काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार अपराह्न श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेसँग फोनमा कुराकानी गर्दै बम बिस्फोटनको घटनामा कैयौं निर्दोषहरुको ज्यान गएकोमा दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले फोन वार्ताका क्रममा आफ्ना समकक्षी मार्फत श्रीलंकाली जनताप्रति हार्दिक समवेदना प्रकट गरेको सचिवालयले जनाएको छ ।
कुराकानीका क्रममा प्रधानमन्त्री ओलीले बिस्फोटमा परी जीवन गुमाउनेहरुप्रति श्रद्धासुमन अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । प्रधानमन्त्री ओलीले भने, “श्रीलंकाका विभिन्न स्थानहरुमा भएको श्रृङ्खलावद्ध वम आक्रमणमा परी कैयौं निर्दोषहरुले जीवन गुमाउनु परेको घटनाले मलाई अत्यन्त दुःखी बनाएको छ ।”
प्रधानमन्त्री ओलीले फोन संवादका क्रममा नेपाल सरकारले जुनसुकै रंग र रुपको आतंकवादको विरुद्धमा उभिने आफ्नो सैद्धान्तिक अडानअनुसार मानवता विरोधी घटनाको भत्सर्ना गरेको बताए ।