site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
विमान अपहरणको त्याे समाचार
Sarbottam CementSarbottam Cement

— नरेश फुयाँल


पञ्चायतकाल ! दरबारको हैकम चल्ने समय । पञ्चहरूको बोली नै कानुन हुने कालखण्ड । दरबार र राष्ट्रिय पञ्चायतको विरोध त के, व्यंग्य पनि गर्न नसकिने समय । विरोध गरे जेलको बास हुन्थ्यो । त्यसैले कमैले गर्थे पञ्चायतको विरोध । दह्रो मुटु हुनेले मात्रै गर्थे दरबारको आलोचना । देशमा दरबारको हैकम चलेको बेला पत्रकारितामा त्यसको कर्के नजर पर्ने नै भयो । पत्रकारिता स्वतन्त्र हुने सम्भावनै थिएन । तर, पनि केही त्यस्ता पत्रकार र पत्रिका पनि थिए, जो बहुदलको वकालत गर्थे । दलविहीन पञ्चायतको विरोधमा लेख्थे । भलै यी पत्रिका दरबारको गिद्धेनजर परेपछि बन्द हुन्थे । पत्रकारिताको भोक नमेटिएका, बहुदलीय व्यवस्थाको पुनप्र्राप्तिको सपना देखेका र त्यसका लागि कलम नै सशक्त माध्यम हो भन्ने पत्रकार, सम्पादक तथा प्रकाशकहरू एउटा पत्रिका बन्द भए अर्को नाममा निकाल्न थाल्थे । दरबार पञ्चायतको सोझै विरोध गर्नु परे छद्मनाममा लेख–रचना लेख्थे । त्यसैले पत्रकारितालाई पेशा बनाउन सक्ने होइन, सोच्ने पनि अवस्था थिएन । त्यसैले पत्रकार बन्छु भनेर त्यसकै बाटो समाउने व्यक्ति निकै कम हुन्थे । त्यही कोटीमा थिए तीर्थ भण्डारी पनि ।

०१८ सालको एसएलसी । दरबार हाइस्कुल पढेकाले नेपाली र अंग्रेजी दुबै राम्रै थियो । जमलको रैथाने भण्डारी परिवारको छोरो । हातमुख जोर्नकै लागि काम खोज्नुपर्ने बाध्यता त थिएन तर पनि काम गर्नुपर्छ भन्ने लाग्थ्यो । केही सिक्नुपर्छ भन्ने जिम्मेवारीबोध हुन थालेको थियो । गणेशवल्लभ प्रधान दाइका साथी थिए । गणेशले गोविन्द वियोगीको ‘मातृभूमि’ साप्ताहिकमा काम गर्थे । तीर्थले गणेशसँग भने, “तपाईंको पत्रिकामा मैले काम गर्न पाउँदिनँ ?”

Prabhu Bank
Agni Group
NIC Asia

०२० को कुरा । प्रुफरिडर चाहिएको रहेछ । गणेशले गोविन्द वियोगीसँग भेटाइदिए । प्रुफरिडरको रूपमा काम शुरु गरे तीर्थले ‘मातृभूमि’मा । प्रुफ हेर्दाहेर्दै पत्रकारिताको रस बस्यो । सामान्य रिपोर्टिङमा जाने र समाचार लेख्ने पनि गर्न थाले । पत्रकारिताको बाह्रखरी तीर्थले त्यहीँ सिके ।

०२२ पुस १ बाट ‘गोरखापत्र’ संस्थानले ‘द राइजिङ नेपाल’ प्रकाशन शुरु गर्‍यो । ‘द राइजिङ नेपाल’का लागि जनशक्ति आवश्यकता थियो । तलब २५० रुपैयाँ थियो ।

Global Ime bank

उलाई जागिर चाहिएको थियो । त्यो बेला २२५ रुपैयाँमा एक तोला सुन आउँथ्यो । २५० रुपैयाँ भनेको ठूलै रकम थियो । त्यसैले प्रुफरिडरको रूपमा काम थाले । तीर्थको अंग्रेजी राम्रै थियो । ‘मातृभूमि’मा पत्रकारिताबारे केही सिकेकै थिए । ०२२ मा तीर्थ ‘द राइजिङ नेपाल’ प्रवेश गरे ।

ड्युटी रातिको थियो । मुख्य पृष्ठ र अन्तिम पृष्ठ उनको भागमा थियो । रातिको समयमा कुनै महत्वपूर्ण घटना भए त्यो पनि कभर गर्नुपथ्र्यो । पञ्चायतकाल थियो । दरबारमा अति सामान्यदेखि, राष्ट्रिय पञ्चायत र सरकारका महत्वपूर्ण निर्णय जसरी पनि त्यही दिन छाप्नैपर्ने आदेश हुन्थ्यो । त्यसैले कुनै महत्वपूर्ण घटना नभए पनि रातभर जागै बस्नुपथ्र्यो । टेलिप्रिन्टरबाट विदेशका समाचार आइरहन्थे । कतै कहीँ महत्वपूर्ण घटना पो घट्यो कि, टेलिप्रिन्टरको टिकर हेरिरहनुपथ्र्यो ।

रात्रिकालीन ड्युटीको असर उनको स्वास्थ्य र अध्ययनमा देखिन थालेको थियो । उनले सम्पादकसँग रात्रिकालीन ड्युटीमात्रै नराखिदिन आग्रह गरे । शायद उनले पत्रिकामा राम्रो काम गरेका थिए । प्रथम पृष्ठ र अन्तिम पृष्ठको जिम्मेवारी थमाइरहे । रात्रिकालीन ड्युटीबाट दिउँसो सारिदिएनन् ।

“प्रोफेसरहरू कक्षामा पढाइरहने । रातभर काम गरेर कलेज गएको म झुपुझुपु निदाइरहने भएपछि मैले मेरो जागिर पढाइका लागि बाधक बनेको देखें र राजीनामा दिएँ । त्यो बेला म अर्थशास्त्रमा एमए पढिरहेको थिएँ,” तीर्थले ‘द राइजिङ नेपाल’ छोड्दाको कथा सुनाए । 

रेडियो नेपालको पहिलो दिन

जागिर छाडे र पढ्न थाले । तर, कमाउने बानी परिसकेको थियो । आफ्नै कमाइ, आफ्नै खर्चको मजा बेग्लै थियो । त्यसमा पनि चढ्दो उमेरसँगै थपिँदो जिम्मेवारीले अर्को जागिरको माग गरिरहेको थियो ।

न्युरोडस्थित भूगोलपार्कको पूर्वपट्टि इन्दिरा रेस्टुराँ थियो । साँझमा साथीहरू जमघट भएर चियागफका लागि त्यो रेस्टुराँमा भेला हुनु युवा पुस्ताका लागि फेसनजस्तै थियो ।

सके हरेक साँझ, नसके केही दिनको अन्तरालमा तीर्थ पनि आफ्ना साथीहरूसहित पुग्थे । त्यही क्रममा एकदिन इन्दिरा रेस्टुँरा पुगेका तीर्थलाई किरण खरेलले भने, “ए तीर्थ भाइ ! यता आऊ त ।”

रेडियो नेपालका चल्तापुर्जा किरणको स्वर असाध्यै मन पथ्र्यो तीर्थलाई ।

०११–१२ सालतिर नै तीर्थ रेडियो नेपालको बाल कार्यक्रममा गीत, कथा, कविता लिएर सुनाउन जान्थे । ईश्वरीराज श्रेष्ठ बाल कार्यक्रम चलाउँथे । त्यही कार्यक्रम पछि यादव खरेल र किरण खरेलले पनि चलाए । त्यो बेला पनि तीर्थ सहभागी हुन्थे । बाल कार्यक्रममा सहभागिता जनाउन उमेरले डाँडो काटेपछि उनले ‘छात्र’ कार्यक्रममा भाग लिन थालेका थिए । यी कार्यक्रममा जाँदाजाँदै किरण र खरेलसँग उनको राम्रो सम्बन्ध बनिसकेको थियो ।

किरणले तीर्थलाई बोलाएर भने, “रेडियो नेपालमा समाचार वाचक मागेको छ नि ! थाहा पायौ ?”

तीर्थले भने, “थाहा छैन त ।”

किरणले सोधे, “रेडियो सुन्दैनौ ?”

तीर्थले भने, “रेडियो त छ तर निकै भयो बिग्रिएको, बनाएकै छैन ।”

“रेडियोले तीन–तीन जना अंग्रेजी र नेपाली समाचार वाचक चाहियो भनेर फुकेको फुक्यै छ । काम गर्ने हो भने निवेदन देऊ,” किरणले सुनाए ।

किरणले भनेकै भोलिपल्ट निवेदन, शैक्षिक प्रमाणपत्रको फोटोकपी अनि ‘मातृभूमि’ र ‘द राइजिङ नेपाल’मा काम गरेको अनुभवको सर्टिफिकेट बोकेर रेडियो पुगे । नेपाली समाचार वाचकमा दर्खास्त दिए ।

केही दिनमा स्वर परीक्षा भयो । ३० जनामा उनी दोस्रो भए । लिखित परीक्षा पनि भयो । दोस्रो नै भए । अन्तर्वार्ता भयो । त्यसमा पनि पास भए । दोस्रो स्थानमा नाम निस्कियो उनको । तीर्थसँगै नारायणभक्त श्रेष्ठ, माधव सिक्देल नेपाली समाचार वाचनका लागि छनोट भए । अंग्रेजीमा विन्दुध्वज अधिकारी, मणि राणा र बिना राणा उत्तीर्ण भए ।

०२५ असोजको एक अपरान्ह तीर्थको घरमा फोन बज्यो । फोन रेडियो नेपालबाट आएको थियो । बोलेका थिए सम्पादक प्रचण्डमानसिंह प्रधान । उनले भने, “तपाईं छनोट हुनुभयो । तपार्ईं कहाँ हुनुहुन्छ ? मलाई भेट्न आउनुस् ।”

दिलचस्पी बसेको पत्रकारितामा पुनः प्रवेश, त्यसमा पनि बाल्यकाल र किशोरावस्थामा सिर्जनाका अक्षर च्यापेर दर्जनौं पटक गएको रेडियो नेपाल । त्यही रेडियो नेपालमा मिलेको समाचार वाचकको जागिर । रेडियो ग्ल्यामरको युगमा रेडियोको जागिर । के चाहियो खुशी हुन ? त्योभन्दा ठूलो सफलता अरू पनि केही हुन सक्छ ? तीर्थलाई विश्व जितेझैं भयो ।

छिनभरमै रेडियो नेपाल पुगे र प्रचण्डमानलाई भेटे । प्रचण्डमानले भने, “भोलि १ बजे आउनुस् । तपाईंको नियुक्तिपत्र तयार हुन्छ । नियुक्तिपत्र पनि बुझ्नुस् र भोलिबाटै काम थाल्नुस् ।”

भोलिको प्रतीक्षामा छटपटीमै बित्यो रात । रात त बित्यो तर कति लामो त्यो दिनको बिहानी ?

दिउँसो १ नबज्दै तीर्थ रेडियो नेपाल पुगे । दोस्रो तला उक्लिए । हेर्छन्, रित्तो छ समाचार कक्ष । बसे प्रचण्डमानको पर्खाइमा । १ बज्यो । प्रचण्डमान आएनन् । साढे १ भयो । कोही आएन । २ बज्यो, प्रचण्डमान मात्रै होइन, अरू पनि कोही आएनन् । किन कोही आउँदैन ? उनी विलखबन्दमा परे । सवा २ भयो र पनि कसैको आगमन भएन । उनलाई थाहा थियो— साढे २ बजे दिउँसोको मुख्य समाचार बुलेटिन हो । कसले पढ्छ ?

उनी कुर्सीबाट उठेर टेबलमा गए, समाचार हेरे । समाचार थिएन । टेबलको घर्रा ताने । क्लिपबोेर्डमा च्याँपेर बिहान ७ बजे पढेको समाचार लेखेका कागजका पाना थिए । उनले सोचे— नाम त मेरो निस्किसकेको छ । नियुक्तिपत्र बुझ्नमात्रै बाँकी हो । त्यो पनि आज बुझ्न बोलाइएको छ । समाचार हेर्दै गर्छु । साढे २ बजेसम्म कोही आए उनीहरूले पढ्छन् । आएनन् भने मै भए पनि पढ्दिन्छु । समाचार नै रोक्नु त हुँदैन होला ।

साढे २ बज्यो । समाचारको सिग्नेचर ट्युन बजेको माथिल्लो तला (समाचार कक्ष)मै सुनियो । तर, न प्रचण्डमान नै आए न अन्य समाचार वाचक नै देखिए । समाचार लेखेका कागज बोकेर उनी स्टुडियो रहेको तल्लो तलामा ओर्लिए । प्राविधिकलाई सोधे, “यही स्टुडियोबाट हो समाचार पढ्ने ?”

प्राविधिकले भने, “हो ।”

उनी स्टुडियो छिरे र शुरु गरे, “यो रेडियो नेपाल हो, अब तीर्थ भण्डारीबाट दिउँसो साढे २ बजेको समाचार सुन्नुहोस् ...।”

समाचार पढिसकेर समाचार कक्षमा फर्किंदा पनि कोही आएको थिएन । ३ बजे रेडियो नेपालको दिउँसोको प्रसारण समाप्त हुन्थ्यो । ३ बज्यो । स्टुडियो बन्द भयो तर कोही आएन ।

किन कोही आएन ? जिज्ञासाले भरिएको मन बोकेर उनी घर फर्किए । सिंहदरबारको मुख्य गेटमा पुगेका थिए । त्यहीँ तीर्थले प्रचण्डमासिंहलाई मोटरसाइकलमा फर्किंदै गरेको देखे । उनले मोटरसाइकल रोके । तीर्थले नमस्कार गरे । प्रचण्डमान आफैंले भने, “मैले सुनें । ठीक छ ।”

प्रचण्डमानले मोटरसाइकलमा राखेर तीर्थलाई रेडियो नेपाल लगे । उनी नियुक्तिपत्र बुझेर घर फर्किए । त्यो दिन किन समाचार पढ्न कोही आएन ? अहिलेसम्म पनि तीर्थलाई थाहा छैन । भन्छन्, “लापरवाहीले आएनन् अथवा जानीबुझी मलाई अनायासै दिएको जिम्मेवारी थियो । त्यो मलाई आजसम्म पनि थाहा छैन ।”

दरबारको लगाम

रेडियो नेपाल एकमात्रै प्रसारण संस्था । रेडियो नै सूचना र जानकारीको भरपर्दो स्रोत । त्यसैले दरबारदेखि राष्ट्रिय पञ्चायत, प्रधानमन्त्रीदेखि मन्त्री, सांसद, अञ्चलाधीशसम्मले रेडियोबाट आफ्नो प्रचार खोज्थे । समाचारको समय जम्मा १० मिनेटको थियो । बढीमा तन्काएर १५ मिनेटसम्म लैजान पाइन्थ्यो । तर, प्रचारका भोका शासक, नेता तथा पञ्चहरू आफ्नो भाषण पनि दिनै पर्ने उर्दी जारी गर्थे । १० मिनेटको बुलेटिनमा एउटै कार्यक्रमको समाचार पढ्दा सात–आठ मिनेटसम्म जाने गरेको तीर्थलाई सम्झना छ ।

समाचार गृहमा सम्पादक हुन्छन् । कुन समाचार कति दिने र कस्तो बनाएर दिने, निर्धारण गर्ने उनीहरूकै जिम्मेवारीमा हुन्छ । त्यस्ता व्यक्ति भाषामा पनि निपूर्ण हुन्छन् । तर, पञ्चायतमा सरकारी सञ्चार माध्यमका सम्पादक निरीह हुन्थे । दरबार र राष्ट्रिय पञ्चायतको समाचार कति दिने र कस्तो बनाएर दिने, दरबार र राष्ट्रिय पञ्चायतले नै निर्धारण गर्थे ।

“शब्द चयनसमेत दरबारले गथ्र्यो । उतै समाचार लेखिएर आउँथ्यो,” तीर्थ समाचार कक्षमा दरबारको त्रास सुनाउँछन्, “कहिलेकाहीँ कुनै शब्द अंग्रेजी, हिन्दी भयो अथवा लेखिएको शब्दको विकल्पमा त्योभन्दा राम्रो अर्को नेपाली शब्द प्रयोग भयो भने त्यतिखेरै दरबारबाट फोन आउँथ्यो ‘त्यो फलानो शब्द किन परिवर्तन गरेको ? कसले दियो अधिकार ?’ भन्दै । समाचार निर्देशक, वरिष्ठ सम्पादक, सम्पादक, उपसम्पादक थियौं तर हामी परावलम्बी नै थियौं, पञ्चायतका कारण ।”

तीर्थले थुप्रै अन्तर्वार्ता गरे । राजनीतिज्ञमा सांसददेखि प्रधानमन्त्रीसम्मको । पञ्चायतमा कीर्तिनिधि विष्टदेखि बहुदलीय व्यवस्था पुनर्बहालीपछि तत्कालीन अन्तरिम मन्त्रीमण्डलका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीसम्मको ।

पञ्चायतमा राजालाई अन्तर्वार्ता दिनुपरे दरबारको सचिवालयले प्रश्न ठीक्क पारेर थमाइदिन्थ्यो । राष्ट्रिय पञ्चायतका अध्यक्षलाई बोल्न मन लागे त्यस्तै बनिबनाउ प्रश्न पत्रकारको हातमा आइपुग्थे । त्यसबाहिर गए कि स्पष्टीकरण कि जागिरै चट् ।

प्रजातन्त्रमा त्यो अवस्था रहेन । पत्रकारले केही स्वतन्त्रता महसुस गर्न थाले । बनिबनाउ प्रश्न अन्तर्वार्ता दिने व्यक्तिबाटै आउने परम्परा कम हुँदै गयो ।

“टेप रेकर्डर लिएर आउनू भनेर खबर हुन्थ्यो । हामी जान्थ्यौं । कीर्तिनिधि विष्टको पालामा त्यस्तै भयो । म टेप रेकर्डर बोकर गएँ । उहाँले खरर आफ्नो कुरा राख्नुभयो । मैले मनमा लोगेका एक–दुई जिज्ञासा राखें,” तीर्थ भन्छन्, “त्यो समय त्यस्तै चलन थियो । तर, कीर्तिनिधि विष्ट राजावादी भए पनि राष्ट्रभक्त नेता थिए भन्ने मलाई लाग्छ ।” 

विमान अपहरणको समाचार

०३० जेठ ८ गते साँझ । बेलुकी ७ बजेको समाचार बुलेटिनको तयारी भइरहेको थियो । दरबारबाट फोन आयो । फोन थियो विमान अपहरणको खबरबारे ।

तत्कालीन शाही नेपाल वायुसेवा निगमको नाइन–एन–एबीबी विमान प्रतिबन्धित नेपाली कांग्रेसले सशस्त्र संघर्षका क्रममा विराटनगरबाट अपहरण गर्‍यो । जेठ ८ गते विराटनगरबाट राष्ट्र बैंकको ३० लाख भारतीय रूपैयाँ लिएर १४ यात्रुसहित काठमाडौंका लागि उडेको ट्विनअटर विमान अपरहणमा पर्‍यो । अपहरणकारीले विमान भारतको फारवेसगन्जमा फोर्स ल्यान्ड गर्न लगाएका थिए ।

दुई पेज समाचार टिप्दा समाचारको सिग्नेचर ट्युन बजिसकेको थियो । त्यसैले तीर्थ समाचार पढ्न स्टुडियो पसे । त्यो समाचार पढिसकेपछि उनले भने, “यससम्बन्धी थप विवरण प्राप्त भएपछि प्रसारण गर्दै जानेछौं ।”

एकैछिनमा अर्को दुई पेज समाचार आयो । विमान अपहरणसम्बन्धी थप समाचार भनेर उनले पछि आएको अर्को दुई पेज समाचार पनि पढे । फेरि आयो । पढे । फेरि पनि आयो । पढे । चार पटकसम्म समाचार आयो, एउटै बुलेटिनमा उनले पढ्दै गए । आधा घण्टासम्म पढे तीर्थले विमान अपहरणको समाचार ।

जागिर नै खोसियो

तीर्थ पत्रकार थिए । पत्रकार स्वतन्त्र हुनुपर्छ भनिन्छ । तर, पञ्चायतमा पत्रकारिता दुई धारमा स्पष्टै बाँडिएको थियो । पञ्चायतको पक्ष र विपक्षमा । सरकारी सञ्चारमाध्यम मुखपत्रजस्तै थिए त्यसैले तिनमा बसेर स्वतन्त्र पत्रकारिता गर्छु भन्नु सम्भव थिएन ।

तर, सरकारी सञ्चार माध्यममा काम गर्ने व्यक्ति सबै पञ्च हुन्छन् भन्ने पनि थिएन । जस्तैः तीर्थ । उनको पनि आफ्नै विचारधारा थियो । सरकारमातहतको रेडियो नेपालमा काम गरे पनि उनी पञ्चायतको पक्षपोषक थिएनन् । उनी दलविहीन व्यवस्थाका विरोधी थिए । बहुदलीय व्यवस्थाको वकालत गर्थे । “पत्रकारसँगै म निजी जिन्दगी पनि बाँचिरहेको थिएँ । सकेसम्म मेरो विचार मेरो पत्रकारितामा नदेखियोस् भन्ने त चाहन्थें तर स्वाभाविक रूपमा कहिलेकाहीँ देखिन्थ्यो पनि होला,” तीर्थ भन्छन् ।

उनका साथीहरू पञ्चायतविरोधी आन्दोलनमा थिए । विद्यार्थी आन्दोलनमाा उनका सहपाठीहरू सक्रिय थिए । विद्यार्थी हुँदा स्वयं तीर्थ पनि पञ्चायतविरोधी आन्दोलनमा थिए । त्यसैले उनको कामना थियो— निर्दलीय पञ्चायतले हार्नुपर्छ । राजनीतिमा पनि प्रतिस्पर्धा हुनुपर्छ ।

‘प्रवक्ता’ साप्ताहिक उनी आफैंले प्रकाशन गरेका थिए । ‘जनजीवन’ दैनिक, ‘समाचारपत्र’, ‘जागृति’ र ‘एभरेस्ट’ साप्ताहिकमा पनि काम गर्थे ।

पञ्चायतको विरोधमा विद्यार्थी आन्दोलित हुन थालेका थिए । शंकरदेव क्याम्पसका विद्यार्थी आएर तीर्थलाई भने, “भाषामा तपाईंको राम्रो छ । तपाईंले हामीले लेखेको पर्चाको सम्पादन गरिदिनु पर्‍यो ।”

चिनेजानेकै विद्यार्थीले भनेपछि उनले नकार्न सकेनन् । सम्पादित पर्चा विद्यार्थीले छापेर बाँडे । शंकरदेवबाट शुरु भएको आन्दोलन विस्तारित हुँदै गयो । त्यही पर्चा फैलिँदै गयो । विद्यार्थी नेता तथा कार्यकर्ता पक्राउ परे । केरकार गर्ने क्रममा पक्राउ परेका विद्यार्थीले पर्चा सम्पादन गर्ने व्यक्तिको रूपमा तीर्थको नाम पोल्यो । पुलिसले समातेर हनुमानढोका पुर्‍यायो ।

हनुमानढोकामा डीएसपी अच्युतकृष्ण खरेल थिए । अच्युतकृष्ण तीर्थका साथी । आँखा जुध्नेबित्तिकै केही नभनी अच्युतकृष्ण फरक्क फर्किए ।

उनीसँगै पक्राउ परेकाहरू कोही केन्द्रीय कारागार गिए त कोही नख्खु जेलमा थुनिए । तीर्थका दाइ सीताराम पनि पत्रकार नै थिए । पञ्चायतका नेता तथा अञ्चलाधीशसँग उनको राम्रो चिनजान थियो । उनैले ‘अरूको बहकाउमा लागेर केही लेख्यो होला तर यसको नियत नै भने खराब छैन’ भनेर तीर्थलाई पक्राउ परेको १५ दिनमा छुटाइदिए ।

“तर, विडम्बना ! रेडियो नेपालले राजीतिक संलग्नताको आरोपमा मेरो जागिर खोस्यो,” ०३२ सालको कुरा सुनाए तीर्थले । उनी कारबाहीमा परेपछि उनको ठाउँमा दुर्गानाथ शर्माले प्रवेश पाए ।

रेडियोमा पुनः प्रवेश

रेडियो नेपालले जागिर खोस्यो तर तीर्थलाई आफूले अपराध गरेजस्तो कहिल्यै लागेन । विचारबिनाको व्यक्ति पनि हुन्छ र ? उनलाई यो प्रश्नले सधैं लखेटिरह्यो । काम नगरेको होइन, अनुशासनहीन पनि होइन । निजी कारण देखाएर निकाल्न पाइन्छ ? आफ्नो चरित्रमाथि कलंक लागेको अनुभूत गरे तीर्थले ।

०४६ सालमा जनआन्दोलन भयो । निर्दलीय पञ्चायत ढल्यो । बहुदलीय व्यवस्था शुरु भयो । सोचे— अब त विचारकै आधारमा प्रतिबन्ध लाग्दैन कि ? मेरो चरित्रमा लगाइएको कलंक पनि त मेटाउनु छ ।

मनमा असन्तुष्टि थियो । त्यसैले बहुदल आएपछि तीर्थ पुगे कांग्रेस पार्टी कार्यालय । आफू रेडियो नेपालबाट निष्कासन हुनुको कारण सुनाए । कांग्रेसले भन्यो सञ्चारमन्त्रीलाई । सञ्चारमन्त्रीले रेडियो नेपाललाई भने । तीर्थ पुनः रेडियो नेपाल प्रवेश गरे । जैनेन्द्र जीवन रेडियो नेपालका कार्यकारी निर्देशक थिए । करारमा नियुक्ति दिए । फेरि थाले तीर्थ समाचार पढ्न ।

हिन्दीमा समाचार वाचन

रेडियो नेपाल पुनः प्रवेश गरेको तीन–चार महिना भएको थियो । मन्त्रिपरिषद्ले निर्णय गर्‍यो, पञ्चायतमा बन्द भएको हिन्दी र नेवारी भाषामा समाचार प्रसारण पुनः शुरु गर्ने । निर्देशन रेडियो नेपालमा आयो ।

विज्ञापन गरेर जनशक्ति ल्याउन समय लाग्थ्यो । रेडियोभित्रै कार्यरतबाटै तत्कालका लागि प्रसारण थाल्ने, पछि बाहिरबाट नियुक्त गर्ने निर्णय रेडियोले गर्‍यो । तीर्थ काठमाडौंका रैथाने । उनलाई नेवारी बोल्न, लेख्न आउँथ्यो । उनैलाई रेडियोले भन्यो, “तपार्ईं नै नेवारी समाचार पढ्दिनुस् ।”

बोल्न र लेख्न आए पनि त्यसको सतही ज्ञानमात्रै थियो । तीर्थले आँट गरेनन् । उनले शुरुमा नेवारी भाषामा समाचार पढ्ने हरि श्रेष्ठलाई रिफर गरे । रेडियोले उनैलाई लियो । नेवारी भाषाकै साहित्यकार ध्रुव मधिकर्मीलाई पनि बोलाइयो । नेवारी भाषामा समाचार प्रसारण शुरु भयो ।

बाँकी रह्यो हिन्दी । हिन्दी आउँथ्यो तीर्थलाई । उनैलाई अफर आयो हिन्दीमा पनि । जेमा अफर आयो, सबैमा गर्दिनँ त कसरी भन्नू ? उनलाई अप्ठ्यारो लाग्यो । भन्दिए, “ठीक छ । भ्वाइस् टेस्ट लिनुस् । राम्रो भयो भने गर्छु ।”

भ्वाइस टेस्टका लागि हिन्दीमा समाचार पढे उनले । राम्रै भयो । तीर्थले हिन्दी भाषामा समाचार पढ्न थाले ।

हिन्दीमा आफू पोख्त छु भन्ने अहंकार तीर्थमा थिएन । त्यसैले हिन्दीका भाषाविज्ञ राख्न कार्यकारी निर्देशक जैनेन्द्र जीवनलाई अनुरोध गरे । जैनेन्द्रले सोधे, “को हुन सक्छ ?”

तीर्थले त्रिभुवन विश्वविद्यालय हिन्दी विभागका तत्कालीन प्रमुख कृष्णचन्द्र मिश्रको नाम दिए । मिश्रले समाचार प्रसारणपूर्व तयार पारिएको समाचारको भाषा शुद्ध रहे/नरहेको हेरिदिन थाले ।

काम गरिरहेकै थिए । ०६३ सालमा मोटरसाइकल दुर्घटनामा परे तीर्थ । हात भाँचियो । शल्यक्रिया गर्नुपर्‍यो । लामो समय बेडरेस्ट लिनुपर्‍यो । लिए । त्यसपछि तीर्थ रेडियो नेपाल फर्किएनन् ।

(तस्बिरः सौरभ रानाभाट)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ७, २०७६  ०८:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC