site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
राजा वीरेन्द्रले भने, “ओह ! यु आर !”
Sarbottam CementSarbottam Cement

– नरेश फुयाँल


शुक्रबार बिहान ८ बजे महाराजगन्जस्थित माइकल चन्दको घरमा पुग्दा उनी हामीलाई नै कुरिरहेका थिए । गेट खोले । तीन वटा कुकुर माइकललाई पछ्याउँदै आइपुगे । हामीले माइकललाई पछ्यायौं । बैठक कक्ष लगे । कदर पत्र, अवार्ड र उपहारले कोठाका भित्ता भरिएका थिए । कुरा शुरु नहुँदै उनकी श्रीमती ट्रेमा दुई कप कफी लिएर आइपुगिन् । माइकलले श्रीमतीतिर देखाउँदै प्रश्न फ्याँके, “बाबु, उनलाई चिन्नुभयो ?”

उनी थिइन्, नेपाली रजतपटकी पहिलो नायिका भुवन चन्द । नचिन्ने कुरै भएन । हाम्रो अभिवादनमा उनी मुसुक्क हाँसिन् ।

Prabhu Bank
Agni Group
NIC Asia

कफीको स्वादसँगै हामी लाग्यौं ०२८ सालतर्फ, जब माइकलले पहिलोपटक रेडियो माइकअघि आफूलाई प्रस्तुत गरे ।

० ० ०

Global Ime bank

तत्कालीन सांस्कृतिक संस्थानमा विदेशी पर्यटकका लागि हुने कार्यक्रममा माइकल चन्द उद्घोषकको काम गर्थे । अरूले नेपालीमा उद्घोषण गर्थे, उनले अंग्रेजीमा । चार वर्ष भएको थियो । युगोस्लाभियाका तत्कालीन राष्ट्रपति मार्सल योजेफ ब्रोसेल टिटो नेपाल आएका थिए । राष्ट्रप्रमुखहरू आउँदा प्रज्ञा प्रतिष्ठानले उनीहरूको सम्मानमा सांस्कृतिक कार्यक्रम देखाउने चलन थियो । टिटो सहभागी हुने कार्यक्रमको उद्घोषण कसले गर्ने ? अंग्रेजी राम्रो उच्चारण भएको र उद्घोषण गर्न सक्ने व्यक्तिको खोजी शुरु भयो । कलेज र सांस्कृतिक संस्थानमा गरेका उद्घोषणले माइकल चिनिन थालेका थिए । प्रज्ञा प्रतिष्ठानमा सत्यमोहन जोशीले माइकलको नाम प्रस्ताव गरेछन् । सांस्कृतिक संस्थानका प्रमुख इन्द्रप्रसाद काफ्लेले ‘हुन्छ’ भने । माइकललाई बोलाए ।

राष्ट्रिय पोशाक दौरा–सुरुवालमा ठाँटिएर माइकलले कार्यक्रम चलाए । कार्यक्रम के सकिएको थियो, एउटा व्यक्तिले चिट ल्याएर माइकललाई थमाए । चिटमा अंग्रेजीमै लेखिएको थियो, “मलाई भोलि १० बजे रेडियो नेपालमा भेट्नू– रामराज पौडेल ।”

रामराज रेडियो नेपालका कार्यकारी निर्देशक थिए । ठीक १० बजे उनी रेडियो नेपाल पुगे । रामराजले समाचार निर्देशक प्रचण्डमानसिंह प्रधानलाई बोलाएर भने, “उहाँको स्वर परीक्षा मैले लिइसकें । प्रनन्सियसन, स्टाइल, भ्वाइस टेक्स्चर सबै ठीक छ । उहाँले अंग्रेजी समाचार शाखामा काम गर्नुहुन्छ ।”

रेडियो नेपालमा जागिर शुरु गरे माइकलले । रेडियोले तालिम दियो । समाचार र अन एयरको तौरतरिका सिकायो । शुरुमै समाचारमा अनएयर हुन पाइँदैनथ्यो । त्यसबाहेकका कार्यक्रममा काम गरे ।

‘दिस इज रेडियो नेपाल...’

रेडियो प्रवेश गरेको दुई महिना भएको थियो । प्रचण्डमानले भने, “ल, भोलि राति ८ बजेको  समाचार तिमीले पढ्नुपर्छ ।”

अनएयर हुने पालो माइकलको । रातभर निद्रा परेन । मनमा डरले डेरा जमायो । सजिलो कहाँ थियो र ! पञ्चायती व्यवस्था थियो । सबै कुरा दरवारको पकडमा । रेडियो नेपाल पनि दरबारकै छत्रछायामा ।

“पञ्चायती व्यवस्थामा काम गर्दा त्रास हुन्थ्यो । केहीगरी गल्ती भइगयो भने जागिरबाट निकालिने हो कि भन्ने डर हुन्थ्यो । धेरैको जागिर गइसकेको सुनेको थिएँ ।”

माइकल समाचार बोकेर स्टुडियो छिरे । माइक अन/अफ आफैं गनुपथ्र्यो । स्विच अन गरे । समाचार बुलेटिनको ओपनिङ यसरी शुरु गरे, “दिस इज रेडियो नेपाल, दि न्युज रेड बाई हरिश चन्द ।”

यति भन्दा झन्डै–झन्डै उनको सातो गयो रे !

“पहिलोपटक अनएयर, त्यो पनि एक्लै ! मलाई क–कसले सुनिरहेको छ ? दरबारले ? पञ्चायतले ? आफ्नै हाकिमले ? सम्पादकले ? अनि कति स्रोताले ? अब लौ मेरो के हुने हो भन्ने भयो ! आँखा कागजको अक्षरमा भए पनि दिमागमा यही कुरा खेलिरहेको थियो,” २०२८ सालमा पहिलो समाचार बुलेटिन पढेको स्मरण गरे माइकलले, “तर, ठीक त्यही बेला कन्ट्रोल रुममा बसेका प्राविधिकले बोलेको माकइलको कानमा आइपुगेर ठोक्कियो, ‘एकछिन, एकछिन, माइक अन भएको छैन । फेरि शुरु गर्नुस् ।’ माइक अन हुँदा हरियो बत्ती बल्नुपर्ने थियो । मैले अन गरेजस्तो लागे पनि अन भएकै रहेनछ । फेरि अन गरें र पढ्न शुरु गरें ।”

समाचार पढिसकेर माइकल बाहिर निस्किएका मात्रै के थिए, प्रचण्डमानले भने, “गुड ! भेरी गुड !”

आत्तिएको मन शान्त भयो ।

ठीक त्यही बेला राजदरबारबाट फोन आयो प्रचण्डमानलाई । फोन राजा वीरेन्द्रका प्रमुख संवाद–सचिव चिरण शमशेर थापाको थियो ।

उनले भनेछन्, “मैले समाचार सुनें । प्लिज टेल हिम माई कंग्य्राजुलेसन्स ।”

प्रचण्डमानले आएर भने, “माइकल ! तिमीलाई दरबारबाट फोन आएको छ, कंग्य्राजुलेसन्स भनेर ।”

दरबारको त्यो फोनले उनको मनोबल उँचो बनाइदियो । ‘आई क्यान डु इट’ भन्ने भावना जगाइदियो । दरबारको त्यो प्रशंसाको फोन सुनाउँदा ४७ वर्षपछि पनि माइकलको मुहारमा खुशीका लाभा उसैगरी दौडिरहेको देखिन्थ्यो । त्यही दिनको जस्तै ।

रेडियोका हाकिम र दरबारले हौसला बढाइदिए । स्वर जन्मजात पाएकै थिए । मेहनत र इच्छाशक्तिले त्यसलाई थप माझ्दै गए । समाचार पढ्दै गए । स्वर फैलिँदै गयो । स्रोता बढ्दै गए । श्रीमती सिने जगतकी नायिका (भुवन चन्द), श्रीमान् रेडियोका नायक । फ्यानहरू उनलाई भेट्न रेडियोमै आउन थाले । युवायुवती मात्रै होइन, अधवैंशे उमेरका पनि उनलाई भेट्न आउँथे । “हप्तामा ८–१० जना फ्यान मलाई रेडियोमै हेर्न आइपुग्थे । कसरी रेडियोमा प्रवेश गर्ने र तपार्ईंले जस्तै बोल्न सकिन्छ भन्थे । कस्तो राम्रो स्वर भनेर तारिफ गर्थे,” माइकलले आफ्नो लोकप्रियताको गाथा सुनाए ।

प्रचण्डमान, कमल प्रधान, प्रवीण गिरी, तीर्थ भण्डारी, ललित क्षेत्री, कृष्णा ताम्राकार, दुर्गानाथ शर्मालगायतलाई भेट्न स्रोताहरू आउँथे । “हामी आफैं पनि एक–अर्काका फ्यान थियौं । एक–अर्काबाट सिक्ने बानी बसालेका थियौं,” उनले भने ।

\"\"

माइकल चन्द भर्सेस हरिश चन्द

“दिस इज रेडियो नेपाल, दि न्युज रिड बाई हरिश चन्द,” अनएयर हुँदा उनले रेडियोमा पहिलोपटक बोलेको वाक्य । 

प्रश्न गरें, “नाम माइकल चन्द हुँदाहुँदै किन रेडियोमा हरिश चन्द भन्नुभयो ?”

स्कुलमा उनले लेखेको नाम पनि माइकल चन्द नै हो । नागरिकतामा पनि माइकल चन्द नै छ । साथीभाइ, आफन्तले पनि माइकलै भनेर बोलाउँछन् । फर्पिङस्थित त्रिभुवन आदर्श विद्यालयले राखिदिएको नाम थियो माइकल । कारण— अंग्रेजी स्कुलमा अंग्रेजी नामै राखिदिऊँ भनेर रे ! बर्मामा पढ्दा पनि त्यही नाम कायम भयो, अहिलेसम्म पनि ।

तर, रेडियोमा समाचार पढ्ने बेलामा रेडियो नेपालका तत्कालीन कार्यकारी निर्देशक रामराज पौडेलले भने, “ए माइकल बाबु ! ठीक छ, माइकल त तिम्रो नामै भयो । न्युज पढ्दा नेपाली नाम नै भनौं । न्युज पढ्दा माइकल भन्यो भने फेरि ठमेलबाट कोही टुरिस्ट ल्याएर समाचार पढायो भन्लान् । पब्लिकमा राम्रो सन्देश नजाला । त्यसैले नेपाली नाम भनौं है ?”

माइकलको चिनाको नाम हरिश चन्द थियो । त्यसैले माइकले त्यही हरिश नै पढ्न थाले । जुन दिन माकइलले रेडियो नेपालमा समाचार पढ्न थाले, हरिश चन्दको जन्म भयो र जुन दिन उनी रेडियो नेपालबाट निवृत्त भए, हरिश चन्द पनि हरायो । यद्यपि उनी अरूलाई चिन्न सजिलो होस् र आफूलाई पनि नबिर्सिऊन् भनेर अहिले माइकल चन्द (हरिश चन्द) लेख्छन् ।

विदेशी हेभीवेटसँग अन्तर्वार्ता

समाचार त माइकल पढ्थे नै, अन्तर्वार्ता पनि लिन्थे । विदेशबाट कोही राष्ट्रध्यक्ष वा परराष्ट्रमन्त्री आए पत्रकार सम्मेलन र अन्तर्वार्ता लिन माइकल नै जान्थे ।

क–कसको ?

लोमो सूची छ माइकलसँग । त्यो पनि बडेबडे विदेशीको ।

जस्तै ?

रेडियो नेपालमा प्रवेश गरेको करिब दुई वर्ष भएको थियो । अमेरिकाका पूर्व विदेशमन्त्री डा. हेनरी किसिन्जर काठमाडौं आएका थिए । होटल सोल्टीमा अन्तर्वार्ता लिने समय तय भयो । सौहार्दपूर्ण वातावरणमा भएको अन्तर्वार्ताको अन्त्यमा माइकलले सोधे, “फरेन पोलेसीमा अमेरिकाले धोका खाएको सबैभन्दा नराम्रो कुनै घटना छ ?”

जवाफमा किसिन्जरले भने, “दुःखको कुरा के भने भियतनामप्रति हामीले जुन पिस प्रोसेस शुरु गरेका थियौं, त्यो कोल्याप्स भयो । ... अमेरिकाको इतिहासमा त्यो नै हामी नराम्रोसँग चुकेको समय हो ।”

अन्तर्वार्ता रेडियोबाट प्रसारण भयो । त्यो बेलाका अन्य सबै सञ्चारमाध्यमले त्यो अन्तर्वार्ताको कपी मागेर ट्रान्सक्राइव गर्दै प्रकाशन गरे ।

किसिन्जरपछि बंगलादेशका पूर्वराष्ट्रपति महमद असदसँग पनि माइकलले अन्तर्वार्ता लिने मौका पाए । नेपालमा पञ्चायत थियो । सञ्चारमाध्यम स्वतन्त्र थिएनन् । दरबार, उसका क्रियाकलाप र व्यवस्थाको विरोध गरे जागिर रहँदैनथ्यो । त्यसैले प्रश्न भने औपचारिकमात्रै हुन्थे ।

माइकललाई कामले खार्दै लग्यो । अनुभवले परिपक्व बनाउँदै गयो । कामको प्रशंसा हुँदै गयो । अवसरहरू आउँदै गए ।

सिंगापुरका पूर्वप्रधानमन्त्री ली क्वान यू नेपाल आए । उनको पनि माइकलले अन्तर्वार्ता लिए । भारतका तत्कालीन प्रधानमन्त्री चन्द्रशेखरको पनि माइकलले नै अन्तर्वार्ता लिए ।

जहाँ विदेशी हेभिवेट, त्यहाँ माइकल जस्तै भयो । शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा अमेरिकी विदेशमन्त्री कोलिन पावेल नेपाल आए । रेडियो नेपालले माइकललाई नै पत्रकार सम्मेलनमा पठायो । अन्तर्राष्ट्रिय मिडियादेखि राष्ट्रिय मिडियाका पत्रकारहरू थिए । पत्रकार सम्मेलनमा चिफ अफ प्रोटोकलले भने, “द फस्र्ट कोइसन विल बी आक्स्ड बाई हरिश चन्द अफ रेडियो नेपाल ।”

माओवादी–सरकार द्वन्द्व चलिरहेको थियो । उनले सोधे, “तपाईं नेपाल आउनुको मुख्य उद्देश्य के हो ?”

‘शान्ति—प्रक्रियालाई कसरी स्थापित गर्न सकिन्छ भनेर नेपाल आएको’ उनको जवाफ थियो । अर्को प्रश्न पनि उनैले सोधे, “त्यसो भए तपाईंसँग शान्ति–प्रक्रियालाई स्थापित गर्ने कस्तो प्योकेज छ ?”

जवाफ थियो, “हामीसँग त्यस्तो ठोस प्लान त केही छैन । यसबारे हामी प्रधानमन्त्री र नेपाली सरोकारवालासँग छलफल गरेर निष्कर्षमा पुग्नेछौं ।”

\"\"

त्यो वाक्य 

तत्कालीन राजा वीरेन्द्रको शुभराज्याभिषेक थियो । संसारका दिग्गज–दिग्गज व्यक्तिलाई दरबारको निमन्त्रणा थियो । पाहुनाहरुलाई दरबारले होटल सोल्टीमा राखेको थियो ।

टेपरेकर्डर बोकेर माइकल सोल्टी होटल पुगे । फिलिपिन्सकी प्रथम लेडी इमेल डमारकोसले अन्तर्वार्ता दिने भइन् ।

संसारका थुप्रै राष्ट्रका उच्चपदस्थ व्यक्ति बसेको सोल्टीमा थुप्रैसँग माइकललाई भेटाइयो । चिनजान भयो । केहीसँग अन्तर्वार्ता पनि भयो । तर। त्यहीँ भेट भएका डा. क्रिस्टियान बर्नहार्टलाई अहिले पनि बिर्सन सकेका छैनन् माइकलले ।

डा. क्रिस्टियान बर्नहार्ट थिए संसारकै पहिलो मुटु प्रत्यारोपण गर्ने डक्टर । दक्षिण अफ्रिकाका यी डक्टरले १९६७ डिसेम्बर ३ मा पहिलोपटक मुटु प्रत्यारोपण गरेका थिए । बर्नहार्टसँग पनि उनले अन्तर्वार्ता लिए । एउटा प्रश्न सोधे, “अफ्रिकामा अहिले पनि रंगभेद छ । यसमा तपाईंको के भनाइ छ ?”

जवाफमा उनले भने, “जब मैले चिर्छु, कालो होस् या सेतो— रगत म रातै देख्छु । रगतमा कुनै फरक देख्दिनँ ।”

यो वाक्य सुनाउँदा अहिले पनि माइकल भावुक हुन्छन् । 

उपलब्धि र प्राप्ति

राम्रो काम गरेको अवार्डस्वरूप रेडियो नेपालले माइकललाई सन् १९७६ मा जर्मन रेडियो ‘द भ्वाइस अफ जर्मनी’मा तीन वर्षका लागि काम गर्न पठायो । सम्पादकको जिम्मेवारीमा त्यहाँ उनले जर्मन तथा बेलायतीहरू रहेको न्युजरुममा बसेर काम गरे । दक्षिण एसियालाई लक्षित गरेर ‘पानारोमा’ कार्यक्रम तयार गर्नुपथ्र्यो । त्यो कार्यक्रमको प्रस्तोता पनि बने माइकल ।

तीन वर्ष बित्यो । घर फर्किनु पर्ने भयो । स्वर, भाषा र कामप्रतिको लगाव देखेर नै होला—‘भ्वाइस अफ जर्मनी’ले उनलाई बस्न आग्रह पनि गर्‍यो । तर, जर्मनीको जाडो सहने ल्याकत थिएन । माइकल फर्किए ।

उनले हामीलाई प्रश्न गरे, “ल भन्नुस्, मैले तीन वर्ष बसेर जर्मनीबाट फर्किंदा सुटेकेशमा के लिएर फर्किएँ होला ?”

दोस्रो प्रयासमा हाम्रो जवाफ मिल्यो । माइकल नेपाल फर्किएका थिए, ज्ञान सँगालेर । जर्मन भाषा सिकेर ।

नेपालमा एक जर्मन नागरिक जर्मन भाषा सिकाउने विश्वव्यापी इन्स्टिच्युट www.gothe.deल्ने तयारीमा रहेछन् । ‘भ्वाइस अफ जर्मनी’का प्रमुख र नेपालमा www.gothe.de खोल्ने तयारी गरिरहेका व्यक्ति साथीसाथी रहेछन् । ‘भ्वाइस अफ जर्मनी’का प्रमुखले माइकललाई सम्पर्क गर्न आग्रह गरेछन् । गणबहालमा भेट भयो । जर्मन भाषामै कुरा भयो । माइकललाई अफर गरे, “जर्मन भाषाको टिचर बन्ने हो ?”

माइकलले भने, “प्रयास गर्छु ।”

अढाई वर्षका लागि उनी फेरि जर्मन भाषा पढ्न जर्मनी गए । डिप्लोमा गरेर फर्किए । संयोग— जर्मन भाषामा डिप्लोमा गर्ने पहिलो नेपाली नागरिक बने माइकल ।

बिहान जर्मन भाषा पढाउन थाले । बेलुका रेडियो नेपालको जागिर खान्थे । रेडियो नेपालमा ३२ वर्ष काम गरेका माइकलसँग ३३ वर्ष जर्मन भाषा पढाएको अनुभव छ ।

नेपालमा जर्मन भाषा पढाउन थालेको २५ वर्ष पुगेको अवसरमा जर्मनीले आयोजना गरेको कार्यक्रममा त्यहाँका राष्ट्रपति हस्र्ट कोलरले सन् २००८ मा जर्मनीको उच्च नागरिक पदकले विभूषित गरे । त्यो अवार्ड पाउने माइकल दक्षिण एसियाकै पहिलो व्यक्ति रहेछन् ।

अर्को उपलब्धि पनि सुनाए माइकलले । उनलाई सरकारले गोरखा दक्षिणबाहु चौथो दियो । कारण थियो— अंग्रेजी भाषामार्फत पत्रकारिताबाट देश र जनताको सेवा गरेको तथा नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने काम गरेको ।

राजाहरूसँग उनले अन्तर्वार्ता लिने अवसर त पाएनन् तर एकपटक भेट भएको रहेछ । तत्कालीन राजा वीरेन्द्र रेडियो नेपालको भ्रमणमा पुगेका थिए । दौरासुरुवाल लगाएर लहरै बसेका कर्मचारीको अगाडिबाट वीरेन्द्र आए । रेडियोका हाकिमले वीरेन्द्रलाई कर्मचारीहरूको नाम चिनाउँदै गए ।

उनको पालो आएपछि हाकिमले भने, “हि इज मिस्टर हरिश चन्द !”

त्यसपछि वीरेन्द्रले भने, “ओह ! यु आर !”

स्वर र स्पष्ट उच्चारणका कारण माइकलले आफ्नो छुट्टै छवि बनाइसकेका थिए । शायद राजा वीरेन्द्रको मस्तिष्कमा पनि उनको स्वरले डेरा जमाइसकको थियो । त्यसैले ‘अँ’ सूचक टाउको हल्याएर हिँडिरहेका वीरेन्द्रले हरिश चन्दको नाम सुन्नेबित्तिकै अचानक भने, “ओह ! यु आर !”

\"\"

छोरीहरू पनि पत्रकार ?

श्रीमती भुवन चन्द नेपाली रजतपटकी नायिका । माइकल पत्रकार । श्रीमती ग्ल्यामरस फिल्डमा, श्रीमान् स्वर र अक्षरका किसान । श्रीमती क्यामेराअगाडि, श्रीमान् माइकअगाडि ।  उनका सन्तान कोतिर ढल्किए ?

जोठी छोरी शीलाले बुवाकै पेशा रोजिन् । चार वर्ष रेडियो नेपालमा अंग्रेजी समाचार पढिन् । अहिले अमेरिका छिन् ।

माइली छोरी शीतलले पनि बुवाकै पेशा रोजिन् । दुई वर्ष रेडियो नेपालमै अंग्रेजी समाचार पढिन् । अहिले उनी पनि अमेरिका छिन् ।

कान्छी छोरी शिरुष पनि रेडियो नेपालमै पुगेकी थिइन् । एक महिनामात्रै भएको थियो रेडियोमा प्रवेश गरेको । अमेरिकाको भिसा लाग्यो । नेपाल छोडिन् । अहिले तीनै छोरी अमेरिका छन् ।

“यो समाजमा भुवनको पनि उत्तिकै सम्मान छ तर मेरा छोरीहरू उनको बाटो हिँडेनन् । मैले हिँडेको बाटो रोजे । मलाई लाग्छ— उनीहरूलाई ड्याडीजस्तै हामी पनि बोल्न सक्ने हुनुपर्छ भन्ने लाग्यो,” माइकल स्पष्ट पार्छन् ।

दरबारको ‘चेन अफ कमान्ड’

पञ्चायती व्यवस्थाको शुरुआत भएको दशक पुगेको थियो । एकदलीय व्यवस्था थियो । सम्पूर्ण ‘चेन अफ कमान्ड’ दरबारमा थियो । दरबारको आदेश शिरोपर गरे जागिर थियो, नगरे चैट । गर्नै पर्‍यो । गरे माइकलले पनि ।

तर, पञ्चायती व्यवस्थाको गुन पनि माइकलले बिर्सिएका रहेनछन् । “म पञ्चायतकालमा हुर्किएको मान्छे । पञ्चायतकालले बाटो देखायो । पञ्चायतकालले बनायो, पब्लिकमा चिनायो र पञ्चायतकालले नै मलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनायो पनि,” माइकल भन्छन्, “पञ्चायतकालका थुप्रै नराम्रा पक्ष छन् । अहिलेको जस्तो स्वतन्त्रता थिएन । तर, आफू जन्मिएको घरको माया लागेजस्तै होला, त्यो व्यवस्थालाई म अहिले पनि सम्झिन्छु— केही अवगुणका बाबजुद पनि ।”

तर, त्यही पञ्चायती व्यवस्था हो, जसले पत्रकारिताको घाँटी समाएको थियो । स्वतन्त्र पत्रकारिताको वातावरण थिएन । दरबार र उसका क्रियाकलापविरुद्ध लेख्न र बोल्न पाइँदैनथ्यो ।  हातमा सम्पूर्ण शक्ति बोकेर बसेको दरबारले झुक्किएर थोरै गल्ती हुँदा पनि सहकर्मीहरूको जागिर खोसेको माइक स्वयंले देखेका थिए । “लगलग काम्नुपथ्र्यो । स्टुडियोबाट बाहिर निस्किँदा जागिर छ कि छैन भन्ने हुन्थ्यो, कयौंलाई दरबारको संवाद सचिवालयले सीधै फोन गरेर ‘त्यसले के पढेको ? त्यसलाई निकाल्नू’ भन्थ्यो,” माइकले पञ्चायतको त्रासदीपूर्ण वातावरण स्मरण गरे ।

तर, पनि पञ्चायतका केही सकारात्मक कुरा भने उनी भन्न छुटाउँदैनन् आज पनि । प्रसारण माध्यम एउटै थियो । सूचनाको मुख्य स्रोत नै रेडियो नेपाल थियो । थोरै गल्ती वा कमजोरी भए त्यो लाखौंलाख स्रोतामाझ पुग्थ्यो । तर, दरबारको भयले सचेत गराउँथ्यो । त्यसैले कमजोरी कम हुने सम्भावना धेरै हुन्थ्यो । माइकल अरूसँग जोडेर पञ्चायतका फाइदा होइन, समाचारसँग जोडेर मात्रै भन्छन् ।

बेफाइदा ?

मिडियाको साँचो दरबारमा थियो । अक्षर–अक्षरमा प्रकाशन तथा प्रसारणपूर्व सेन्सरसिप गर्नुपथ्र्यो । नत्र कि स्पष्टीकरण दिनुपथ्र्यो कि जागिरै जान्थ्यो । प्रत्येक पत्रकार त्रासमा काम गर्थे ।

समाचार लेखिरहेका बेला दरबारबाट फोन आउँथ्यो । भन्थे, “त्यो समाचार नराखौं होला ।” मन अमिलो हुन्थ्यो । तर, हटाउनै पथ्र्यो ।

मन्त्री र राष्ट्रिय पञ्चायतका सदस्यहरू रेडियोबाट आफ्नो नाम बारम्बार आओस् भन्ने चाहन्थे । ‘मेरो नाम जानु पर्‍यो’ भनेर फोन गर्थे ।

“मैले आज फलानो ठाउँमा फलानो कार्यक्रममा यो कुरा बोलेको छु । समाचार बनाउनू भनेर भनेर मन्त्रीहरु नै आफैं फोन गर्थे,” माइकल सम्झिन्छन्, “सधैं सबैको नाम भन्न सम्भव हुँदैनथ्यो । आफ्नो नाम गएन भने कोही आफैं फोन गरेर ‘जागिर खान मन छैन ?’ भनेर हप्काउँथे । कोही अरूलाई फोन गर्न लगाएर ‘त्यसलाई जागिर खान पुगेछ, अब सरकारले निकाल्दिन्छ रे भनेर सुनाइदिनू’ भन्दै थर्काउन लाउँथे । यस्तो डाइरेक्ट थ्रेट गर्ने डर्टी पोल्टिक्स थियो पञ्चायतमा ।”

\"\"

एउटा घटना सुनाउँछन् माइकल—

राजा वीरेन्द्र सुदूरपश्चिमा भ्रमणका लागि सुर्खेत पुगेका थिए । धनगढी, महेन्द्रनगर हुँदै बैतडीको पाटन पुगे उनी । बैतडीमा माइकलका कुल देवता छन् । उदयदेव भन्ने ती कुलदेवतालाई उनीहरू आज पनि पूजा गर्छन् । उदयदेव महाराज भनेका पुरुष हुन् । माइकल काठमाडौंमा थिए । समाचार आयो— ‘श्री ५ महाराजधिराज वीरेन्द्रवीरविक्रम शाह र महारानी ऐश्वर्यबाट आज बैतडीको पाटनस्थित प्रख्यात उदयदेवीको मन्दिर पुगेर पूजाआजा गरिबक्सियो ।’

माइकल समाचार शाखामा पुगे । पढ्ने पालो पनि उनकै थियो । समाचार हेरे— उदयदेवी छ । उनले समाचार प्रमुखलाई भने, “उदयदेवी हैन, उदयदेव हो ।”

समाचार प्रमुखले भने, “राजदरबारबाट आएको जस्तो छ, त्यस्तै पढ ।”

उनले भने, “मेरो कुलदेवता मलाई थाहा हुँदन ? देव हो, देवी हैन । म पढ्दिनँ ।”

उनले समाचार बुलेटिनबाट त्यो समाचारै हटाइदिए । तर, त्यसभन्दा पहिला नै त्यो समाचार प्रसारण भइसकेकाले बैतडीबाट फोन आएछ, “हाम्रो कुलदेवताको नामै बिगारिदिने ? पुरुषलाई महिला बनाइदिने ?”

“फोन आएपछि बल्ल समाचार प्रमुखलाई महसुस भयो । तर, दबारबारबाट जे आयो, त्यही नै लाहछाप लगाएर पढ्नुपथ्र्यो,” माइकलले भने ।

जनआन्दोलनलगत्तै...

०४६ सालको जनआन्दोलनले पञ्चायती व्यवस्था ढाल्यो । प्रजातन्त्र पुनर्बहाली भयो । सञ्चार मन्त्रालयले प्रस्ताव ल्यायो— पञ्चायतमा काम गरेका रेडियो नेपालका सबै कर्मचारीलाई हटाउने र नयाँ मान्छे ल्याउने ।

रेडियो नेपालले भन्यो— मन्त्रालयले ल्याएको प्रस्ताव हामी मान्छौं तर रेडियोले तयार पारेको जुन दक्ष जनशक्ति छ, त्यत्ति नै दक्ष मेनपावर सरकारले ल्याओस् । हामी छोड्न तयार छौं ।

दशकौं लामो अनुभव सँगालेका कर्मचारीलाई विस्थापन गर्ने दक्ष जनशक्ति न बजारमा थियो न राजनीतिक दलमै । त्यसैले मन्त्रालयको प्रस्ताव सफल भएन । पञ्चायतकालमा जस्तो बोली नै कानुनसरह हुन छाड्यो । यद्यपि शाखा प्रमुखहरूलाई भने विभिन्न बहानामा बाध्य पारेर नयाँ सरकारले निकालेरै छाड्यो ।

“अहिले पत्रकारिताका लागि स्वतन्त्र वातावरण छ । लेखेको समाचार कसैलाई सेन्सर गराउनु पर्दैन । तर, मलाई चित्त नबुझेको अहिले अट्याकिङ पत्रकारितासँग हो । इस्यु उठाउने तर त्यसलाई निरन्तर फलो नगर्ने । नेपालीमा त ठिकै छ तर अंग्रेजी भाषामा नेपाली पत्रकारिता त्यति राम्रो छ जस्तो लाग्दैन । अरूको भाषा हो, शतप्रतिशत हुनुपर्छ भनेर हुँदैन तर कम्तीमा ७० प्रतिशत सही हुनुपर्छ । अरूको भाषा बोल्दा, लेख्दा कम्तीमा कलात्मक चिरहरण गरिदिनु भएन,” माइकलले एकैसासमा भने ।

०२८ सालबाट शुरु भएको पत्रकारिता यात्राले माइकललाई अझै छोडेको छैन । ‘डीआई स्किन हेल्थ एन्ड रेफरल सेन्टर’मा सूचना तथा सञ्चार निर्देशकका रूपमा काम गर्छन् उनी । उनले अहिले लिएका अन्तर्वार्ता disharcOfificialÚनामक यूट्युब च्यानलमा हेर्न सकिन्छ ।

“मेरो स्वर र भाषाले अझै पनि मलाई साथ दिइरहेको छ । आज डा. भगवान कोइरालासँगको अन्तर्वार्ता यूट्युमा पोस्ट गर्दैछु,” जाँदाजाँदै उनले भने ।

तस्बिरः सौरभ रानाभाट

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १८, २०७५  ०८:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC