site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
पर्दा पछाडिको हिरो                                                                                                                                                                      
Sarbottam CementSarbottam Cement

घरमा जोर मादल थियो । बच्चैमा बजाउन सिके । बुवाले माउथ हार्मोनियम किन्दिए । त्यो पनि बनाउन आउँथ्यो । बाँसुरीको धुन निकाल्न पनि उनलाई कठिन थिएन । लमजुङका गाउँघरमा हुने कार्यक्रममा जोर मादल जुजु (रत्नबहादुर गुरुङ) बच्चैमा घन्काउँथे । बाँसुरी पनि कनीकुथी बजाइदिन्थे । माउथ हार्मोनियम त उनको प्रिय बाजा नै थियो, गीतमा मिसाइदिन्थे । गाउँलेले वाह! क्या बजाउँछ भन्दिन्थे । उनको नाक आफैँ फुल्थ्यो । 

हौसिन्थे, रमाउँथे, अनि सपना देख्थे । ठूलो भएर म यही काम गर्छु । त्यो बेला जोर मादलमा गीत गाउने कुमार बस्नेत, जनकवि केशरी धर्मराज थापाका जस्तै गीतमा बाजा बजाउँछु भन्थे । उनले सुनेका थिए, बिमा कुमारी दूरा लमजुङकै हुन् रे ! उनका गीतमा पनि बाजा बजाउन पाउँछु होला नि राम्रो बजाएँ भने ? आफैँसँग प्रश्न गर्थे । आकांक्षा त थियो तर दूर । 

जिन्दगी कर्मले बन्छ तर जुजुलाई लाग्छ सायद मान्छेले जन्मिदै उसमा केही विशेष गुण हुन्छ । त्यसलाई व्यक्तिले चिन्न सक्छ कि सक्तैन भन्ने मात्रै हो । उनलाई गाना बजाना मन पथ्र्यो । त्यसैलाई करिअर बनाउन  काठमाडौं आउनु पथ्र्यो । उनी ०४८ मा लमजुङको भोटेओडारबाट काठमाडौं ओर्लिए । रुची संगीतमा थियो । साधना बाजागाजामा गर्नु थियो । त्यस्तै साथी संगती बनाउन थाले । आफूले सिकेका बाजा अरुलाई सिकाउने, अरुले जानेको बाजा आफू सिक्न थाले । यो क्रम ७ वर्ष चल्यो । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यसपछि जुजु पुगे, कलानिधि इन्दिरा संगीत विद्यालय ।  ०५४ देखि ०५६ सम्म दुई वर्ष कलानिधीमा पढेका उनले तीन वर्ष शास्त्रीय संगीतका सुरु र रागमा आफूलाई समाहित गरे ।  
आम मान्छेलाई गीत गाउँ, स्रोता तथा दर्शकमाझ प्रत्यक्ष साक्षात्कार गरौं भन्ने रहर हुन्छ । स्वर राम्रो होस् या नराम्रो, साधना गरेको होस् या नहोस् । गाउनका लागि सक्षम होस् या नहोस् । गीत गाउन हतार हुन्छ । गायकगायिकाको पगरी गुथ्नै हतार हुन्छ । अपवाद आम संगीतकर्मीमा सुशुप्त यो रहर न कहिले जुजुमा पलायो न झाँगियो नै ।  
० ० ०
गाउँको छोरो । काठमाडौंको लागि पराई हुन्छ । जिजिविषा धान्नका लागि केही न केही काम गर्नैपर्छ । जुजुले जानेको बजाउन र थोरबहुत गाउन नै हो । एकातिर हातमुख जोरिने अर्कोतर्फ दुईचार पैसा आम्दानी पनि हुने । जुजु पुगे ‘रिमा रेकर्डिङ स्टुडियो’ बबरमहल । गायक तथा संगीतकार नारायण रायमाझीको स्टुडियो थियो ‘रिमा रेकर्डिङ’ । ०५४ सालमा जुजुले नारायण रायमाझीलाई भेटे । लोक गीतका हिरा थिए नारायण । त्यसमा पनि सरल स्वाभावका मिजासिला नारायणले जुजुलाई उनको करिअरको पहिलो खुट्किलोमा नै हात समाइदिए । नारायणको त्यो गुन जुजुले भुलेका छैनन् आजसम्म पनि । सायद  कहिल्यै भुल्ने पनि छैनन् । “मलाई मेरो करिअरको पहिलो पाइलामा हात समाइदिने नै नारायण दाइ हो,” नारायणप्रति कृतज्ञताका वाक्य बोल्छन् जुजु, “दाइकै छत्रछायाले मैले बाद्यवाधकको रुपमा खुट्टा टेक्ने अवसर पाएँ । आजसम्मको यात्रा तय गरेँ ।”

मादल र माउथ हार्मोनियममा अभ्यस्त भइसकेका उनले त्यहीँ सिके अन्य धेरै बाजा । हार्मोनियममा औंलाहरु डुलाउन, कि–बोर्डका कि मा आफूलाई अभ्यस्त पार्न नारायणकैमा अवसर पाए । खैँजडी, बाँसुरी, गितार, मेन्डोलिन पनि जुुजुले रिमा रेकर्डिङमै सिक्ने मौका पाए । 

Global Ime bank

वाद्यवाधकका रुपमा उनले आफूलाई स्थापित गराउँदै थिए । गीतका शब्द र भाका अनुसार बाजाका धुनहरु मिलाउँदै थिए । त्यही क्रममा उनले बद्री पंगेनीको पीएन क्याम्पसमा एरेञ्ज गरे । गीत हिट भयो । बद्री पंगेनी पहिलो गीतबाटै संगीतप्रेमीमाझ नोटिस भए । यो गीत बद्री पंगेनीको करिअरमा जसरी टर्निङ पोइन्ट बन्यो जुजुको करिअरमा पनि ट्रनिङ पोइन्ट बन्यो । किनकी जुजुको पहिलो हिट एरेञ्ज पनि यही थियो ।  
० ० ०
गीतको इरेन्जमेन्टकै क्रममा डिका गुरुङसँग जुजुको भेट भयो । उनको स्टुडियो थियो, ‘काठमाडौं डिजिटल स्टुडियो’ । ०५६ मा उनी त्यहाँ पुगेका थिए । डिका, जुजु र धौलागिरी क्यासेट सेन्टरबीच एक दिन कुरा भयो, “एउटा नयाँ भाइ छ, उसको क्यासेट हामी तीन जना मिलेर गर्नुपर्यो ।”

गीतको बोल थियो, ‘ससुरालीमा’ । लय थियो भगवान भण्डारीको । जुजुले एरेन्ज सुरु गरे । दुई घण्टामा उनले एरेन्जमेन्टको फाइनल खाका तयार पारे । मादल, बाँसुरी, सारङ्गी, मेण्डोलिन र अक्टुप्याड बजाउनु पर्ने भयो । यीमध्ये जुजुले सारङ्गी र मादल बजाए । गीतको मास्टर पिस तयार भयो । गीत थियो बद्री पंगेनीको । मास्टर पिस सुन्नेले गीतबाट अपेक्षा गरे । बजारमा आएपछि गीतले ‘तहल्का’मच्चायो । रातारात बद्री पंगेनी सेलिब्रिटीको सूचीमा दरिए । एरेञ्जर को हो ? गीतका लागि जुजुको खोजी हुन थाल्यो । 
बद्री पंगेनीको गीत ‘ससुरालीमा’ लोकप्रिय भयो । एरेञ्ज जुजुकै थियो ।  लय संकल भगवान भण्डारीले गरेका थिए । 

गीत लोकप्रिय भएपछि अर्को त्यस्तै लाकप्रिय हुने गीत गरौं भन्ने सल्लाह भयो । एल्बम भगवान भण्डारीले गर्ने तय भयो । एल्बमको नाम राखियो, ‘खैरेनीमा गेट’ । यो गीतको एरेञ्जको जिम्मा पनि जुजुकै भागमा थियो । एरेञ्ज गरे । सारङ्गी र मेण्डोलिन उनैले बजाए । एल्बममा शीर्ष गीत ‘खैरेनीमा गेट’ थियो । भगवान भण्डारीले गाए । गीत ‘ससुरालीमा’ जस्तै लोकप्रिय भयो । 
० ० ०
फूलमा भमरा, बनको काफल बनकै चरीलाई, माझी दाई, मिरमिरेमा भाले बासेको, भरिया दाइ, मन पर्ने एउटा साली छ, हङकङ आइडीले, के हुन्छ कुन्नी, शंका बढ्यो झन्, ब्युटी नम्बर वान, झल्को लाली ओठको, जमल घण्टाघर, गैरी पर्यो ताल, खोली छेकेर, फूलले इष्र्या गर्ला, सोल्टिनी नानी, पीडा दिए पनि, खोली सुकेको, साँहिलो दाइ, कुटुमा कुट खाउँ भने पनि, देउराली डाँडामा लगायत उनले एरेन्ज गरेका केही गुरुङ् भाषका गीत पनि अत्यधिक लोकप्रिय भए ।  

उनले एरेन्ज गरेका गीतका दर्जनौं गायकगायिका हिट भए । देश तथा विदेश गए । एउटै गीतबाट लाखौं कमाए । स्वर त जुुजुको पनि छि ! भन्ने छैन । मस्र्याङ्दीकोतिर, धादिङ सल्यानटार बोलका लोकप्रिय गीतमा जुजु आफ्नै स्वर पनि छ । उनलाई धेरैले तिमी आफैँ गाऊ स्वर राम्रो छ पनि भने । तर उनलाई अरुको लोकप्रियता, स्टारडम र कमाइले लोभ्याएन । अरुले अटोग्राफ दिँदै हिँडेको देख्दा उनलाई त्यसले इष्र्या जगाएन । उनलाई सधैँ लाग्यो, ‘म गाउन हैन, बजाउनै जन्मिएको हुँ ।’

“गीत भनेको शब्द, लय र स्वर मात्रै होइन । त्यतीकै महत्वपूर्ण त्यसको एरेन्ज पनि हो । मैले एरेन्ज गरेका गीतका सयौं गायक गायिका बजारमा लोकप्रिय हुनुभयो । मेरो पनि स्वर राम्रै छ । तर मलाई म पनि गाउँ र सबैमाझ चिनिउँ भन्ने लोभ कहिल्यै पनि लागेन,” उनले आफ्नो मनको कुरा साटे । 

बिमा कुमारी दुरादेखि राजु परियार । रामजी खाँड देखि विष्णु माझीसम्मले उनको एरेन्जमा गाए । मिलन लामा, सुनिता दुलाल, लक्ष्मि न्यौपाने, रेखा शाह, देवी घर्ती, पूर्णकला बिसी लगायत थुप्रैले उनको एरेन्जमा गीत गाए । तर जुजुलाई भगवान भण्डारी हुने रहर पलायो न रामजी खाँड बनेर देश विदेशका स्टेज चढ्ने रहर जाग्यो । उनी सधैँ पर्दा पछाडि नै बसे । त्यसमै रमाए । र रमाइरहेका पनि छन् । 
० ० ० 
जिन्दगी जिउने क्रममा जुजुले पनि कयौं उकाली र ओराली गरेका छन् । कहिले दोहोरी गाए त कहिले दोहोरीमा वाद्यवादनसँग आफूनो दिमागी ज्ञान चलाए । ‘दोभान दोहोरी साँझ’ ठमेलमा पनि उनले काम गरे । ०५७ देखि ०६० सम्म दोभानमा उनले वाद्यवादन र गायकको रुपमा आफ्नो शिल्प देखाए । यसले उनलाई व्यवहारिक रुपमै गीतका वाध्यवाधनका साधनको छिनमै धुन मिसाउन सिकायो । 

कहिले सिक्दै, कहिले सिकाउँदै जुुजुको जिजिविसा चल्दै गयो । कहिले अरुले गाएको निर्णय गर्दै निर्णायक भए त कहिले आफ्नो कार्यको मूल्यांकन र कदरस्वरुप सम्मान, पुरस्कार र अवार्ड हात पारे । जुजुले वेष्ट एरेन्जमा ०७५ को ईपीआईसी नेपाल अवार्ड ग्रहण गरे । 

०५४ सालबाट सुरु गरेको उनको एरेन्जरको पेसा अहिलेसम्म फष्टाएकै छ । एउटा गीतबाट उनी १० हजार पारिश्रमिक लिन्छन् । २१ वर्षमा उनले करिब १५ हजार गीतमा धुन भरे । महिनामा ३० देखि ३५ वटासम्म गीतको संगीत संयोजन गर्दै आएका जुजु भन्छन्,“मनले खाएको र रोजेको काम गरिरहेको छु । मलाई बाँच्नका लागि गायक भएर पर्दामा देखिनु परेको छैन । पर्दा पछाडि बसेर गरेको कामले नै पुगेको छ । सन्तुष्ट पनि छु ।” 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ६, २०७५  १२:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC