site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ऊर्जा, उत्साह र प्रेरणाका पुञ्‍ज

जिन्दगी ऊर्जा, उत्साह, प्रेरणाको संगम हो । यसको सबैभन्दा ज्वलन्त उदाहरण  हुनहुन्छ – शताब्दी पुरुष सत्यमोहन जोशी । उहाँलाई थोरै पटक भेटेको छु तर भेटैपिच्छे उहाँको ज्ञान, स्मरण र उदारताबाट अभिभूत भएको छु । जीवित नेपालीमध्ये सबैभन्दा आदरणीय जोशीको ज्ञान, कौशल तथा जीवन बाँच्ने कला र उहाँका संग्रहहरु जति सक्यो उति हामीले लिनुसक्नु पर्छ । राज्यले पनि यसलार्ई जीवन्त राख्नुपर्छ । 

यसपटकको भेटमा कुनै काम गरेपछि त्यसको जस कसरी लिने गरिन्छे भन्ने विषयमा उहाँले एउटा प्रसङ्ग सुनाउनु भयो । ‘‘ म तपाईँलाई २००८—२००९ साल तिरको कुरा भन्छु । सरकारले जनगणना गर्ने निर्णय गर्यो । नेपालमा पहिलो जनगणना सन् १९११ मा भएको मानिन्छ र तर वैज्ञानिक भने सन् १९५२–५४ (विस २००८—२०११) मा भएको जनगणनालाई मानिन्छ । यो जनगणना गर्दा न त नेपालको अन्तर्राष्ट्रिय सीमा यही नै हो भन्ने अवस्था थियो न त जिल्लाहरु नै छुट्टिएका थिए । कुन जिल्लाको सीमा कहाँदेखि कहाँसम्म हो भन्ने नै थिएन ।

यस्तो अन्योलबीच जनगणना गर्ने कामको जिम्मा आइलाग्यो सत्यमोहन जोशी लगायतका ५ जनालाई । टोलीका अन्य सदस्यमा थीरबहादुर रायमाझी, केशरबहादुर आचार्य, हृदयनाथ अधिकारी तथा नरकान्त अधिकारी हुनुहुन्थ्यो । दिल्लीमा जनगणनासम्बन्धी तालिम लिएका कारण उहाँहरु त्यस टोलीमा पर्नुभएको थियो । पछि जोशी जनसंख्यासम्बन्धी अध्ययन गर्न न्युजिल्यान्ड पनि जानुभयो । 

Prabhu Bank
Agni Group
NIC Asia

माथि भनिएजस्तै त्यति बेला न सीमा छुट्टिएको थियो न त गणनाका आधारहरु नै तय गरिएका थिए । संयुक्त राष्ट्रसंघको जनसंख्या महाशाखा (UN  Population's Division)  को सर्त तथा प्रक्रियाका आधारमा काम अगाडि बढाउने सहमति समूहले गर्यो । त्यसपछि नक्सा बनाउनु पर्ने भयो र सोहीअनुसार नक्साको खाका बन्यो, प्रगन्ना, जिल्ला छुट्टिए । काम गर्नै पर्ने भएपछि कहीँ न कहीँबाट त सुरु गर्नै पथ्र्यो !  

नक्साको खाका त बन्यो तर यसलाई जिल्ला, प्रगन्ना छुट्टिएको रंगीन नक्सा बनाउन पाए हुन्थ्यो भन्ने लागेछ उहाँलाइ । अनि दिलबहादुर चित्रकारलाई त्यो बनाउने कामको जिम्मा दिनु भयो । फेरि अर्को समस्या आइलाग्यो, त्यसबेला क्यानभास नै नपाइने । बेलायतबाट क्यानभास झिकाइयो र ओइल पेन्टिङ्ग नक्सा बन्यो । सबै जिल्ला अलग अलग रंगमा ! हाम्रो देश, जिल्लाहरु सबै भएको । पहिलोपटक ! कल्पना गरौँ न जब देशले आकार पायो, अनि मान्छेहरुले आफू कुन जिल्लाको, त्यो कहाँ पर्छ अनि अरु नाम सुनेका र नसुनेका जिल्लाहरु कहाँ छन्, देशको सीमा कस्तो छ खुट्टयाइएको त्यो क्षण । इतिहास निर्माण भएको त्यो घडी । 

Global Ime bank

विसं २००९ मा परोपकार संस्थामा पहिलोपटक भएके राष्ट्रिय प्रदर्शनीमा त्यो नक्सा देख्दा आउने सबै तीन छक भए । देशको आन्तरिक तथा बाह्य सीमासहित जिल्लाहरु देख्दा ! हाम्रो जिल्ला त यहाँ रहेछ, ए भोजपुर त यता पो रहेछ; मानीसहरुको ठूलो जिज्ञासा, कौतुहलता त्यसले शान्त पार्यो, देशको भूगोलको बारेमा मान्छेहरु प्रष्ट भए । त्यही जनगणनाका आधारमा निर्वाचन भयो । सारालाई यो काम लाग्यो विभिन्न प्रयोजनमा । यो मुलुककै पहिलो वैज्ञानिक जनगणना बन्यो । 

त्यही कामका लागि त्यसैबखत पहिलोपटक संख्या विभाग बन्यो जुन हालको केन्द्रीय तथ्यांक विभाग हो । त्यो जनगणना २० दिनमा गरिएको थियो । काठमाडौं बसन्तपुरको कुमारीघरको दुईवटा लङ्गमा तथ्यांक तयार गरिएको थियो कोचाकोच गरेर । सबै काम हातले लेखिएको थियो । आज हामी त्यसरी काम गरेको कल्पना पनि गर्न सक्तैनौ । जनसंख्या गणना गर्न धनकुटा जान रक्सौलहुँदै फारबिसगन्ज र डोटी जान रक्सौलबाट बहराइच भएर गएका थिए गणकहरु । 

त्यसरी खटेर इतिहास कोर्ने पाँच जनामा दुईजना मात्र जीवित हुनुहुन्छ हालसम्म – सत्यमोहन जोशी र नरकान्त अधिकारी । नरकान्त अधिकारी बिरामी हुनुहुन्छ । एकमात्र अझै सक्रिय सत्यमोहन जोशीमात्र हुनुहुन्छ । राष्ट्रिय जनगणनाको जग बसाल्ने त्यस्ता व्यक्तित्वहरुका बारेमा र जनगणनाको त्यो दुरुह तथा जीवन्त प्रक्रियाका बारेमा तथ्यांक विभागले न त कुनै दस्तावेज बनाएको छ न त कुनै खोजखबर नै । सराहना, कृतज्ञता तथा सम्मान गर्न नजान्ने वा कञ्जुस्याँइ गर्ने हाम्रो संस्कारले कहिल्यै पनि भलो गर्दैन । कुनै साइत नहेरी तथ्यांक विभागले सत्यमोहन जोशीसँग सम्पर्क गरेर त्यो ऐतिहासिक कामको र त्यस्तो काम गर्ने व्यक्तित्वहरुको अभिलेख बनाउनुपर्छ । जीवित हुँदासम्म केही नगर्ने अनि बेला बितिसकेपछि आँशु झार्नुको के तुक? अनि त्यो ऐतिहासिक पेन्टिङ खोजी गरी सार्वजनिक प्रदर्शनीका लागि राखिनुपर्छ । त्यो हाम्रा सन्तानका लागि उपहार हो अग्रजहरुका तर्फबाट । त्यो नासो हराउनु वा नासिनु हुँदैन । 

अब सुरुमा उठाइएको कामको जसअपजसको कुरा गरौँ । त्यस प्रदर्शनीमा सबैभन्दा उत्कृष्ट ठहरिएर त्यही तैल चित्रले पहिलो पुरस्कार पायो । र पुरस्कार लिन समूहकै अर्को सदस्यलाई बोलाइयो । मनमा कतै खिन्नता आयो, कामको नेतृत्व गरेको मैले, अवधारणा मेरो, तर पुरस्कार त आर्कैले पो थाप्यो भनेर । अहिले आएर सम्झदा लाग्छ त्यस्तो स्वार्थी /क्षुद्र बुद्धि किन आयो मेरो मनमा ? पात्रभन्दा जहिले पनि काम पो मुख्य हो त !  कामले त्यत्रो सम्मान, पहिचान पाउँदा पुगिहाल्यो नि । अनि कामको कुरा हुँदा त पात्रको विषय त कतै न कतै आइहाल्छ । 

हो हाम्रोजस्तो मुलुकमा कुनै पनि कुराको महत्त्व बुझेर अभिलेख राख्ने र कामको पहिचान तथा सम्मान गर्ने परिपाटी बिरलै छ । त्यसैले कति त्यस्ता राम्रा कामहरु सँगसँगै सर्जक तथा मुख्यकर्ता ओझेलमा पर्छन् । पद्धति बसाल्नु पर्यो यस्ता कामहरुमा ता कि कोही पनि ओझेलमा नपरोस्, कसैमाथि अन्याय नहोस् । त्यसैले तपाईँहरुले पनि काम गर्दा नामभन्दा पनि गुणस्तरीय काम गर्नुस्, नामको पछाडि कहिल्यै नलाग्नस् । अनि गरेको कामको सफलतामा रमाउनुस् । व्यक्ति महत्त्वपूर्ण हुन्छ नै तर जहिले पनि काम मूल कुरा हो । म, मेरो, मैले भन्ने भावबाट बाहिर निस्केर सामूहिकतामा बाँच्न सिक्नुपर्छ । 

\"\"

(श्रद्धेय सत्यमोहन जोशीसँग भएको कुराकानीमा आधारित रहेर यो लेख तयार गरिएको छ । इतिहासको गर्भमा लुकेको पक्ष उजागर गर्ने उद्देश्यले यो लेख लेखिएको हो । )

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १, २०७६  १६:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC