ओम गुरुङ कक्षाका चल्तापूर्जा विद्यार्थी । पर्वत चित्रे छँदै उनले मनमा सहरको सपना कुँदेका थिए, एलएलसी पास भएपछि काठमाडौं झर्छु, साइन्स पढ्छु, डक्टर बन्छु । भिनाजु (बलबहादुर गुरुङ) खानेपानी संस्थानका सेकेन्ड क्लास अफिसर थिए । उनले भने, “एग्रिकल्चरमा भविष्य राम्रो छ । एग्रिकल्चर पढ्यो भने एकैपटक थर्ड क्लास अफिसर भइन्छ ।” त्यसैले उनले ओमलाई लम्जुङको सुन्दर बजारमा रहेको कलेजमा एग्रिकल्चरमा भर्ना गरिदिए ।
कहाँको पोखरा, कहाँको सुन्दर बजार । कहाँको गाउँ, कहाँको सहर । कहाँ मन परेको साइन्स, कहाँको एग्रिकल्चर । डाक्टर बनेर काँधमा स्टेथेस्कोप भिरेर बिरामीको धड्कन नाप्दै हिँड्ने डाक्टरको सान सौकत, कहाँको तरकारी र धान खेतीमा लागेको रोग र किराको पहिचान गर्ने जेटिए ।
गाउँको गाउँ नै बस्ने हो म जिन्दगीभर ?
अन्तर संघर्षले मन बेचैन हुन्थ्यो । करिब एक महिना पढेका थिए होला ओम । विद्रोह गरे । भिनाजुले भने, “मैले भनेको मान्दैनस् भने जे मन लाग्छ गर् ।”
पढाइ छोडे ओमले । झरे पोखरा सहर । साइन्समा भर्ना भए । साइन्स पढ्न पनि कहाँ सजिलो थियो र ? एक्लै बस्नुपर्ने । साथीहरूभाइहरूको त्यस्तै सङ्गत । साइन्सका मोटामोटा ठेली कण्ठस्थ पार्नुपर्ने । घरको आर्थिक अवस्था सवल थिएन । संघर्ष नै गर्नुपथ्यो पढ्नलाई पनि । ओमले थाहा पाए साइन्स पनि मेरा लागि होइन रहेछ ।
विकल्प ?
संकाय परिवर्तन गरे । साइन्स छोडे । कमर्स पढ्न थाले । साथीभाइ त्यस्तै फेला परे । पढ्न उत्प्रेरित गर्नेभन्दा पनि पढेर के हुन्छ ? भन्नेहरूको बाहुल्यता थियो ।
पहिलो वर्षको परीक्षा त दिए । तर नतिजा पक्षमा आएन ।
गोरखपुरको दुःख
ठिक त्यही बेला ओमलाई बुवाले भने, म तँलाई पढ्न पैसा पठाउने अवस्थामा म छैन । अब लाहुर जानुपर्छ । हिँड जाऊँ । भारतीय सेनाका अवकास प्राप्त बुवाले ओमलाई लिएर पुगे गोरखपुर । इन्डियन आर्मीमा भर्ती गराउन ।
बुवाले चिनेजानेकालाई भनसुन गरे । दाजु पनि इन्डियन आर्मीमै थिए । बुवाले सेनाका उच्च अधिकारीहरूसँग भेटाइदिए । उनको कुरा खाने रहेछन् केही भारतीय आर्मीमा । ओमलाई जागिर हुन्छ भने । तर प्रकृया पुर्याउनै पर्ने थियो । सहभागी भए ओम भर्ती प्रक्रियामा ।
बुवा फर्किएर आए । ओम एक्लै भए । छाती, हाइट नाप्ने, दौडिने काम सुरु भयो । दिनकै हुँदैन थियो । बोलाएको समयमा जान्थे । राम्रै भइरहेको थियो ।
०३८ सालमा गोरखपुरको दुःख सम्झिए ओमले, “गेष्ट हाउसमा बस्न गयो । कोठा देखाइदिन्थे । साँझ सुत्न गयो । एउटा कोठामा १२–१५ जना हुन्थे सुत्ने । टाउको राख्ने ठाउँ पनि हुँदैन थियो । खचाखच हुन्थे सुत्ने मान्छे । भात खाएको पैसा मात्रै लिन्थे गेष्ट हाउसमा । सुतेको पैसा लिँदैन थिए त्यो बेला । भेडाबाख्रा कोचिएझैं कोचिएर सुत्नुपथ्र्यो ।”
बुवा घर फर्किसकेका थिए । कोठामा १२–१५ जना बस्नुपथ्र्यो । चिनेको कोही हुँदैन थियो । आफ्नो सामान बचाउन पनि नसकिने अवस्था थियो । त्यसैले उनी गए इन्डियन आर्मीको लङ्गर हाउस । जहाँ लामो टहरोभित्र तख्ता जाडेर बनाइएका लहरै खाट राखिएको हुन्थ्यो । “भर्ती केन्द्रमा एक सुका तिरेपछि एउटा कम्बल दिन्थ्यो । मोहर तिर्छु दुइटा देऊ न भन्दा पनि नदिने नियम थियो,” ओमले सुनाए त्यो दुःख, “माघको चिसो महिना थियो । एउटा कम्बल ओढे ओछ्याउन छैन । ओछ्याए ओढ्ने छैन । त्यसैले आधी ओछ्याएर आधी त्यही ओढ्थेँ । जाडोले लुगलुग कमाउँथ्यो ।”
भर्तीको क्रम थियो । दिनकै पालो हुँदैन थियो । बोलाएको दिन मात्रै जानु पथ्र्यो । नबोलाएको दिन ओम सिनेमा हेर्न जान्थे । पोखराको पूर्णिमा हलमा सिनेमा हेरेका उनले गोरखपुरको सिनेमा हलमा अचम्म देखे । त्यहाँ त एकै समयमा एउटै हलमा दुईटा चलचित्र प्रदर्शन हुन्थे । अथवा एउटै सिनेमा घरमा दुईटा स्क्रिन । जुन हेर्न मन छ, छानेर हेर्न पाइने ।
वेटिङ लिष्टमा राख्यो ओमलाई भारतीय सेनाले । तर त्यो २८ दिन गोरखपुरमा जसरी गुजारे ओमले त्यो दुःख फेरि भोग्ने आँट उनमा बाँकी थिएन । त्यसैले उनी गोरखपुर फर्किएनन् ।
बुवाले भने, “तँ मैले भनेको मान्दैनस् । पढ्छु मात्रै भन्छस् । कस्तो पढ्छस् त्यो पनि थाहा छैन । पैसा थेग्न पनि म सक्तिन । जे गर्छस् गर् ।”
भिनाजुकै शरण
न रह्यो परिवारको साथ । न थियो खल्तीमा दाम ।
गर्ने के ?
चुनौतिको पहाड थियो । काँधमा जिम्मेवारीको भारी थियो । घरबाट सहयोग हुन छोड्यो । विकल्पमा सोचे ओमले काठमाडौं । भिनाजुलाई भने, “पढाई राम्रो गर्न सकिनँ । काठमाडौं नै आउँछु । तपाईंसँगै बस्छु नि हुन्छ ?”
भिनाजुले भने, “पढाईमा त तैले राम्रो गर्न सकिनस् । तँलाई जागिर खोजिदन्छु । काम गर् अब ।”
ओमका लागि काठमाडौं जानपहिचान थिएन । न काठमाडौं आफ्नो थियो । न काठमाडौंलाई उनको खाँचो थियो । मात्रै उनलाई काठमाडौंको खाँचो परेको थियो । काठमाडौंलाई आफ्नो बनाउनु थियो ।
जीजिविशा धान्न सजिलो थिएन । सँधै अर्काकोमा बसेर जिन्दगी चल्दैन थियो । त्यसैले काम त गर्नु नै थियो ।
गाउँकै दिदी पर्नेको ट्राभल एजेन्सी थियो न्युरोड गेटमा, ‘पोखरा ट्राभल एजेन्सी ।’
शैक्षिक ‘क्वालिफिकेसन’ एसएलसी पास मात्रै थियो । राम्रो जागिर के पाइन्थ्यो र ?
अफिस असिस्टेन्टको जागिर मिल्यो । सुरु गरे । ०३९ सालको जिन्दगीको कथा सुनाउँछन् ओम, “पुल्चोकमा कोठा थियो । ४५० रुपैयाँ तलब थियो । ११० रुपैयाँ घर भाडा तिर्थे । १७० रुपैयाँमा एक महिना खाना खाएको तिर्नुपथ्र्यो । अफिस जान १ सुका र फर्किदा १ सुका साझा बसमा भाडा तिर्नुपथ्र्यो ।
रञ्जना सिनेमा हल अगाडि होटल थियो । आरसी मःमः निकै लोकप्रिय थियो । प्लेटको २ रुपैयाँ २५ पैसा पथ्र्यो । खाजाका रुपमा त्यही खान्थे ।
गाउँले भाइ । त्यसमा पनि इमान्दार । ओमको जिम्मेवारी छोटै समयमा फेरियो । अफिसको साँचो उनकै हातमा आइपुग्यो । बिहान बेलुका अफिस खोल्ने र बन्द गर्ने जिम्मेवारी पाए ।
पैसा बच्दैन थियो । घर कसरी जाने ? अफ्ठ्यारो लाग्थ्यो । घर जाँदैन थिए ओम । बुवा ओमलाई भन्थे, “इन्डियन आर्मी २ वर्षमा बिदा आउँछ । मलाया (ब्रिटिस आर्मी) लाहुरे ४ वर्षमा छुट्टी आउँछ, तँचाहिँ कहाँको लाहुरे होस् ४ वर्षमा पनि घर नआउने ?”
७ वर्षमा घर
घर जान भाडा पनि बच्दैन थियो । कसरी जाने ? मन भएर पनि जान पाउँदैन थिए ओम ।
जिन्दगीका कष्टरकर दिन सम्झिँदै उनी भन्छन्, “०३९ सालमा काठमाडौं झरेको म एकैपटक ०४५ सालमा घर गएँ ।”
घर जानुको पनि छुट्टै कारण छ उनको ।
कस्तो ?
बुवा आमाले ओमका विवाह गर्ने निर्णय गरे । गुरुङ जाति । आफन्त–आफन्तबीच नै विवाह हुन्छ । कुरो छिनेपछि विवाहका लागि ओमलाई खबर आयो । मन थिएन विवाह गरिहाल्न । तर भिनाजुले कर गरे । सम्झाए । कुरो छिनिसकेको थियो । परिवारको इज्जतको कुरा पनि थियो । नगई नहुने भयो । ओम गए । विवाह भयो ।
नयाँ ठाउँ, पुरानै काम
विवाह गर्नु अगाडि भर्खर उनले निर्मल भण्डारीको ‘इन्द्र ट्राभल एजेन्सी’मा काम थालेका थिए । निर्मल ‘इन्द्र ट्राभल एजेन्सी’ पुलतीसडकस्थित आफ्नै घरबाट चलाउँथे । ओमले भने, “यसलाई ठमेल सारौं ।” अफिस सारे । काम चल्दै थियो । विजनेश बढ्दै थियो । पब्लिक रिलेसन (पीआर) बढ्दै थियो । उनलाई लाग्न थाल्यो, सधैँ अरुकोमा कति काम गर्ने ? आफैँ केही गर्ने की !
आफ्नै काम
‘पोखरा ट्रनभल्स’मा काम गर्दा ओमका साथी थिए टेकबहादुर गुरुङ र उज्वल अर्याल । उनीहरूसँग सल्लाह गरे, नयाँ ट्राभल एजेन्सी खोल्ने । कुरा मिल्यो । ०४५ ‘फेवा ट्राभल’ जन्मियो ।
ओम टिकेटिङमा थिए । त्यसको राम्रो जानकारी थियो । पीआर राम्रो थियो । ओमका साथीहरू टुरमा जानकार थिए । चाइनिज पर्यटकको भीड लाग्थ्यो ‘फेवा ट्राभल’मा ।
“मसँग एउटा हिरो होन्डाको बाइक थियो । त्यो बाइकमा हामी छिनमै जहाँ जानुपरे पनि जान्थ्यौं । निकै दुःख गरेर काम गर्यौं हामीले,” ओम भन्छन्, “दुःख गरे अनुसार राम्रो विजनेश पनि भयो । एक वर्षमा हामीले ७ लाख रुपैयाँ कमायौं खर्च कटाएर । ०४५ सालमा ७ लाख रुपैयाँ भनेको निकै ठूलो रकम थियो ।”
मोटरसाइकल मात्रै कति चढ्नु भनेर कार किने । अर्को वर्ष भ्यान किने । चार वर्षमा बस किने । पोखरामा होटल खोल्नलाई २७ लाखमा २२ रोपनी जग्गा किने । चाइनिज पर्यटकलाई लक्षित गरेर चाइनिज रेष्टुराँ खोले । चितवनमा ४५ लाखमा फेवा होटल किने ।
नेपालमा पहिलोपटक मनी एक्सचेन्जको लाइसेन्स वितरण गर्यो सरकारले । त्यसको लाइसेन्स लिए ओम र उनका साथीहरूले ।
नाम थियो ‘फेवा मनि एक्सचेन्ज’ । फेवा ट्रेडिङ पनि थियो । चेनकै रुपमा फेवा ग्रुप स्थापित हुँदै थियो ।
बिडम्बवना ! नेपाली प्रवृत्ति ओम, उज्जवल र टेकबहादुरमा पनि सायद देखा पर्यो । आफूआफू छुट्टाछुट्टै काम गरौं भन्ने मनस्थितीमा पुगे ।
झगडा गरेर छुट्टिनुभन्दा मनमुटाव नभई छुट्टिनु बेस भन्ने तीनै जना निष्कर्षमा पुगे । १३ वर्ष सँगै काम गरेपछि उनीहरू अन्ततः सम्पत्ति बाँटफाँट गरे । एक जनाले होटल र ट्राभल एजेन्सी लिए, अर्कोले चितवनको होटल लिए । ओमको भागमा मनी एक्सचेन्ज र पोखराको जग्गा पर्यो । छुट्टिने बेलामा जम्मा दुई करोड ६५ लाख मूल्यांकन गरेका थिए उनीहरूले । “हाम्रो इन्टरनल भ्यालुएसन थियो त्यो, बाहिरी मूल्य त्योभन्दा निकै धेरै थियो,” उनले भने ।
माओवादी–सरकार विद्रोहपछि
मनी एक्सचेन्ज चलाइरहेका थिए ओम । कुरिनटारमा केबलकार सुरु भयो । त्यही वर्ष कुरिनटार पुगेर उनले ‘मनकामना भिलेज रिसोर्ट’ खोले । रिसोर्ट राम्रै चलिरहेको थियो ।
माओवादी–सरकार द्वन्द्व सुरु भयो । त्यसको असर होटल व्यवसायमा पनि देखिन थाल्यो । काठमाडौं बाहिर त्यसको असर झन बढी थियो ।
मजदुर आन्दोलन देशभर चर्किएको थियो । ‘मनकामना भिलेज रिसोर्ट’ मा पनि त्यसको प्रभाव देखियो । झण्डा गाडेर मजदुरहरू काम गर्थे । देशैभर मजदुर र मालिकबीच दरार पैदा भएको थियो । “काठमाडौं बाहिर सुरक्षाका हिसावले पनि डर थियो । राति श्रमिकसँग झगडा परेर कसैले मारेर राति नै त्रिशूलीमा फ्यालीदियो भने लास पनि भेटिदैन थियो । मिलेन भने पोखराको जग्गामा सुकुम्बासी राख्दिन्छौं भन्ने धम्की आउन थाल्यो । मैले त्यो सहन सकिन र होटल व्यवसायबाटै हात झिकें,” उनले सुनाए ।
हाइलाइट्स नेपालको यात्रा
होटल व्यवसाय सञ्चालन गर्नु जिन्दगीकै रिस्क उठाउनु थियो । विकल्प खोजिरहेका थिए ओम । उनले सुने, हाइलाइट्स नेपाल बिक्रीमा छ रे ! हाइलाइट्स नेपालले त्यो बेला एयरपोर्टमा एयरलाइन्स र क्यासिनोको ब्रान्डिङ गथ्र्यो । केही होटलको पनि ब्रान्डिङ गथ्र्यो । अथवा विदेशी पयर्टकको आँखा जहाँ जेमा पथ्र्यो त्यही डिस्प्ले गथ्र्यो ।
ओम नयाँ कामको खोजीमा थिए । हाइलाइट्स नेपाल किने । पार्टनरसिपमा । अहिले पनि हाइलाइट्स नेपाल पार्टनरसिपमा छ ।
संगीतकार पूर्ण नेपालीले एक दिन भने, “मेरो छोरो इन्डियामा कम्युनिकेशन इन्जिनियरिङ गरेर फर्किएको छ । नेपालमै केही नयाँ काम गरौं भन्ने सोचमा छ । तपाईंसँग सल्लाह गर्नुपर्यो ।”
भेट भयो । उनले भने सीआरबीटीको काम गर्न सक्छु । ०६५ सालको कुरा सुनाउँछन् ओम । “त्यो बेला सीआरबीटी नेपालमा आइसकेको थिएन । हामीले फिजिबिलिटी अध्ययन गर्यौं । भारतमा भइरहेको प्राक्टिस हेरे । डाटा संकलन गरे । रेभिन्यू कसरी, कति आउँछ सबै अध्ययन गरेर नेपाल टेलिकममा प्रपोजल हाल्यौं,” ओम पीआरबीटीको भ्रुणको कथा भन्छन्, “टेलिकिमले हामीलाई भन्यो, तिमीहरूसँग कुनकुन म्युजिक कम्पनी सहकार्य गरिरहेका छन् ? हामीले भन्यौं । पहिला प्लेटफर्म तयार भएपछि हामीसँग म्युजिक कम्पनीहरू आइहाल्छन् नि । तर हामीलाई टेलिकमले लाइसेन्स दिएन । त्यसपछि त्यो बेलाको म्युजिकको सबैभन्दा ठूलो कम्पनी म्युजिक नेपाललाई दियो । हामीलाई दिएन । कन्सेप्ट हामीले तयार पार्यौं तर अरुले नै लाइसेन्स लियो ।”
सीआरबीटीको कम्पनी एउटैमात्रै भयो । प्रतिस्पर्धीको खोजी हुन थाल्यो । त्यसपछि हाइलाइट्स नेपालले पनि लाइसेन्स पायो । लाइसेन्स लिएपछि हाइलाइट्स नेपालले म्युजिक कम्पनीहरूसँग सहकार्य गर्न थाल्यो । कतिले सहजै विश्वास गरे । कतिले तपाईंहरू नयाँ हुनुहुन्छ विश्वास गर्ने आधार के ? प्रश्न गर्थे । अविश्वास गर्नेलाई हाइलाइट्स नेपालले एड्भान्स दिएर सम्झौता गर्दै गयो ।
एक वर्ष निकै गाह्रो भयो । नाफा भएन । म्युजिक नेपाल फणा फिजाएर दशकौंदेखि एक छत्र राज गरेर बसेको थियो । उसको लिगेसी चिर्नलाई सहज थिएन । नेपालमा अपेक्षित सफलता हात पार्न नसकेको हाइलाइट्सले मलेसियाको दूरसञ्चार कम्पनीसँग सम्झौता गर्न सफल भयो । अन्तर्राष्ट्रिय जगतमा नेपाली सीआरबीटी लैजाने हाइलाइट्स पहिलो कम्पनी भयो । त्यसपछि हाइलाइट्स खाडी राष्ट्रमा गयो । त्यहाँबाट राम्रो रेभिन्यू आउन थालेपछि अरु म्युजिक कम्पनी पनि ओमसँग सहकार्य गर्न आइपुगे । “कालान्तरमा हामी यस्तो अवस्थामा आइपुग्यौं । हामीले सीआरबीटीमा अरु सबै कम्पनीलाई उछिन्यौं । गायकगायिकाको मन जित्यौं । म्युजिक कम्पनीको मन जित्यौं । हामी राम्रो गीतसंगीतलाई रेकर्डिङ गर्नुपूर्व नै आर्थिक अभाव भयो भने एड्भान्स दिन्थ्यौं,” ओम भन्छन्, “अरुमा आर्थिक पारदर्शिता छैन भन्ने गुनासो आइरहेका बेला हामी व्यक्ति स्वयम्ले टेलिकम र एनसेलबाट कति सीआरबीटी डाउनलोड भयो हेर्न सक्ने व्यवस्था मिलायौंं । अरुमा तीन महिना कुर्नुपथ्र्याे सीआरबीटीको रोयल्टी लिन तर हाम्रोबाट दिनकै लैजान पनि सकिन्थ्यो । हाम्रो पोलेसी नै हाइलाइट्स नेपाल आऊ एनी टाइम पैसा लैजाउ भन्ने थियो ।”सीआरबीटी सुरुका वर्षमा जसरी आक्रमक रुपमा आएको थियो, त्यही गतीमा सुस्तायो पनि । फलतः सीआरबीटीमा मात्रै भर परेर संस्था चलाउन सक्ने अवस्था रहेन ।
विकल्प खोज्नुपर्ने भयो । आँखा पुग्यो चलचित्रमा । विभिन्न देशमा विदेशी चलचित्र चल्छन् । नेपाली चलचित्र किन नचलाउने ? आँटेर मात्रै हुँदैन थियो । त्यसको बजार पनि अध्ययन गर्नुपथ्र्यो । कति देशमा ओम आफैँ गए । कति देशमा अरुलाई पठाए । अध्ययनले देखायो– सुरुमा गाह्रो होला, तर सकिन्छ । नेपाली चलचित्र विदेशमा बजार खोज्न हामी सुरु गर्नुपर्छ । त्यसअघि विदेशमा चलचित्र नदेखाइने होइन । तर ती व्यक्तिगत सम्बन्धका आधारमा कुनै थिएटरमा एकाध घण्टा किनेर देखाइन्थ्यो । ओमको उद्देश्य अर्कैै थियो । हलमा टिकट काटेर हेर्ने बनाउने थियो ।
अर्को, एउटै चलचित्रमा चारपाँच वटा गीत हुन्छन् । टिजर र ट्रेलर हुन्छन् । सिङ्गो चलचित्र त छँदैछ । बुद्धि, विवेक र क्रिएसन भए अरु पनि सामग्री हुनसक्छ चलचित्रमा ।
त्योभन्दा पनि पहिलो चलचित्रलाई विदेश लैजान पनि सकिन्छ । विभिन्न देशका विभिन्न फिल्म कम्पनी, नेपालीकै कन्सल्टेन्सी तथा कम्पनीहरूसँग सम्झौता गर्न थाले । नेपाली चलचित्रको राइट्स बेच्न थाले ।
चार वर्ष अगाडि फर्किन्छन्, “राम्रै भइरहेको थियो । कति देशमा चलचित्र हलमा टिकट काटेर हेर्न थालिएको थियो । म राम्रा चलचित्र मात्रै लगिरहेको थिएँ । क्वालिटीयुक्त चलचित्र लगेर नेपाली चलचित्र पनि राम्रा हुन्छन् भन्ने स्थापित गराउनु थियो । नेपाली मात्रै होइन विदेशीलाई पनि नेपाली चलचित्र हेर्न आउने बानी बसाउनु थियो,” ओम सुनाउँछन्, “नेपाली चलचित्र सबै मेरो हातमा थिएनन् । म सबै चलचित्रको राइट्स किन्न सक्तिन थिएँ र सके पनि नराम्रा चलचित्र लैजान्न थिएँ । तर ब्याडलक ! केही व्यक्ति र कम्पनीले जस्ता पनि चलचित्र लिएर विदेश जान थालेपछि नेपाली चलचित्र राम्रा हुँदैनन् भन्ने छाप छोटै समयमा पर्यो । बन्दै गरेको विदेशी बजार भत्कियो ।”
राम्रो चलचित्र निर्माणका लागि ओमले चलचित्रकर्मीलाई सकेको सहयोग गर्दै आएका थिए । राम्रो चलचित्र बन्छ भने किन सहयोग नगर्ने भन्ने उनको मनासय थियो । चलचित्र निर्माण अगाडि उनी २०–२५ लाखदेखि करोडसम्म एड्भान्स दिन्थे । तर अस्वस्थ प्रतिस्पर्धाले विदेशी मात्रै होइन स्वदेशी बजार पनि थलियो ।
लगानी फर्किँदैन भने करोड–करोड केका लागि लगानी गर्ने ? प्रश्न खडा भयो । बजारले ओमलाई निराश बनाउन थाल्यो । सफेद मन बोेकेर सहयोग गरिरहेका उनलाई छक्का पञ्जा गर्नु छैन । अस्वस्थ प्रतिस्पर्धा गरेर कसैलाई छिर्के हानेर आफू अगाडि बढ्ने उनको स्वाभाव छैन । त्यसैले उनलाई लाग्न थाल्यो, “मैले कतै गलत क्षेत्रमा त हात हालिन । निष्कलंक मनले काम गर्छु भन्दा उल्टै पछि लाग्ने यो कस्तो प्रवृत्ति ? त्यसैले एक वर्ष यता मैले चलचित्रको डिजिटल र इन्टरनेशनल राइट्स लिन कम गरेँ ।”
अभाव पैसाको हो । पैसा भए काम गर्ने ठाउँ धेरै छन् । विकल्पहरू भेटिरहन्छन् । मात्रै त्यसलाई पहिचान गर्न सक्नुपर्छ । नेपालमा मात्रै होइन जुनसुकै देशमा पनि गएर केही नयाँ गर्न सकिन्छ ।
अहिले उनी नेपालमा रहेका सम्भावित विषय र क्षेत्रलाई कसरी विदेशसम्म लैजान सकिन्छ भन्ने सोचिरहेका छन् । अहिले ओमलाई नेपालको लोभलाग्दो सौन्दर्य र कल्चरलाई विदेशसम्म पुर्याउने रहर छ । त्यसकै लागि ओम अहिले नेपालमा छन् । टुर एन्ड ट्राभल्समार्फत् विश्वसामु नेपाललाई पुर्याउन कसरी सकिन्छ ? त्यसको खोजीमा छन् ।
“अब म चलचित्रमा लगानी गर्दिन । एकाध केही चलचित्रमा गरुँला तर ती चलचित्र त्यस्ता हुनेछन्, जसले नेपाली माटो देखिने छ । नेपालीपन र नेपालको पहिचान झल्काउने छन्,” करिब २५० चलचित्र हाइलाइट्स नेपालमा संग्रह गरेका ओम कुराकानीको बिट मार्दै भन्छन्, “बाँकी त मलाई पुग्यो । जतिसमय म चलचित्रमा बसेँ । कमाई हुन्छ भनेर नै बसेँ होला तर मेरो उद्देश्य फगत पैसा कमाउने मात्रै थिएन । चलचित्र उद्योगलाई केही सहयोग पुगोस् भन्ने पनि थियो । तर भएन ।”