site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भागेर आफैंसँग
Ghorahi CementGhorahi Cement

— कुमार शर्मा


बायोकेमेस्ट्रीमा स्नातक गरिरहँदा मलाई सधैं लागिरह्यो कि मैले यो विषय बुझे पनि यसको खास मर्म बुझेको छैन । बुझ्नुपर्ने हिसाबले बुझ्न सकेको छैन । धेरै दुःख पनि दियो यो कुराले । धेरैपटक लाग्यो— आफूले खास अर्थमा बुझ्न नसकेको कुरा पनि के पढिरहनू ? यो कुरा आफ्नो परिवार र सँगै पढ्ने साथीभाइलाई भन्ने कोसिस पनि गरें । तर, यहाँ पनि एउटा समस्या थियो । समस्या के भने परीक्षामा मेरो प्रायः राम्रो अंक आउँथ्यो । परीक्षामा सधैं उच्च अंक ल्याउने विद्यार्थीले ‘मैले यो विषय खास बुझेको छैन’ भन्यो भने अरूले पत्याउने कसरी ? साथीहरूले ‘ठूलो कुरा गर्दैछ’ पो भन्छन् कि भन्ने डर लाग्थ्यो । पढेको पाठ कण्ठ गरेर परीक्षामा लेख्न सके राम्रो नम्बर आइहाल्थ्यो । मैले पनि त्यसै गरें । तर, खास अर्थमा आफूले पढेको कुरा भने मैले बुझिरहेको थिइनँ ।

बुझ्नु भनेको के हो ? कुनै कुरा बुझ्नु र कुनै कुराको मर्म बुझ्नुबीच के अन्तर छ ? के बुझाइ सापेक्षिक पनि हुन सक्छ ? यस्ता प्रश्नसँग बेलाबेला भलाकुसारी गरिरहें । मैले जिन्दगी बुझेको छु भन्नु र खास अर्थमा जिन्दगी बुझ्नुबीच जे फरक छ, शायद मेरो अवस्था पनि त्यस्तै थियो । मान्छे आफूले बुझेको कुरालाई बुझेको छैन भनेर अभिनय गर्ला तर साँच्चिकै नबुझेको कुरालाई कहिलेसम्म बुझेको छु भनेर ढाँट्न सक्ला ? त्यो अभिनय कति दिनसम्म टिक्ला ?

Agni Group

स्नातक सकेपछि उच्च शिक्षा पढ्ने छात्रवृत्ति पाएर पीएचडी गर्न म दक्षिण कोरियाको सोल शहर पुगें । मन भने कताकता खिन्न थियो । आफूले बुझ्न नसकिरहेको विषयमा पीएचडी गर्न कस्सिनु आफैंमा हाँस्यास्पद त थियो नै । शायद दुस्साहस पनि थियो । अरूसँग त होइन, आफैंसँग हाँस्थें बेलाबेला । म यो के गर्न गइरहेछु ? पीएचडी गर्न होमिइसकेपछि बायोकेमेस्ट्रीको दलदलमा म अरू फसें । त्यहाँ गइसकेपछि पनि परीक्षामा मेरो राम्रै अंक आउँथ्यो तर ल्याबमा गरिने रिसर्चले बढी अर्थ राख्थ्यो, परीक्षामा ल्याएको अंकले भन्दा । ल्याबमा रिसर्च गर्दा म अरू एक्लिएँ ।

ल्याबमा म अनुसन्धान त गर्थें तर त्यो गर्दा केवल प्रोटोकल फलो गर्ने कुरामात्र हुन्थ्यो । रोबोट जस्तो । आफ्नै दिमाग लगाएर ‘यो गर्दा यसो होला’, ‘बरु यसो गरौं’ भन्न सकिनँ । रचनात्मक हुन त झनै सकिनँ । मनमनै आफैंलाई भनें— मैले बायोकेमेस्ट्री र बायोलोजिकल रिसर्चको मर्म बुझेको छैन भन्ने कुराको अब पक्का पुष्टि भयो । अरूलाई त बरु ढाँट्न सक्थें, आफैंलाई कहिलेसम्म ढाँट्नू ? त्यो विषयबाट मेरो बचेखुचेको रुचि पनि बिस्तारै हराउँदै गयो ।

Global Ime bank

अर्को कुरा— बायोकेमेस्ट्री यतिसम्म प्राविधिक विषय थियो कि म आफूले पढिरहेको कुरा, गरिरहेको अनुसन्धानको संसार एकदम साँघुरो थियो । त्यो संसार सोही विषय पढिरहेका साथीभाइ र पढाउने शिक्षकवर्गमै सीमित हुन्थ्यो । त्यसबाहेक कुनै तेस्रो व्यक्तिले मैले पढ्ने विषयको भाषा बुझ्थेन । आम मान्छेलाई के डीएनए, के ब्याक्टेरियल कल्चर ! के क्लोनिङ, के पीसीआर ! यो कुराले मलाई सधैं खिन्न बनाउँथ्यो । पढ्न पनि कस्तो विषय पढिएछ कुन्नि, जसको बारेमा कुनै तेस्रो व्यक्तिसँग कुरा गर्न पुग्दा ऊ कुरा नबुझेर कपाल कन्याउन पुग्छ ! के सबै प्राविधिक विषयका भाषा यस्तै हुन्छन् ?

हुन त मैलेजस्तो सोच्ने हो भने शायद संसारमा कुनै नयाँ खोज, आविष्कार हुन्थेनन् होला । किनकि, प्रायः सबै आविष्कारहरू सम्बन्धित विषयका विज्ञ या प्राविधिज्ञबाट नै हुन्छ । र, सबै आविष्कार तथा नयाँ खोज सरल रूपले बुझिँदैनन् पनि । सन् १९२८ मा स्कटल्यान्डका वैज्ञानिक एलेग्ज्यान्डर फ्लेमिङले पेनिसिलिन पत्ता लगाए, त्यो पनि संयोगले । कुनै आम मान्छेले पहिलोचोटि पेनिसिलिनको नाम सुन्दा शायद नबुझेर कपाल कनायो होला । तर, जब त्यसको चिकित्सा क्षेत्रमा प्रयोग हुँदै गयो, आम मान्छेले पनि बुझ्दै गए कि पेनिसिलिन भनेको एक किसिमको एन्टिबायोटिक्स हो र यसले मानव शरीरलाई जीवाणुहरूसँग लड्न मद्दत गर्छ । कुनै नयाँ खोजको मानव जीवनमा हुने प्रयोग र त्यसको उपयोगितासँगै त्यो सरल हुँदै जाने हो भन्ने बुझ्दाबुझ्दै पनि मेरो बायोकेमेस्ट्री र ल्याबको रिसर्चसँगको दूरी अरू बढ्दै गयो । शायद म केही यस्तो पढ्न वा गर्न चाहन्थें, जो धेरैभन्दा धेरैले सजिलै बुझून् । कुरा सुन्दा कपाल नकन्याऊन् ।

सोलमा पढ्दै गर्दा घरमा आमासँग बेलाबेला  फोनमा कुरा हुन्थ्यो । सोध्नुहुन्थ्यो, “तेरो पढाइ कस्तो हुँदै छ त नि ? अनि त्यो ल्याब हो कि के जातिको काम कस्तो हुँदै छ ?”

“ठीकै छ, चलिरहेको छ,” म भन्थें ।

अलि बढी नै दिक्क लागेको बेला मलाई भन्न मन लाग्थ्यो, “आमा मलाई यो विषय नै मन पर्दैन । मेरो मन नै छैन यता ।”

तर, त्यसो भनिहाल्ने हिम्मत भने हुन्थेन । मैले त्यसो भनिहाले पनि आमाले मेरो कुरा बुझ्नुहुन्न कि भन्ने डर लाग्थ्यो । र, कहिलेकाहीँ भन्थें पनि, “पढाइ त ठीकै छ तर यो ल्याबको काम जति गरे पनि मिल्दै मिल्दैन ।”

उताबाट उत्तर आउँथ्यो, “अलि मन लगाएर गर् न बाबु । मन लगाएर गरेको काम पूरा हुन्छ ।”

आमाको कुरा सुनिसकेपछि म चुप हुन्थें । आमालाई म कसरी भनूँ कि बायोकेमेस्ट्रीको रिसर्चमा लगाउनको लागि मसँग कुनै मन बाँकी थिएन । रुचि त झनै थिएन ।

म ‘हुन्छ’ भन्थें र संवाद टुंगिन्थ्यो । र, हप्ताको पाँचौं पटक त्यही एउटा टेस्ट ल्याबमा फेरि देहो¥याउँथें— आशावादी भएर होइन, असहाय भएर । टेस्टको नतिजा फेरि पनि खोजेजस्तो आउँदैनथ्यो ।

सोल गएको ठ्याक्कै एक वर्षपछि भने मैले पढ्ने गरेको बायोकेमेस्ट्री र ल्याबमा गर्ने गरेको रिसर्च मेरो घाँटीसम्मै आयो । मलाई पुग्यो । त्यो घाँटीमा अड्किराखेको डल्लो मैले निल्ने प्रयास गरिनँ । बरु अठोट गरें— यो डल्लोलाई अब कहिल्यै ननिल्ने गरी निकालिदिन्छु । र, अन्ततः साहस जुटाएर मैले कोर्स थालेको एक वर्षपछि पीएचडीको पढाइ ह्यापिदिएँ । आधिकारिक रूपमै बायोकेमेस्ट्री र रिसर्चसँग डिभोर्स गरें । जिन्दगीमा यसपछि के गर्ने ? मसँग उत्तर थिएन । कताकता सोचेर डर पनि लाग्यो । तर, डरभन्दा पनि बढी राहत महसुस भयो । मन हलुका भएर आयो— ठूलो वजन शरीरबाट हटाएजस्तो । एक वर्ष अरू सोलमा हल्लिएर (काम गरेर) अन्ततः म नेपाल फर्किएँ । युद्धमा हारेको सिपाहीजस्तो, जो युद्ध जित्न नसकेकोमा निराश त छ तर आफ्नो देश र परिवारसँग फर्किन पाउँदा खुशी पनि छ ।

० ० ०

फर्किसकेपछि अब के गर्ने भन्ने अन्योलबीच मैले एउटा मेडिकल डाइग्नोस्टिक ल्याबमा काम शुरु गरें । ल्याबबाट भागेर आएको मान्छे फेरि ल्याबमा ? शुरुवात त कहीँबाट गर्नु थियो । त्यसमाथि डाइग्नोस्टिक ल्याबको काम बाइलोजिकल रिसर्चजस्तो ‘डल’ लागेन । रगतबाट प्रायः टेस्टहरू गरिन्थ्यो । ग्लुकोजदेखि थाइरोइडसम्मका टेस्टहरू । कसैले नबुझ्ने डीएनएबाट म धेरैले बुझ्ने रगतसम्म आइपुगेको थिएँ । ‘के गर्दैछौ आजकल ?’ भन्ने प्रश्न आउँदा मेरो उत्तर सुनेर कपाल कन्याउन छाडिसकेका थिए मान्छे । म यसैमा खुशी हुन थालें ।

यसबीच म साहित्यतिर बिस्तारै आकर्षिक हुँदै थिएँ । नेपाली र अंग्रेजी साहित्य पढ्न र फाट्टफुट्ट अंग्रेजीमा कथा, कविता लेख्न थालेको थिएँ । बेलाबेलामा कथा पत्रिकामा पनि छापिन्थे । आफूले लेखेको कथासँगै आफ्नो नाम पत्रिकामा छापिएको देख्दा सिपाहीजस्तो महसुस हुन्थ्यो, युद्ध हारेको होइन, जितेको सिपाही । पहिलो कथा प्रकाशित भएपछि लगभग हरेक हप्ताजस्तो एउटा कथा त्यो पत्रिकामा पठाउन थालें । कथा हप्ताको एकदिन आइतबारमात्र आउँथ्यो । हरेक आइतबार हात कमाउँदै म पत्रिका पल्टाउँथें, कतै आफ्नो कथा छापिएको पो छ कि भनेर ! सधैं छापिने कुरो पनि हुन्थेन । तर, हरेक डेढ—दुई महिनामा कथा छापिन थाल्यो ।

कथा छापिएको दिन मेरो खुट्टा भुइँमा हुन्थेन । गमक्क परेर कथा दुई—तीन चोटि पढेपछिमात्र बिहान खाटबाट उठ्थें । घरमा दैनिक पत्रिका आउँथ्यो । पहिले बुवाले पढेर सकेपछि मेरो पालो आउँथ्यो । कथा छापिएको दिन बाहिर कोठामा बुवाले आमालाई भनेको सुन्थें, “त्यसको कथा छापिएको छ आज ।”

कथा राम्रो÷नराम्रो कस्तो लाग्यो, बुवा खासै प्रतिक्रिया दिनुहुन्नथ्यो । तर, यदि पत्रिकामा मेरो केही छापिएको छ भने पहिलो जानकारी उहाँलाई नै हुन्थ्यो । किनभने, पत्रिका पहिले उहाँले पढ्नुहुन्थ्यो । मुखले केही नभने पनि मलाई भित्रभित्रै लाग्थ्यो— बुवाले मेरो लेखाइको मौन समर्थन गर्नुहुन्छ । त्यत्तिले पनि ठूलो ऊर्जा मिल्थ्यो ।

कथा छापिएको थाहा पाएपछि आमा नजिकै आएर भन्नुहुन्थ्यो, “कस्तो कथा हो, मलाई पनि पढेर सुना न ।”

आमाले औपचारिक शिक्षा लिने अवसर पाउनुभएन । यद्यपि प्रौढ शिक्षाको मद्दतले नेपाली अक्षर चिन्न भने सक्नुहुन्थ्यो । समय लगाएर पढ्न पनि सक्नुहुन्थ्यो । मुड चल्दा नमुना चिठी लेख्न पनि तम्सिनुहुन्थ्यो ।

म भन्थें, “अंग्रेजीमा हो के ।”

“मैले बुझ्छे भनेर हो क्या हो अंग्रेजीमा लेख्नी ?” आमा ठट्टा पनि गर्नुहुन्थ्यो । ठट्टा नै भए पनि त्यो कुराले मलाई भित्र मनमा कताकता बिझाउँथ्यो । अनि म कथाको मोटामोटी सार आमालाई सुनाउँथें । आमा चित्त बुझेजस्तो गर्नुहुन्थ्यो । मेरो चित्त भने बुझ्थेन ।

डाइग्नोस्टिक ल्याबमा काम गरेको वर्षदिन पनि नपुग्दै मलाई अन्ततः बोध भयो— मैले हिँड्न खोजेको बाटो यो पनि होइन । गन्तव्य के हो भन्ने छर्लंग नभए पनि मैले आफूले खोजेको बाटो भेटेजस्तो लाग्यो । गन्तव्यमा पुग्नुअघि पहिले सही बाटोमा हिँड्नु जरुरी थियो । र, मैले ‘द काठमाडौं पोस्ट’को अनलाइन न्युज पोर्टल ‘ई–कान्तिपुर’मा काम थालें ।अंग्रेजी माध्यममा पत्रकारितामा गर्ने त्यो निर्णय जिन्दगीमा म आफैंले चालेको दोस्रो सही कदम थियो । पहिलो सही कदम सोलको पीएचडी पढाइ ह्याप्नु थियो ।

‘द काठमाडौं पोस्ट’मा पत्रकारिता शुरु गरिसकेपछि मैले लेखेका कथा तथा अन्य लेख, रचना नियमित रूपले छापिन थाले । आमालाई पनि सजिलो भएको थियो । कसैले सोधे फ्याट्ट भन्नुहुन्थ्यो, “छोरा कान्तिपुरमा काम गर्छ । पत्रकार हो, समाचार लेख्छ ।”

तर, मैले अंग्रेजीमा लेख्ने भएकोले आफैं पढ्न भने सक्नुहुन्नथ्यो । म मनमनै सोच्थें— कमसेकम नेपालीमा लेख्न सकेको भए घण्टौं लगाएर भए पनि दुई–चार अनुच्छेद त पढ्न सक्नुहुन्थ्यो ! राति निद्रा नलाग्दा मेरै कथा पढेर झुपुझुपु हुँदै एकैछिन भए पनि त निदाउनुहुन्थ्यो ! निद्रा नपर्दा किताब लिएर बस्यो भने उहाँ झुल्न थाल्नुहुन्थ्यो र केहीबेरमै निदाउनुहुन्थ्यो ।

शुरु–शुरुमा कथा छापिएको दिन मलाई लाग्थ्यो— अब मेरो कथा, रचना पढेर चिनजानका मान्छे र साथीहरूले भेटेरै मलाई बधाई र शुभकामना दिनेछन् । भन्नेछन्—

“वाह ! कस्तो राम्रो स्टोरी !”

“आई सिम्पली लब्ड इट !”

“ब्युटिफुल राइटिङ !”

तर, त्यस्तो हुन्थेन । व्यक्तिगत रूपमा नभने पनि मलाई फेसबुक म्यासेन्जर वा इमेलमार्फत बधाई दिनेछन्— म सोच्थें । फेरि पनि त्यस्तो हुन्थेन । मनमनै आफैंलाई भन्थें— पढ्ने मौका नमिलेर होला । केही दिनमा पक्का प्रतिक्रिया आउनेछ । दिन हुँदै हप्ता बितिसक्थ्यो, कथा बासी भइसक्थ्यो र पनि मेरो म्यासेन्जर र इमेल दुवै मौन रहन्थे ।

बुझें— लेखेर मात्र सबैले पढ्दा रहेनछन् ।

मैले लेखिरहेका कथा, व्यक्त गर्न खोजिरहेको अभिव्यक्ति मैले लेखिरहेको भाषामा मैले खोजेजस्तै अभिव्यक्त भइरहेको छ ? आफैंलाई प्रश्न गरें । मैले अंग्रेजीमा लेखेर पठाएका कथा बरु उति धेरै सम्पादन हुन्थेनन् तर कथाबाहेकका अरु रचना, जस्तैः पुस्तक समीक्षा, व्यक्ति प्रोफाइल कहिलेकाहीँ यतिसम्म सम्पादित हुन्थे कि पत्रिकामा छापिएर आइपुग्दासम्म मैले व्यक्त गर्न खोजेको ‘एक्सप्रेसन’ अर्कै भइसक्थ्यो । सार उही भए पनि स्टोरी छापिएकोमा खुशी त हुन्थें तर आफूले उतार्न खोजेको ‘एक्सप्रेसन’ लेखाइमा प्रतिविम्बित नहुँदा बढी खिन्न हुन्थें ।

बुझें— लेखिरहेको भाषा झन् महत्वपूर्ण रहेछ । आफूले खोजेको ‘एक्सप्रेसन’ त्यो भाषामा आयो कि आएन, यो झन् महत्वपूर्ण रहेछ ।

म नेपाली र अंग्रेजी दुबै साहित्य पढ्थें तर तुलनात्मक रूपमा अंग्रेजी साहित्य नै बढी पढ्थें । त्यसबेला लेख्न भने म अंग्रेजीमा मात्र लेख्थें । अंग्रेजीमा लेखे पनि सोच्न भने म नेपालीमा सोच्थें । एकदिन आफैंलाई प्रश्न गरें— नेपालीमा सोचे पनि म किन अंग्रेजीमा लेख्छु ?

आफैंलाई केही उल्टोजस्तो लाग्यो । यो प्रश्नको चित्तबुझ्दो जवाफ मसँग थिएन । नेपालीमा सोचेको कुरा अंग्रेजीमा लेख्दा भाव ठ्याक्कै, दुरुस्तै नआउने अनुभव गर्न धेरै समय लागेन । एउटा भाषामा लेखेको कुरालाई अर्को भाषामा अनुवाद गर्दा ‘लस्ट इन ट्रान्सलेसन’ भएजस्तै, एउटा भाषामा सोचेको कुरा अर्को भाषामा लेख्दा अभिव्यक्त गर्न खोजेको भाव शायद कतै हराउँथ्यो । ‘लस्ट इन एक्सप्रेसन’सँगै मभित्र असन्तुष्टि बढ्दै गयो ।

म हिँडेको बाटो सही त थियो तर त्यसले गन्तव्यसम्म पु¥याउने कुरामा म निश्चिन्त हुन सकिरहेको थिइनँ । मूलबाटोमै रहेर मैले अर्को समानान्तर बाटो रोज्नु थियो, जो गन्तव्यको नजिक भएर जाने कुरामा म ढुक्क हुन सकूँ । मसँग अर्को विकल्प पनि थिएन । र, अन्ततः मैले जिन्दगीको तेस्रो सही निर्णय लिएँ, जुन निर्णयमाथि मेरो पूर्ण विश्वास र स्वामित्व थियो । मैले नेपालीमा लेख्न थालें । बच्चैदेखि लामो समयका लागि रही आएको मित्रता अन्तिममा गएर प्रेम सम्बन्धमा परिणत भएजस्तो ।

समानान्तर बाटो रोज्नुको अर्को फाइदा पनि थियो । यसो गर्दा निद्रा नपरेको रात आमालाई पनि केही सजिलो हुन्थ्यो । मेरा लेख, रचना पत्रिकामा छापिएका दिन खाटमा ढल्किएर पढ्ने कोसिस गर्दा आमाका आँखामा निद्रा पर्ने सम्भावना बढ्थ्यो । पढ्न अल्छी लागेको बेला हातमा चियाको कप लिएर सोफामा ढल्किँदै दिदीलाई भन्न सक्नुहुन्थ्यो, “भाइले के लेखेको रै’छ, पढेर सुना त ।”

यो प्रेम सम्बन्धको बारेमा एउटा सुन्दर कविता लेख्न मन छ । कुनै दिन । आजलाई यत्ति नै ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ११, २०७५  ०८:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC