site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
फुदुन सदाको मुक्ति
Ghorahi CementGhorahi Cement

— अभय श्रेष्ठ


एक

पीपलको रुख चढेर फुदुन सदा बाढीको बितन्डा हेरिरहेको थियो । यति ठूलो बाढी उसले कहिल्यै देखेको थिएन । खाली जमिन कतै थिएन । जता हेर्‍यो पानीपानी । पानी र अग्ला रुख अनि बाढीमा छोपिँदै गरेको बाँसझ्याङबाहेक कतै केही देखिन्नथ्यो । बाढी झन्–झन् बढिरहेको थियो ।

Agni Group

अघिल्लो साँझदेखि आरी घोप्टिएझैं पानी एकोहोरो परिरहेको थियो । हिजो खेत जोतिसकेपछि मालिक्नीले दिएको जलखै खाएर मालिकका तीन गाई, दुई भैंसी र चार गोरू लिएर ऊ चरनका लागि खुदुना नदीपारि गएको थियो । मालिक रघुनाथ यादवको गोठ त्यहाँ पनि थियो । ढिलो हुँदा कहिलेकाहीँ ऊ त्यहीँ वस्तु बाँधेर बस्ने गथ्र्यो । मौका मिल्दा एक्लै यहाँ बस्न उसलाई बहुतै आनन्द लाग्थ्यो । कम्तीमा एक दिन भए पनि मालिकको अह्रोट र स्वास्नीको करकर त सुन्नु पर्दैनथ्यो ! आखिर मालिकको घरमा पनि उसको बास गोठमै थियो । यहाँ पनि गोठमै । के फरक थियो र ?

उता स्वास्नी थिई । जे भएको पकाएर राखिदिन्थी । यता कोही थिएन, केही थिएन । तर, शान्ति थियो ।

Global Ime bank

दिउँसो बोकेको एक पुरिया चाउचाउ चपाएर साँझ चाँडै ऊ खटियामा पल्टियो । राति ११ बजेतिर वर्षा र बाढीको डरलाग्दो आवाज सुनेर ब्यूँँझियो । उठेर हेर्दा खटियाको खुट्टा पूरै डुब्ने गरी पानी बगिरहेको थियो । झरी झन्–झन् बढ्दै गयो । गोठभित्र छिरेको पानीको सतह उही गतमा बढ्न थाल्यो । पानी परेपछि बसेर उग्राइरहेका गाईवस्तु पनि उठेर कराउन थाले । फुदुनलाई जिन्दगीमा कहिल्यै नलागेको डर लागेर आयो । भागेर बाहिर जाऊँ, मालिकका गाईवस्तु टुलुटुलु उसलाई हेरिरहेका छन् । ती मालिकभन्दा ऊसँग प्रेम गर्छन् । त्यहीँ बसूँ, ज्यानै जाला भन्ने डर । पानी अब छातीसम्म आइसकेको थियो । गाईवस्तु पनि आधा ढाड डुबाएर चलमलाइरहेका थिए । रातभरि छानाको दलिन समाएर ऊ ननिदाई बसिरह्यो ।

बिहान झिसमिसे उज्यालोमा उसले सबै गाईवस्तुको दाम्लो फुकालिदियो । “रे रतुवा, अब तिमेरु जाँ जान्छौ जाऊ, जसरी हुन्छ ज्यान जोगाऊ,” रतुवा नामको गोरूलाई धाप दिँदै आधा रोएको स्वरमा उसले भन्यो र बाहिर निस्कियो । रतुवाले बाँ... गरेर उसको सहारा मागेझैं गर्‍यो । पानी घाँटीसम्म आइसकेको थियो । गाईवस्तु पनि उसको पछिपछि लागे । ३० हातजति पश्चिमतिर मझौला आकारको पीपलको रूखमा ऊ होशियारीपूर्वक चढ्यो । हेर्दाहेर्दै बाढीले गोठ भत्कायो र बगाउन थाल्यो । गाईवस्तु त्यही भत्केको गोठले छोपिए र बाढीसँग बग्दै गए । अलि तल पुगेपछि एउटा भैंसी गोठको छानो छलेर चाल्दै पश्चिमतिर गयो । अरू गाईवस्तु कतै देखिएनन् । अलि तलको छालले फेरि त्यसलाई पनि बगायो । भैंसी डुबुल्की मार्दै छालबाट मुक्त हुन खोज्थ्यो । छाल उसलाई निरन्तर हुत्याइरहेको थियो । एकैछिनमा भैंसी देखिनै छाड्यो ।

हुन त मालिकका गाईवस्तु बगेका थिए । तर, उसलाई आफ्नै मुटुको टुक्रा चिरिएर बगेझैं लाग्यो । डोरी फुकाउँदा बाँच्न संघर्ष गरिरहेको भैंसीले मायालाग्दो गरी पिर्लिक्क आँखा पल्टाएर उसलाई हेरेको थियो । अहिले भैंसीका तिनै आँखाले उसलाई सताउन थाले । अनि रतियाले बाँ... गरेर सहायता माग्दा उसले त्यसलाई बचाउन सकेन ।

ऊ पीपलको हाँगालाई दुवै खुट्टाले च्यापेर बस्यो र क्वाँक्वाँ रून थाल्यो ।

उता, मालिकको घरनजिकैको गोठमा उसकी स्वास्नी बिम्ली एक्लै थिई । बिहे गरेको त मालिकलाई कमारी थपिदिनुजस्तो मात्र भएको थियो । यही कुरालाई लिएर स्वास्नी किचकिच गरिरहन्थी । सधैं त्यही सुन्नुपर्दा उसलाई दिक्क लाग्थ्यो र स्वास्नीलाई दुई–चार लात लगाएर हिँडिदिन्थ्यो । त्यसपछि कम्तीमा सात दिनसम्म उनीहरूको बोलचाल हुँदैनथ्यो । भात पस्केर चुपचाप स्वास्नीचाहिँ थाल घचेडिदिन्थी । ऊ तानेर चुपचाप खान्थ्यो र हलो बोकेर गोरू धपाउँदै काममा निस्किन्थ्यो । उसलाई थाहा थियो— मालिकको नजर उसकी स्वास्नीप्रति राम्रो छैन । गरिबी र दासताले थिचिए पनि बिम्ली भरिभराउ देहकी यौवना थिई । ‘रे बिम्ली...’ भन्दै उसकै अगाडि उसकी स्वास्नीमाथि कस्तो दुष्ट आँखा लगाउँथ्यो ! बिम्लीको भरिलो छातीमा आँखा गाढेर घीनलाग्दो गरी हाँस्थ्यो । मालिककोे बिज्याइँ बढेपछि बिम्ली एकाएक ऊसँग नजिकिन्थी र राति उसको छातीमा टाँसिएर आँसु झार्थी । यसरी उनीहरूबीचको तिक्तता मेटिन्थ्यो अनि फेरि मायापिरती शुरू भइहाल्थ्यो ।

यता, गोठ बाढीसँगै बगेको थियो । गाईवस्तु बगेका थिए । उता मालिकको घरगोठ के भयो होला ? गोठ त पक्कै बगायो होला । अनि बिम्लीलाई के भयो होला ? के बिम्ली बाँचेकै होली ? के बिम्लीसँग फेरि भेट होला ?

‘बिम्ली...’ भन्दै ऊ सुँक्कसुँक्क रून थाल्यो । ऊसँग मोबाइल थिएन । बिम्लीले त माइतीबाट मोबाइलको सेट लिएर आएकी थिई । तर, ऊसँग बिम्लीको नम्बर पनि थिएन । नम्बर भइदिएको भए पनि अहिले काम थिएन । स्वास्नीले नजिकैको पसलमा फोन गर्दा मात्र उसले रिसिभर उठाएर कुरा गरेको थियो ।

कतै सुरक्षाको खोजीमा बिम्ली मालिकको छातीमा ओत लागेर त बसिरहेकी छैन ? कतै मालिक उसकी तरूनी स्वास्नीको भरिभराउ देहमाथि पिङझैं मच्चिइरहेको त छैन ? हरे ! यस्तो बेला पनि उसको मनमा कस्तो पाप खेलिरहेको होला !

०००

दुई

पानी निरन्तर परिरहेको थियो । बाढी झन्–झन् बढेर हाँगाबाट झरेको उसको खुट्टा छुन खोजिरहेको थियो । रुखै बगाउलाझैं गरी हल्लाइरहेको थियो । भोक र जाडोले ऊ ठुकठुक काँप्न थाल्यो । हिजो ऊ यहाँ गोठमा नबसेको भए स्वास्नीसँगै हुन्थ्यो । स्वास्नीले जे भएको पकाएर दिन्थी । कम्तीमा तातो खाएर सुत्न त पाउँथ्यो ! मर्नै परे पनि सँगै हुन्थ्यो । ऊ बसेको गोठ पक्कै भत्कियो होला । उसकी बिम्लीलाई बाढीले बगाएर कहाँ पुर्‍याएको होला ! कति दिनपछि टाढा कतै बगरमा लाश भेटिएला । यो सम्झेर उसको सासै रोकिएलाझैं भयो । ‘बिम्ली...’ भन्दै ऊ फेरि हिक्कहिक्क गर्न थाल्यो ।

हेर्दाहेर्दै उसकै आँखाअगाडि कति गाईवस्तु, ठुल्ठूला रुख, सिंगै बाँसझ्याङ, घर, गोठ, छाना, लुगा, ओढ्ने–ओछ्याउने पीपलको रूखलाई धक्का दिँदै बगिरहेका थिए । रातो धोती लगाएकी एउटी आइमाई शान्तिपूर्वक पानीमा तैरिएर बगिरहेकी थिई । अलि तल छालले त्यसलाई चुर्लुम्म डुबायो र फेरि उतार्‍यो । अनि जोडले हुत्याएर लग्यो । त्यो बिम्लीकै उमेरकी हुँदी हो । ओहो, बिम्लीलाई पनि यसैगरी बगायो होला । यस्तो सोचेर ऊ कहालिरह्यो ।

बिम्लीलाई पनि हिजो उसले यता गोठमै ल्याउन नखोजेको होइन । अलि नयाँ अनुभव पनि हुन्थ्यो । दुई जनामात्र हुँदा यहाँ शान्तिसँग रात बिताउन पाइन्थ्यो । तर, मालिकको घरमा यति काम थियो कि बिम्ली फुत्कनै पाइन ।

“होस्, तिमी एक्लै जाऊ, कमारीको जिन्दगीमा त्यस्तो भाग्य कहाँ,” जाने बेला उसले भनेकी थिई ।

मालिकको कुत्सित चाला सम्झेर मन भारी गर्दै ऊ एक्लै गाईवस्तु फुकाएर यता आएको थियो । अहिले यस्तो हुनु रहेछ ।

“हे दिनाभद्री, मेरी बिम्लीलाई बचाइदेऊ, तिम्रो यो गुन म कहिल्यै बिर्सनेछैन,” उसले मनमनै आफ्ना कुलदेवतालाई पुकारा गर्‍यो ।

दुई युवक हातमा हात समातेर तेर्सोतेर्सो चाल्दै पश्चिमतिर बाँसझ्याङमा सहारा लिन खोजिरहेका थिए । छिनछिनमा बाढीले तिनीहरूलाई हुत्याउँथ्यो । तिनीहरू फेरि सम्हालिएर चाल्दै पश्चिमतिर कुनै रुख वा बाँसझ्याङतर्फ तेर्सिन खोज्थे । ऊ रुखबाटै जोडले कराएर तिनीहरूलाई बाँसझ्याङतिर तेर्सो चाल्न निर्देशन दिइरहेको थियो । तर, बाढीको गति र आवाज यति प्रचण्ड थियो कि उसको स्वर ऊ स्वयंले सुन्न मुस्किल परिरहेको थियो ।

हात समाएर चाल्दै गरेको एउटा युवकलाई बाढीले हुत्यायो र हुर्‍याउँदै दक्षिणतिर बगाउँदै लग्यो । एकैछिनमा ऊ देखिनै छाड्यो । अर्को युवक भने अझै चाल्दै पश्चिमतिर लागिरहेको थियो । एकैछिनमा त्यसलाई पनि छालले हुत्यायो । चाँडै नै ऊ पनि अलप भयो ।

माथि बाँसझ्याङतिरबाट एउटा टिनको छानो यतैतिर बग्दै आएको थियो । नजिकै आउँदा देखियो, छानोमाथि एउटा कालो कुकुर दायाँबायाँ सन्त्रास र याचनाका आँखा फैलाउँदै कुइँकुइँ गरिरहेको थियो । ओहो ! त्यसका आँखामा मृत्युको सन्त्रास र जीवनप्रतिको कत्रो लालसा थियो ! त्यो छाप्रो तल पानीको भूमरीमा घुम्दै चुर्लुम्म डुब्यो । कुकुर पनि त्यसैसँग डुब्यो र अलप भयो । केही छिनपछि अलि तल कुकुर उत्रियो र चाल्दै कतै जमिन खोज्न थाल्यो । तर, अब जमिन कहाँ बाँकी थियो र ! जे थियो, पानी, पानी र धमिलो पानीबाहेक केही थिएन । कुकुर बाढीको छालसँगै चाल्दै बग्दै गयो । अलि बेरपछि देखिनै छाड्यो । अब त्यो टिनको छानो पनि भूमरीबाट उत्रिएको थियो र उसैगरी बाढीसँगै नारिएर बग्दै गयो ।

फुदुन सदालाई अब सहिनसक्नु जाडो भयो । किनभने वर्षासँगै चिसो बतास चलिरहेको थियो । कहिलेकाहीँ त ऊ चढेको पीपलको हाँगा नै भाँचिएलाझैं हुन्थ्यो । त्यस्तैमा उसलाई भोक लाग्यो । कमजोरीले हातखुट्टा छाडिएलाझैं भयो । यस्तोमा उसलाई जिन्दगीको मोह झनै जागेर आयो । त्यही मोहले अहिलेसम्म यहाँ उसलाई अडाइराखेको थियो । खल्तीमा पानीले लछप्पै भिजेको सिग्रेट र सलाई थियो । सिग्रेटको टुप्पो निचोरेर उसले पानी झार्‍यो । निचोरेको भाग भाँचिएर खस्यो । बाँकी भाग सल्काउन खोज्यो । घोट्दा–घोट्दा बल्ल झ्यार्र सलाई बल्यो । तर ज्यान जाला, सिग्रेट सल्किएन । अनि उसले सिग्रेटको त्यही ठुटो पनि पानीमा खसालिदियो । बलेको सलाईको काँटी अरू काँटीमा झोस्यो । झ्यार्र गरेर अरू काँटी पनि सल्किए । मनमनै प्रार्थना गरे जसरी आँखा चिम्लेर उसले बलेका सबै काँटी पानीमा खसालिदियो ।

०००

तीन

फुदुन सदाको मालिक रघुनाथ यादव स्वयं पीपलको बोटमा चढ्न खोज्दै थियो । यो के हो ? फुदुनलाई सपना हो कि, तन्द्रा हो कि जस्तो लाग्यो । यसो हेर्छ । चिसोले फुलेको हातको नसा चिमोट्छ । विपनै हो ! मालिक रुख चढ्न संघर्ष गर्दै छ । सकिरहेको छैन । उता, बाढीले मालिकलाई छालतरि हुत्याउन खोज्दै छ । ओहो ! मालिक पहिलो पल्ट यति असहाय देखिँदै छ । उसको अनुहारमा फुदुनले पहिलो पल्ट यस्तो डरलाग्दो अत्यास र भय देख्दै छ ।

“मालिक ऽऽऽ,” सपना हो कि भनेर फेरि जाँच्न माथिबाट फुदुन चिच्यायो । हो त, विपनै हो ! रघुनाथ मालिकले यताउति हेर्‍यो । देखेन । उसलाई तर्कनाजस्तो मात्रै लाग्यो होला ।

“मालिक ऽऽऽ” फुदुनले फेरि आवाज दियो । यसपालि मालिकले उसलाई देख्यो । मालिकको हर्षको ठेगान रहेन ।

“फुदुन ! अरे ओ फुदुन ! तँ ज्युँदै छस् रे ? तँ कसरी ज्युँदै छस् हँ ?”

फुदुन तल ओर्लियो र मालिकलाई हात दिएर माथि तान्दै भन्यो, “मालिक, रातभरि पानी परिरह्यो । गोठको निदालमा झुन्डिएर बसिरहें । उज्यालो भएपछि गाईवस्तु छाडिदिएँ । सबै बगेर गए । गोठ पनि बगायो । गोठ बगाउनुअघि यो रूखमा चढेर बाँचें । मैले गाईवस्तुलाई बचाउन सकिनँ मालिक !” यति भनेर फुदुन तीन वर्षे बालकजस्तै क्वाँक्वाँ रून थाल्यो ।

माथि ठूलो हाँगामा टाङ अड्याएर मालिकले खुइ्यय गर्दै लामो सास तान्यो । उसले रोइरहेको फुदुनलाई ट्वाल्ल हेरिरह्यो । कति बेर बोल्नै सकेन । फुदुनको रूवाइ नरोकिएपछि बल्ल उसले भन्यो, “नरो फुदुन, नरो । मान्छेकै ज्यान बचाउन नसकिएको बेला अब गाईवस्तुको के पीर गर्छस् !”

मालिकले के भन्न खोजेको हो ? बिम्ली र मालिक्नीलाई केही भयो ? फुदुन अवाक् भएर मालिकलाई हेरेको हे¥यै भयो ।

“उता पनि घर बग्यो, गोठ बग्यो... मालिक्नी, बच्चाहरू, गाईवस्तु... सबै–सबै कता गायब भए, थाहा छैन,” अड्किइअड्किई मालिकले भन्यो, “सिंगै गाउँ बाढीमा बग्यो । सबै सकियो फुदुन ! अब तँ जस्तो, म पनि त्यस्तै भएँ । तँ नांगै, म त झन् नांगै । रे फुदुन, मेरो त सप्पैसप्पै सकियो !”

मालिकले बिम्लीको नाम लिएन । किन लिएन ? के बिम्ली जिउँदै छे ?

फुदुनले मालिकलाई अपलक हेरिरह्यो । मालिकका आँखाको चञ्चलता र तेज एक्कासि कहाँ गायब भए ? न त उसको मुहारमै अब त्यो दुष्टता बाँकी छ । मसिनो स्वरमा मालिकले भन्यो, “रे फुदुन, तँ त शानदार तरिकाले यहाँ पीपलको रुखमा भए पनि बस्न पाइछस् । उता झन्डै–झन्डै आफ्नै पनि ज्यान गइसकेको... । एक्कासि चिसो लाग्दा निद्राबाट ब्यूँझिएँ । म त खाटैसहित बगिरहेको थिएँ । एउटा बाँसझ्याङमा समातेर बाँचें । बिहानभरि त्यहीँ अडिइरहें । पछि त्यही पनि बगायो । नजिकै यो रुख देखेपछि ज्यानै फालेर पौडिँदै आएँ । पौडिन जानेकैले यहाँसम्म बाँचेर आएँ । रुख चढ्न नसक्दा मैले बाँच्ने आशै मारिसकेको थिएँ । तैंले मेरो ज्यान बचाइस् । अब तँ नै मेरो मालिक भइस् फुदुन ! तैंले भोकभोकै अब हलो जोतिरहनुपर्दैन ।”

फुदुन सदाको पुस्तौंदेखि रघुनाथ मालिकको घरमा हरूवाचरूवा बस्दै आएको थियो । उसलाई आफ्ना हजुरबा र बाबुले यहाँ हली र गोठाला भएर काम गरेको सम्झना छ । हजुरबाले कति ऋण लिएका थिए, बाबुले कति लिएका थिए, उसलाई थाहा छैन । उसले त्यहाँबाट मुक्ति पनि कहिल्यै खोजेन । बाबु यहाँ हरूवाचरूवा थियो । मालिकको छोराछोरी मालिक, कमाराका छोराछोरी कमारै । त्यही भएर ऊ पनि यहाँ हरूवाचरूवा छ । यहाँ आफ्ना कुलदेवता दिनाभद्रीलाई छुट्टै राख्ने छाप्रोसमेत छैन । बिम्लीलाई बिहे गर्ने बेला उसलाई पनि मालिकले ऋण दिएको हो । कति दिएको हो, उसले त बिर्सिसक्यो । मालिकले तिर् भनेका छैनन् । उसले यहाँ काम गर्न छाडेको पनि छैन । गर्दिनँ त भनेकै छैन, अल्छी पनि कहिल्यै मानेको छैन ।

एउटै कुरामा उसलाई मालिकसँग अचाक्ली रिस उठ्छ । बिम्लीलाई देख्नेबित्तिकै मालिकका धूर्त आँखा उसका भरिला छातीमाथि सलबलाउन थाल्छन् अनि उसको मुठे जुँगाबाट पान खाएको ओठ फुस्कन्छ र पायरिया लागेको दुष्ट दाँत देखापर्छ । फुदुनलाई योचाहिँ सहिनसक्नु हुन्छ । यस्तो बेला उसलाई मालिकका जुँगे ओठमा लात्तै लात्ताले भकुरूँ जस्तो लाग्छ । खाप्सियोले घोचेर ती आँखा फोडिदिऊँ झैं लाग्छ । कहिलेकाहीँ त हत्यै गरिदिऊँ झैं लाग्छ । नत्र अरू बेला त उसलाई रिसाउन पनि कहाँ फुर्सद थियो र !

मालिकले त भनिदियो, “अब तँ र म बराबर भयौं ।”

तर, घर बग्दैमा, एक वर्षको बालीमा बाढी लाग्दैमा ऊ फुदुनजस्तै सर्वहारा हुने होइन । अथाह जमिन र बैंक ब्यालेन्स हुन्जेल मालिक त सधैं मालिक नै रहन्छ । शायद मालिकलाई पनि लाग्यो होला— अब म फुदुनजस्तै हरूवाचरूवाको स्तरमा पुगें । र, त उसले भनिदियो, “अब तँ र म बराबर ।”

बस्, छिनमै फुदुन सदालाई एक्कासि बँधुवा जीवनबाट मुक्ति मिले जस्तो होलो भयो । भित्र कतै खुशीले उसलाई पुलकित पारिरहेको थियोे । ए, अब त मालिकको पनि सप्पैसप्पै बाढीले बगायो । ऊ पनि फुदुनकै हैसियतमा ओर्लिसक्यो । अब मालिकले बिम्लीलाई त्यसरी हेर्न सक्नेछैन । किनभने मालिक र ऊ बराबर भइसके । यो त मालिकले नै भनिसक्यो ।

मालिकले नै भनिसकेपछि कुरा सकिगयो ! अब मालिकको हरूवाचरूवा भएर पनि उसले काम गर्नुपर्ने छैन । मालिकले नै उसलाई मालिक भनिसके । मुख्य कुरो, अब रघुनाथले बिम्लीलाई त्यस्तो दुष्ट आँखाले हेर्न सक्नेछैन ।

तर,... बिम्ली ? हे दिनाभद्री ! बिम्ली कहाँ छे ? उसलाई के भयो होला ? मालिकले भनिसके, गोठ बग्योे । के गोठमा सुतिरहेकी बिम्ली जिउँदै होली ? कि उसलाई पनि बाढीले बगायो ? फुदुनको मुक्ति कति क्षणिक थियो ! मुटु चरक्क चर्किएझैं भएर देब्रे हातले उसले आफ्नो छाती थिच्यो ।

“मालिक, बिम्ली कहाँ छे...? के उसलाई पनि बाढीले...?” भित्रैबाट, मुटु चिरिएर निस्केको स्वरमा फुदुन चिच्यायो । तर, वाक्य पूरा गर्न सकेन ।

बोली हरण भएझैं मालिकले ट्वाल्ल परेर उसलाई हेरिरह्यो ।


(‘बाह्रखरी कथा प्रतियोगिता’को शीर्ष २५ मा पर्न सफल कथा । २५ लेखकका उत्कृष्ट कथाको संग्रह शुक्रबार सार्वजनिक गरिएको छ ।)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ७, २०७६  ०६:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC