site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
म बलात्कार गर्दिनँ

त्यस्तै एक वर्षअघि । काठमाडौंमा #मिटू अभियान अहिलेजस्तो ‘भूसको आगो’बनेको थिएन । एकाधले कार्यक्षेत्रमा आफूमाथि भएका यौनजन्य हर्कतबारे मुख खोल्ने जमर्को गरेका थिए । बाँकी जगत कानमा तेल हालेर बसिरहेको प्रतीत हुन्थ्यो ।

बेलैमा गाडी नपाएकाले एकजना महिला पत्रकारलाई बालाजु पुर्‍याउनुपर्ने भयो । अँध्यारो छिप्पिइसकेको थियो । काठमाडौंमा रातको समयमा गाडी भेट्टाउनै मुस्किल हुन्छ । रात परेपछि रेस्टुँरा र भट्टिमात्रै जाग्राम बस्ने काठमाडौंमा गाडी पाइहाले पनि चढ्नै मुस्किल । चढिहाले पनि पैताला अड्याउन मुस्किल । पैताला अड्याए पनि ज्यान जोगाउन मुस्किल । त्यही हैरानीले उनी मेरो साथ लागेकी थिइन् ।

बालाजु चोक काट्न मात्रै भ्याएको थिएँ । बसपार्कबाट रात्रीकालीन बसहरूको लाइन छुटिहाल्यो । मुस्किल भयो जाम छिचोल्न । धिमा गतिमा मोटरसाइकल माछापोखरीतिर अघि बढिरहेको थियो । अधबैंसे पुरुषको अश्लील आवाज कानमा ठोक्कियो ।

Agni Group

मोटर–ग्यारेजबाट बाहिरिँदै गरेका ती ‘उन्मत्त’ पुरुष ट्रक चालक रहेछन् । आफ्ना सहचालकलाई हातले जनेन्द्रिय (यौनाङ्ग)तिर इशारा गर्दै भद्दा गाली वर्षाइरहेको दृष्य निकै उदेकलाग्दो थियो ।

नजिकै बाटो हिँड्ने बटुवा र महिलाहरू देख्दा पनि उनी थामिएका थिएनन् । बरु झन् चर्को स्वरमा हातले गुप्ताङ्गको नापो देखाउँदै बोलिरहेको थिए, “तेरिमा..........! यी.... यो.... खा..!”

Global Ime bank

ट्रक चालकको अश्लील हर्कत र भद्दा गाली सुनेर मोटरसाइकल पछाडि बसेकी महिला पत्रकार रातोनीलो भइन् । उनको अनुहारको ताप तुरुन्तै शून्यमा झर्‍यो । आफ्नै मुखबाट मनलाग्दी शब्द उम्किएझैँ लाजले गलिन् । मुन्टो बाँसझैँ नुग्यो ।

केही बेरमा जाम खुल्यो । जाम खुल्नेबित्तिकै उनले मुख खोलिन्– “के महिलाले सार्वजनिक ठाउँमा यसरी छाडा र लाजमर्दो शब्द बोल्न सक्छन् ? पुरुषलाई जे पनि बोल्न छुट हगी ?”

मैले बिनासोच–विचार भनेँ– “सक्दैनन् । र, बोलेको सुनेको छैन पनि ।”

उनको ‘पुरुष’ शब्द सुनेर मभित्रको पौरुष ग्लानीले चुर्लुम्म भिज्यो ।

२०५४ को स्थानीय निर्वाचनपछि गाउँका पाखा–पहाड ताछ्न, कोतर्न शुरू भयो । वन–बुट्यानले ढाकेका थुन्सेली डाँडा डोजरले भकाभक भत्काए । भर्खर डोजरले खनेको आलो बाटो हेर्दै एकजना वयोवृद्धाले बडो उदेकलाग्दो आवाजमा भनिन्– “मोटरगाडी त खै कुन्नी, उरन्ठेउलाहरूको.... चाहिँ हेर्नुपर्ने होला !”

उनको निर्दोष रोष ती पुरुषप्रति लक्षित थियो– जो महिलाहरूकै सामुन्ने उभिएर, बिना हिच्किचाहट पिसाब तुक्र्याउँथे ।

खुला शौच गर्दा कदाचित् महिला आइहाले भने पनि उनीहरूको शीर शरमले खुम्चँदैनथ्यो । बरु ‘हग्नेलाई भन्दा देख्नेलाई लाज’ भन्ने लौकिक उक्तिलाई सम्झँदै लाजले आफैँ आँखा छोप्नुपथ्र्यो । र, तर्कंदै हिँड्नुपर्थ्यो ।

अहिले पनि सार्वजनिक ठाउँमा महिलाहरूले देख्नेगरी शौच गर्नुलाई पुरुषहरू लज्जाको विषय ठान्दैनन् । बरु बहादुरीका किस्सा बनाउँछन् ।

फलाना राणा, राजामहाराजाको यतिवटी जहान थिए, तै पनि महान थिए भनेर धमिराले निलिनसकेको इतिहासप्रति गर्वबोध छँदैछ ।

‘मर्दका दशवटी स्वास्नी’, ‘नामर्दकी स्वास्नी बन्नुभन्दा मर्दकी कमारी बन्नु बेस’ जस्ता अनगिन्ती मिथले आज पनि महिलामाथि शासन जमाइराखेकै छ । मर्दको मापन नै लिंगले गर्ने भएपछि समाजमा बलात्कार, व्यभिचार, यौन दूराचार नबढेर के बढ्छ ?

र त, बलात्कारका तारन्तारका समाचारले सभ्य र सुसंस्कृत समाजको अनुहारमा मोसो पोतेको छ । कोक्रामा, बाबुको काखमा सुतेकी काखेनानीदेखि सात दशक हिउँद उमेर पारगरेकी वयोवृद्धासम्म बलात्कारको चपेटामा पर्दा समग्र पुरुषजातीको निधारमा कलंकको टीका थोपरिएको  छ । आफूलाई पुरुष हुँ भनेर गर्व गर्ने सबैले यो टीका मेट्न भगीरथ यत्न गर्नुपर्ने देखिन्छ ।

‘समाजमा बलात्कार किन भयावह बन्दैछ ? किन असुरिक्षत बन्दैछन् हाम्रा छोरी–चेली ? कानुनका दफा र हरफले बलात्कार किन नियन्त्रण गर्न सकिराखेको छैन ? भनेर घोत्लिइरहँदा हामीले आफ्नै आचरणमा सुधार गर्नुपर्ने भएको छ । आनीबानी बदल्नुपर्ने भएको छ । कारण– सार्वजनिक चोक–चौतारा, गल्ली–गल्छेँडा, बाटा–घाटा वरपर बारम्बार प्रकट भइरहने हाम्रा सुषुप्त र जागृत मनोवृत्तिहरूले पनि बलात्कारजस्तो जघन्य अपराध घटाउन बल पुर्‍याइरहेका छन् । सघाउ पुर्‍याइरहेका छन् ।

भन्नै पर्छ–

हाम्रा दैनिक आचरण यस्ता छन्– जसले महिलालाई हिंसा सहन बाध्य बनाएको छ । 

हाम्रा दैनिक आचरण यस्ता छन्– महिलामाथि बलात्कारजस्तो जघन्य र अक्षम्य अपराध गर्न कुनै न कुनै तवरले उक्साएका छन् ।

समाजको विरोधाभाष

आजका मानिस निकै मनोसंकट र विरोधाभाषमा बाँचेको प्रतीत हुन्छ । लेख्छ एउटा, गर्छ अर्थोकै । भन्छ एउटा, हुन्छ अर्थोकै । बोली र व्यवहारमा तादात्म्य र एकरूपता छैन । र त, यतिवेला आफैँभित्रको अन्तरविरोध आधुनिक मानवजातीको मुख्य र प्रधान अन्तरविरोध बन्न पुगेको छ ।

यसले मिटू आन्दोलनलाई पनि अछुतो राखेको छैन ।

सानो उदाहरणको सहायता लिऊँ–

पछिल्लो समय निकै लोकप्रिय बनेको फेसबुक र माइक्रो ब्लगिङ साइट ट्वीटरमा बलात्कारी र दूराचारीलाई लक्षित गरेर उत्तेजक विचार र भावना अभिव्यक्त भएको पाइन्छ ।

भर्चुअल हुँदैनथ्यो भने बलात्कृत स्त्रीप्रतिको करुणा र सदाशयी अश्रुभावले फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जालका भित्ताहरू चुर्लुम्म भिज्दा हुन् ।  अखबारमा सानोतिनो आँसुको खोल्सै बग्दो हो ।

सामाजिक सञ्जालमा सक्रिय पुस्ता बलात्कारीप्रति आक्रामकै देखिन्छ । तर पनि समाजमा बलात्कार झन् ठूलो रोग बन्दैछ । र, कोही पनि महिलाले आफूलाई सुरक्षित महसुस गर्न सकिरहेका छैनन्, किन ?

यसको सोझो उत्तर हो– हामी जस्तो देखिन्छौँ, त्यस्तो हुँदै होइनौँ । जस्तो लेखिएका, पढिएका र बुझिएका छौँ, त्यस्तो छैनौँ पनि ।

हामी (पुरुष) भित्र अर्को पुरुष लुकेर बसेको छ । र, मौका मिल्नासाथ डरलाग्दो अवस्थामा प्रकट हुनसक्छ । महिलालाई रगतको आहालमा पौडी खेलाउन सक्छ । र त, जसरी समाजमा यौनजन्य दुव्र्यवहार झेलेका महिला भेट्न गाह्रो छ । त्यसैगरी जीवनकालमा यौन दुर्व्यवहार नगरेका पुरुष पनि भेट्न गाह्रो छ ।

तर पनि बलात्कारी र दूराचारहरूले घेरिएको हाम्रोजस्तो पछौटे समाजमा मिटूको शक्तिशाली आँधी चल्न अझै केही समय पर्खनै पर्छ ।

किनभने शासन–सत्तामा मात्रै होइन, समाजमा पनि तिनै बलात्कारी र दूराचारीको बोलवाला छ । 

बोलबोल माछा मुखभरि पानी

समाजमा पितृसत्ताको दबदबा छ । समाजका तह र तप्कामा पनि पुरुष शासक छन्, महिला शासित र शोसित छन् । 

हाम्रो सामाजिक बनोट (संरचना) नै यस्तो छ– जसले महिलालाई माथि उठ्नै दिँदैन । न चर्को स्वर गर्न दिन्छ । एकाध महिला शासन–सत्ता र समाजको उपल्लो सत्तामा त छन् । उनीहरूको थाप्लामाथि पनि पितृसत्ताको तरबार झुन्डिएको छ । जतिबैले खसेर घाँटी छप्काउने भयले मुख बाँध्न विवश छन् । यस्तो लाग्छ– हाम्रा महिलाहरू गर्भमै अन्याय सहन सिकेर जन्मन्छन् । जीवन ‘भाग्य’ र ‘विधाता’कै परम्परागत उल्झनमा छ ।

धेरै समयअघिको कुरा हो––

संयोगवश म एउटा घर्ती गाउँ पुगेको थिएँ । पँधेरामा पाँचजना घर्ती महिलाहरू पानी थाप्दै रहेछन् । सानो, तिर्तिरे धारो । गाग्री भर्न लाग्ने समय एउटी निम्छरी महिलालाई हकारेर बिताउन थाले  । जसको पेट कुभिन्डोझैँ पुटुस्स उक्सिएको थियो ।

“कसको पाप बोकेकी होस् तँलाई नकटुवा...! मर्न नसकेर दशगाउँलाई किन भुँडी देखाउँदै हिँडेकी.... ?”

आफूसँगै पानी भर्न आएकी निरीह महिलालाई चारजना मिलेर हप्काउँदै थिए । उनीहरूको आँखामा ती महिला भयङ्कर अपराधी थिइन् । महिलालाई ठाउँ–कुठाउँ नंग्याउन पाए शान्ति मिल्छ ।

पुरुषसत्ताले टालो बाँधिदिएको उनीहरूको आँखाले पाप बोकाउनेलाई चाहिँ गाली गरेको सुनिएन । पुरुषलाई उनीहरू अपराधी नै मान्दैनथे कि ? या अकिञ्चन, अबला र अबोध महिलालाई पेट बोकाउने पौरुष र वीर्यवान् पो ठहरिन्थे कि ?

केही पछि सुने– गाउँलेहरूको छिःछिः दूर् दूर् शमन गर्न नसकेकी ती महिलाले केही महिनापछि गाउँ छाडिन् । के थाहा इन्द्रावतीको भँगालोलाई अँगालो पो हालिन् कि !

आजको महिलाहरूको नियति पनि ती घर्तिनीको भन्दा भिन्न छैन । पचाउनै नसकिने दुव्र्यवहार ओकलौँ भने समाजले उल्टै आफूलाई दोषी करार गर्देला र बदनामित हुनुपर्ला भन्ने भयले तिनका खुट्टा कुँजिएका छन् । ओठ बाँधिएका छन् ।

प्रतिष्ठित सञ्चारमाध्यममा काम गर्ने एकजना क्रियाशील पत्रकार आफ्नो अनुभव सुनाउँथिन्– प्रत्येक पुरुषभित्र महिलाभोगी प्रवृत्ति लुकेकै हुन्छ । र, त्यो पुरुष पत्रकारमा ज्यादा प्रकट हुँदो रहेछ !

न्युज रुम (समाचार कक्ष)मा बस्दा कहिल्यै बाइलाइनको प्रशंसा नगर्ने तर घर पुग्दानपुग्दै सुन्नुपर्ने पुरुष सहकर्मीका उचित–अनुचित प्रशंसा र टिप्पणीले उनी आहत थिइन् । र, वाक्क हुँदै भन्थिन्– “पुरुषभित्र मान्छे हुन्छ भन्ठान्थेँ, बलात्कारी पो लुकेको हुँदो रहेछ !”

झन्डै आधा दर्जन मिडिया चहारिसकेकी ती महिला पत्रकारको अनुभवलाई आधार बनाउने हो भने पनि यस्तो मिडिया भेटिन दुर्लभ छ– जहाँका पुरुष पत्रकारहरूले महिला सहकर्मीको वक्षस्थल हेर्दै आह्लादित नभएको होस् । पुट्ठो हेर्दै पुलकित नभएको होस् । प्रशंसा चुलिँदै गएर कलुषित प्रस्तावमा दुर्घटित नभएको होस् । कुनै न कुनै समय अनुचित प्रस्तावको सामना गर्न नपरेको होस् । काम सिकाइदिने बहानामा पत्तै नपाई यौनजन्य हर्कतको सामना गर्न नपरेको होस् ।

तर, विडम्बना नै मान्नुपर्छ मिटूको आँधीले यस्ता दूराचारीको रौँ पनि हल्लाउन सकेन ।

किन त ?

यसको पनि सपाट उत्तर छ– सञ्चारगृहमा आज पर्यन्त महिलाहरूको उपस्थिति नगण्य छ । ब्युरो प्रमुख, समाचार सम्पादक, सम्पादक तहसम्म महिला पत्रकारको क्षमता विकास गराउनै सकिएको छैन । 

औँलामा गन्न सकिने छन्, महिला सम्पादक । विडम्बना ! उनीहरूको आवाजले पनि पुरुषको भीड छिचोल्न सकेको छैन । पुरुषसत्ताको भीडभाडमा कतै अलमलिएको छ । भनौँ न, उनीहरूको कलमलाई पितृसत्ताको डरलाग्दो छायाले पछ्याइरहेको छ । समाजलाई सु–सूचित र दिशाबोध गर्नुपर्ने मिडियाजगत पनि दूराचारीको हुँकारमै अलमलिएपछि बलात्कार जागृत र चेतनशील समाज निर्माणको मुख्य बाधक बनेको छ ।

अतः बलात्कारको जरोकिलो उखेल्ने मुख्य दायित्व समग्र पुरुषजातीकै काँधमा आएको छ ।

प्रिय पुरुष !

म भन्दिँन– पुरुषहरूले मात्रै बलात्कार गर्छन्, विकृत मनोदशाबाट पुरुष ग्रसित हुन्छन्, महिलाहरूलाई यसले छुँदैछुदैन । महिलाहरूका कारणले पनि कयौँ घर दुर्घटित, विघटित बनेका छन् । परिवार क्षतविक्षत् बनेका छन् । महिलाहरूको यौनविकारको सिकार पुरुष पनि हुनुपरेको दृष्टान्त पनि होलान् ।

तर, यत्तिचाहिँ निर्धक्क भन्न सक्छु– महिलाले बलात्कार गरेकाले पुरुषले मृत्युवरण गर्नुपरेको छैन । यौनविकृत महिलाका कारण नाबालकले ज्यान गुमाउनुपरेको छैन । वयोवृद्ध रगतको भेलमा डुबेका छैनन् । कलुषित डिम्बका छिटा जीवनभर बोकेर हिँड्नुपरेको छैन ।

पछिल्लो समय महिला सशक्तिकरणमा क्षेत्रमा धेरै काम भएको छ । शासन–व्यवस्थाको उपरि संरचनासम्म महिलाको पहुँच सुनिश्चत भएको छ ।

तथापि आज पनि पितृसत्ताले महिलालाई ‘यौनदासी’कै रूपमै हेर्छ ।

प्रिय पुरुष ! ‘म बलात्कार गर्दिनँ’ भनेर आ–आफ्नो क्षेत्रबाट सबैले प्रण गर्ने हो भने महिला स्वयं सशक्त हुन्छन् । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ८, २०७६  १४:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC