site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
चाउमिन
Sarbottam CementSarbottam Cement

– दुर्गा कार्की 


मध्य असारको त्यो एक रात, साढे ८ बजे खोपीको छेस्किनी खोलेर म बाहिर निस्किँदा केही घण्टाअघि रोकिएको पानीले फेरि सिमसिम छिटा हान्न थालेको थियो ।

खोपीसँगै जोडिएको खोरमा बाख्राले टाउको हल्लाएर कान पट्कायो । अर्कोले मसिनो स्वरमा ‘म्याकुकु...’ गर्‍यो । त्यसपछि खोरभित्रबाट बाँसका फक्लेटाहरूमा खुर बजेका आवाज आए । केही ठाउँ सरे, केही उठे । उनीहरूले म निस्किएको चाल पाए ।

Prabhu Bank
Agni Group
NIC Asia

टिनको छानो र मकैका पातमा पिरपिर गरिरहेको पानीको आवाज क्रमशः बाक्लिँदै थियो । बलेसीको पानीको बाछिटाले बगेको पिँढीको रातोमाटोमा चप्पल चिप्लियो । तै खाँबोमा समात्न भ्याएँ र ज्यान बच्यो । क्याचक्याचे मोबाइल थिचेर मधुरो बत्ती बालें । तुने चप्पलको टाउको फेरि फुत्किएछ । दुलोमा नघुसारीकनै चप्पल हातमा लिएर कर्सापट्टि लागें । हिलो छल्न राखेको ढुंगाको छपनीको छेउमा टेकिछु । छपनीमुनि जमेको हिलो पानी छचल्किएर अनुहारभरि पर्‍यो ।

ओरालो लागेको मृगलाई बाच्छोले पनि खेद्छ भन्थे, हो रहेछ । मलाई हिलोले पनि हिर्कायो ।

Global Ime bank

“आई लभ यू, कमला ।”

म घरबाट निस्कनुअघि उसले भनेको थियो । उसले त्यसो भन्दा मेरा ओठ थर्थराएका थिए । टिनमुनि पालीको थामको एउटा पाटोमा छानाबाट रसाएको पानीको एउटा थोपो झर्नलाई ठिक्क परेको थियो । सँगै उँधो फर्केर मैलाई हेरिरहेको ४० वाटको बत्ती धमिलो भएको थियो । मैले हेर्दाहेर्दै पानीको थोपो थर्थराउँदै झ¥यो । नाक बजाउनुबाहेक मैले केही पनि उत्तर फर्काउन सकिनँ । मेरो आवाज घाँटीको किलकिलेमा अड्किएको थियो । तर, पनि उसले बुझेको थियो, म के भनिरहेकी थिएँ ।

“कतै न कतै माया त रै’छ नि, त्यसैले डोर्‍यायो । नरोऊ, सुत अब ।”

प्रेमले रूझेका उसका वाक्य सुनेर म झन् भक्कानिएकी थिएँ । उसलाई के थाहा, म सुत्न सक्ने अवस्थामा थिइनँ ।

विनीताको घरको कर्साको भित्तामा आड लागेर मैले चप्पलको प्वालमा तुना छिराएँ । मन्द सिरेटो चल्यो । कर्सामाथिको बारीका मकैका पातहरू एक–आपसमा ठोक्किए, सर्सराए । हावाले ती पातमा अनौठो झंकार भरेर गयो । तर, ममा कुनै उत्साह भर्न सकेन ।

के अँध्यारोलाई थाहा छ, ती मकैका पातहरूलाई दुई दिनअघि असिनाले छियाछिया पारेको थियो ? के हावालाई थाहा छ, आफ्ना टुक्राटुक्री भग्नावशेषसँग जोडिने उनीहरूको प्रयासलाई ऊ झन्–झन् पर धपाउँदै छ ?

थपिनी बज्यैको कर्सापछाडि मधुरो बत्ती बल्यो । पिसाब फेर्न निस्किएकी थिइन्, शायद । जति नै च्यापे पनि दैलोअगाडि उनी कहिल्यै पिसाब फेर्दिनन् । त्यहाँ तुलसीको मठ छ । त्यही तुलसीको मठ अघिल्तिर राखेर रामजी दाइले गएको चैतमा उनको दशदान वैतरणी गरिदिएका थिए । वैशाखमा उनी ब्यूँतिइन् । जेठमा उठेर भित्रबाहिर गर्न थालिन् । असारमा रामजी दाइको घरबाट आफ्ना बाख्राका पाठा फिर्ता ल्याइन् ।

“काललाई जिती थपिनीले,” मान्छेहरूले भने ।

केका लागि ? मैले मनमनै सोधें ।

थपिनी बज्यैले फरिया टकटकाएर पेटिकोटमा लागेको पिसाबका छिटा झारिन् । उनी अब लाइट घुमाएर बाटोदेखि धारासम्म हेर्नेछिन् । धाराको टुटीमा पुगेपछि उनको लाइट अडिनेछ र उनी टुटीमा झुन्डिरहेको पाइप हल्लिएको छ कि छैन भनेर याद गर्नेछिन् । पाइप हल्लिएको चाल पाए उनी खिर्रिएर गएर पाइप फुकालेर फ्याँकिदिने गर्थिन् । उनको यो बानी वैतरणी गरिसक्दा पनि गएको थिएन ।

“आखिर केका लागि, बज्यै ?” म सोध्थें । तर, आफैंसित । दुइटा पात साग र एउटा चिचिलो घिरौंलो नमागे पनि उनलाई दिन्थे, छरछिमेकीले । उनीभित्रको कुनचाहिँ तत्त्व त्यस्तो बर्खाको बेला पनि अर्काको पानीको पाइप फुकालेर फ्याँकिदिन कान्लो उक्लन कस्सिन्थ्यो, म कहिल्यै बुझ्दिनथें ।

“तिमी असाध्यै लाटी छौ, कमला ।”

मस्र्याङ्दीको किनारमा सिसौको बोटमुनि शीतल ताप्दै गर्दा उसले भनेको थियो । अलि पर स्कुल हापेर जेठको गर्मी धपाउन आएका केटाकेटी सबभन्दा ठूलो ढुंगामा चढेर पानीमा हाम्फाल्दै थिए । केही अघि मात्र यिनै कुनै ढुंगोबाट हाम्फालेको १४ वर्षे ठिटो फर्केर घर आएको थिएन । उसकी आमा फरियाको फेरो लतार्दै तातो बगरैबगर खाली खुट्टै दगुरेकी थिइन्, “ए मेरो बाबु हो ऽऽऽऽऽऽ... ।”

उनको करूण क्रन्दनले माथि खरबारीमा मैले काटिरहेको सिरूका पात थर्थराएका थिए । केराको सुत्लोमा बगिरहेको मसिनो धारो बांगिएको थियो । के मस्र्याङ्दीलाई उनको चिच्याहटले अलिकति पनि चिमोटेन होला ? के मस्र्याङ्दी अस्थिर पानीमात्र हो ? बग्नु उसको धर्म होला । तर त्यस्तरी, जे भेटे पनि बगाउनु पनि उसको धर्म नै हो ?

“के बग्नु र बगाउनु एकै हो, सर ?” मैले उहाँलाई सोधेकी थिएँ ।

“तिमीसित कति प्रश्न छन्, कमला ?” उहाँले मुसुक्क हाँसेर उत्तर–कम–प्रतिक्रिया दिनुभएको थियो ।

प्रश्न गर्न शायद मैले गर्भबाटै सिकेकी थिएँ, “आमा, तिमी किन सधैं हतारमा कुद्छ्यौ ?”

— आमा, तिमी कति रून्छ्यौ ?
— आमा, तिमी किन यति धेरै बिँडी खान्छ्यौ ?

जन्मेपछि पनि मैले प्रश्न सोध्न छोडिनँ, “आमा, यी कमिलाहरूको घर काँ हो ?”

— आमा, मुनिको आमाले मुनिलाई किन दुत खान दिन्न ?
— आमा, सुवासेको जस्तै मेरो तुरी खै ?
— आमा, हजुरीको दाँत मुसाले लग्या हो ?
— आमा, सुन्तलाको गेडो निल्यो भने साँच्चै पेटमा उम्रिन्छ, हो ? अनि चुइगम निल्यो भने आन्द्रा बटारिन्छ, सत्ते ?
— आमा, यति स्याना जुम्राले मलाई चौतारोमा लगेर कसरी झुन्ड्याउँचन् ?

मेरा प्रश्नहरूमा आमा कहिले मरिमरी हाँस्थिन्, कहिले झर्किन्थिन् त कहिले झारा टारेरै भए पनि उत्तर दिन खोज्थिन् ।

यस्तैमा एकदिन मैले सोधें, “आमा, हाम्रा बा खै ?”

मैले थाहा पाएको शायद त्यो पहिलो प्रश्न थियो, जसमा आमा निःशब्द भएकी थिइन् ।

मैले पटक–पटक त्यही कुरा कोट्याउन थालेपछि एकदिन गहभरि आँसु बनाएर उनले भनिन्, “ऊऽऽ त्याँ ।”

आमाले देखाएको ठाउँमा दैलो थियो । दैलोको सिरानमा धूवाँले मैलो बनाएको ‘ब्ल्याक एन्ड ह्वाइट’ फोटो थियो । बाका जुँगा टम्म थिए । शीरमा गोलो टोपी थियो । टोपीको एक छेउबाट निस्केको डोरी बाको चिउँडोमुनि हुँदै अर्को छेउसम्म पुगेको थियो । उनीसँग छोइन्छ कि जसरी अप्ठ्यारोसँग कुम उचालेर बसेकी आमाको आँखाको तल्लो डिलमा बाक्लो गाजल थियो । उनका आँखाको लाजलाई डिलको गाजलले पनि छेक्न सकेको थिएन ।

दैलोको समठेलोमा टेकेर मैले तन्कीतन्की पहिलोचोटि बाको मुख हेरेकी थिएँ । र, सोधेकी थिएँ, “बा काँ छन्, आमा ?” मेरा आँखा बेस्सरी चम्केका हुँदा हुन्, त्यस बेला ।

बाटिरहेको दाम्लो एकातिर थन्क्याएर बिँडी तान्न शुरू गरिसकेकी आमाले बिरेस्वाँरातिर हेर्दै बाक्लो धूवाँको मुस्लो फालेर भनेकी थिइन्, “टा...ढा... डिल्लीमा... ।”

त्यतिबेला उनले दिएको उत्तर उनले फालेको धूवाँको मुस्लोजस्तै रगमगिएको थियो शायद, दिशाविहीन ।

“सुवासेको बाउ भको ठाममा ?” आमानजिकै टुक्रुक्क बसेर मैले सोधेकी थिएँ ।

आमाले जवाफ दिइनन् । आँखा रसिला बनाएर मुन्टोमात्र हल्लाइन् । दशैंमा सुवासेका बाउ घर आए । बालाई लिन म पनि सुवासेसँगै पानीनिरको चौतारोसम्म पुगेर ढुकिरहें । सुवासेका बा बडेमानका झोला भरियालाई बोकाएर आए । मेरा बा आएनन् ।

“अनि हाम्रा बा खै त बडाबा ?” मैले उनलाई बाटैमा रोकेर सोधें ।

उनले पुलुक्क मेरो मुखमा हेरे र हातको एउटा हलुंगो झोला खोलेर मिठाईको सिंगै प्याकेट दिँदै भने, “ला, बेटालाई यो सिंगै है ।”

मिठाईको सिंगै प्याकेटले आकाशमा पुगेकी म एकैछिनमा फेरि धरातलमा फर्किएर सोधेकी थिएँ, “अनि बा खै त ?”

“बा ? बाको यसपालि छुट्टी मिलेन । उसैले पठाको टफी त हो त्यो, छोरीलाई दिनू भनेर ।”

हावाभन्दा चाँडो बत्तिएर म तगारोदेखि नै आमालाई बोलाउँदै छिरें । उनी धन्सारको लिस्नु लिप्दै थिइन् । 

“आमा, हेर्नू त, बाले पठाका चकलेट । आर्को दशैंमा आउँचन् रे ।”

क्षणभरका लागि आमाका आँखा बले । आमाका आँखा निभेर पनि भिज्न थालिसकेका थिए । उनले त्यसलाई हातको पोतरीसँगै निचोरिन् र भुइँमा दलिन् ।

त्यसपछिका केही दशैंसम्म सुवासेसँगै म पनि बा ढुक्न पानीनिर धाइरहें । बाका नाममा चकलेटका प्याकेट र पछि त एकजोर लुगा पनि आउन थाले । तर, बा आएनन् । एकपटक अति भएपछि मैले सुवासेका बासँग खबर पठाएँ, “जसरी भए पनि अर्को दशैंमा घर आउनू, नत्र कमला कैल्यै पनि बोल्दिन भनेकी छ रे भन्दिनू है, बडाबा ।”

बा आएनन् । शायद उनलाई म बोल्नु र नबोल्नुले खासै फरक पार्दैनथ्यो । सुवासे बालाई लिन पानीनिर जान छोड्यो । किनकि उसलाई थाहा थियो, ऊ नगए पनि बा आउँछन् । म पानीनिर जान छोडें । किनकि मलाई थाहा थियो, म गए पनि बा आउँदैनन् ।

बिस्तारै म दशैंमा सुवासेको घर पनि जान छोडें । अनि एकदिन बडाबा आफैं आए, पिँढीको गुन्द्री तानेर बसे र आमासँग मेरो ताकेता गरे । खोपीको दैलोमा एउटा खुट्टो भित्र एउटा बाहिर गरेर म घोसेमुन्टो लाएर उभिएँ ।

“बडाबालाई भेट्नै आउन छोडिस् त, बेटा ?”

म बोलिनँ ।

“लुगा मन परेन बेटा, तँलाई ?”

म चुपचाप बूढीऔंलाले भुइँको माटो कोतरिरहें ।

“स्कुलमा फस्ट आइस् रे यसपालि तँ, बाउले तँलाई कलमको बट्टै पठाइदेको छ,” चकलेटको प्याकेट, एक जोर कुर्ता अनि नट्राज सिसाकलमको बट्टा मतिर सार्दै उनले भने ।

“चाइँदैन मलाई कसैको कलमसलम ! लगेर उनैलाई दिनू ।” यति भनेर मैले खोपीको ढोका लाएँ । बडाबा, आमा र हजुरी कसैको कुनै आवाज सुनिएन । अलिबेरपछि हजुरी रोइन्, “अभागी करिमलाई... ।”

“अच्छा, मैले ल्याइदेको हो रे तँलाई यो सप्पै, लौ । मैले ल्याइदिन नहुनी, हँ ? म बाउ हैन तेरो ?”

बडाबा अलिक कड्किए । रून्चे स्वरमा आमाले भनिन्, “भो दाइ, केट्केटी नै छे ।”

तर, आमाले भने जस्तो ‘केट्केटी’ म थिइनँ ।

“बडाबा !” आमा र हजुरी काममा लाखापाखा लाग्नेबित्तिकै घर जान निस्केका बडाबालाई कर्सासम्म पछ्याएर मैले सोधें, “बासित तपाईंको भेट त हुन्छ नि ?”

बडाबा टक्क रोकिए । धेरै बेरसम्म भुइँबाट मुन्टो हटाएनन् । त्यसपछि फर्केर केही भन्न खोजेझैं गरे तर आवाज निस्किएन ।

“बडाबा, म १५ वर्ष भइसकें,” मैले नरोई भनें ।

ओठलाई जिब्रोले भिजाएर बडाबाले थपिनी बज्यैको घरतिर हेरेर घुटुक्क थुक निले । अनि भने, “तेरो बाउलाई मैले नभेटेको ठ्याक्कै १४ वर्ष भयो, बेटा ।”

मेरा आँखा एक्कासि भरिएर आए । टिलपिल आँसु खस्नमात्रै बाँकी रह्यो । तिनै आँसुका डल्लाबाहिर मैले बडाबाको तस्बिर देखें, बीचमा बेस्मारी फुकेको, हल्लिइरहेको । उनी केहीबेर त्यसैगरी हल्लिइरहे अनि भुँइमा खसे र कर्साको सुक्खा माटोमा क्षणभरमै बिलाए ।

“जिम्दै त छन् नि ?” मेरो अन्तर्मनको डर काँप्दो आवाजसँगै निस्कियो, कुनै भयानक उत्तरको अपेक्षासहित ।

“अर्कै घरबार गरेर बसेको छ रे, उतैतिर ।”

योचाहिँ बडाबाले तुरून्तै भने, केही नसोचीकनै । र, फर्केर एकचोटि पनि मलाई नहेरीकन सरासर बाटो लागे । शायद उनीसित मलाई हेर्ने हिम्मत थिएन ।

०००

आमाले ‘केट्केटी’ भनेको दुई वर्षपछि हेडसरले मलाई अफिसमा बोलाएर कागजको एउटा चिर्कटो हल्लाउँदै भन्नुभयो, “यस्तो पाका मान्छेले जस्तो कविता लेख्न कल्ले सिकायो ?”

स्कुलको स्वर्ण जयन्तीमा हुन लागेको कविता प्रतियोगिताका लागि मैले लेखेकी थिएँ—  

बा,
तिम्ले पठाइदिएका भनेर
बडाबाले ढाँटेका सिसाकलम तिखारेर
म यो कविता लेख्दै छु,
ठेगाना हुँदो हो त 
डटपेनले चिठी लेख्थें 
र, भन्थें 
कि अझै पनि नौरथा लागेपछि
धन्सारको सुरमा उभिएर हरेक साँझ
हातको पाली हालेर चौतारातिर हेर्छिन् हजुरी,
हरेक साउन,
दुई–चार ओटा हरिया चुरा
अझै पनि नाडीमा टुटाउँदिनन् आमा,
बिँडीको धूवाँले नीला पारेका ओठले 
सपनामा उनले ‘कमलाका बा’ पुकारेको त मैले नै सुनेकी छु
बा,
कति वटा दशैंमा
तिमी आउँछौ भनेर 
आमालाई ठूलो खसी बेच्न नदिई साँचेर राखेकी छु
उसैगरी,
जसरी साँचेकी थिएँ,
दैलोमाथिको फोटोका
तिम्रा जुँगाका ताउसित खेल्ने सपना,
तिम्रो काँधमा चढेर 
तिम्रो कपाल भुतेल्दै ‘हटहट’ गर्ने सपना, 
हजुरीका कुरा सुन्दै
तिम्ले कचौराबाट छानेर दिएको मासुमासु खाने सपना,
तिम्रो काखमा निदाउने सपना,
आमाले गाली गरेका बेला
बढाइचढाई तिम्लाई चुक्ली लाइदिने सपना,
आँखा खुलै राखेर देखेका यी सपनाको लोभमा 
कति चोटि 
आँखा बन्द गरेपछि देखिने सपनामा
बन्दुकको गोलीले तिमी ढलेको देखेर
डिल्लीको रेलले तिम्लाई हानेको देखेर 
आची गर्दा थुःथुः गरेकी छु । 
बा, 
बडाबा भन्छन्, म तेरो बाउ हैन ?
तर, दैलोमाथि नाग टाँसेकै निर 
धूवाँले मैलो बनाएको तिम्रो जवानीको तस्बिर
किन मलाई भन्छ, हैन, हैन, हैन । 
बन्दुकको गोलीले तिमी ढलेका छैनौ भने
डिल्लीको रेलले तिम्लाई हानेको छैन भने
एकैताल घर आऊ बा । 
एउटा फोटो मसित पनि खिचाएर जाऊ । 
त्यसलाई म धूवाँ नलाग्ने ठाउँमा
प्लास्टिकको फ्रेमले बेरेर राख्नेछु । 

उत्तरमा म रोएँ । बोल्न सकेकी भए भन्दी हुँ, “परिबन्दले, सर ।”

“रूने हो त, लाटी ? दुःखले त झन् बलियो बनाउँछ, मान्छेलाई ।” यति भनेर उहाँले मेरो काँधमा हात राखेर थपथपाउनुभयो र सुँक्कसुँक्क आवाज छोप्न नाकमुनि राखेको मेरो हात तल झारिदिएर भन्नुभयो, “केही गाह्रोसाँघुरो परे सीधै मलाई आएर भन्नू है ।”

मलाई सोध्न मन थियो, “अनि प्रेमले कस्तो बनाउँछ नि, सर ?”

०००

“किन न्याउरी थिइस् कक्षामा आज ?”

“हिजो किन आइनस्, स्कुल ?”

“जाँच किन बिगारिस् ?”

म हेडसरको अफिसमा बारम्बार बोलाइन थालेकी थिएँ । उहाँ शुरूमा उँचो स्वरमा यी कुराहरू सोध्नुहुन्थ्यो अनि मैले साविकको उत्तर दिएपछि मसिनो स्वरमा भन्नुहुन्थ्यो, “केही समस्या त छैन नि ?”

म टाउको हल्लाउँथें । बाहिर निस्किँदा मेरा आँखा खुशीले भिजेका हुन्थे ।

कक्षा १० को हिउँदमा स्कुलले शैक्षिक भ्रमण लैजाने भयो । भन्नेबित्तिकै पाँच हजार रूपैयाँ जुटाउनु सजिलो थिएन । बाहिरफेर जाँदा लगाउने जाडोको लुगा पनि थिएन । आमासित नसोधीकनै मैले ‘जाने’मा हात उठाइनँ ।

“किन नजाने तँ भ्रमण ?” मलाई अफिसमा बोलाएर हेडसरले सोध्नुभो ।

“घरमा काम छ, सर !” मैले सक्दो नरुन प्रयास गर्दै भनें ।

“मैले तेरो नाम जानेमा लेखाइदिएको छु । पर्सि बेलैमा आइपुग्ने । कपडा अलि न्यानोतातो लगाएर आउनू ।”

यतिन्जेल दबाएर राखेको हिक्कहिक्क अचानक बाहिर निस्कियो मेरो । दुवै हातले मुख छोपेर रोक्न खोजें, सकिनँ । कुर्सीबाट उठेर मेरा चिसा हात समातेर उहाँले भन्नुभो, “मेरी कान्छी छोरी ठ्याक्कै तैं जस्ती छे, रून्ची । जा अब ।”

“म कैले दिनी...,” मैले वाक्य पूरा गर्न सकिनँ ।

“जागिर खा’र धेरै कमा अनि दे न, डबल । हुन्न ?”

सधैं म आमाका लागि जागिर खाएको सपना देख्थें । त्यस दिनबाट एक जना थप भयो ।

लुम्बिनीमा मायादेवी मन्दिरअघिको घुइँचो छिचोलेर मैले साथीको मोबाइलबाट उहाँसित एउटा तस्बिर खिचाइमागें । आँखामा परेको सीधा घाम छेक्न उहाँले एक हातको पाली लगाउनुभएको थियो भने अर्को हात सधैंझैं मेरो दाहिने काँधमा थियो । आमाले बाटोखर्च दिएको पैसा बचाएर घर फर्केपछि मैले त्यो फोटोलाई ठूलो बनाएँ, दुइटा । र, एउटालाई दैलोमाथि बाको फोटोसँगै राखें । खोपीमा राख्न पनि सक्थें, धूवाँ पनि लाग्दैनथ्यो, तर मलाई बासित बदला लिन मन थियो ।

“तिमी नभए पनि केही फरक पर्दैन बा,” बाको फोटोलाई क्वारक्वारती हेरेर मैले भनेकी थिएँ, मनमनै ।

अर्को फोटो मैले पत्रिकामा बेरेर उहाँलाई लगेर दिएँ । फोटो हेरेर उहाँ मुसुमुसु हाँस्नुभो र भन्नुभो, “पाली नहालेका फोटा थिएनन् ?”

“थिए, तर तपाईं र मेरो मात्र भने थिएन,” मैले भनें, यो पनि मनमनै मात्रै ।

सधैं कक्षामा तेस्रो वा चौथो नम्बरमा आउने म टेस्ट परीक्षामा भने पहिलो नम्बरमा आएँ । रिजल्ट भएको भोलिपल्ट स्कुलमा हल्ला चल्यो, “हेडसरले कमलालाई प्रश्नपत्र देखाइदिन्छन् । उनीहरूका बीच निको चाल छैन ।”

मेरो मुटुमा तीखो सुइरोले रोपेजस्तो भयो । रूने ठाउँ खोज्दै ट्वाइलेट छिरें । ट्वाइलेटको भित्तामा लेखिएको थियो, “हेडसर+कमला ।”

लगत्तै स्कुलमा मिटिङ बस्यो । हेडसरलगायत केही सर–मिसहरू कक्षामा आए । सबै ज¥याकजुरूक उठ्यौं । तर, सरले कसैलाई पनि बस्न भन्नुभएन । म घोसेमुन्टो लाएर अझै हिक्कहिक्क गरिरहेकी थिएँ ।

अचानक हेडसरले निकै कडा स्वरमा भन्नुभो, “कमलाऽऽऽऽ, अगाडि आइज !”

म घोसेमुन्टो लाएरै बेन्चबाट निस्किएँ र बिस्तारै अगाडि गएर घोसेमुन्टो लाएरै उभिएँ । 

“तँ चोरेर फस्ट भ’की होस् ?” मपट्टि हेरेर उहाँ कड्किनुभो ।

सिँगान तान्दै मैले मुन्टो हल्लाएँ ।

“हैन भने किन घोसेमुन्टो लाउँचेस् त ? सीधा उभी ।”

त्यस दिन मलाई पहिलो पटक हेडसर देखेर साँच्चै डर लाग्यो ।

“यो हल्ला फैलाउने को–को हुन्, म खल्तीबाट नाम पढेर सुनाऊँ कि आफैं आएर कमलासित माफी माग्छौ ? एसएलसीको एक महिनाअघि रेस्टिकेट हुन को–कोलाई मन छ ?”

सारा कक्षा सियो खसेको पनि चाल पाउने गरी सुनसान भयो । सबका सब विद्यार्थी अब घोसेमुन्टो लाइरहेका थिए । बस्, मेरो मात्र शीर ठाडो थियो ।

“म आफैंले नाम बोलाउन परेको हो ?” 

हेडसर पहिलो बेन्चकी कुनामा बसिरहेकी केटीतिर हेर्दै कड्किनुभयो । ऊ रून थालिसकेकी थिई । सरले त्यसो भन्नासाथ आवाज निकालेर रूँदै भनी, “मलाई माफ गर्दे, कमला । म अब कइल्यै पनि त्यसो भन्दिनँ । मलाई ननिकाल्नू सर, मलाई माफ गर्दिनू... ।”

त्यसपछि अरू एक–दुई जना केटीले पनि माफी मागे । निस्कने बेला ढोकाबाट थोरै मुन्टो फर्काएर उहाँले भन्नुभो, “कमला छोरी हो मेरी । मानेदेखि तिमीहरू सबै हौ । उसको बारेमा था नभाको ह्याँ कोइ पनि छैन । अझ पनि यस्तो भन्दै हिँड्न लाज लाग्दैन तिमरूलाई ? आधा घण्टाभित्र भित्तामा लेखेको मेटाको रै’नछ भने मैले जान्या’छु ।”

त्यस दिनका लागि अन्तिम दुई थोपा आँसु झारेर मैले उहाँका गह्रौं पदचाप सुनिरहें । मलाई दौडेर गएर उहाँलाई अँगालो हालेर भन्ने मन भयो, “ब्वा... ।”

०००

“पर्सि सत्यनारानको पूजा छ, घरमा । आमालाई ले’र आइज है,” फागुनको एउटा शुक्रबार स्कुलबाट हिँड्ने बेला उहाँले भन्नुभएको थियो ।

आमा जान अप्ठ्यारो मानिन् । बरू आफैंले बारीबाट चार वटा राम्रा कालो उखुका लाँक्रा काटिदिइन् । दुई डाडु दूध हजुरीलाई चिया खान राखिदिएर बाँकी सबै सिमाङमा खन्याइदिइन् ।

काठमाडौंबाट आएकी कान्छी छोरीलाई बोलाएर हेडसरले भन्नुभो, “ल रून्ची, तेरी मितिनी भेट् । यसलाई एक्लै नपार् है ।”

प्रसाद कुर्दा साँझ पर्ने भो । सरको छेवैमा गएर भनें, “सर, म जान्छु है । रात पर्छ ।”

तर, प्रसाद नखाइकन पठाउन उहाँले मान्नुभएन । पाहुना पातलिएपछि हेडसरका जेठा छोराले परिवारको फोटो खिच्न खोजे । म कोठे थालमा खीर, तरकारी र अचार लिएर भर्खर एउटा कुनामा बसेकी थिएँ । आफन्तले माइलो छोरालाई बिजोर भएकाले फोटो राम्रो आएन भनेर जिस्काए । कहिले बाउ–आमालाई बसाएर त कहिले उभ्याएर उनीहरूले फोटो खिचे । केही दिनअघि मात्र ‘मेरी छोरी हो कमला’ भनेर ५५ जना विद्यार्थीका अघि कड्किनुभएका हेडसरका आँखाले पारिवारिक फोटोका लागि मुसुक्क हाँसिरहँदा भने मेरो अनुहार खोजेनन् । 

खान भनेर ठिक्क पारेको चम्चाको खीरमा तप्पतप्प दुई थोपा आँसु झरे मेरा । त्यसलाई उचालेर मुखसम्म ल्याउने हिम्मत भएन । नजिकै दुई खुट्टामा बसेर एउटा कुकुर मेरो थालको खीर हेरिरहेको थियो । मलाई भने मैलाई हेरिरहे जस्तो लाग्यो । त्यसले नरो भने जस्तो लाग्यो । तँ र म एउटै हौं भनिरहेझैं लाग्यो । थालको खीर सबै उसका अघि खन्याइदिएर म रुनलाई कोल्टो ठाउँ खोज्न निस्किएँ ।

“कमला दिदी, बडाबाले बोलाउनुभा’छ,” सरको घरमा पढ्न बसेकी केटी बोलाउन आई । उहाँ मलाई काठमाडौंबाट आएका उहाँका पुराना साथीसित चिनाइदिन खोज्दै हुनुहुँदो रहेछ । म पुग्नेबित्तिकै छेउमै बसाएर भन्नुभो, “ल, योचाहिँ मेरी कान्छी छोरी, कमला । खुब मीठा कविता लेख्छे ।”

“आच्या, कान्छीको नाम त पूजा हैन र ?” उहाँका मित्र बोले ।

“पूजाकी आमा तेरी भाउजू भई । कमलाकी आमा आउनुभाछैन, हैन्त कमला ?” मैले टाउको हल्लाएँ ।

“उहाँका कान्छी छोरीहरू गन्ने हो भने दर्जन पुगे होलान्, हैन्त सर ?” टपरीमा सेलरोटी भाग लगाइरहेकी उहाँकी श्रीमतीले ठट्टाको भाखामा बोलिन् । मेरो मनमा अर्को तीर गड्यो । रातैभरि आमाको तातो ओछ्यान अनि बिँडीको गन्ध आउने उनको सासको तिर्सना लागिरह्यो ।

त्यसपछि म हेडसरको घर गइनँ । दूध लगिदिएको सिमाङ सरले पछि स्कुलमै ल्याइदिनुभो । एसएलसीपछि त भेटघाट पनि ठप्पजस्तै भो । म आक्कलझुक्कल फोन गर्थें । उहाँ सम्झेर आफैं कहिल्यै फोन गर्नुहुन्नथ्यो ।

चैते दशैंमा मेरो नामको खसी बेचेर आएको १२ हजार रूपैयाँ आमाले ब्याजमा लगाइदिन खोजेकी थिइन् । त्यसबाट पाँच हजार झिकेर एउटा सानो चिठीसँगै खाममा हालेर मैले सरलाई पठाइदिएँ ।

साँझपख सरले फोन गर्नुभो । मलाई आफ्नो केटाकेटी हर्कतका लागि बेस्कन गाली खाएर रून मन थियो । तर, सरले गाली गर्नुभएन, ‘जागिर खाइसकिस् त यति चाँडै ? किन पठाउन पथ्र्यो त ?’ ले टार्नुभयो ।

पहिलो पटक गाली खान नपाएर म धेरै रोएँ ।

“म तिम्लाई बाबा भनेर बोलाऊँ ?” त्यस रात विनयलाई मैले फोनमा सोधेको एउटै प्रश्न थियो ।

त्यसपछि म घाँस काट्न वा खेतमा बाली हेर्न बेसी झरेका बेला ऊ चाउचाउ वा चटपट लिएर आउँथ्यो । म उसको काँधमा मुन्टो बिसाएर मस्र्याङ्दीको अनवरत यात्रा हेरेर अघाउँदिनथें ।

“मस्र्याङ्दीलाई सधैं केको हतारो होला, है विनय ?”

“मलाई त मस्र्याङ्दी आफैंदेखि भागिरहे जस्तो लाग्छ । कतिका अधुरा सपना, अशान्ति, छटपटी, कुण्ठा अनि दागहरू बोकेर बग्दै होला यो ! यसलाई भित्रभित्र कति छटपटी हुँदो हो ?” मेरो कपाल खेलाउँदै ऊ भन्थ्यो ।

“तर पनि हेर न, कति शान्त र निश्चल देखिन्छ, मानौं उसलाई केही फरकै पर्दैन ।” 

“त्यो त तिमी पनि देखिन्छ्यौ नि ।”

जब यस्तै कुरा गर्दागर्दै पर कतै कीराहरू कराउन थाल्थे, ऊ मेरो निधारमा म्वाइ खाएर मलाई उठाउँथ्यो, घाँस समेलिदिन्थ्यो अनि म भारी बोकेर पर पुगुन्जेलसम्म उभिएर हेरिरहन्थ्यो । नजाँनिदो तरिकाले मेरो मनमा उसले बा र हेडसरको ठाउँ लिएको थियो ।

०००

मध्य असारको बेला । पातलो झरी हालिरहेको थियो ।

दुइटा करङ भाँचिएर एकापट्टि खुम्चिएको कालो छाता बलेसीमा खुलै उभिइरहेको थियो । बर्खे झरीले माटो बगाएर चुच्चा र तीखा देखिएका आँगनका गेगरानले चप्पल नलाई निस्किँदा पैतालामा घोच्थे । बलेसीको त्यही छाता ओढेर म खाजा खोज्न घरबारीमा निस्केकी थिएँ । हजुरीका थोता गिजालाई बिहानैदेखि कलिला मकै कोपर्ने रहरले चिलाएको थियो ।

पानी परेकाले म माथिकै बारीको भाँच्न लागेकी थिएँ, हजुरी धन्सारबाट कराइन्, “पुच्छरगरा’टी ले है, कमला । तिमरू नभा’बेला मलाई बाख्रालाई घाँस हाल्न परेन ?”

मकै बारीमा पस्न छाता के बिसाएकी थिएँ, केराको गाँजमुनि ओतमा बसेर बोडी चपाइरहेको मान्छे देखेर झसंग भएँ ।

मलाई देखेर पहिले त ऊ पनि हच्कियो, लगत्तै रून्चे हाँसो हाँसेर भन्यो, “माथि जाम् भनेको पानी दर्केला जस्तो भो, ओत लाग्न पसेको, नानीको बोडी खाइदिएँ मैले त ।”

“माथि काँ हो र ?” मकैको भुत्ला कोट्याएर कलिला मकै छान्दै मैले सोधें । 

“कमरगाम् ।”

“ए, कसको घराँ जानुपर्ने ?”

“लालबा’दुरको । चिन्छ्यौ ?”

“किन नचिन्नु ? हाम्लाई गणित पढाउनुहुन्थ्यो, स्कुलमा ।” 

“ए, कतिमा पढ्छ्यौ ?”

“म ? भख्खर एसएलसी दे’र बसेको ।”

“कसकी छोरी हौ ?”

“वसन्तीकी ।”

“ए, सन्चै छिन्, वसन्ती ?”

“चिन्नुहुन्छ आमालाई र ?” मैले अन्तिम मकैको बुटोलाई हँसियाले छिनाउँदै सोधें ।

“अँ... चिन्छु ।”

“घर काँ नि तपाईंको चाहिँ ?”

बोडी चपाउँदै ऊ एकछिन भुल्यो अनि भन्यो, “ऊ पारि हो, मेरो त ।” 

“अलैंचे ?” मकैका बुटा सँगेल्दै मैले सोधें । 

“अँ, अलि उँभो ।”

“फाँटमा कि माथि नै ?”

मैले अलि बेसी नै सोधखोज गरेपछि उसले भन्यो, “तिम्ले चिन्दिनौ । अलि पुरानै मान्छे हुम् म ।”

मकैको घाँसको बिटो च्यापेपछि बाक्लिँदै गरेको पानी हेरेर मैले भनें, “किन भिजेर बस्नुहुन्छ त ! घरै आउनू, चिया खाएर पानी मरेपछि जानुहोला ।” 

“भैगो नानी, म उक्लन्छु । भरे नै फर्कनु छ,” सिरू समातेर बडो अप्ठ्यारोसित ऊ कान्लो ओर्लियो । केराको पात ओढेर फर्कीफर्की हेर्दै गएको बटुवाको मलाई यसै माया लागेर आयो ।

कान्लाको डिलमा पुगेर भनें, “अङ्कलऽऽऽ, छाता ले’र जानू, लाउनू ।”

मसिना आँखा पारेर उसले मतिर हे¥यो । चुस्स परेको उसको कपालले पानीको धार दिन थालिसकेको थियो ।

“भरे झर्दा कति बेला हुन्छ, कुन्नि ?”

“पानी मरे यतै बारीतिर फाल्दिनू, नत्र लिएरै जानू । कति नै सद्दे छ र ?”

बेलुका निथ्रुक्क भिजेर आएकी आमाले लुङ्गीसमेत नफेरीकन पिँढीको डिलमा थर्कटी तानेर स्वार्रस्वार दुइटा चुरोट सकिन् अनि जुठेल्नामा गएर कम्मरमा हात लगाएर धेरै बेरसम्म भिजिरहिन् । हजुरीले चिसो लाग्ला भनेर कराएको पनि धेरैबेरपछि बल्ल उनी ओतमा आइन् ।

उनका आँखा गोलभेंडा जस्तै राता थिए । थालको मकै अनि टिमुर र लसुन हालेको अचार लिएर म दैलोमै उभिइरहें ।

“हैन के भो तँलाई ?” मभन्दा पहिले हजुरीले सोधिन् ।

“तपाईंका छोरा आज गाउँ उक्लेका थिए रे,” दाँतले ओठ टोक्दै आमा बोलिन् ।

हातको थालसहित म दैलोमै थचक्कै बसें । आमाको लुङ्गीबाट तपतप चुहिरहेको पानीको थोपामा चुस्स कपाल अनि झुस्स दाह्री पालेको, केराको पातको ओत लागेर बोडी चपाइरहेको निम्छरो अनुहार टल्किरह्यो ।

सुनसान यति थियो कि भैंसीले गोठमा छ्यार्र मुतेको पनि भित्रैसम्म सुनिन्थ्यो । चकमन्नतालाई चिरेर हजुरीले भनिन्, “सुतो ।”

रातको ८ बजेको हुँदो हो । म लाइट बालेर पिसाब फेर्न निस्किएकी थिएँ, मलखातनिरबाट कोही फुत्त बारीमा हामफाल्यो र मकैका पात बजाउँदै भाग्यो ।

“आमाऽऽऽऽऽऽऽ चोर,” म चिच्याएँ ।

आमा र हजुरी उत्तिनखेरै जुठेल्नामा आइपुगे । मेरो लाइट खोसेर आमाले मलखातवरिपरि हेरिन् । मकैबारीतिर हेरिन् । त्यहाँभन्दा पर लाइटको उज्यालोले भ्याउँदैनथ्यो ।

“तेरो बाऊ हो, त्यो । मेरो दशा हेर्न मरेको होला नि,” आमाले यति आत्मविश्वासका साथ त्यो वाक्य भनिन्, म अवाक् भएँ । हजुरी हेरेको हे¥यै भइन् । यत्तिकैमा चर्कोसँग घाँटी सफा गरेर कसैलाई सुनाउन खोजे जसरी उनले थुकिन्, “थुऽऽऽऽ... ।”

म खोपीमा पसेको केही छिनमै सिमसिम पानीले छिटा हान्न थालेको थियो । १६ वर्षदेखि मैले अनुहार हेर्न तड्पिएको मेरो बाउ यतिखेर पानीनिरको ओरालो झर्दै छ भन्ने तर्कनाले मलाई सुत्न दिएन । खोपीको छेस्किनी खोलेर म सुटुक्क निस्किएँ ।

तर, शायद डरले रोक्यो ।  अनिश्चितताले रोक्यो । थपिनी बज्यैले रोकिन् ।

“केका लागि ? आखिर केका लागि गर्दै छेस् कमला तँ यो सब ?” उछिट्टिएर फरियामा लागेको पिसाबका छिटा टक्टक्याउँदै उनले सोधिन् । मसित उत्तर भएन, जसरी उनीसित उत्तर थिएन, मेरो प्रश्नको । 

०००

भोलिपल्ट बिहान म उठ्दा आमा ओछ्यानमै खोकिरहेकी थिइन् । बिहानको धन्दा सकाएर बाख्रालाई कुँडोमकै पिँध्न म बेसी झरें ।

“मिलको काम सकेर खेतमा कुलो लाउन जा है । म भात लिएर झरम्ला,” कर्सापट्टि लाग्दै गर्दा आमाको स्वर सुनियो ।

औंसीको दिन हुँदा आज फाँट लगभग रित्तै थियो । मैले दुवै काम भ्याएर बउरबाट एक घण्टा मस्र्याङ्दी उर्लेको हेरिसक्दा पनि आमा आइपुगिनन् । बेलुकी जाबो दुइटा मकैको भरमा सुतेकी थिएँ । भोकले पेट कुइयँ ग¥यो । रोडछेउ निक्लें ।

संगीता दिदीको पसलमा भात बाँकी थिएन । एक प्लेट चाउमिन टक्र्याइदिइन् । एउटा हरियो खुर्सानी मागें ।

“भोलि दिम्ला है, दिदी,” सलको सेउटी पट्याउँदै उनलाई आमा नझरेको कुरा भनें ।

“आच्या, भैसक्यो त तिम्रो पैसा ।”

“भैसक्यो ? क...कसरी ?”

“खै, त्याँ भित्र बस्नी दाइले तिर्छु भने ।”

“को दाइ ?”

“कुन्त । तिमीसित हिजो छाता लगेका र’छन् । छोड्द्याछन्, ले’र जाऊ है, ऊ त्याँ खाटमाथि छ ।”

“काँ गए त अहिले ?” मेरो स्वर काँप्न थालिसकेको थियो । 

“अघि भख्खर गए त ह्याँबाट, देखिनौ र ?” मुन्टो तन्काउँदै उनले भनिन्, “ऊ त्यइँ गाडी कुर्दै थे, चडे कि त ?”

दौडिँदै म रोडमा निस्किएँ । सेतो धर्के सर्ट लगाएको मान्छे बसमा चढ्नासाथ खलासीले जाम्जाम् भनेर बसको भित्तो हिर्कायो । 

मेरा टिलपिलटिलपिल आँखाले ग१ज पछि गाडीको नम्बर पढ्न सकेनन् । चर्को कर्कश हर्न बजाउँदै आँधीखोला यातायातले मेरो सपनाका बाउलाई हुइँक्याएर लग्यो । असहाय म रोडको बीचमा ठिंग उभिएर गाडी दौडिएतिर हेरिरहें । 

खोकीको स्वर सुनेर मैले मुन्टो फर्काउँदा मजेत्रोले बेरेको भातको पोको झुन्ड्याएर आमा मेरा अगाडि ठिंग उभिइरहेकी थिइन् ।

मैले आमालाई ग्वाम्लाङ्ग अँगालो हालेर भनें, “आमा, बाले मलाई चाउमिन खुवाए नि !”

(‘बाह्रखरी कथा प्रतियोगिता’को शीर्ष २५ मा पर्न सफल कथा । २५ लेखकका उत्कृष्ट कथाको संग्रह शुक्रबार सार्वजनिक गरिएको छ ।)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ७, २०७६  ०९:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC