site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
झण्डाचुलीमा नयाँ पदमार्ग, ‘गाँजा ट्रेकिङ ट्रेल’ नाम राख्न सांसदको प्रस्ताव
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । महाभारत पर्वतश्रृङ्खला अन्तर्गत धादिङ र मकवानपुरको सिमा क्षेत्रमा रहेको झण्डाचुलीमा नेपालको राष्ट्रिय झण्डा गाडिएको छ । नयाँ वर्षको पहिलो दिन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कंडेलले थाक्रे गाउँपालिका वडा नं. ३ मा रहेको झण्डाचुलीको चुचुरोमा झण्डोत्तलन गरेका हुन् ।
नेपालको राष्ट्रिय झण्डा १५ मिटर अग्लो पोलमा स्थापना गरिएको हो । झण्डाचुली भूमिचुली क्षेत्रको सबै भन्दा अग्लो पर्वत हो । पर्यटन क्षेत्रको विकास गर्ने उद्देश्यले भूमिचुली क्षेत्र पर्यटन प्रबद्र्धन नागरिक अभियानको आयोजनामा झण्डा स्थापना गरिएको हो ।
झण्डा स्थापना गर्दै आयोगका उपाध्यक्ष कंडेलले मकवानपुरको थाहा नगरपालिका, धादिङको थाक्रे र गल्छी गाउँपालिकाको संगमस्थल झण्डाचुलीलाई एकीकृत पर्यटन पूर्वाधार निर्माण गर्न आवश्यक रहेको बताए । ऐतिहासिक, प्राकृतिक र धार्मिक महत्व बोकेको यस क्षेत्रमा एकीकृत पर्यटन पूर्वाधार निर्माण गर्दा छिटो समृद्धि हासिल हुने भएकाले आफुले यस क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । उनले भने, “सरकारले अगाडी बढाएको समृद्ध नेपाल सुखी नेपाली अभियान बनाउन मुल संवाहकको रुपमा पर्यटनलाई महत्वपुर्ण अंगको रुपमा लिएका छौं ।”
उनले सो अवसरमा आदिवासी जनजाती तामाङ र चेपाङको बसोबास रहेको यस क्षेत्रमा नयाँ पदमार्ग खोल्न यही वर्ष अध्ययन हुने पनि बताए । उनले भने, “महाभारत पर्यटनका लागि खोलिएको थिएन । यो मार्ग नयाँ प्रयोग पनि हुन्छ । यो काठमाडौं, नारायणगढ र हेटौंडाको बीचमा परेकाले यसको सम्भावना धेरै छ । यस क्षेत्रमा बस्ने तामाङ र चेपाङ जातिको उत्थानका लागि पनि यस मार्गले ठुलो भूमिका खेल्छ ।”
उनले त्यहाँका पाँचवटा स्थानीय तहलाई जोड्न तत्काल सडक निर्माण गर्नुपर्ने भएकाले प्रदेश सरकारलाई यसलाई प्राथमिकतामा राख्न अनुरोध गर्ने बताए । सो कार्यक्रमा पुगेका धादिङ क्षेत्र नं. १ का सांसद भुमि त्रिपाठीले यस क्षेत्र हुँदै अध्ययन गर्न लागिएको चन्द्रागिरी–चेपाङहिल पदमार्गलाई ‘गाँजा ट्रेकिङ ट्रेल’ नाम राख्न प्रस्ताव गरे । त्यस क्षेत्रमा अत्याधिक उत्पादन हुने गाँजाको महत्वबारे प्रष्ट पार्दै त्रिपाठीले पदमार्गको नामै गाँजा हिल राख्ने बताए । उनले भने, “गाँजा ओसार पसार गर्न प्रतिबन्धित छ, तर नाममा प्रतिबन्ध छैन ।”
उनले गाँजा विकसित राष्ट्रहरुले लागुऔषध नभएर औषधीको रुपमा खुल्ला गरेको प्रसंग जोड्दै नेपालले पनि यो अभियान शुरु गरिसकेको दाबी गरे । उनले भने, “संसदभित्र यो विषयले प्रवेश पाइसकेको छ । जसले यो प्रतिबन्धित भनेको थियो उसैले खुल्ला गरिसकेको छ । हामी पर्यटकलाई औषधिको रुपमा चखाउन सक्छौं ।”
उनका अनुसार महाभारत लेकमा कसरी समृद्धि ल्याउने भनेर गृहकार्य सुरु भइसकेको छ भने चन्द्रागिरिदेखि तोप्लाङ हुँदै प्रत्येक बसाइमा फरक फरक गन्तव्य बनाइँदै छ । गन्तव्य बनाउँदा यहाँको एकीकृत विकास गर्ने योजना बनाएको बताउँदै सांसद त्रिपाठीले सडक कालोपत्रे देखि होमस्टे प्रवद्र्धनका काममा लागेको दाबी गरे ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले यस क्षेत्रको विकासका लागि तीनै तहको सरकारसँग समन्वय गर्ने बचन दिए । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ३, २०७६  १३:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC