडी अनिल कपुर (लोग्ने) र माधुरी दीक्षित (पत्नी)ले गर्छन् । उनीहरू एक–अर्काप्रति एकदमै सहज लाग्छन् । वर्षौं सँगै काम गरेकाले पनि यो सहजता आएको होला ।
फिल्ममा सबैजसो कलाकार कोही न कोहीसँग जोडी छन् । तीमध्ये सबैभन्दा जादुमयी जोडी अनिल–माधुरीको हो । कमेडीमा उनीहरू दुवैको जोडीले भरपूर आनन्द दिन्छ । अनिल गुजराती र माधुरी मराठी लवजमा जमेका छन् ।
पर्दामा माधुरीलाई देख्दा सम्झिन मन लाग्छ— आफ्नो समयमा उनी किन ‘पावरहाउस’ थिइन् ! अनिल र माधुरीको छुट्टै ‘सोलो’ फिल्म आए कति राम्रो हुन्थ्यो होला !
र, माधुरीले अझै पनि झुर ठुम्का लगाउन सक्छिन् । नपत्याए ‘टोटल धमाल’ हेर्नू !
लुकाइएको ५० करोडको खजाना खोज्ने क्रममा आमनेसामने हुने लोभीपापीहरूको रस्साकस्सी ‘टोटल धमाल’को मूल कथा हो । झट्ट सुन्दा ‘धमाल’जस्तै लाग्ने कथामा यसपटक केही फरक चिज छन्— मान्छेसँगै जनावर पनि उत्तिकै प्रयोग भएका छन् । र, अर्को फरक पनि छ— यसमा सम्बन्धबिच्छेद हुन–हुन लागेका जोडी (अनिल–माधुरी) छन् । त्यसबाहेक गुन्डा, प्रहरी अधिकृत, लोभी दाजुभाइ त ‘धमाल’का सदाबहार पात्र भइहाले ।
रेलले कार उडाइदिने, पुल भत्किने, जंगली जनावरको हुंकार, विमानको ‘क्र्यास ल्यान्डिङ’ अनि खजाना हत्याउने दाउ । समग्रमा ‘टोटल धमाल’ यत्ति हो । इन्द्र कुमारले औंशबराबर पनि सिर्जनात्मकता मिसाएका छैनन् । उच्चाटलाग्दो कमेडीमात्रै छ । ‘मल्टीस्टारर’ यो फिल्मलाई ‘एड्भेन्चरस कमेडी’ भनिए पनि यो फिल्म शुरुदेखि नै ‘मिसएड्भेन्चर’तिर लम्किन्छ । यो फिल्मको कथा ट्रेलरमा देखिने भत्किएको पुलभन्दा पनि कमजोर छ । यति हुँदाहुँदै पनि फिल्मका केही कलाकारले यसलाई पूरै भत्किन दिएका छैनन् ।
अजय देवगणको चरित्र सिर्जना एकदमै हचुवाका भरमा गरिएको छ । लेखकले उनको चरित्र निर्माणमा मेहनतै गरेका छैनन् । एकदमै राम्रा मानिने कलाकार सञ्जय मिश्राको कमेडी पनि उच्चाटलाग्दो छ । अजय देवगणलाई पटक–पटक ‘ब्रो’ भनेर जबर्जस्ती हास्य पैदा गर्न लगाइएको छ । अरशद र जाभेदको प्रतिभालाई राम्ररी उपयोग गर्न सकिएको छैन । रितेश देशमुखले आफ्नो चरित्र राम्ररी निभाएका छन् । जोनी लिभरसँगका उनका दृश्यहरू गजब लाग्छन् । त्यसबाहेक बोमन इरानी, महेश मान्जरेकर र इशा गुप्ताको कामै छैन भन्दा पनि हुन्छ । उनीहरूको चरित्र निर्माणमा अति नै हेलचेक्र्याइँ गरिएको छ ।
फिल्मको अर्को कमजोर पक्ष के हो भने भने धेरैजसो ‘पन्चलाइन’हरू पहिल्यै अनुमान गर्न सकिन्छ । ‘एड्भेन्चर कमेडी’ भनिए पनि कम्प्युटर ग्राफिक्सले बनाइएका सिनहरूले दर्शकलाई प्रभाव पार्न सक्दैनन् । मध्यान्तरअघि सिनहरू बतासझैं कुद्छन् । मध्यान्तरपछि कलाकारको ओइरो लाग्छ । यसले बोझिलो बनाउँछ । ‘टोटल धमाल’लाई ‘टोटल मस्ती’ बनाउन निर्देशक इन्द्र कुमार नराम्ररी चुकेका छन् । लेखन कमजोर भयो भने फिल्म कस्तो बन्छ भन्ने उदाहरण चाहिएको भए ‘टोटल धमाल’ हेर्नू !