— अक्षर काका
बाल्यकालमा हाम्रा थुप्रै शत्रु थिए । त्यसमध्ये एउटा थियो सर्प ।
हाम्रो गाउँका सर्पहरू एकदमै डरपोक थिए । अझ हाम्रो समूह देख्नेबित्तिकै तिनीहरूको सात्तोपुत्लो उड्थ्यो । सर्प देख्नेबित्तिकै हाम्रा भुत्ला पनि नहल्लने कहाँ हो र ! तर, हाम्रोभन्दा पहिले नै उनीहरूको पुत्ला हल्लिन्थ्यो । र त, तिनीहरू कहिल्यै हाम्रो बाटामा देखा परेनन् । हिउँद र वर्षामासतिर आक्कलझुक्कल देखा पर्थे । तर, दुच्छरहरू पुच्छर लुकाउँदै टाप कस्थे ।
गाउँतिर कहावत् छ– ‘जोगीदेख्दा भैंसी तर्सिने, भैंसी देख्दा जोगी तर्सिने !’
हाम्रो र सर्पबीचको नाता पनि काटीकुटी त्यही थियो– सर्प देख्दा हामी तर्सिने, हामी देख्दा सर्प झस्किने ! तर, एउटा सर्प निकै मापाको निस्कियो !
पुछार वैशाखको कुरा हो, एउटा सर्प हाम्रो बाटाको तगारो बन्यो । ढुंगाले हानेर टाउको कुच्च्याइदिऊँ लागेको थियो । त्योभन्दा पहिल्यै मुटु भट्याकभट्याक गर्यो । हात थर्थरायो । खुट्टा लड्खडायो । त्यही दिन ठानेको हुँ— परेका बेला त शरीरले पनि साथ नदिँदो रहेछ, नाथे साथीहरूको के कुरा भयो र ! तैपनि साथ दिन्छन् कि भनेर पछाडि फर्किएर हेरेको । अघि नै कुलेलम ठोकिसकेछन् ।
“ढुंगो नउज्या के दाइ, अहिले फर्किएर टोक्यो भने ?” डरपोक बहिनी पछाडि मेरो बाँकेट सर्टको फेर तान्दै रहिछे ! बहिनीले रुँदै तानेकाले रिसमा चिसो पानी खन्याउनु बाध्यता बन्यो । नत्र सर्पको के गति बन्थ्यो ! मनमनै कुच्चिएको टाउकाको कल्पना गरेर चित्त थुम्थुम्याएँ । बहादुरी भुइँमै बिसाएर पछि हटें ।
घरमा गएर सर्प लखेटेको बठ्याइँ ओकलौंला भनेको, बहिनी भिलेन बनी । उसले पहिल्यै कुरा लगाउन भ्याइसकिछे, “दाइले आज पनि सर्पलाई ढुंगा हान्यो !”
“हँ ? कहाँ ?” हजुरआमा आत्तिनुभो !
“ऊ पर सीममा..!” बहिनीले औंलाले देखाई ।
“हेर उपद्र्या, नाग होला ! फेरि त्यता गइस् भने नागले ठुंग्छ !” हजुरआमाले बेस्मारी हपार्नुभो ।
भोलिपल्ट—
विचरा सर्प ! मलाई टोक्नुअगावै उसले जिब्रो टोकेछ ।
“हजुरआमा सर्प त मरेछ.... !”
“हँ... ?” हजुरआमा फेरि अत्ताल्लिनुभो । दख्खिन फर्किएर नमस्कार मुद्रामा चुक्चुकाउनुभो ।
हजुरआमाको आँखामा ठूलो बेचैनी थियो । अनुहारमा मप्रतिको क्रोध उत्तिकै दन्किएको थियो । नातिको मायाले बाँधेकाले होला— उहाँले हात उज्याउनुभएन । थाम्नुभयो । सर्प मर्नुमा मेरो दोष थिएन । त्यस दिन ढुंगा उज्ज्याएको मात्रै हुँ । झटारो हानेको थिइनँ । तर, पनि सर्प मर्यो ।
“कसरी मर्यो सर्प ?” बाल्यदिमाग खुल्दुलीले खोतल्यो । कुतूहलताले कोतर्यो । तिनताका लाग्थ्यो– मेरी आमा वैज्ञानिक हुनुहुन्छ । कुशल कालिगढ हुनुहुन्छ । उहाँले सिर्जना गर्न नसक्ने कुरा केही छैन । सबैभन्दा ठूलो सिर्जना त म र बहिनी भइगयौं । हामीलाई थाहा नभएका यावत् कुरा उहाँलाई कण्ठाग्र, मुखाग्र थियो ।
“लाटा ! भ्यागुतो निल्न नसकेर मरेको होला,” सर्प मरेको बारे पनि उहाँले लख काटिहाल्नुभो ।
सर्प मेरो कारणले नमरे पनि मेरो निद्रा जाग्राम राख्ने कारण बन्यो । अलिकति कारण हजुरआमा पनि थपिनुभो । उहाँ औधी नागपूजक । सीम देख्नै नहुने, पोल्टाबाट अक्षता झिकेर मिल्काइहाल्ने । एकपल्ट नाग हाम्रै कटेरामा टाङ फारेर घाम तापिरहेको थियो । त्यसबखत पनि राता–पहेंला अक्षता छर्नुभयो । हाँसको चालमा नाग बाटो लाग्यो । तत्पश्चात् सर्प कहिल्यै देखा परेन । ऊमात्रै होइन, उसका साथी पनि हाम्रो दैलोमा ढिम्किएनन् ।
हजुरआमाको फूSS मन्तरले काम गर्यो कि, अक्षताको गन्धले, त्यो त म के जानुँ ?
“तैंले ढुंगाले हानेर नाग मरेको रहेछ भने सपनामा आएर टोक्छ नि !” हजुरआमाले बेलुका लोरीको सट्टा यही सुनाउनुभो ।
राति सुत्न ओच्छ्यानमा गयो, केको निद्रा आउँथ्यो ! बरु दिमागमा हजुरआमाले भनेको त्यही कुरा आउँथ्यो । मनमा अनेक ऊहापोह मडारिन्थ्यो । आँखामा मृत सर्पको फुलेको पेट छाउँथ्यो । निद्रा गुमनाम हुन्थ्यो ।
म डराउनुको कारण यत्तिमात्रै थिएन । अघि नै भनिहालें नि, सर्प देख्नै नहुने बानी थियो । त्यही बानीलाई थाप्लामा बोकेर हिँडेको मैले थुप्रै पटक सर्पको थाप्लामा ढुंगा बजारेको थिएँ ।
सर्पले बदला लेला भन्ने भयले झन्डै एक महिनाको निद्रा बिथोलियो । एक महिनासम्म सर्प सपना, विपना कतै ढिम्किएन । निद्रा बल्ल लयमा फर्कियो ।
दुई महिनापछि—
वर्षा बर्खाले चुर्लुम्म भिजेको थियो । आकाश रुन्चे बालकझैं थियो । बादलले निहु खोज्नै हुन्थेन, रोइदिइहाल्थ्यो । झरीको जाडाले हुनुपर्छ, डाँडापाखा कुहिरो ओडेर बिहान अबेरसम्म सुतिबसेका थिए ।
“जेठा हिँड् पाखामा जाऊँ, म एकभारी घाँस ल्याउँछु, एकमुठो तँ पनि ल्याउलास् !” आमाले भन्नुभो ।
“आफैं एकमुठीको छु, एकमुठो घाँस कसरी बोक्नू ?” म अलि दुर्मुखा नै थिएँ, जवाफ फर्काइहालें ।
“के भनिस् रे !” आमाले हात उज्ज्याइसक्नुभएथ्यो । त्योभन्दा अघि नै म पाखातिर कुदिहालें । बाटामा फर्किंदा पनि आमाछोराको निकै गलफती चल्यो । बोक्न सक्दिनँ भन्दै कयौंपटक मैले घाँसको मुठा पाखामै मिल्काएँ । आमा हेर्दै नहेरी घाँसको भारी बोकेर तलतिर झर्नुहुन्थ्यो । मलाई रिसले मर्नु हुन्थ्यो । एकछिनमा फेरि सेलाउँथ्यो । बोकेर तलतिर झर्थें ।
अबेर बिहान आकाश उघ्रियो । एकाएक घामले आगो ओकल्न थाल्यो । पसिनाले निथ्रुक्क भिज्दै सर्प मरेकै ठाउँमा आइपुगें । सर्प थिएन । कंकाल थिए । सड्न बाँकी हड्डीले हिङ गर्दै मलाई खिज्याए । त्यसदिन अचम्मै भो । जिउँदै सर्प देख्दा पनि डर मान्न छाडिसकेको थिएँ । अस्थिपञ्जर देख्दा पनि झसंग भएँ ।
“सर्पका काँडा बिझ्ला, त्यता नजा !” आमाले बाटोबाटै हकार्नुभो ।
छिरल्लिइसकेको घाँसको मुठो च्यापेर उकालो चढ्न लागेको, लामो बाँसको भाटो रहेछ, त्यसैको छेस्कोमा आँखा ठोक्किन पुग्यो ! तोरीको फूल देखें ।
“फेरि त्यहाँ के बिगो गर्न लागिस् ?” म अल्मिलिएको देखेर आमाले सोध्नुभो ।
“मेरो आँखाबाट रगत आयो,” बेहोसीमै बर्बराएँ ।
आमाले घाँसको भारी बिसाउन भ्याउनुभएन । बोकेरै ओह्रालो झर्नुभो । देब्रे आँखाबाट रगतका धारा । दाहिने आँखाबाट आँसुका धारा ।
“आँखा फुटाइछस् !” आमाको स्वर लगलगी काँपेको थियो ।
रगतको भेलले आँखा टालिएकाले मैले केही भेउ पाइनँ । बाँसको छेस्को निकाल्न खोज्दै हुनुहुन्थ्यो, हात काबुमा रहेनन् । आँखामा सिन्को गाडिएकै थियो । घाँसको भारी बिसाउने होश भएन आमालाई । घाँसको भारीसँग काखी च्यापेर घर ल्याउनुभो । अघिसम्म घाँसको मुठा मलाई बोकाउँदै हुनुहुन्थ्यो । अहिले मलाई नै भारीमाथि थप्नुभयो ।
अघिसम्म ठान्दै थिएँ– मेरा बा दुनियाँका पहलमान हुन् ।
तत्कालै बदलियो– बलशाली त आमा पो हुँदिरहिछन् ! जिम्मेवारीको गह्रुँगो भारीमाथि पनि सन्तान बोझ नहुँदो रहेछ ।
घर आएपछि थाहा भयो– धन्न आँखा जोगिएछ ! खाप सियोजत्रो बाँसको छेस्कोले आँखाको तल्लो कोषमात्रै प्वाल पारेछ । त्यसपछि मात्रै आमा आवाज निकालेर रुनुभयो । दुःखमा सान्त्वना दिने र खुशीमा रुने भएकैले आमा भनिएको होला– मेरो बालख दिमागले यत्ति ठम्याउन सक्यो ।
दुई–चार दिन बिठ्याइँले विश्राम पायो । उपद्रोले आराम पायो । चकचक थान्को लाग्यो । शत्रु थला बसेकामा सर्पहरूले पनि खुशी मनाए होलान्, शायद । घाउ खाटा बस्दै थियो । एकदिन हजुरआमाले सम्झाउनुभो, “भनिथें नि, सर्पलाई ढुंगालाई नहान् भनेर ! कसो कानो भइनस् !”
के बोल्नू, ठमठमी भएँ !
० ० ०
मौसमले काँचुली फेर्यो । पर्यावरणमा शरदका बान्की देखापर्न थाले । हवामा दशैं हरहराउन थाल्यो । असारबाट हेर्दा कति ठाढा देखिन्थ्यो दशैं । हुँदाहुँदै छेउमै आयो । छेउमा पनि के भन्नु, संघारमै पाइला राख्यो ।
वर्षदिनमा एकफेर पाहुना लाग्न आएको दशैं धेरै दिन कहाँ अडिन्थ्यो र ! आँखा झिम्क्याउन नपाई टीकाको दिन भइहाल्यो । दशैंमा सप्पै दिन आऊन्, टीकाको दिन नआओस् लाग्छ । कारण– दश कोश टाढा मामाघर जानुपर्छ । टीका लगाएर खल्ती भरिने पनि होइन, हिँड्नकै सास्ती ।
मन ताडित् बनाउँदै मामाघर पुगें । भोलिपल्ट एकभारी मन बोकेर फकिएँ । घर पुग्न दश गजजति बाँकी हुँदो हो । घरभरि मान्छे थुप्रिएको देखें । टीका लगाउन आउनेको भीड त यत्रो नहुनु पर्ने ! फेरि हाम्रो घर कुनै मन्त्री, सांसद् र दलका नेताको पनि होइन ।
ए बाबा ! के भयो होला ?
आँगनमा पुग्न भ्याएकै थिइनँ, पिँढीमा हजुरआमा बडेमानको खुट्टा तेस्र्याएर बस्नुभएको देखें । उहाँको खुट्टा खुट्टा रहेको थिएन, सुन्निएर मूलथाम बनेको थियो ।
“के भयो आमा ?” मेरो स्वरमा आँसु मिसियो ।
“नछो मोरा, बिख सर्ला !” उहाँको स्वर पनि धोद्रे भयो ।
“यत्रो उमेर उहाँकै काखमा बिताएँ, कहिल्यै बिख सरेको थाहा छैन । हिजोमात्रै मामाघर जाँदैछु, आजै खुट्टा बिष सर्ने कसरी भयो ?,” म रनाहामा परें ।
“हिजो राति मलाई सर्पले टोक्यो,” उहाँले रहस्यको पर्दा उघार्दै भन्नुभो, “गोठमा बस्तुलाई घाँस हाल्न ग’की थें, पिँढी पनि उक्लन पाइनँ, बलेसीमै टोक्यो, असत्तीले !”
हजुरआमाले अक्षता नछर्किनुभएको सीम छैन । पुज्न, पुकार्न बाँकी सर्पको कुनै प्रजाति छैन । तर, हजुरआमामाथि नै यत्रो ज्यादती ?
“ढुंगा मैले हानेथें तर बदला हजुरआमासँग लिएर तैंले आफ्नो असली परिचय दिइस्,” सर्पलाई खुब सरापें ।
सर्पलाई जति गुन लगाए पनि बिख नै ओकल्दो रहेछ । अन्तिममा मेरो बाल्यचेतले निष्कर्ष निकाल्यो ।
सर्पले दाँत गाडेको पाँच वर्षपछि हजुरआमालाई बाघले दाह्रा गाड्यो । लगत्तै पक्षघातले थला बसाल्यो । अहिले यो स्मृति लेखिरहँदा हजुरआमा हुनुहुन्न । मृत्युले नंग्रा गाडेकै दश गृष्म बितिसक्यो ।
त्यसयता जहिले–जहिले आँखामुनिको खतमा आँखा पर्छ, आफ्नो उपद्र्याइँ पुरानो चलचित्रको रिलजस्तै धुमिल बनेर आँखामा आउँछ ।
हामी सबैसँग यस्ता भूत छन्, जसलाई हामीले वर्तमानले छोपेर राखेका छौं ।