पोखरा । गण्डकी मेडिकल कलेजका अध्यक्ष खुमा अर्याल १७ लाख धरौटीमा रिहा भएका छन् । कास्की प्रहरीले पक्राउ पूर्जी जारी गरेपछि उनी फरार थिए । तर, सोमबार अर्यालले वकिलसहित अदालतमा हाजिर भई धरौटी रकम बुझाएर रिहा भएका हुन् । उनीसँगै रिहा हुनेको संख्या ८ पुगेको छ ।
गण्डकी मेडिकल कलेजका विद्यार्थीहरुले ठगीको आरोपमा अर्यालसहित ११ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । विद्यार्थीहरुको जाहेरीका आधारमा कास्की प्रहरीले २ जनालाई पक्राउ समेत गरेको थियो । पक्राउ परेकाहरु गत चैत १८ गते नै जनही १७ लाख बुझाएर रिहा भएका थिए ।
कास्की प्रहरी प्रमुख ओम रानाले केही दिनअघि बाह्रखरीसँगको कुराकानीमा अदालतले दिएको तारिखमा उपस्थित नभएको खण्डमा मात्र प्रहरीले पक्राउ गर्ने बताएका थिए । “अदालतले तारिख हानेको छ, उक्त मितिमा नआएपछि प्रहरीले पक्रन पाउँछ,” उनले भने ।
तर, प्रहरीले भने विद्यार्थीहरुको किटानी जाहेरीको आधारमा २ जनालाई पक्राउ गरेको थियो । जिल्ला अदालत कास्कीको अनुमतिमा पक्राउ पूर्जी जारी भइसकेपछि प्रहरीले पक्राउ किन गरेन ? भन्ने प्रश्नमा रानाले भने, “उनीहरुले अदालतमा उपस्थित हुन पाउँछ, अदालतले प्रक्रिया अगाडि बढाउँछ, अदालती म्यादमा उपस्थित नभए प्रहरीले पक्राउ गर्ने प्रक्रिया अगाडि बढाउँछ ।”
यता, गत फागुन ३० गते उच्च अदालत पोखराले कलेजका अध्यक्ष खुमा अर्यालसहित ६ जनाले दायर गरेको निषेधाज्ञायुक्त रिटमा अन्तरिम आदेश दिन नमिल्ने आदेश जारी गरेको थियो । उच्च अदालतको उक्त आदेशानुसार प्रहरीले किटानी जाहेरीमा परेका बाँकी ९ जनालाई पक्राउ गर्ने बाटो खोलिदिएको थियो ।
तर, हालसम्मपनि फरार अन्य व्यक्तिहरु भने पक्राउ परेका छैनन् । उल्टै केही धरौटीमा रिहा भएका छन् । खुमा अर्याल सोमबार रिहा भए भने दिनेश पौडेल, युवराज शर्मा, कृष्णप्रसाद पौडेल यसअघि नै छुटेका हुन् ।
फरार रहनेमा प्रिन्सिपल डा. रवीन्द्रप्रसाद श्रेष्ठ, कर्मचारी हरिमाया ढुंगाना पौडेल र विश्वराज घिमिरे छन् । विद्यार्थीले ५३ करोड ठगी गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय र सम्पत्ति शुद्धिकरण विभागमा ११ जना सञ्चालकविरुद्ध उजुरी दिएका थिए ।