site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
गफ वर्ष–२०७५

वर्षहरु आउँछन्,जान्छन् । प्रत्येक वर्ष आफ्नै प्रकारका हुन्छन् । तिनको अनुभव व्यक्तिको जीवन र देशको राजनीतिदेखि यावत् क्षेत्रमा आआफ्नै प्रकारको हुन्छ । प्रत्येक वर्षका पद चिह्न हुन्छन् । गत २०७५ साल नेपाल र नेपालीको निम्ति अत्यन्त आशावादी भएर आएको थियो तर गुज्रियो कसरी भन्ने सन्दर्भलाई सम्झन खोजिएको हो । 

भर्खरै बितेको वर्षमा पनि यावत् विषयमा काम भए । संगीत, साहित्य, कला र कमाइ जे भनियोस्, वा संक्षिप्तमा मानव जीवनले ज्ञानदेखि विज्ञानसम्मका काम र उपलब्धि  सम्पादन गरे । सधैँ झैँ केही क्षेत्र छुटेनन् तर नयाँ थपिए । 

विक्रम वर्ष बित्ताबित्तै विज्ञानले कल्पनाको ‘ब्ल्याक होल’ लाई यथार्थमा प्रमाणित गर्यो । परिणामहरु सुखद, दुःखद र मिश्रित सबै प्रकारका रहे । यसरी धेरै वर्ष समाजको विस्मृतिमा गएका छन्, विलीन भएका छन् । लिपिबद्ध दुनियामा केही इतिहास भए ।  त्यस्तै त्यो वर्ष पनि बित्यो, यो वर्ष २०७६ पनि बित्नेछ । पृथ्वीको आयु बढाएर । बाच्नेहरुको समय वर्ष वर्षले तानेर आफूमा खिच्यो । यसरी नै ऊ वर्ष पनि बित्यो । भनियो– नयाँ वर्ष शुभ होस्, सबैका लागि सुखद रहोस् । 

Prabhu Bank
Agni Group
NIC Asia

वर्षहरु यस्तै हुन्छन् । तर, तीसँग मानिसका अपेक्षा जोडिन्छन् । घटनाहरुले पनि जोडिदिन्छन्, मोडिदिन्छन् । नेपालीका लागि त्यस्तै थियो बितेको पचहत्तर साल । अनेक कष्ट समालेर सफलतासहित आशाको भव्य पेटारो २०७४ सालले हस्तान्तरण गरेको थियो २०७५ लाई । सुम्पिएको त्यो ‘मालिक’ वर्ष बित्यो । त्यो पेटारो खोलेर हेर्दा के देखियो, के भेटियो र पाइयो के ?

नेपाली अपेक्षा पूरा हुन कति लामो समय लाग्यो ? कतिले बलिदान दिए । कतिले सपना साथसँगै लिएर इहलीला बिताए । समाज यस्तै हो कि ? समय वा परिणाम सबैका यस्तै हुनेहुन् ? यकिन भन्न सकिँदैन । किनभने, दुनियाँको आआफ्नै इतिहास छ, तिनको मर्म पनि आफ्नै । झन्डै सत्तरी वर्ष कुर्नुपर्यो, जनता र तिनका प्रतिनिधिले बनाएको संविधान पाउन । संविधान जनताले बनाउनुपर्छ, तिनले नै बनाउन पाउनुपर्छ भन्नेहरु कतिले यो संविधान नै देखेनन्, भोग्न पाएनन्, अनि बनाउन पाउने त कुरै भएन तिनले ।  

Global Ime bank

जसले बनाए सत्तरी वर्षअघिको कुरा । कुरा चल्दा ती कति त  जन्मिएकै थिएनन् । जन्मिएका भए देब्रे हातले कट्टुको पेटीभाग समाएर तान्दै र दाहिने हातले सिंगान पुछ्दै थिए होलान् त्यतिबेला । त्यही पुस्ता तन्नेरी भयो राजनीतिमा । अग्रजले देखाएको बाटो हिँड्यो, संविधान बनायो । देख्नेले के सपना देखे ? बनाउनेले कस्तो बनाए ? तर, जनप्रतिनिधिले बनाए, यो चाहिं सत्य हो । बरु, उँट बनाए कि गोरु ? गधा भयो कि गाई वा चमेरो ? कस्तो भयो ? अथवा संसारमा कल्पनै नगरिएको कुनै स्वर्णीम वस्तु उतारे कि – अद्भूत नवौँ आश्चर्य । मेरो विधान, मेरो संविधान । अर्थात्, सबैको मेरो । बनाउने कतिले त संविधान भोग्न पनि पाएनन्, ती बिते । प्रतिनिधिपात्र हुन् – सुशील कोइराला । 

भनिन्छ, नेपालले सानै अवधिमा धेरै राजनीतिक उतार, चढाव देख्यो, नेपालीले भोगे । अनि, जनताले संविधान बनाउन सत्तरी वर्ष कुर्नुपर्यो ? के यही सत्तरी वर्ष पाउन वा यही संविधान बनाउन अनेक उतारचढाब भए ? राणा गए, सात साल आयो । जनताको संविधान जनताले बनाउने कुरा सुरु भयो । राजाहरुको छलकपट चल्यो । पहिलो जननिर्वाचित प्रतिनिधिसभा भंग गरियो । जननिर्वाचित सरकार अपदस्थ पारियो । प्रजातान्त्रिक अपेक्षा मुखरित गर्ने सातसालका नायक बीपी कोइरालालगायत ती सबै थुनिए । कति सहिद भए । देश सिंगो बन्दीगृह ‘जेल’जस्तै बनाइयो । तीस वर्ष यस्तै भयो, बित्यो, खेर गयो । 

संघर्षका अनेकरुप र चरण हुँदै जनमत संग्रह भयो । बहुदल हार्यो, हराइयो । आन्दोलनको उभार थियो छयालीस साल । संवैधानिक राजसंस्थासहितको बहुदल पुनस्र्थापित भयो । संविधान बन्यो । चुनाव भयो । सरकार बन्यो । विकासले गति लिन थाल्यो । तर, प्रजातन्त्र विरोधी कम्युनिस्टलाई चित्त बुझेन, छटपटी भयो । विकास भए आफू सिद्धिने डरले ‘फोहरमा रमाउने झिँगे दाउ’ खेले तिनले । निर्वाचित सरकारलाई १८ दिनमै ढालिदिन्छौँ भन्दै जुलुस निकाले । ५२ दिन संसद् अवरुद्ध पारियो । माओवादी कम्युनिस्टी हिंसा जन्मियो । बिचरा १७ हजार नेपालीको बाच्न पाउने अधिकारको हत्या गरियो ।

चारैतिर हत्या, हिंसा, आतंक । सरकार पनि प्रतिहिंसा वा हत्यामा लाग्यो । धन्न नेपाली राजनीतिमा थिए गिरिजाप्रसाद कोइराला । उनले शान्तिका लागि काम गरे । शान्ति सम्झौता भयो । यसअघि नै राजा वीरेन्द्रको वंश नाश गरिएको खाली ठाउँमा उदय भएको थियो राजा ज्ञानेन्द्रको । उनलाई प्रजातन्त्र चित्त बुझेन, सार्वभौम जनता मन परेन । तानाशाह हुने दुःस्वप्न जाग्रत थियो ज्ञानेन्द्रमा । अर्थात् बाटो बिराए, बहकिए, महेन्द्र हुने सपना देखे । अन्ततः सिंहासन आसीन राजतन्त्रमात्रै होइन, श्रीपेच लगाउने राजसंस्था नै उखेलियो ।

गणतन्त्र आयो । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनाइयो । स्थानीयतह, प्रदेश र संघमा निर्वाचन भयो । चुनाव गराए, शेरबहादुरले विश्राम लिए । ०७४ सालको पुछार अर्थात् फागुनमा आउँदा सत्तारोहणको हतारमा सांसद् पदको शपथ नै नलिई प्रधानमन्त्री भए केपी ओली । राष्ट्रपतिले आफ्नै  पूर्वनेतालाई प्रधानमन्त्रीमा ‘अवैध’ शपथ खुलाइन्, संविधानको रक्षकले संविधान सम्झिनन्, सम्झाइनन् । ०७४ सालले दिएको भव्य पेटोरोका लागि पहिलो सामल बन्यो – ‘जितेको जोसमा अवैध तरिकाले सत्तारोहण ।’

यी मोटाघाटा घटनाको स्मरण नेपाली राजनीतिको उहापोह हुन् । यी निकै पेचिला र थोरै समयको धेरै घटना पनि । त्यतिमात्रै होइन, जनसंविधान पाउन कसरी खर्चिएछ सत्तरी वर्ष भन्ने विस्मृति उधिन्नु पनि । अर्को अर्थमा समाजको भोगाइको राजनीतिक आँखीझ्याल समेत । अनि समयको प्रतिनिधित्व गर्ने वर्षहरुको गुज्रान । साँझ बिहान, दिन रात बाँडिएर, ग्रहदशाले विभक्त पारिएको समयमा बिते वर्ष, नयाँवर्ष, वर्षौंवर्ष । वर्षहरुमा छोटामोटा घटना कतिकति, तिनका विषय पनि थरीथरी, असंख्य । दिनदिनै । न लेखी साध्य, कति त सम्झी साध्य पनि भएनन् । तर ०७५ साल हाम्रालागि खास थियो, हुनुपथ्र्यो । भएन कसरी भन्नु, तर भयो के ?

लामो संघर्षले थलिएको समाज । आवश्यकता, अपेक्षाले किचिएको मानिस । अस्थिरताले आरोपित राजनीतिले बिथोलिएको नागरिक मानसिकता । उच्चासीनहरुको भ्रष्टचरित्रले आक्रान्त । सुखद सम्भावना असम्भवजस्तै । खुसी, समानता र सम्पन्नता धेरै टाढा । प्रजातन्त्र विरोधीहरुको ‘अर्बुद’ राजनीति । राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण । यस्तै भोगाइले संत्रस्त नेपालीले लोकतान्त्रिक गणतन्त्रसँग सुन्दर अपेक्षा जोडेका थिए, हुन् । यो अपेक्षाको पहिलो वर्ष थियो–२०७५ । 

परन्तु, भइदियो उल्टो । नेपालीले थप शीर्षासन गर्नुपर्ने भयो । भ्रष्टाचार बूढीगण्डकीमा डुबुल्की मारेर ‘स्विमिङ‘ खेल्दैछ र वाइडबडी जहाजमा दुनियाको सयर गर्दैछ । टेलिकममा छ, प्राधिकरणमा छ, हुँदाहुँदै सेक्युरिटी प्रेससम्म आइपुग्यो रे सरकारी भ्रष्टाचार । मेलम्चीको पानी खाने काठमाडौंको तिर्खाले थुप्रैपटक आश्वासन पियो । मेलम्ची कमिसनको भ्रष्ट सरकारी खेलमा बगेको बग्यै छ । 

अर्कातिर, प्रधानमन्त्रीको गफ सुन्नुपरेको छ– ‘भ्रष्टाचारीलाई हेर्दा पनि हेर्दिन’ भनेको के हो, बुझिएन । ०७५ कै गर्भगृहबाट निस्कियो कम्युनिस्ट पार्टीका नेताहरुको जग्गा मोहनी । जग्गा माफियाहरुलाई कम्युनिस्ट नेताले गरेको संरक्षण र त्यसबापत लिएको जग्गा कमिसन । कम्युनिस्ट (माओवादी) कोटामा भएका संवैधानिक आयुक्त पनि जग्गा माफियासँगै भेटिए ।     पचहत्तर सालमा सरकारले ‘जलेविष्णु, थलेविष्णु’ भनेजस्तै भ्रष्टाचारलाई सर्वत्र बनायो र संस्थागत गरायो । तर, चस्मा कालो लगाएर प्रधानमन्त्री भ्रष्ट र अनैतिकहरुकै सामु भ्रष्टाचार विरोधी गफ दिन्छन्, सुशासनको कुरा गर्छन्, र सुख, समृिद्धको गुड्डी हाक्छन् ।  

प्रजातान्त्रिक संस्थामाथि प्रहार । संसद् होस् कि अदालत ? सरकारी प्रतिच्छाया, सर्वत्र कम्युनिस्टकरण । मानवअधिकारलाई थिच्ने कोसिस । बुद्धिजीवी भन्नेलाई थला पार्ने । प्रेसको घाँटी निमोठिँदै छ । पत्रकार महासंघ नै संघर्षमा उत्रनुपर्यो । सुशासन पचहत्तर सालको भाष्यमा गफ गर्ने मेलोमात्रै । न्यायका लागि निर्मला पन्त रोएको कति दिन बिते ? सुरक्षाको जिम्मा पशुपतिले दिइएको छ ।  

प्रधानमन्त्रीले भोको पेट र नांगो आँगको ख्याउटे बालकलाई सुनाए रेल र पानी जहाजको गफ । न्याय खोज्ने सत्याग्रहीलाई बर्षाए शब्दतीर र दुईतिहाइ दम्भको डण्डा । बिरामीले औषधि पाएनन् । विद्यार्थीले किताब पाएनन् । भर्ना अभियान नामको हल्ला तर अघिल्ला हल्लाको सरकारी मूल्यांकन सार्वजनिक हँुदैन । यस्तै छन् ओलीराजका समाचार, कुरा ।

अर्कैले गरेका कामको ‘स्विच’ थिचेर हामी नै विकास गर्छौँ भन्न पाएका प्रधानमन्त्रीले आफ्नै अघिल्तिर केही काम बाँकी भई अलपत्र तिर्खाएको मेलम्ची देख्दैनन् । महालेखाको प्रतिवेदनले आर्थिक अनियमितता र बेरुजुको पहाड नै देखाइदिएको छ । मानवअधिकारलाई कुण्ठित गर्ने प्रयत्न भएछ । द्वन्द्व पीडितलाई पीडा थप्ने विधेयक ल्यायौ, त्यस्तो कानुन नबनाऊ, सरकारको नाममा संयुक्त राष्ट्रसंघले भनेछ । मानव अधिकार आयोग आफूलाई शक्तिहीन नबनाऊ, भन्ने गुहार लगाउँदै छ ।  

कार्यकर्ता अरिङ्गाल बनाइए । विपक्षी नन्दीभृड्.गी । आफैँभित्रका साथी असहयोगी । वक्ता प्रधानमन्त्रीका लागि पचहत्तर साल आधारभूत ‘गफ’ वर्ष भयो । नेपालीले चाहिँ २०७५ सालमा असहिष्णु घोचपेच र उखानटुक्का खुब सुने, सके सिके । तर, गफमात्रै भए पनि एक प्रकारले रमाइलै भयो २०७५ साल । बाँकी आफ्ना आशा, अपेक्षा कस्ता भए पाँच दिनअघि सकिएको साल सम्झिऊँ र सामान्य नागरिकले आफैँ बुझौँ ।  

जय होस् ! २०७६ साल, शुभ रहोस् ! ‘कामकुरो एकातिर, कुम्लो बोकी कतातिर’ नहोस् । लोकतन्त्र बाँचोस् । कमसेकम नहुने गफबाट मुक्ति मिलोस् । मंगल कामना !      
              
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ५, २०७६  ०७:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC