site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
देउवा र पौडेलको छुट्टाछुट्टै जिल्ला दौडाहा, महाधिवेशनको तयारी कि नियमित कार्यक्रम ? 
Ghorahi CementGhorahi Cement

काठमाडौं । संस्थापन इतर समूहले गुटगत भेला गरेर नेतृत्वविरुद्ध रणनीति बनाइरहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबारदेखि जिल्ला दौडाहा सुरु गरेका छन् । एक साता लामो जिल्ला दौडाहाको कार्यक्रम तय गरेर बिहीबार उनी विराटनगर पुगे । विराटनगर पुगेर सभापति देउवाले वीरेन्द्र सभागृहमा सृष्टि नामक पत्रिकाको वार्षिकोत्सव कार्यक्रम उद्घाटन गरे । 

उनी मोरङ जिल्लाबाट कांग्रेसका तर्फबाट निर्वाचित नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीचको छलफल कार्यक्रममा सहभागी भएका थिए । देउवाले मोरङबाट निर्वाचित कांग्रेस सांसदहरुसँग पनि छलफल गरेका थिए ।

विराटनगर विमानस्थलमा उत्रिएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै देउवाले नेता शेखर कोइरालाको बारेमा टिप्पणी गरे । नेता कोइरालालाई आफूले जथाभावी नबोल्न सम्झाएको भए पनि उनले नटेरेको देउवाले बताए । उनले भने, “शेखरजीलाई मैले दुईपल्ट भेटेरै सम्झाएको थिएँ । तर, उहाँ नरोकिएपछि जवाफ दिएको हुँ ।”

Agni Group

नेतृत्वमा कोइराला आउनै नपाउने, चुनावमा उठ्नै नपाउने कुरा आफूले नगरेको देउवाले बताए । नेता कोइरालालाई अनुशासनको कारबाही हुन्छ ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा देउवाले कांग्रेसमा कसैले बोल्दैमा कारबाही नहुने स्पष्ट पारे । 

पार्टीको चौधौं महाधिवेशन समयमै हुने बताउँदै उनले आफू कार्यकाल लम्ब्याउने पक्षमा नरहेको स्पष्ट पारे । चाक्सीबारी बैठकको बारेमा टिप्पणी गर्दै देउवाले साथीहरु बसेर जमघट गर्नु, छलफल गर्नु अनौठो नभएको बताए । जिल्ला सभापतिहरुले विशेष महाधिवेशनको कुरा उठाएको विषय सुने पनि आफूसम्म त्यो कुरा आइनपुगेको सभापति देउवाले बताए । 

Global Ime bank

देउवालाई स्वागत गर्न विमानस्थलमा नेता–कार्यकर्ताको भीड लागेको थियो । 

विराटनगरबाट फर्किएर देउवा शुक्रबार दिउँसो पोखरा जाने कार्यक्रम छ । त्यहाँबाट हेलिकोप्टर चढेर म्याग्दीको सिंहा तातोपानी र त्यसपछि सडक मार्ग हुँदै बेनी बजार पुग्ने कार्यक्रम छ । शनिबार सभापति देउवाले कांग्रेस म्याग्दीको भवन उद्घाटन गर्ने बताइएको छ । उनले भवन उद्घाटनका लागि आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ । 

आइतबार सभापति देउवा बेनीबाट सडक मार्ग हुँदै पर्वतको जलजला गाउँपालिका पुगेर कांग्रेस जलजला गाउँ कार्यसमितिको भवनको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । आइतबार नै देउवाले बाग्लुङ सदरमुकाम  बाग्लुङ बजार पुगेर कार्यकर्ता भेलालाई सम्बोधन गर्नेछन् । 

पर्वतको कुश्मामा आयोजित कार्यक्रमलाई सम्बोधन गरेर पोखरा हुँदै काठमाडौं फर्किने तालिका देउवाको छ । 

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको पनि शनिबारदेखि गण्डकी र ५ नम्बर प्रदेशका विभिन्न जिल्ला दौडाहामा निस्कने कार्यक्रम तय भएको छ । पौडेल चैत १ गते काठमाडौं फर्कने कार्यक्रम रहेको छ । 

पौडेल गण्डकी प्रदेशका म्याग्दी, बाग्लुङ र कास्कीमा पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुनेछन् भने ५ नम्बर प्रदेशका पश्चिम नवलपरासी, अर्घाखाँची र कपिलवस्तुमा पार्टीका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले जानकारी दिए । 

उनका अनुसार वरिष्ठ नेता पौडेलले फागुन २५ गते बिहान पोखरा हुँदै म्याग्दी पुगेर कांग्रेस जिल्ला कार्यसमितिको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने छन् । फागुन २६ गते बिहान ९ बजे बाग्लुङको बेनीबाट पर्वतको कांग्रेस जलजला गाउँ कार्यसमितिको भवनको शिलान्यास कार्यक्रममा सहभागी हुनेछन् । जहाँ उनको भेट सभापति देउवासँग हुनेछ । 

सोही दिन पौडेलले बिहान साढे ११ बजे कांग्रेस कास्कीको आयोजनामा नवनिर्वाचित नेपाल प्रेस यूनियनका पदाधिकारी तथा सदस्यहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । फागुन २७ गते कांग्रेस परासीले आयोजना गरेको कार्यकर्ता भेलालाई पौडेलले सम्बोधन गर्ने छन् ।

फागुन २८ गते दिउँसो १ बजे शीतगंगा नगरपालिका ढाडावासमा ज्योति बहुमुखी क्याम्पसको धार्मिक महोत्सवलाई सम्बोधन गरेर पौडेलले दिउँसो ३ बजे सन्धीखर्क नगरपालिका–६ मा रहेको नरपानीको वीपी पार्क र वडा कार्यालय भवन शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । सोही दिन बेलुकी ६ बजे सन्धीखर्कमा पौडेलको पत्रकार सम्मेलन हुनेछ ।  

फागुन २९ गते विहान ८ बजे नेपाल महिला संघ अर्घाखाँचीको भेटघाट कार्यक्रमलाई सम्बोधन गरेर उनी दिउँसो साढे १२ बजे छत्रदेव गाउँपालिका वडा नं. ४ मा सहिद राममणि ज्ञवाली, सहिद शिवलाल पोखरेल, सहिद पदम लोचन श्रेष्ठको सालिक अनवरण कार्यक्रममा सहभागी हुनेछन् । सोही दिन सहिद रा.शि.प. स्मृति भवन उद्घाटनपछि नेता पौडेलले दिउँसो १ बजे आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।  

फागुन ३० गते नेपाल महिला संघ कपिलवस्तुको आयोजनामा हुने आमसभालाई सम्बोधन गर्ने र चैत १ गते कपिलवस्तुका विभिन्न स्थानहरुमा कार्यकर्ता भेलालाई सम्बोधन गरेर उनी काठमाडौं फिर्ता हुनेछन् ।

शीर्ष नेताद्वयको जिल्ला दौडाहालाई कतिपयले महाधिवेशनमा नेतृत्वका लागि सुरु भएको दौडका रुपमा पनि अर्थ्याएका छन् । कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल संस्थागत रुपमा महाधिवेशनका लागि प्रक्रिया सुरु गर्नु नै मुख्य कुरा भएको बताउँछन् । सिटौला निकट मानिने पौडेल भन्छन्, “पालिका, वडा, प्रदेश समितिहरु खाली छन् । मुख्य काम गर्नेतर्फ नेताहरुको ध्यानै छैन । अल्पमत र बहुमतका आधारमा निर्णयहरु भइरहेका कारण पार्टीमा विभाजन छ भन्ने बाहिर सन्देश गएको छ । त्यो सन्देशलाई चिरेर पार्टीमा एकता प्रतिबिम्बित हुने गरी निर्णयहरु हुन थाल्यो भने कार्यकर्ताहरु त्यसै खुशी हुन्छन् ।”  

मुख्य जिम्मेवारीलाई प्राथमिकतामा नराखेर नेताहरु जिल्ला दौडाहामा केन्द्रीत भएकोमा उनले असन्तुष्टि व्यक्त गरे । “अरु कुराहरु भ्याएर जिल्ला जानु नराम्रो भने होइन, कार्यकर्ताहरुसँग जोडिने कुरा पनि नराम्रो होइन । तर यसभन्दा पनि बढी प्राथमकिता आन्तरिक किचलो मिलाएर महाधिवेशनका लागि संस्थागत रुपमा प्रक्रिया सुरु गर्नुपर्ने हो ।” 

पार्टीभित्र आम एकता कायम गर्नका लागि समन्वय गर्ने, मतभेद हटाउनका निम्ति संवाद बढाउने, अनौपचारिक बैठकहरु गर्ने, पार्टी सम्पूर्ण रुपमा एकीकृत छ, पार्टी सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्न तयार भएर आएको छ भन्ने बनाउनु भन्दा पनि बाहिर डुल्ने काम भइरहेको उनको भनाइ छ । 

“अन्तरविरोध धेरै बढेको छ । एउटा नेता जानुभयो र अर्को नेता जानुभएन अनि तल्लो तहमा गतिविधि भएन भने जसको गतिविधि भएको छ, त्यसकै पक्षमा निर्णय आउँछ भन्ने मनोभावना छ । त्यही भएर महाधिवेशनको अत्तोपत्तो नभए पनि तत्काल आफ्नो स्थिति बलियो कायम गर्न उहाँहरु जिल्ला दौडाहामा लाग्नुभएको हो,” पौडेलले थपे । 

५६ जिल्ला सभापतिहरुले महासमितिको म्याण्डेटअनुसार निर्णय पुनर्विचार गर्न माग गरेको सन्दर्भमा सभापतिको खिलापमा माहोल देखिएको र त्यसले पनि सभापति बढी आत्तिएर दौडाहामा निस्किएको उनको तर्क छ । 

वरिष्ठ नेता पौडेलका सहयोगी चिरञ्जिवी अधिकारीले भने यसलाई महाधिवेशनको तयारी स्वरुप गरिएको जिल्ला दौडाहा भन्न नमिल्ने बताए । “जिल्लामा आयोजना भएका कार्यक्रममा सहभागी हुनका लागि तय गरिएको कार्यतालिका मात्रै हो । जिल्ला दौडाहालाई महाधिवेशनको तयारी नै भन्न मिल्दैन,” उनले भने । 

कांग्रेस केन्द्रीय सदस्य डिला संग्रौलाले पनि जिल्लामा आयोजना हुने कार्यक्रमहरुमा सहभागी हुनुपर्ने भएकाले कतै महाधिवेशनको तयारी त होइन भन्ने देखिएको बताइन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २४, २०७५  ०९:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC