site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
“डराई–डराई के लेख्नू !”
Sarbottam CementSarbottam Cement

– नरेश फुयाँल


काठमाडौंको काँठ आरुबारीमा जन्मिए । बुवा नामी साहित्यकार । लेख्नु उनको पहिचान थियो । लेखेरै नाम र ओजिलो इज्जत कमाएका थिए बुवा (रमेश विकल)ले । बुवाको लोभलाग्लो पहिचानले विजयलाई पनि तान्यो । उनले पनि बालवयमै लेख्न थाले– कथा र कविता । नियात्रा त उनले पछिमात्रै लेखे, जब देशदेशावर घुमे । पत्रकारिताका पुस्तक त पत्रकारिता अभ्यासपछि मात्रै छापे । काँठका जमिनदार भए पनि पढ्न लेख्नमा रुचि थियो । घर चलाउन बुवालाई सहयोग गर्नुपर्ने बाध्यता त थिएन तर पनि एसएलसी दिएकै साल ०२५ मा उनले पढाउन थाले । त्यसअघिदेखि नै उनका रचना ‘गोरखापत्र’मा छापिन थालेका थिए । कथा, कविता र लेख प्रकाशन हुन थालेका थिए । ‘गोरखापत्र’मा छापिएका तिनै रचनाको प्रतिक्रियाले उनलाई पत्रिकाको मोहले समातेको थियो । त्यसैले पढाउन थालेको ११ वर्षपछि उनले ‘गोरखापत्र’मा विज्ञापन देखे । त्यो विज्ञापनले उनको मनमा अन्तरसंघर्ष सिर्जना गर्‍यो । पढाइराखौं कि पत्रकारितको बाह्रखरी शुरू गरौं ? अन्ततः उनले निर्णय गरे— जान्छु पत्रकारितामा । सिक्छु समाचार लेख्न र बन्छु पत्रकार । अनि कमाउँछु इज्जत लेखेरै । बुवाको जस्तै । रमेशकै हाराहरीमा त उनले शायद लेख्न सकेनन् तर लेखे धेरै समाचार र आख्यान । चार दर्जन पुस्तकको कभरमा उनको नाम छ, लेखककै रूपमा । तर, त्योभन्दा धेरै उनले समाचारमै आफ्नो कलम दौडाए । फुर्सदको साहित्यलाई थाँती राखेर हामीले बुझ्ने प्रयास गर्‍यौं उनको हतारको साहित्यिक यात्रा र त्यसको उतारचढावको संघर्ष—

० ० ०

Prabhu Bank
Agni Group
NIC Asia

०३७ सालमा ‘गोरखापत्र’ले लोकसेवामार्फत आवेदन आह्वान गर्‍यो । प्राथमिक तह, निम्नमाध्यमिक तह हुँदै माध्यमिक तहमा पढाउँदै गरेका विजय (चालिसे)लाई ‘गोरखापत्र’मा काम गर्न मन लाग्यो । पत्रकारिता पेशा बनिनसकेको थिएन, कलेजमा पनि पत्रकारिता पढ्न पाइँदैनथ्यो । त्यसैले ‘गोरखापत्र’ले सातौं तह अधिकृतमा पत्रकारका लागि दरखास्त आह्वान गर्दा पत्रपत्रिकामा लेख–रचना छापिएको र नेपाली भाषामा स्नातक अनिवार्य हुनुपर्ने न्यूनतम शर्त अगाडि साथ्र्यो ।

सातौं तहको जागिर, विद्यालयमा जस्तो दिनभरि स्वर सुकाउनु पनि नपर्ने ! त्यसमाथि विजयले त्यही ‘गोरखापत्र’मा लेख र कविता छपाइसकेका थिए । समाचार लेख्न जान्नु÷नजान्नु भोलिको कुरा थियो । तर, जेहोस्— त्यो पदका लागि उनले आफूलाई योग्य सम्झिए ।

Global Ime bank

समाचार के हो, थाहै थिएन । रहर गरेर आवेदन दिए । नाम पनि निस्कियो । पत्रकारिता गर्छु भन्ने उद्देश्यभन्दा पनि राम्रो अवसरको खोजी गर्ने क्रममा विजय ०३७ जेठ १ गतेबाट ‘गोरखापत्र’मा प्रवेश गरे । उनीसँगै ध्रुवहरि अधिकारी, दुर्गानाथ शर्मा, ‘राइजिङ नेपाल’मा कुन्द दीक्षितलगायत उत्तीर्ण भएका थिए । ध्रुवहरि र दुर्गानाथ अगाडिदेखि नै ‘गोरखापत्र’मा काम गर्दै आए पनि उनीहरू छैटौं तहमा थिए । त्यसैले सातौं तहमा आवेदन दिएर नाम निकालेका थिए । त्यसो त विजयले धु्रवहरिसँग बीए पनि सँगै पढेका थिए ।

‘गोरखापत्र’को अध्यक्ष थिए, भारतदत्त कोइराला । प्रधान सम्पादक थिए, गोकुल पोखरेल ।

शुरुमा समाचारको कखरा नै सिक्नु थियो । सिके । दुई–चार दिन विज्ञप्तिलाई समाचारमा रुपान्तरण गरे । त्यसपछि निस्किए उनी समाचार संकलनका लागि रिपोर्टिङमा । कथा, कविता र लेख लेख्नु छुट्टै कुरा, समाचार अर्कै कुरा । उनले लेखेका समाचार कयौं पटक पुनर्लेखन हुन्थे । त्यो स्वाभाविक पनि थियो । सुरेन्द्रराज द्विवेदी, रामचन्द्र न्यौपानेलगायतले बडो स्नेहका साथ सिकाएको उनले बिर्सिएका छैनन् । गोकुल पोखरेलले आत्मबल जगाइदिएको भुलेका छैनन् ।

आफूले लेखेको पहिलो समाचार कुन दिन छापियो, त्यो त उनलाई याद छैन । तर, एक हप्तापछि छापिएको भने सम्झना छ । बाइलाइनका लागि गरेको संघर्ष भने उनले बिर्सिएका छैनन् ।

“अहिले समाचारले बाइलाइन बोकोस् या नबोकोस्— दिने चलन छ । तर, त्यो समय बाइलाइनका लागि निकै ठूलो संघर्ष गर्नुपथ्र्यो,” विजय भन्छन्, “अहिलेजस्तो सामान्य समाचारमा पनि बाइलाइन पाइँदैनथ्यो । करिब दुई वर्ष कुर्नु परेको थियो बाइलाइन पाउन । त्यो बेला बाइलाइन भनेको अवार्ड नै हुन्थ्यो ।”

नियमित प्रकाशन हुने पत्रिका निकै कम थिए । ‘गोरखापत्र’को एकाधिकार थियो । अहिलेको जस्तो स्कुप मार्ने चलन थिएन । हतारमा भन्दा पनि सोचविचार गरेर समाचार लेखिन्थ्यो ।

भारतदत्त विकास पत्रकारितामा विशेष रुचि राख्ने व्यक्ति । ‘गोरखापत्र’को अध्यक्ष भए पनि उनी सम्पादक भइसकेका थिए । त्यसैले उनको प्रभाव विजयमा पनि प¥यो । उनले विज्ञान र स्वास्थ्यमा कलम चलाउन थाले । रोनास्ट, रिकास्ट अथवा प्रविधिमा उनको कलम दौडिन थाल्यो ।

नेपालका इन्जिनियरिङ कलेजमा के–कस्तो प्रविधिमैत्रि शिक्षा छ, भएको प्रविधि प्रयोग भइरहेको छ कि छैन— यी र यस्तै विषय उठाउन थाले । सामान्य लाग्ने तर गम्भीर विषय । सबैले देखेको तर वास्ता नगरेका विषयलाई समाचार बनाउन थाले । त्यसपछि प्रधानसम्पादक गोकुल पोखरेलले भने, “भाइ, विज्ञान–प्रविधिमा तिम्रो रुचि छ । त्यसैले तिमी यस विषयमा स्तम्भ नै लेख ।”

मन छोएको, कलम कुदाउन सक्ने विषय । आएको अफर अवसर पनि थियो । विजयले साप्ताहिक स्तम्भ नै लेख्न थाले— ‘विज्ञान प्रविधि’ ।

युरेनियम भेटिँदा

४० को दशक शुरुमा बैतडीको चमेलिया गाड (नदी)मा युरेनियम भेटिएको हल्ला फैलियो । विजय आफैं चमेलिया गाड पुगे । युरेनियम भेटिएको पनि थियो । विस्तृतमा समाचार लेखे । पछि भूगर्भशास्त्रीहरू गएर अध्ययन पनि गरे । युरेनियम निकाल्न सकिन्थ्यो पनि तर व्यावसायिक रूपमा खानी उत्खनन् गरेर युरेनियम निकाल्दा उत्पादनभन्दा लागत धेरै हुने भएपछि सरकार पछि हट्यो । युरेनियमको खानी उत्खनन् भएन ।

जाइकाले नेपालका सात ठाउँमा पेट्रोलियम पदार्थको अन्वेषण गरेको थियो । फलाम खानी खोजेको थियो । यी अन्वेषणका समाचार ‘गोरखापत्र’मा उनैले लेखेका थिए ।

‘यो देश चिन्नुभएको छैन’

जनक शिक्षा सामग्रीले कक्षा १० को नेपाली पाठ्यपुस्तक लेखाउन तत्कालीन समयका १२ विद्वानलाई सात–सात कपी पाठ्यपुस्तक तयार पार्न लगायो । दिन–रात नभनी उनीहरूले सात–सात कपी पाठ्यपुस्तक तयार पारेर जनक शिक्षालाई बुझाए । तर, अन्तिममा जनक शिक्षाले ती सबै पाठ्यपुस्तकलाई रद्द गरेर एक साहित्यकारलाई त्यो जिम्मेवारी दियो । १२ जनाले गरेको दुःख बालुवामा पानी भयो ।

विजयलाई चित्त बुझेन । एउटा— यो प्रक्रियासम्म जानका लागि कति बजेट लाग्यो ? त्यसको सत्यानाश भयो । अर्को— १२ जनाले गरेको दुःखको परिणाम के ? र, उनीहरूको मेहनत र विद्वताको अपमान किन ?

‘अफ द रेकर्ड’ भन्दै विजयले पछि सरकारले जिम्मेवारी दिएका व्यक्तिको नामसहित लेख लेखे । उनी पनि विद्वान त थिए तर अरुको अवमूल्यन किन गरेको ? प्रक्रिया किन मिचेको भन्ने आशय उनको लेखमा थियो ।

प्रधानसम्पादक गोकुलले बिहान कार्यालय पुग्नेबित्तिकै विजयलाई आफ्नो कार्यकक्षमा बोलाए । टाउको समातेर बसिरहेका गोकुलले भने, “के गर्नुहुन्छ, के लेख्नुहुन्छ, के छाप्नुहुन्छ, देखाउँदा पनि देखाउनुहुन्न ।”

विजयः के भयो र दाइ ?

गोकुलः जनक शिक्षासम्बन्धी के लेख्नुभाथ्यो ?

विजयः प्रक्रियागत कुरा लेखेको हो । खासै त्यस्तो केही छैन ।

गोकुलः मन्त्रीले फोन गरिरहेका छन् । मलाई जवाफ दिन गाह्रो भयो । 

विजयः दाइ, तपाईंले पढ्नुभयो ?

गोकुलः पढ्न त पढेको छैन ।

विजयः दाइ पढ्नुस् । मैले गल्ती केही लेखेको रहेछु भने जे दण्ड दिनुहुन्छ, म भोग्न तयार छु ।

गोकुलः लेख्न त ठिकै लेख्नुभयो तर तपाईंले यो देश बुझ्नुभएको छैन । यो देश चिन्नुभएको छैन । कहाँ क–कसको संलग्नता छ भन्ने बुझ्नुभएको छैन ।

गोकुलले मन्त्रीलाई भने, “खण्डन गर्न पत्रकार सम्मेल्न गर्नुस् । त्यसको समाचार हामी छाप्छौं ।”

गोकुलले ठट्टा गर्दै विजयलाई भने, “विजय भाइ, ल तपाईंले सिर्जना गर्नुभएको समाचार तपाईं आफैं समाधान गर्नुस् । त्यो पत्रकार सम्मेलनमा तपाईं आफैं गएर समाचार बनाउनुस् ।”

\"\"दरबार रिझाउने रचना

०४५ सालतिर फर्किए विजय । ‘मधुपर्क’मा पुगेका थिए उनी । नारायणबाहदुर सिंह ‘मधुपर्क’का सम्पादक थिए । नारायणबहादुर बिरामी भएर उपचारका लागि नेपालबाहिर गएका थिए । त्यसैले ‘मधुपर्क’को जिम्मेवारी विजयको काँधमा थियो ।

जाडोको मौसम थियो । ‘गोरखापत्र’को पुरानो भवनको कौशीमा बसेर अध्यक्ष, प्रधानसम्पादक, विजयलगायत घाम तापिरहेका थिए ।

जनक शिक्षामा प्रक्रिया मिचेर १२ जनाको मेहनतलाई धुलिसात पारी सरकारले जिम्मेवारी दिएका तिनै साहित्यकार आइपुगे । सबैसँग उनको परिचय थियो । बोलचाल गरे । र, विजयलाई भने, “भाइ, एकपटक यता आउनुस् न, तपाईंसँग काम छ ।”

विजयले आफ्नो कार्यकक्षमा लगे । ती साहित्यकारले भने, “मेरो एउटा निबन्ध छ, छापिदिनुपर्‍यो ।”

आफैंले मागेर छाप्नुपर्ने मुर्धन्य साहित्यकार आफैं ‘छापिदिनु पर्‍यो’ भन्दै आएपछि नछाप्ने कुरै भएन । हुन्छ भने । उनले निबन्ध लेखेको पेपर मागे, हेर्दै नहेरी राखे र घाम ताप्न बाहिर निस्किए ।

त्यही महिनाको अंकको काम भइरहेको थियो । रचना हेर्ने क्रममा थाहा पाए । दरबारका सचिव नारायणप्रसाद श्रेष्ठले कक्षा ९ र १० को सामाजिक शिक्षाको पाठ्यपुस्तक लेखेका थिए । उक्त पाठ्यपुस्तकको उच्च प्रशंसा गर्दै समीक्षा लेखेका रहेछन् उनले । ‘संसारकै क्लासिक’ पाठ्यपुस्तक भनेर प्रशंसा गरेका थिए ।

पाठ्यपुस्तकको समीक्षा ‘मधुपर्क’ले छाप्दैनथ्यो । वर्षमा सयौं पाठ्यपुस्तक प्रकाशन हुन्थे । त्यसैले एउटा समीक्षा छाप्नेबित्तिकै पाठ्यपुस्तक समीक्षाको लहर चल्थ्यो, जुन ‘मधुपर्क’ले छाप्न सक्दैनथ्यो । त्यसैले छापेनन् । नछापिएको कुरा दरबारका ती प्रभावशाली सचिवसम्म पुगेछ । ती सचिवले शिक्षामन्त्रीमार्फत सम्पादकलाई झपारेछन्, “सचिवज्यूको बारे लेख्दा पनि नछाप्ने, के हो ?”

गोकुलले मन्त्रीलाई सम्झाउने प्रयास गरे । त्यो रचना छापिएपछि आउँदा दिनमा आइपर्ने समस्याको पनि जानकारी दिए । तर, मन्त्रीले ठाडो आदेश दिए, “आउँदो अंकमा त्यो जसरी पनि छाप्नू ।”

सरकारी पत्रिका, आदेश शीरोधार्य थियो । अर्को अंकमा जस्ताको तस्तै छापियो । केही समयपछि विजयले पत्ता लगाए— त्यस्तो नामी र अब्बल साहित्यकारले किन त्यसरी सचिवको भजन गाएका थिए । ती सचिवलाई रिझाउन नसक्दा अवसरबाट पाखा लाग्दै गएपछि उनले रिझाउन बखान लेखेका रहेछन् ।

दरबारको धम्की

नाइट डेक्स चिफ थिए विजय । समाचार फाइनल गर्ने जिम्मा उनकै थियो । करिब एकै समय ‘रासस’बाट दुइटा समाचार आए । एउटा ‘आज श्री ५ महाराजधिराज सरकारबाट भृकुटी कागज कारखानाको समुद्घाटन गरिबक्सने ।’

चितवन गैंडाकोटस्थित भृकुटी कागज कारखानाको उद्घाटन हुने कार्यक्रम थियो । राजा वीरेन्द्रले उद्घाटन गर्दै थिए ।

अर्को समाचार थियो, ‘नारायायणी नदी किनारमा निर्मित कागज कारखानाबाट निस्किने रासायनिक पदार्थ नदीमा मिसिँदा सम्पूर्ण जलचार मर्ने सम्भावना ।’

पछिल्लो समाचार छापे राजाले उद्घाटन गर्ने कारखानाले उत्पादन गर्ने प्रदूषणले जलचर मर्ने भनेपछि राजा त यस्ता नराम्रा काम पो गर्दै हिँड्दा रहेछन् भन्ने अर्थ लाग्ने हो कि भन्ने डर । अघिल्लो समाचार राजाको कारखाना उद्घाटन गर्दै छन्, छाप्नै पर्‍यो ।

पछिल्लो समाचार महेन्द्र प्रकृति संरक्षण कोषलाई कोट गरिएको थियो । कोषका अध्यक्ष युवराज ज्ञानेन्द्र थिए । पछिल्लो समाचारले अघिल्लो समाचारको आलोचना गरेको अर्थ लाग्न सक्थ्यो । दरबारको बिगबिगी भएको समय, अलिकति तलमाथि भए जागिर खोस्ने हुकुम हुन्थ्यो ।

रामचन्द्र न्यौपाने प्रधानसम्पादक थिए । विजयले फोन गरेर ‘के गर्ने ?’ भनी सोधे ।

निकै समयपछि उनले भने, “यसले भोलि समस्या ल्याउन सक्छ, त्यसैले प्रदूषणवाला समाचार नछाप ।”

भोलिपल्ट दरबारबाट बिहानै फोन आयो, “त्यो समाचार कसले किन, के कारणले रोकेको हो, त्यसको जागिर खोसेर त्यसको जानकारी लिएर तुरुन्त दरबार आउनू ।”

समाचार दरबारले योजनाबद्ध रूपमै पठाएको रहेछ । चीन सरकारले कारखाना त बनाइदियो तर प्रदूषण नियन्त्रण प्लान्ट बनाइदिएन । त्यसैले प्रदूषण नियन्त्रण प्लान्ट निर्माणका लागि दबाब दिन दरबारले योजना बनाएरै दुइटा समाचार एकैदिन पठाएको रहेछ ।

तर, ‘गोरखापत्र’लाई त्यो जानकारी थिएन । वीरेन्द्र र ज्ञानेन्द्रका भाइ धीरेन्द्र शाहसँग रामचन्द्रको सम्बन्ध राम्रो थियो । त्यसैले उनले भने, “सरकारको भित्री योजना हामीलाई थाहा थिएन । त्यसैले दरबारलाई सहज होस् भनेर समाचार रोकेका हौं । यसमा हाम्रो कुनै खराब नियत छैन । त्यसैले यसमा कारबाहीको कुरा नहोस् ।”

\"\"

प्रधान सम्पादकको अफर

शिक्षकभन्दा राम्रो जागिर के हुनसक्छ भन्ने क्रममा विजय ‘गोरखापत्र’ पुगे । सातौं तहबाट प्रवेश गरेका उनी ‘गोरखापत्र’को नेतृत्वसम्म पुगे । दुईपटक प्रधानसम्पादक हुँदा दुईपटक सोही पदका लागि भएको आग्रहलाई बेवास्ता गरे ।

०५१ सालमा पहिलोपटक नेपालमा कम्युनिस्टको एकमना सरकार बन्यो । मनमोहन अधिकारी प्रधानमन्त्री भए । सञ्चारमन्त्रीको जिम्मेवारी प्रदीप नेपालले लिएका थिए । प्रदीपले विजयलाई सम्पादकको जिम्मेवारी लिइदिन आग्रह गरे ।

त्यो बेलासम्म पनि ‘गोरखापत्र’को सम्पादक हुनलाई सिनियर हुनैपर्ने परम्परा भत्किसकेको थिएन । विजयभन्दा पुरु रिसाल, रामचन्द्र गौतम, श्यामसुन्दर सैंजूलगायत सिनियर थिए । त्यसैले प्रदीपलाई विजयले भने, “गोरखापत्रमा सिनियर पत्रकार नै सम्पादक हुने परम्परा छ । मभन्दा माथि अरू हुनुहुन्छ । उहाँहरूलाई छोडेर मलाई सम्पादक बनाउँदा मेरो आलोचना हुन्छ । मेरो आलोचना हुनु भनेको मलाई नियुक्त गर्ने सरकारको आलोचना हुनु हो । त्यसैले म यो विवादमा फस्दिनँ । मेरो करिअर अझै बाँकी छ ।”

पहिलो पटकको अवसरबाट उनी आफैं पन्छिए ।

एमाले फुट्यो । मालेको जन्म भयो । कांग्रेसले मालेलाई लिएर संयुक्त सरकार बनायो । राधाकृष्ण मैनाली सञ्चारमन्त्री बने । प्रगतिशील साहित्यकारका रूपमा पनि परिचित विजयलाई कम्युनिस्टले पत्याउँथे । कांग्रेसले दुत्कार्थे । कांग्रेसको भागमा सञ्चार मन्त्रालय पर्दा ‘गोरखापत्र’का मासिक सहप्रकाशनतिर फालिन्थे ।

कम्युनिस्टको भागमा सञ्चार मन्त्रालय पर्‍यो । फेरि अवसरको ढोका खुल्यो । सम्पादकको खोजी भयो । गंगाप्रसाद उप्रेतीमार्फत उनलाई अफर आयो ।

“अहिलेको विभाजन जुँगाको लडाइँजस्तो छ । भोलि चुनाव होला, एमालेलाई गोदेर लेख्न मलाई प्रेसर आउला, म यस्तो परिस्थितिमा काम गर्न सक्दिनँ । विचार र आस्था जे भए पनि स्वतन्त्र पत्रकारितामा हस्तक्षेप भइरहँदा म काम गर्न सक्दिनँ । मलाई असजिलो नपार्नुस् ।”

गंगाप्रसादले भने, “तपाईंको आशय बुझें तर मन्त्रीज्यूलाई एकपटक गएर भेटिदिनुस् ।”

विजयले मन्त्रीसँग पनि आफ्नो कुरा स्पष्ट पारे । मन्त्री आरके मैनालीले पनि उनको आशय बुझे । दोस्रो पटक पनि उनले प्रधानसम्पादकका लागि आएको आग्रहलाई टारिदिए ।

ज्ञानेन्द्रको समयमा प्रधानसम्पादक

राजा ज्ञानेन्द्रले राजनीतिक ‘कू’ गरे । आफ्नै अध्यक्षतामा मन्त्रिपरिषद् गठन गरे । इन्दिरा प्रसाईं ‘गोरखापत्र’को महाप्रबन्धक भएर आइन् । इन्दिराले विजयलाई पटक–पटक आग्रह गरिन्, “तपाईं प्रधानसम्पादक भइदिनुपर्‍यो ।”

विजय आफैंमा कम्युनिष्ट । त्यसमा पनि प्रगतिशील साहित्यकार । एमाले र मालेको भागमा सञ्चार मन्त्रालय आउँदा प्रधानसम्पादकका लागि अफर आएको । तर, राजाको प्रत्यक्ष शासन चलेका बेला पनि उनलाई फेरि त्यही अफर आयो ।

पटक–पटक आएको अवसरलाई नकार्दै जाँदा प्रधानसम्पादकचाँहि कहिले हुने ?

विजयले बुवा रमेश विकलसँग सल्लाह गरे । बुवाले भने, “तँ बाहिरबाट जाने होइन, त्यहीँको कर्मचारी हो । एक हिसाबले प्रमोशन पनि हो । विरोध गर्ने हो भने कि जागिर छोडेर निस्किनु पर्‍यो, होइन भने अहिलेको पोजिसनमा बसेर जागिर खानु र प्रधानसम्पादक हुनुमा के फरक छ र ? मेरो हिसाबमा त हुन्छ ।”

के गर्ने त ?

अप्ठ्यारो परेका बेला विजय सधैं प्रदीप नेपाल र ईश्वर पोखरेलसँग सल्लाह गर्थे । प्रदीपलाई फोन गरेर आएको अफर सुनाउँदै भने, “के गरौं ? भित्री मनले मान्दैन, बुवाले यसो भनिरहनुभएको छ ।”

प्रदीपले भने, “दाइ (रमेश विकल)ले भनेको मलाई त ठीक लाग्यो । बाहिरबाट जाने भए सोच्नुपथ्र्यो । तपाईं त्यहीँको कर्मचारी हो । कुनै दिन एउटा जिम्मेवारीमा बस्नुपर्छ, कुनै दिन अर्को जिम्मेवारीमा । जिम्मेवारी परिवर्तनमात्रै हो । जानुभए हुन्छ ।”

ईश्वरसँग पनि सल्लाह लिए । उनले पनि प्रदीपकै कुरा भने । प्रधानसम्पादकको जिम्मेवारी लिन सुझाए ।

‘युवा मञ्च’का सम्पादक विजयले ‘गोरखापत्र’को प्रधानसम्पादकको जिम्मेवारी लिए ।

\"\"

तीन महिनामात्रै टिके

दरबारनिकटका पत्रकारहरू विजयले प्रधानसम्पादकको जिम्मेवारी पाएकै दिनदेखि उनको विरोधमा लागेका थिए । कम्युनिस्टलाई प्रधानसम्पादक बनाएर कसरी सहयोग हुन्छ ? अरु पत्रकार थिएनन् ? भन्दै चुक्ली लगाइरहेका थिए । खरो स्वभावकी इन्दिरा र दरबारसँग सीधा पहुँचका कारण विजयको पद खोसिएको थिएन ।

जागिर चलिरहेकै थियो । एकदिन दरबारबाट समाचार आयो । ‘देशान्तर’ले महालेखाको प्रतिवेदनमा दरबारको कुनै कार्यक्रममा बेरुजू देखिएको समाचार छापेको थियो । त्यसको खण्डन बनाएर ‘गोरखापत्र’मा समाचार छाप्न भनेर आयो ।

अर्को सञ्चारमाध्यममा आएको समाचारको खण्डन अर्कै पत्रिकामा छाप्न मिल्दैनथ्यो । तर, दरबारको समाचार । के गर्ने ? दरबारको कुरा पूरै नजरअन्दाज गर्न सक्ने अवस्था थिएन । त्यसैले उनले समाचारका रूपमा होइन, सम्पादकलाई चिठी बनाएर छाप्न लगाइदिए । छापियो ।

दरबारका संवाद सचिव रिसले आगो भएर महाप्रबन्धक इन्दिरालाई फोन गरे, “दरबारले पठाएको समाचार सम्पादकलाई चिठी भनेर छाप्ने ? दरबारको यत्रो अपहेलना ? को हो त्यो सम्पादक ? त्यो दरबारविरोधी हो । यसो गरेकोमा त्यसलाई तुरुन्त कारबाही गर्नू ।”

विजय त्यहीँ थिए । इन्दिराले उनलाई फोन दिँदै भनिन्, “सचिवज्यूको फोन छ, उहाँलाई कन्भिन्स गर्नुस् ।”

सचिवले शुरुमै सातो जाने गरी भने, “तपाईं नै हो सम्पादक ?”

“हो ।”

“किन गरेको ? दरबारको यत्रो अपमान गर्ने ? दरबारलाई कोट गरेर पठाएको समाचार सम्पादकलाई चिठी बनाएर छाप्ने ?”

विजयले पत्रकारिताको सिद्धान्त र धर्मको कुरा सुनाए, “अर्काको खण्डन छाप्न मिल्दैन । दरबारको मात्रै भएर यति पनि छापिएको हो । अरू भए यति पनि छापिँदैनथ्यो ।”

“तपाईंले मलाई पत्रकारिता सिकाउने ? दरबारको इस्युमा पनि पत्रकारिताको नम्र्सको कुरा आउँछ ?”

विजयले भने, “पत्रकारिताको नम्र्स त हामीले पालना गर्नैपर्छ । यही संस्थामा बसेर ३० वर्ष भयो मैले पत्रकारिता गरेको । खराब नियत होइन । दरबारले आफनो सक्रिय शासनमा खण्डनलाई पनि समाचार बनाएर छाप्यो भन्ने आलोचना नओस् भनेर मैले सुरक्षित बाटो अपनाइदिएको हो ।”

“अध्यक्षलाई दिनूस्,” सचिवले भने ।

इन्दिराले सचिवलाई भनिन्, “पत्रकारितामा के गर्नुहुन्छ र हुँदैन— मलाईभन्दा धेरै उहाँलाई थाहा छ । मेरो विचारमा पनि उहाँले गल्ती गर्नुभएको छैन । यो केसमा म उहाँलाई कारबाही गर्न सक्दिनँ । अब भन्नुस्, सेफसाइड कसरी खोज्ने ?”

सचिवले भने, “फ्रन्ट पेजमा सिरानमा भोलि जस्ताको तस्तै छापिनुपर्छ ।”

दरबारको हुकुम कसले नकार्न सक्ने ! भोलिपल्ट संवाद सचिवले भनेकै ठाउँमा खण्डन समाचारका रूपमा छापियो ।

त्यसपछि सचिव नै इन्दिराविरुद्ध खनिए । मन्त्री परिवर्तन भए । श्रृष शमशेर राणा सञ्चारमन्त्री भएर आए । नयाँ मन्त्रीले पहिलो निर्णय नै इन्दिरालाई समाज कल्याण परिषद्मा काज पठाउने र विजयलाई प्रधानसम्पादकबाट हटाउने निर्णय गरे । जापानी दूतावासमा राष्ट्रिय दिवसको कार्यक्रममा सहभागी भइरहेका बेला उनलाई फोन गयो, प्रधानसम्पादकको जिम्मेवारी आजबाट लागू हुने गरी खोसियो भनेर । तीन महिनामै विजय पदबाट हटाइए ।

दोस्रोपटक पनि उस्तै

तत्कालीन नेकपा माओवादी भर्खर शान्तिपूर्ण राजनीतिमा आएको थियो । प्रचण्डनेतृत्वको माओवादीले चुनावमा कांग्रेस, एमालेलाई पराजित गर्‍यो । प्रचण्डकै नेतृत्वमा सरकार गठन भयो । फेरि शुरु भयो ‘गोरखापत्र’मा सम्पादकको खोजी ।

ओम शर्मा महाप्रबन्धकको जिम्मेवारी सम्हाल्न आइपुगे । उनी विजयकै निवास आरुबारी पुगेर भने, “मलाई सहयोग गर्नुपर्‍यो ।”

विजयले भने, “ठीकै छ, सहयोग गर्न मलाई आपत्ति छैन ।”

उनैले प्रचण्ड र बाबुराम भट्टराईलाई भेटाउन प्रचण्डनिवास नयाँबजार पुर्‍याए । विजयले प्रचण्ड र बाबुरामलाई भने, “म आओवादी हैन तर गणतन्त्र मेरो पनि विषय हो । म पनि प्रगतिशील लेखक हुँ । म माओवादी होइन, त्यसैले भोलि धोका पाइयो नभन्नुहोला ।”

बाबुरामले भने, “तपाईंको तीन पुस्ता हामीलाई थाहा छ । हाम्रो क्याडर भनेर हामीले तपाईंलाई जिम्मेवारी दिन लागेको होइन । रमेशजीदेखि तपाईंको ब्याकग्राउन्ड हामीलाई थाहा छ । तर, पनि तपाईंबाट सहयोग होस् भनेर तपाईंलाई जिम्मेवारी दिन लागेका हौं ।”

विजयले आग्रह स्वीकार गरे ।

“६६ ठाउँमा भारतले एकैपटक नेपालको सीमा मिचेको थियो । अक्सर यो विषयलाई मै हुँ भन्ने पत्रपत्रिकाले पनि छाप्दैनथे किनकि उनीहरूको विज्ञापन रोकिन्थ्यो । भारतीय गणतन्त्र दिवसका दिन आउने दुई पेजको ज्याकेट एड बन्द हुन्थ्यो । त्यसैले लाज पचाउन दिनै परे पनि भित्री पृष्ठमा लुकाउँथे,” विजय सम्झिन्छन्, “तर, सरकारी सञ्चारमाध्यममा बसेर त्यस्ता समाचार मैले निरन्तर छापिरहेको थिएँ । समाचार छाप्दासम्म त्यति धेरै केही भएको थिएन तर जब मैले शनिबारीय अंकमा सीमाविद् बुद्धीनारायाण श्रेष्ठको फूल पेज अन्तर्वार्ता लिन लगाएर छापें, भारतीय गाणतन्त्र दिवसमा छापिने विज्ञापन कम्पोज भइसकेपछि रोकिदियो ।”

ओम शर्माले विजयलाई भने, “एम्बेसीसँग एकपटक कुरा गर्नुस् न, दिई पो हाल्छन् कि !”

विजयलाई दूतावालसले भन्यो, “गोरखापत्रले भारतविरोधी काम गर्‍यो ।”

“के भएर विरोध भयो ? सीमाको कुरा गर्नुभएको होला । त्यो भारतको विरोधको समाचार होइन । नेपालको पक्षको समाचार हो । नेपाली पत्रकार भएर नेपालको स्वार्थलाई हेर्नुलाई भारतको विरोधका रूपमा लिन मिल्दैन ।”

“भारतविरोधी पत्रिकालाई हामीले विज्ञापन दिने गरेका छैनौं,” दूतावासले विजयलाई भन्यो । विज्ञापन छापिएन ।

त्यसपछि सरकारको माथिल्लो निकायले विजयको फाइल मगायो र अध्यक्षलाई ठाडो आदेश दियो– प्रधानसम्पादकलाई हटाउनू ।

ओमले बोलाएर भने, “सर, मलाई साह्रै प्रेसर आयो । सरले राजीनामा दिनुभए मलाई सजिलो हुने थियो ।”

“अहिले मैले राजीनामा दिनु भनेको मैले छापेको समाचार गलत थियो भनेर स्वीकार गर्नु हो, जुन म सक्दिनँ । मेरो देशको सीमा मिचिएको छ, त्यसलाई मैले समाचार बनाएको छु । तपाईंको इच्छाले मलाई हटाउन लागेको हाइन । मैले तपाईंको बाध्यता बुझेको छु । त्यसैले सञ्चालक समितिको बैठक बसेर मलाई हटाइएको निर्णय गर्नुस् । हटाएकोमा म तपाईंप्रति कुनै पूर्वाग्रह राख्दिनँ ।”

ओमले पुनः आग्रह गरे । विजयले संकोच नमान्न आग्रह गर्दै सञ्चाक समितिको बैठकबाटै निर्णय गर्न आग्रह गरे । त्यही दिन साँझ बसेको सञ्चालक समिति बैठकले विजयलाई प्रधानसम्पादकबाट हटाउने निर्णय गर्‍यो ।

यो घटना सुनाइसकेपछि विजयले भने, “डराई–डराई के लेख्नू !”

तस्बिरः सरिता खड्का

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २३, २०७५  ०९:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC