site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
शब्द खोज्ने एक यायावर
Ghorahi CementGhorahi Cement

नेपाली भाषा साहित्य अविश्राम कलमजिवी हुन् वसन्तकुमार शर्मा नेपाल (९६) । छ दर्जनभन्दा बढी कृतिका लेखक, नेपाली शब्दसागरका सम्पादक वसन्तका आँखा र कानले यतिबेला धोका दिइसकेका छन् । उनका यी दुबै इन्द्रीय कमजोर भएका छन् । पाँच वर्षको उमेरदेखि अक्षर कोर्न थालेका वसन्तको अक्षर अब दस्तखतमा सीमित भएको छ । अर्थात् आँखा र कानमा देखिएको कमजोरीले उनको सिर्जनशीलतालाई प्रत्यक्ष असर पारेको छ । हैन भने अझैपनि केही कृति सिर्जना गर्ने उत्साह उनमा रहेको उनको जाँगरले देखाउँछ ।
तथापि वर्षदिन अघिसम्म पनि उनले सहयोगीको साथ लिएर केही कृति सार्वजनिक गरे । 

बितेको चैत्र ३० गते उनको जन्मदिन उप्रान्त उनले केही लेखेका छैनन् । उनी यो समयमा आफूले कतैकतै दस्तखत मात्रै गर्दैआएको बताउँछन् । 

केही दिनअघि उनको निवास चावहिल मैजुबहालमा उनकै कोठामा बसेर हामी कुराकानी गर्दैथियौं । त्यसैबेला उनले भने, ‘लेख्न नसकेपछि गाह्रो हुनु स्वाभाविक हो । यद्यपि ०७२ सालमा ‘सम विसमार्थ कोष’ बाहिरियो । ०७३ सालमा एघार जनाले संयुक्तरुपमा लेखेको खण्डकाव्यमा एउटा भाग मैले पनि लेखेँ ।’

Agni Group

वि.सं. २०७४ सालमा नेपालले इतिहासकारहरुले छोडेका विषय अर्थात् तिनको नजर नपुगेका विषयहरुलाई एउटा पुस्तकमार्फत् सार्वजनिक गरे । अनि पुस्तकको नाम दिए ‘ऐतिहासिक झिल्काहरु’ । 

यस ‘ऐतिहासिक झिल्काहरु’मा केही सन्दर्भहरु राखिएका छन् । तिहारको भाइटिकाको एउटा सन्दर्भका साथै केही अन्य विषय ‘ऐतिहासिक झिल्काहरु’मा समाबेस छन् । त्यसमा नेपालका सन्दर्भसहित भारतीय इतिहासका कतिपय लुकेका विषयलाई पनि समावेश गरिएको छ ।

Global Ime bank

त्यस्तै जयप्रकाश मल्ल र पृथ्वीनारायण शाहको बीचमा के लुक्यो, सिद्धिनरसिंह मल्ल र पृथ्वीनारायणका बीचमा के लुक्यो, भृकुटी र अंशुवर्माका बीचमा के कुरा ओझेलमा पर्यो अनि स्रङचंग गम्पो र भृकुटीका बीचमा के थियो, कश्मिरका राजाले नेपालमा आक्रमण गर्दा केके भयो, यी र यस्ता अनेक विषय सन्दर्भ यस पुस्तकमा आफूले प्रस्तुत गर्र्ने प्रयास गरेको उनको कथन छ । 

यसरी उनी केही महिनाअघिसम्म पनि साहित्य, सिर्जना र अक्षरसँगै भलाकुसारी गरिरहेका थिए । तर यतिबेला उनी मानसिकरुपमा कृति सिर्जना त गर्दैछन्, तर ती सिर्जनालाई कागजमा उतार्न सकिरहेका छैनन् । 

\"\"पाँच वर्षको उमेरमा अक्षरारम्भ गरेदेखि जीवनको यो कालखण्डसम्म आइपुग्दा उनले अनेक आरोह अवरोह देखे । जसलाई शब्दमा बयान गर्न सायद सकिन्न । नेपाल भन्छन्, ‘म चार वर्षको हुँदाको एउटा घटनाको मलाई झिनो सम्झना छ । यसरी सम्झिँदा ९२ वर्षका कति घटना परिघटना होलान् । सबै बताएर साध्यै हुँदैन ।’ निश्चय पनि यो कठिन कार्य हो ।

यद्यपि उनी बताउँदै गए केही सन्दर्भ प्रसंगहरु । चार वर्षको हुँदा उनको नाइटो पाकेको थियो । त्यसबेला एक जना कम्पाउण्डरले आएर स्पीरिटमा आगो बालेर इन्जेक्सनको निडिल तताउँदै इन्जेक्सन दिएको उनी अहिले पनि सझिन्छन् । उनकी आमाले भनेकी थिइन्, त्यो नाइटोको घाउ आठ महिनासम्म थियो अरे ।

नेपाल सम्झिन्छन्, ‘त्यसबेला लाजिम्पाटमा ब्रिटिश दूतावास भित्र ब्रिटिश लिगेसन नामको सानो अस्पताल थियो । बेलायतीहरुले चलाएका थिए । राम्रो उपचार हुन्थ्यो त्यहाँ । डाक्टरहरु बंगाली थिए । मेरो उपचार पनि त्यहीँकै डाक्टर कम्पाउण्डरले गरेका हुन् ।’ उनका अनुसार भारत स्वतन्त्र भएपछि त्यो अस्पताल बन्द भयो । अस्पताल भएको क्षेत्र भारतीय दूतावासको भागमा परेकोले त्यो अस्पताल खारेज भएको उनको भनाइ छ । यद्यपि वीर अस्पतालको स्थापना त्यसबेलासम्म भइसकेको थियो ।

जीवनको लामो कालखण्डमा धेरै उतारचढाव देखिनु अस्वाभाविक होइन । मानिसको जीवनलाई उनी चेसको गोटीसँग, बाघचालका गोटीसँग तुलना गर्छन् । भन्छन्, ‘चेस र बाघचालमा केही गोटी अगाडि बढ्छन्, केही मर्छन् ।’ 

वसन्तकुमार शम्र्मा नेपालका पूर्वज तेह्र पुस्ता अघि नै काठमाडौं आए । ती बाजुराको सिन्जाबाट आएका थिए भन्ने उनले पनि सुनेका हुन् । तत्कालिन अवस्थामा लाजिम्पाटमा बस्दै आएका उनको परिवार ठूलो थियो । सबै आआफ्नो कर्ममा सक्रिय । 

उनका मातापिताका उनीभन्दा अघिका दुई छोरा असमयमै बितेका थिए । वसन्तपछिका दुई छोरा पनि असमयमै बिते । त्यसैले पनि उनका परिवारका सबैले उनलाई बोकेरै हिँडे । उनलाई भुइँमा ओरालेनन् । केही भइहाल्छ कि भन्ने डरले पनि यस्तो भएको थियो । 

विसं १९७९ साल चैत्र ३० मा जन्मिएका उनलाई पाँच वर्षको हुँदा  अक्षरारम्भ गराइयो । अक्षरारम्भ गर्नु पनि सजिलो काम थिएन । त्यसका लागि उनलाई अघिल्लो दिन चोखो खाना खान लगाइयो । उनी हविशेक बसे । साँझमा दही चामल मात्रै उनलाई खुवाइयो ।

वि.सं. १९८४ साल, माघ महिना । भोलिपल्ट वसन्त पञ्चमीका दिन बिहानै नुहाइवरी तयार पारेर उनलाई होम गर्न नजिकैको सरस्वती मन्दिर लगियो । सरस्वतीको बीज मन्त्रको उच्चारणका साथ चार घण्टा उनी होममा बसे । त्यसपछि सात गेडा चामल खान दिइयो उनलाई । अनि कखरा लेख्न लगाइयो । त्यसपछि मात्रै उनलाई घर ल्याइयो ।

घर पुगेको केही समयपछि उनी अचेत भए । हाहाकार मच्चियो घरमा । के भयो कसो भयो भनेर । डाक्टर बोलाइयो । वैद्यहरु पनि आए । उपचार चल्यो । तर कसैको केही लागेन । अन्ततः दिउँसो दुई बजे उनी नरहेको डाक्टरले भने । उनलाई तुलसीको मठ अगाडि सुताइयो ।

अब अन्तेष्टि कसरी गर्ने भन्ने विवाद चुलियो । कोही व्रतवन्ध नभएकाले जलाउन हुँदैन भन्न थाले । कोही जलाउने कुरामा जोड दिन थाले । यो विवादले चार बजायो । 

शम्र्मा भन्दैथिए, ‘त्यो दिन म मरिसकेको थिएँ । तर संयोग कस्तो भने, त्यसैबेला स्वर्गद्वारीका एक शिद्धपुरुष स्वामीजी आफ्ना केही शिष्यहरुका साथ हामीकहाँ आउनु भयो । उहाँ मेरा पिताजीका गुरु पनि हुनुहुँदो रहेछ । उहाँले मलाई हेर्छु भन्नु भयो । एउटा जोगीलाई किन हेर्न दिने भन्ने पक्षमा परिवारका सदस्य उभिए । अन्ततः स्वामीजीले तिम्रो छोराको लाश दान देउ भनेर माग्नुभएछ । यो अवस्थामा कसैले नाई भन्न सकेनन् । अनि पिताजीले मलाई महासंकल्प गरेर जोगीलाई दान दिनुभयो ।’

वसन्तलाई दानमा प्राप्त गरेपछि स्वामीजीले आफूसँग भएका जडीबुटीहरु उनलाई खुवाएछन् । शिष्यहरुलाई भनेर चारैतिरबाट आगो बाल्न लगाएछन् । अनि उनको शरीरमा स्वामीजीका चेलाहरुले मालिस गर्न थालेछन् । यो क्रम रातभर चल्यो । बिहान पाँच बजे उनको बूढीआंैला चल्यो । त्यसको पाँच घण्टापछि उनको आँखा खुल्यो । 
उनी भन्छन्, ‘यसरी मरिसकेको म चौबीस घण्टापछि बाँचेर आएँ ।’ 

त्यस उप्रान्त उनको परिवारमा कसैको पनि अक्षरारम्भ गर्दा होम गरिएन । 

मातापिताका बाह्र सन्तानमध्येका एक उनी घरमा जोगी सरह नै रहन थाले । जोगीलाई दान दिइए पनि परिवारले उनलाई स्वामीसँगै जान दिएनन् । स्वामीले पनि यिनलाई खाने बस्ने व्यवस्था गरिदिनू भनेर हिँडे । 

घरमा पनि उनी जोगी जस्तै थिए । उनलाई जे गर्न पनि छुट थियो । फुक्काफाल भएर हिँड्थे उनी । यसरी फुक्काफाल भएर हिँड्दा उनी मनलाग्दी गर्दै हिँड्न थाले । रिसाउन पनि औधी रिसाउँथे उनी । 

एकदिन रिसकै झोंकमा उनले आफू बस्ने घरमै आगो लगाइदिए । घर जलेर खरानी भयो । यसरी उनले झोकैझोकमा दुई पटक घरमा आगो लगाइदिए भने एक पटक गोठमा आगो लगाइदिए ।

घरमा आगो लगाउने कारण उनले सुनाए । उनका भाइले तीन वर्षको उमेरमै एक पटक अर्काले लेखेको देखेरै ‘क’ लेखेछन् । र पिताजीलाई गएर देखाएछन् । पिताजीले स्यावास भन्दै एक मोहर बक्सिस दिएछन् । भाइ दंग परे । उनले आफूले मोहर पाएको सबैलाई सुनाउँदै हिँडे । 

यो थाहा पाएर वसन्त पनि पुगे पिताजीका अघिल्तिर । उनले पनि मोहर मागे । तर पिताजीले ‘तँ जोगीलाई किन चाहियो पैसा’ भन्दै हकारेछन् । त्यसपछि उनको रिसको पारो माथि

उक्लियोे । र गएर आफ्नो परिवार बस्ने घरमै आगो झोँसिदिए । तेस्रो पटक गोठमा आगो लाग्दा उनलाई मनपर्ने बाच्छीको फिला पोलिएर घाउ भयो । त्यहाँबाट उनमा एक किसिमको चेतना जागृत भयो, यसरी बदमासी गर्नहुन्न भन्ने ।

तिनताक स्वामीजी पनि काठमाडौं आएका थिए । घरको अवस्था देखेर स्वामीजीले वसन्तलाई सम्झाए, ‘तिमीले लेखपढ गर्नुपर्छ । ठूलो र असल मानिस बन्नुपर्छ । बदमासी गर्नु हुँदैन’ भनेर । 

यहीँबाट उनी फरक मोडमा मोडिए । यहाँबाट उनको जीवन दर्शन नै परिवर्तन भयो । उनी लेखपढमा रमाउन थाले । उनी तिक्ष्ण थिए, त्यसैले आठ वर्षको उमेरमा पढ्न सुरु गरेपनि उनले पढाईमा राम्रो गर्दैैगए । 

उनले बदमासी गरेपनि उनकी हजुरआमाले उनलाई अत्यन्त माया गर्थिन् । हजुरआमाले रामायण र महाभारत पाठ गरेको उनी सुनिरहन्थे । हजुरआमा सुनाउँथिन् भानुभक्तको रामायण वाचन गरेर, ‘एकदिन नारद सत्यलोक पुगिगया लोकको गरुँ हित भनी’ ।

उनले हजुरआमालाई श्लोकको एक एक शब्दको अर्थ सोधेछन् । हजु्रआमाले पनि झर्को नमानी नातीलाई श्लोकको अर्थ बताइन् । जब उनले यसको अर्थ बुझे, उनी दङ्ग परे । 
त्यसपछि उनले श्लोकमा भएको शब्द र परिवारका अन्य सदस्यहरुले बोल्ने शब्दको उच्चारणमा ध्यान दिन थाले । त्यहाँ शब्दहरुको उच्चारणमा तारतम्य नमिलेको जस्तो उनलाई लाग्यो । उनले फेरि हजुरआमालाई सोधे, ‘भानुभक्तले लेखेको गलत कि हामीले बोलेको गलत ?’

यहीँबाट वसन्तमा व्याकरण र भाषाप्रतिको रुची बढ्दै गयो । यतातिर उनको मोह चढ्दै गयो । पछि उनलाई लाग्यो, व्याकरण बिना कुनै पनि भाषा शुद्ध हुँदैन भन्ने । यसरी उनको आकर्षण भाषा साहित्य तर्फ चुलिँदै गयो । 

अन्ततः उनी बनारस पुगे पढ्नका लागि । बनारसबाटै उनले पढाई अगाडि बढाए । मध्यमा सिध्याए । 

मध्यमा गरेपछि उनी काठमाडौं फर्किएका थिए । तर यहाँबाट परिवारले जान दिएनन् । तर उनी पनि कम थिएनन् । सुरा थिए । आँटी थिए । त्यसैले उनी भागे, बनारसतिरै । 
उनी हाँस्दै भन्दैथिए, ‘मलाई लाग्थ्यो म एकैदिनमा अमलेखगञ्ज पुगौं । मेरो हिँडाइ पनि त्यहि पाराको थियो । तर भनेर कहाँ सकिन्छ र । तथापि म चित्लाङ, मार्खु, भिमफेदी, अमलेखगन्ज हुँदै बीरगन्ज पुगें । र रक्सौल हुँदै बनारस ।’

उनी यसरी एक्लै हिँड्दा कृष्ण पक्षमा कहिले हिँडेनन् । अझै पनि उनी आफूलाई पुरानो जमानाको मानिस मान्दछन् । भन्छन्, ‘सायद त्यसैले होला मलाई अँध्यारो, कालो, धुँवा र आवेग मन पर्दैन । म ज्यादा चर्को रंगको कपडा पनि लगाउँदिन ।’

कपडाको प्रसंग आउँदा उनले एउटा घटना बताए । एकपटक उनले झिल्केमिल्के कपडा किने । त्यो किनेर कमिज सुरुवाल सिलाए । त्यसमा तार पनि मिसिएको रहेछ । त्यो कपडा बेकार रहेको भोलिपल्ट त्यो लुगा धुँदा आधा सुकेर गएपछि मात्रै थाहा पाए । त्यसपछि उनले कुनै सामान आजसम्म किनेका छैनन् । उनी भन्छन्, ‘मैले मेरो जीवनमा किनेको पहिलो र अन्तिम लत्ताकपडा नै त्यही हो ।’ 

यसलाई पनि उनी आफ्नो जीवनमा घटेको एउटा दुर्घटना नै मान्छन् । त्यो कपडाको रोगन राम्रो थियो । तर भित्री रुपमा त्यो राम्रो थिएन । त्यस कपडाको सही विवेचना उनले गर्नसकेका थिएनन् । 

योसँगै उनले जोडे, ‘साहित्यमा पनि राम्रो नराम्रो पक्षका बारेमा गहिरो विवेचना हुनुपर्छ । यसका लागि व्याकरणको गहिरो ज्ञान आवश्यक छ भन्ने मलाई लाग्छ । जसरी मैले राम्रो कपडा चिन्न र किन्न सकिन, त्यसरी नै मानिसले नचिनेर केही पनि गर्न सक्दैनन् । ‘सुर’ शब्दलाई हेर्नुस्, सुर भनेको होस पनि हुन्छ, देवता पनि हुन्छ र ताल पनि हुन्छ । यसलाई ठिक्क ठाउँमा ठिक्क तरिकाले मिलाउने भनेको त व्याकरणकै मद्दतले त हो नी ।’

अर्थात शब्दहरुको धेरै अर्थ लाग्न सक्ने उनको तर्क छ । शब्दलाई ब्रह्म मान्छन् उनी । त्यसैले जसले पनि शब्दको प्रयोग राम्ररी गर्न सक्नुपर्ने उनको भनाइ छ ।
यस्ता सानासाना घटनाहरुबाट उनले सिक्दै गए । सानासाना विषयहरुको गहिराई खोज्दै हिँडे । साथै उनको लागेको बानी फुक्काफाल यात्रा अनवरत थियो । यसले उनलाई रैजनाको निकट पुर्यायो । राणा खलकहरुको नजिक पनि यिनी पुगे । विजय शमशेरसित यिनको राम्रो सम्बन्ध रह्यो । त्यसैले उनलाई पढ्नलाई विजयले पनि हौस्याउँदै गए । यसरी उनले पाँचवटा विषयमा ग्य्राजुएसन गरे । चार वटामा पोष्ट ग्य्राजुएसन गरे । 

\"\"राजनीति शास्त्र लिएर पढेका थिए उनले । एक पटक काठमाडौंमा राजनीतिशास्त्रको केही किताब बनारसबाट मगाए । यी किताब आउन त आउने तर जहिले जफत हुने । त्यसैले एक पटक उनले बीरगंजबाट आउने भान्टाको टोकरीको मुनी किताब र माथी भन्टा हालेर किताब घर भित्र्याएका थिए । 

यसरी अनेक गरेरै उनी पढ्दै गए । र आफूले जानेको कुरा पढाउँदै पनि गए । हेर्ने हो भने उनको जीवनका कैयन वर्ष अध्यापनमा बितेको छ । उनी चावेलस्थित पशुपति क्याम्पसका संस्थापक प्रिन्सिपल पनि हुन् । 

विजय शमशेरको कुरो उठाउँदै उनले सम्झिए ती दिन, ‘मलाई राणाजीहरुले गीत गाउन र नाच्न भन्थे । म नाचिदिन्थें । गाइदिन्थे । ती मनोरञ्जन लिएर रमाउँथे र मलाई पैसा दिन्थे, दस रुपैयाँसम्म । त्यसले मेरो पढाइ खर्च प्रशस्त पुग्दथ्यो । बेलाबखतमा विजय शमशेरले पनि पैसा दिन्थे । उनी र म फुटवल खेल्ने साथी थियौं ।’

उनका अनुसार त्यसबेला नेपाली ७३ रुपैयाँमा भारु एक सय रुपैयाँ आउँथ्यो । एक तोला सुनको दाम पचास रुपैयाँ थियो । दोस्रो पटक भागेर बनारस गएपछि उनी टन्नै उतै बसे । यहाँ राणाजीहरुले दिएको गिन्नी र असर्फीले उनको पढाई र बसाई खर्च टरेको थियो । 

उनी भन्छन्, ‘म एकचोटी नाचेरै दस रुपैयाँ कमाउँथे । जबकी सरकारी अधिकारीको तलब त्यसबेला दस रुपैयाँ थिएन ।’  एघार वर्षसम्म बनारस बसेर काठमाडौं फर्किएपछि उनले केही मानिसहरुलाई पढाउन सुरु गरे, २००३ सालतिर । त्यसबेला अठार जना पढ्थे उनीसित । त्यस बाहेक राणाजीको दरबारमा गएर बिहान पाठ पनि गर्थे । त्यो उनको जागिर थियो ।

त्यतिबेला पद्म शमशेरका हजुरिया थिए, विजय शमशेर । त्यसबेला स्कूल स्थापनाका लागि शिक्षा डाइरेक्टरले अनुमति दिनुपर्दथ्यो । विजयसँगको निकटताका कारण केही व्यक्तिले उनलाई पद्मोदय स्कूलको अनुमति दिलाउन पहल गरिदिन आग्रह गरे । उनले पद्मोदय स्कूल स्थापनाका लागि विजय शमशेरसित कुरा गरे । 

विजयले उनलाई अठार जना पढाइरहेको ठाउँमै स्कुल खोल्न सुझाए । यसरी उनले महाराजगन्जमा आदर्श स्कुलको संचालन अनुमति लिएर स्कुल स्थापना गरिदिए । तर पद्मोदयको स्थापनामा पनि उनले जोड दिए । त्यसको केही महिना पछिमात्रै पद्मोदय स्कुल स्थापनाको अनुमति मिल्यो । र वसन्त शम्र्मा नेपालले पद्मोदयमा पनि पढाउन थाले । 

२००४ सालमा उनी नेपाली भाषा प्रकाशिनी समितिसँग पनि जोडिए । नेपाली भाषा साहित्यका लागि शब्दकोषको उत्पादन अति आवश्यक थियो । त्यसैले समितिले शब्दकोषको काम गर्दैगयो ।

जब शब्दकोषको काम सकियो, यो छाप्ने कामका लागि साझाको स्थापना गरियो । अन्य कार्यका लागि प्रज्ञा प्रतिष्ठानको स्थापना गरियो । त्यसबेला उनलाई कहाँ जाने हो, ठाउँ खोज, पठाउँछु भनेछन्, सरोकारवालाहरुले । उनी पनि झोक्की स्वभावका । उनले सिधै तिम्रो जागिर खान्न भनिदिए । 

उनी भन्दैथिए, ‘त्यतिबेला हाम्रो दिनरातको मिहिनेतको अवमूल्यन भएको मैले ठाने । त्यसैले म जागिर खान गइन । मैले म भिख मागेर जागिर खान्न भनिदिएँ ।’ त्यो शब्दकोषको काम गर्दा प्रकाशिनी समितिको २९ वटा दराजमा महत्वपूर्ण किताब र पाण्डुलिपिहरु थिए । ती सबै बाँडचुँड गरिए । अहिले त्यो दस्तावेजहरु छ छैन्, भन्न सक्दैनन् उनी । 

वि.सं. २००४ सालदेखि ०११ सालसम्म उनले समितिमा रहेर काम गरे । त्यसबेला शम्र्माका साथै बद्रीनाथ भट्टराई, गोपालप्रसाद रिमाल, ऋषभदेव शास्त्री, रामहरि अर्याल, हरिश चन्द, राम चन्द, भिमनिधि तिवारी, शिव चन्द, युवनाथ, कृष्णबहादुर जस्ता विद्वान व्यक्तित्व त्यहाँ कार्यरत थिए । त्यहाँका किताबहरु र पाण्डुलिपिको सुरक्षाका लागि किरा मार्ने औषधि स्प्रे गर्थे उनीहरु । त्यसका लागि उनीहरु आफै पैसा खर्च गर्दथे । तर त्यो तिनले माया गरेर राखेको दस्तावेज कहाँ छ, उनलाई थाहा छैन । 

पछि शब्दकोष प्रकाशित भयो । प्रयोगमा आयो । प्रकाशिनी समिति छोडेपछि उनी फेरि पठनपाठनमै फर्किएका थिए । त्यसैबेला उनलाई लाग्यो, एउटा वृहत् शब्दकोषको आवश्यकता अहिले पनि छ । 

त्यसपछि उनी हरेक वर्ष दुई तीन महिना नेपालका गाउँ गाउँ घुम्न थाले । २०१३ सालमा उनले सुरु गरेको शब्द खोजीको अभियानले लामो समय लियो । यसै क्रममा उनले मुलुकको ४ हजार २ सय ३८ वटा गाउँ घुमे । ती गाउँमा पुगेर उनले शब्द, भाषा र संस्कृतिको खोजी गरे । यसरी उनी २८ वर्ष घुमे र खोजी गरे शब्दशब्दको । शब्द खोजीका लागि यायावर जस्तै हिँडे उनी ।

एकपटक उनी काठमाडौंबाट गजुरी पुगे एकैदिनमा । यो १९ कोष जमिन हिँड्न कति सकस भयो होला, भन्न सकिन्न । घुम्ने क्रममा कहिलेकाही उनले योगी नरहरीनाथसँग पनि भेटे । नरहरीनाथ आफ्नो खोजमा हिँडेका थिए, उनी आफ्नो खोजमा । तर यो भेटले उनलाई शब्द खोज्न र गाउँ गाउँ घुम्न शक्ति मिलेकै थियो । 

यसरी दौड लगाएर, कुरा गरेर भाषाको खोजी गर्दै गए उनी । शब्द खोज्न अनेक जुुक्ति पनि लगाए । यसरी शब्दको भाषाको खोजी गर्दै जाँदा अनेक दुःख पनि पाए । तर दुःख पाए पनि शब्द खोज्नु उनको अभिष्ट थियो । 

उनले शब्दको खोजीमा २८ वर्ष बिताए । र, २०४४ सालदेखि सबै काम छोडेर उनी एकै थलोमा बसे, र लेख्नथाले शब्दसागर । उनी भन्छन्, ‘लगभग १३ वर्ष दुई महिना एकै थलोमा बसेर मैले नेपाली शब्दसागर तयार गरेँ । जसमा १ लाख ४३ हजार ७ सय ७८ शब्द छन् । जुन २०५७ सालमा प्रकाशित भयो ।’

नेपाली शब्दसागर प्रकाशनमा आइसकेपछि विवादमा पनि पर्यो । उनी गलत प्रवृत्ति भएकाहरुले यस किसिमको विवाद गर्दै आएको बताउँछन् । उनी सगर्व भन्छन्, ‘मेरो काम भाषाको सेवा गर्नु हो । मैले भाषाको सेवा गरेको हुँ ।’ चलनचल्तीको भाषा र व्याकरणलाई नै विकृत बनाउने, तोडमोड गर्नेहरुबाट अरु केही आशा गर्न नसकिने उनको भनाइ छ ।
शब्दसागरको काम सक्याएपछि उनी महाभारतलाई नेपालीमा लेख्ने काममा लागे । छ वर्षको समय उनको यसैमा बित्यो । त्यसपछि पनि उनले लेख्दै गए । छाप्दै गए । 
आज उनको ८२ वटा किताब प्रकाशित भइसकेको छ । र, ९९ वटा पाण्डुलिपि प्रकाशन कुरेर बसेको छ । 

नेपाली भाषा साहित्यका यी धरोहर शम्र्मा भन्छन्, ‘केही वर्षअघि आँखा कमजोर भएपछि चिकित्सक कहाँ जँचाउन जाँदा मलाई डाक्टरले भने– तीन सय चौसठी वर्षको मानिसले हेरेबराबर तिम्रो आँखाले हेरेको छ ।’

यति भन्दै उनी हाँसे । उनको मुहारमा एककिसिमको चमक थियो । उनी आफूले नेपाली भाषा साहित्यको सेवा गर्न पाएकोमा दङ्ग देखिन्थे । 

(शब्दकोषकार तथा साहित्य सर्जक वसन्तकुमार शर्मा नेपालको ९७ वर्षको उमेरमा निधन भएको छ । शनिबार नै उनको अन्त्येष्टि गरियो । यो सामग्री अर्काइभबाट लिएका हाैं )

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ८, २०७६  ०८:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC