site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
३२ वर्ष बीबीसीलाई
Ghorahi CementGhorahi Cement

नरेश फुयाँल


जुद्ध शमशेरका खलक हुन् मणि राणा । उनको शरीरमा पाँच पुस्ताअगाडिका जुद्धको रगत बगिरहेको छ । आमा सुशीलाले सम्पूर्ण जीवन नारायाणहिटी दरबारमै बिताइन् । सुशीलाको आत्मवृतान्त पनि प्रकाशित छ, जसमा दरबार र राणाका धेरै कुरा समावेश छन् । करिब चार वर्ष रेडियो नेपालमा अंग्रेजी समाचार पढेका मणिले ३२ वर्ष विश्वकै प्रतिष्ठित रेडियो सेवा बीबीसीमा काम गरे । राणा खानदान, बीबीसीकोे जागिर— तर पनि बिहीबार सातदोबाटोमा भेट्दा उनमा न राणाको रवाफ देखिन्थो न बीबीसीको शान । आफ्नो निर्माणाधीन घरछेउको चौरमै बसेर आफ्नो सफलता र असफलताको कथा सुनाए—

० ० ०

Agni Group

जुद्ध शमशेरका खलक भएकाले घरमा रेडियो नहुने कुरै भएन । उमेर सानै भए पनि रेडियो सुन्थे मणि । अंग्रेजीमा समाचार पढ्ने एक जनाको अंग्रेजी सुनेर उनलाई लाग्थ्यो— के पढेको होला यस्तो ? यिनको भन्दा त मेरै अंग्रेजी राम्रो छ ।

शायद रेडियोमा काम गर्ने सुषुप्त इच्छा थियो त्यो । ती अंग्रेजी समाचारवाचकको नाम त थाहा छैन तर उनी महिला थिइन् । हुन त उनलाई नामै भनेर अरुको बद्ख्वाइँ पनि गर्नु छैन । सेन्टजेभियर स्कुलका विद्यार्थी भएकाले उनको अंग्रेजी राम्रै थियो । त्योभन्दा पनि उमेरै त्यस्तै थियो । आफूलाई संसारकै अब्बल ठान्ने अनि अरूका कमजोरी औंल्याउने । आफूलाई पत्रकारितामा आकर्षित गर्ने तत्व के हो, उनलाई थाहा छैन । शायद त्यही रेडियो नेपालले हुनुपर्छ ।

Global Ime bank

रेडियो नेपालमै काम गर्ने एकजना चिनेका व्यक्ति थिए । इन्जिनियरिङ शाखामा काम गर्थे । सन् १९६८ को एकदिन उनले मणिलाई भने, “रेडियो नेपालमा काम गर्ने हो ? अंग्रेजीमा समाचारवाचक मागेको छ ।”

खोजेकै त्यही, किन नगर्नू ?

मणि गए, रेडियो नेपाल । प्रचण्डमानसिंह प्रधान समाचार प्रमुख थिए । भोग्यप्रसाद शाह कार्यकारी निर्देशक । अन्तर्वार्ता लिए । प्रचण्डमानले सोधे, “पत्रपत्रिका पढ्नुहुन्छ ?”

मणिः पढ्छु ।

प्रचण्डमानः के पढ्नुहुन्छ ?

मणिः लेटर टु दि एडिटर ।

शायद समाचार भन्नुपर्थ्यो कि ? उनलाई रेडियो नेपालले बोलाएन । कत्रो रहर र उत्साहले रेडियो पुगेका थिए मणि । क्षणमै धूलिसात भयो । अरूले नै अंग्रेजीमा समाचार पढ्न थाले । सुन्दा मनै कुँडिन्थ्यो तर पनि उपाय थिएन । सुनिरहन्थे ।

दुई महिनापछि—

प्रचण्डमानले मणिलाई अरूमार्फत बोलाउन लगाए । मणिले फोन गरे । प्रचण्डमानले भने, “भोलि बिहान ६ बजे रेडियो आउनू ।”

कतै पहिलाको जस्तै त हुने होइन भनेर मनमा संशय थियो । आफैंले आफैंलाई सान्त्वना दिए । पहिलाको जस्तै नराख्ने भए किन बोलाउँथे ? मेरो बारेमा सबै कुरा त थाहा छँदै त छ । यो पटक त पक्का राख्छन् ।

मनमा अनेकथरी तर्कना उठ्थे । वादविवाद चल्थ्यो । कम आशंका र धेरै आशा भएको मन बोकेर जाउलाखेलबाट साइकल चढेर रेडियो नेपाल पुगे मणि ।

प्रचण्डमानले सोधे, “तपाईं के गर्दै हुनुहुन्छ ?”

मणिले भने, “केही गरेको छैन सर ।”

प्रचण्डमानले भने, “ल, त्यसो भए काम गर्ने हो भने भोलिबाट आउनुस् ।”

प्रचण्डमानले ‘भोलिबाट आउनुस्’ भनेपछि उनका शरीरमा काँडा उम्रिए । मुटु रबरको बलझैं उफ्रियो । फुरुंग मन बोकेर घर फर्किए । भोलिको प्रतीक्षा त्यति लामो कहिल्यै लागेको थिएन ।

\"\"

किन एकपटक फर्काइएका मणिलाई दोस्रोपटक रेडियोले आफैं खोज्यो ?

यो जिज्ञासाको जवाफ मणिलाई रेडियो नेपालले आजसम्म पनि स्पष्ट भनेको छैन तर उनले त्यहीँभित्रै अरूबाट सुनेका थिए । त्यो बेला दरबार रेडियो नेपाल सुन्थ्यो । तत्कालीन युवराज वीरेन्द्रलाई रेडियो नेपालमा अंग्रेजी समाचार पढेको मन परेन । उनले असन्तुष्टि जनाए । त्यसपछि उनको विकल्पका रूपमा मणिलाई बोलाइयो । मणि भन्छन्, “मलाई यो कुरा आधिकारिक व्यक्तिले भनेको होइन । त्यहीँभित्र काम गर्नेबाट सुनेको हुँ ।”

सन् १९६८ डिसेम्बर २५ (क्रिसमस)को दिन उनलाई प्रचण्डमानले भने, “आज तपाईंले समाचार पढ्नुपर्छ है ।”

मणि त्यो पहिलो दिनको अनुभव सुनाउँछन्, “पहिलो दिन माइक फेस गर्दा मनै दंग भयो । थोरै डर र धेरै उत्साह बोकेर स्टुडियो छिर्दा अवसरले मन फुरुंग थियो भने डरले भारी पनि भएको थियो । पहिलोपटक समाचार पढ्दा डर लागेको थिएन भनें भने मैले ढाँटेको हुन्छ ।”

० ० ०

राजा वीरेन्द्रको राज्याभिषेकको दिन (२०३१ फागुन १२) मणिले आजसम्म बिर्सिएका छैनन् ।

१० मिनेटको समाचार बुलेटिन हुन्थ्यो । तर, त्यो समय दरबार र पञ्चायतको अर्डर चल्थ्यो । उनीहरूले जे भने, त्यही चल्थ्यो । दरबार र पञ्चायतको समाचारलाई न समय चाहिन्थ्यो न समाचार बुलेटिनको पूर्वनिर्धारित समाचारले छेक्न सक्थ्यो ।

त्यो दिन राजा वीरेन्द्रको राज्याभिषेक थियो । मणि समाचार पढ्न स्टुडियो पसे । राजा वीरेन्द्रले नेपाललाई शान्ति क्षेत्र प्रस्ताव गरेका थिए । सोही विषयसँग सम्बन्धित विभिन्न समाचार आए— एकपछि अर्को । १० मिनेटको समाचार बुलेटिन लम्बिएर आधा घण्टा पुग्यो । एक्लै पढे मणिले ।

दरबार पहिलो प्राथमिकतामा । त्यसपछि प्रधानमन्त्री, मन्त्री, सांसद्, राष्ट्रिय पञ्चायतका सदस्य, अञ्चलाधीश थिए । यही क्रमअनुसार रेडियो नेपालले समाचार प्रसारण गथ्र्यो । जसले जतिसुकै महत्वको कुरा बोलोस्, दरबार र प्रधानमन्त्रीको समाचारका अगाडि त्यसको अर्थ हुँदैनथ्यो ।

शनिबारको दिन थियो । दरबारका सदस्य, प्रधानमन्त्री, मन्त्री, सांसद्, राष्ट्रिय पञ्चायतका सदस्य, अञ्चलाधीश कसैले कतै बोलेको समाचार आएन । भियतनाम युद्ध उत्कर्षमा पुगेको थियो । त्यही समाचार सबैभन्दा शुरुमा पढ्नुपर्ने भयो ।

समाचार पढ्न मणि स्टुडियो पसे । उनले पढे, “दिस इज रेडियो साउथ भियतनाम । द न्युज रिड बाइ मणि राणा ।”

दिमागमा ‘साउथ भियतनाम’ खेलिरहेको थियो । त्यही जिब्रोबाट अचानक फुस्कियो ।

अनि ?

तत्कालै सच्याए मणिले । ‘रेडियो नेपाल’ भने ।

दिन बिग्रिएका रहेनछन् । शायद भाग्य बलियो थियो । दरबार, मन्त्री, सांसद्, रेडियोकै हाकिम कसैले सुनेका रहेनछन् । कसैले केही भनेन । धन्न बच्यो उनको जागिर ।

अर्को किस्सा पनि सुनाउँछन् मणि । राजा महेन्द्रको समाचार थियो । त्यही समाचारसँग त्रिभुवनको पनि प्रसंग जोडिएको थियो । दरबारको जगजगी कतिसम्म थियो, समाचार पढ्नुअघि मणिको मनमा उठेको प्रश्नले पनि प्रष्ट पार्छ । हातमा समाचार बोकेर स्टुडियो छिर्दै गर्दा उनको मनमा एउटा प्रश्न हुत्तिएर आयो— ‘राजा महेन्द्र’को ठाउँमा मैले ‘राजा त्रिभुवन’ पढें भने के होला ?

कस्तो होस् ? समाचारमा उनले ‘किङ त्रिभुवन’ पढे । फेरि माफी मागेर सच्याए ।

० ० ०

अर्थ मन्त्रालयको वैदेशिक सहायता शाखामा मणिका साथी लभबहादुर कार्की काम गर्थे । उनले मणिलाई लन्डनबाट तालिमका लागि अवसर आएको सुनाए । पत्रकारिताको तालिम थियो । सन् १९७० को कुरा सम्झिए मणिले । रेडियो नेपाल पुगेर प्रचण्डमानलाई भने । तर, मणिभन्दा सिनियर पत्रकार जाने टुंगो लागिसकेको रहेछ । 

अर्को वर्ष पनि आयो कोटा । रेडियोले सोध्यो, “जाने हो ?”

खोजेको त्यही, पाएको अवसर किन गुमाउनू ? सन् १९७१ को जुनमा मणि लन्डन उडे, १० हप्ताको तालिम लिन ।

० ० ०

बीबीसी नेपाली सेवा शुरु भएको भर्खर तीन वर्षमात्रै भएको थियो । हप्ताको एक दिन शनिबारमात्रै प्रसारण हुन्थ्यो । यादव खरेल एक्लै थिए । यादवले भने, “आउनुस् मणिजी, पढ्नुस् ।”

एक पेज पढ्न दिए मणिलाई । पढ्न त पढे तर कहिले पनि नेपाली नपढेका मणिले कस्तो पढे होलान् ?

\"\"

उनी आफैं भन्छन्, “कहिल्यै पनि नेपाली नपढेको मैले पहिलोपटक पढ्दा कस्तो पढें होला ? अहिले मैले बोल्ने नेपाली र त्यो बेला बोल्ने नेपालीमा आकाश–जमिनको फरक थियो । नेपालीले पढेको हो कि अंग्रेजले पढेको हो जस्तो भएको थियो । त्यो टेप मैले अहिले सुन्ने हो भने म आफैंलाई लाज लाग्छ । तर, दुर्भाग्य त्यो टेप कता हरायो कता ।”

यादवलाई तत्कालीन राजा महेन्द्रले ‘फिल्म पढेर नेपाल फर्किएपछि मलाई भेट्नू, केही गर्नुपर्छ’ भनेका थिए । महेन्द्रलाई भारतीय ‘दूरदर्शन’को बढ्दो प्रभाव हटाउनु थियो । यादवलाई चलचित्रमा आफूलाई स्थापित गर्नु थियो । त्यसैले उनी बीबीसी छोडेर नेपाल फर्किन चाहन्थे । उनी आफ्नो ‘उत्तराधिकारी’ खोजिरहेका थिए ।

अंग्रेजको देशमा नेपाली बोल्ने कोही थिएन । यादवले मणिलाई जिम्मा दिए । संसारभर आफ्नो प्रभुत्व जमाएको बीबीसीमा काम पाउँदा किन नगर्ने ? शुरु गरे । ब्रिटिस काउन्सिलको छात्रवृत्ति बन्द गरेर बीबीसीले तलब दिन थाल्यो । शुरुमा ६८ पाउन्ड प्रतिमहिना दिएको बीबीसीले ७८ हुँदै ८० पाउन्ड बनाइदियो । डेढ वर्ष बित्यो ।

रेडियो नेपालले तारन्तार बोलायो । ब्रिटिस काउन्सिलले पनि फर्किनुपर्छ भन्यो । बीबीसीले आश्वासन दियो, “तिमी अहिलेलाई नेपाल जाऊ तर तिमीलाई हामी बोलाइहाल्छौं ।”

बीबीसीले बोलाउने भरोसामा १९७३ जनवरी १ मा मणि नेपाल फर्किए । रेडियोमा काम सुचारु गरे । रेडियोमा कार्यकारी निर्देशक भएर रामराज पौडेल आएका थिए । उनलाई मणि ‘लन्डन फर्किन्छु’ भन्थे । तर, उनी सुन्नै चाहँदैनथे । ‘हुँदैन’ भन्दै तर्किन्थे ।

बिहान र बेलुका ड्युटी थियो मणिको । तर, एकदिन दिउँसो रेडियो गएर रामराजलाई भने, “म केही दिनका लागि दिल्ली जानुपर्ने भयो । गएर आउँछु ।”

अप्रिलमा ‘दिल्ली जान्छु’ भनेर मणि लन्डन पुगे । उद्देश्य बीबीसीमा काम गर्ने थियो । बीबीसी गए ।

दुर्भाग्य ! बीबीसीले भन्यो, “रेडियो नेपालको स्वीकृतिबिना त राख्न मिल्दैन । सरी मिस्टर राणा ।”

उनको केही सीप लागेन । मणिले भने, “काम गर्न दिँदैनौ भने टिकटको पैसा फिर्ता गर्दिन्छु । अन्तै काम गर्छु ।”

बीबीसी मथ्थर भयो र भन्यो, “ल ठीक छ, हामी छलफल गरेर दिउँसो खबर गर्छौं ।”

बीबीसीले फेरि भन्यो, “तिमीलाई हामी राख्छौं । अर्को वर्क पर्मिट पनि बनाइदिन्छौं । तर, रेडियो नेपाल गएर स्वीकृति लिएर आऊ । अप–डाउन टिकट हामी दिन्छौं ।”

आश्वस्त भए मणि । पुगेको एक हप्तामा उनी नेपाल फर्किए । रेडियो नेपालमा गएर रामराजलाई भने तर उनले मानेनन् । सहकर्मी विन्दुध्वज अधिकारीले उपाय सुझाए, “दरबार गएर संवाद–सचिव चिरण शमशेर थापालाई भेटेर भन्न लगाऊ । काम हुन्छ ।”

नारायणप्रसाद श्रेष्ठ पनि दरबारकै सचिव थिए । उनलाई गुहारे मणिले । श्रेष्ठले भने, “यो मेरो विभागमा पर्दैन, चिरण शमशेरलाई भन्दिन्छु । उसलाई गएर भेट ।”

रानीपोखरीको छेउमा पार्क रेस्टुरेन्ट थियो । त्यहीँ गएर उनले चिरणलाई फोन गरे । अंग्रेजीमा आफ्नो कुरा राखे । चिरणले भने, “दरबारमा आऊ । कुरा गरौंला । तर, दरबारमा आउँदा नेपाली टोपी लगाएर आउनुपर्छ है ।”

मणिको उद्देश्य लन्डन पुगेपछि फर्किएर आउने त थिएन तर उनले चिरणलाई भने, “लन्डनमा केही समय काम गरेर म नेपाल नै आउने हो । उताको अनुभव रेडियो नेपालमा नै आएर प्रयोग गर्ने हो ।”

“मैले भनेको चिरण शमशेरले पत्याए कि पत्याएनन् थाहा छैन तर मलाई अहिले लाग्छ— के पत्याए होलान् र ?” मणि अलिकति आफूले गर्न खोजेको बठ्याइँ सम्झिन्छन् । हुन त रेडियो नेपालमा मणिको जागिर करारको थियो । जुन दिन रेडियोलाई चित्त बुझ्दैनथ्यो, निकाल्दिन्थ्यो ।

चिरणले उनीसँग राम्रै कुरा गरे, “सञ्चार मन्त्रालयको सचिव फेरिन लागेको छ । नयाँ सचिव आएपछि भन्दिन्छु । तिम्रो काम हुन्छ । ढुक्क होऊ ।”

मणि सञ्चार मन्त्रालयको फोन कुरेर बस्न थाले । रेडियो नेपाल गएका बेला बाहेक अफिस टाइममा टेलिफोनकै छेउछाउमा बस्थे ।

साढे २ बजे चिरण शमशेरले फोन गरेर आफूले सचिवलाई भन्दिएको बताए । ‘मन्त्रालय जाऊ, काम हुन्छ’ भने । मणि दौडिएर मन्त्रालय पुगे । सचिवले ‘तपाईंको काम हुन्छ, बन्दोबस्त गर्दै गर्नू’ भने ।

काम भयो । जुनमा पुनः लन्डन उडे मणि । बीबीसीमा पुनः काम गर्न थाले । मणि हिसाब गर्छन्, “जम्मा ३२ वर्ष काम गरें बीबीसीमा ।”

० ० ०

रेडियो नेपालमा काम गर्दा जाँगरै नहुने मणिलाई बीबीसी गएपछि भने कतिबेला अफिस पुगेर काम शुरु गरौं भन्ने हुन्थ्यो । काममा स्वतन्त्रता थियो । काम गर्ने वातावरण थियो । कहिलेकाहीँ रेडियो नेपाल नगएर भोलिपल्ट स्पष्टीकरण लेख्न तयार हुने मणिलाई बीबीसीमा के कुराले ऊर्जा दिथ्यो ? भन्छन्, “शायद स्वतन्त्रता र जिम्मेवारी नै होला ।”

सन् १९७९ मा मणिको करार सकियो । खगेन्द्र नेपाली बीबीसीमा काम गर्न जाने भए । तर, केही दिन लाग्ने भयो । बीबीसीले उनलाई भन्यो, “अर्को मान्छे आउन केही दिन लाग्ने भयो । नयाँ मान्छे नआउन्जेल गर्देऊ है ।”

उनले ‘हुन्छ’ भने । मणिले बीबीसीसँग जिज्ञासा राखे, “म काम गरिरहेको छु । मेरो कन्ट्र्याक्ट रिन्यु गरेर राखे भैगयो । किन अर्को मान्छे राख्नु पर्‍यो ?”

ठोस जवाफ उनले त्योबेला पाएनन् तर उनले पछि सुने, “एउटै व्यक्ति, एउटै संस्था र पोस्टमा बसेर लामो समय काम गर्दा मोनोटोनस हुन्छ भनेर मेरो कन्ट्र्याक्ट रिन्यु नागरेको रे ! त्यो बेला निकै योङ थिएँ ।”

“पैसा बढाइदेऊ, म बस्छु,” उनले बार्गेनिङ गरे । बीबीसीले ‘सल्लाह गर्छौं’ भन्यो ।

बढाउन त बढायो तर वर्षको जम्मा १० पाउन्ड । बढाएको त्यो पैसा नगन्य थियो । तर, पनि उनले निरन्तरता दिए ।

एकदिन बीबीसीले तार गर्‍यो मणिलाई, “तुरुन्त अफिस आउनू ।”

प्रिन्स चार्ल्स नेपाल जाने भएका रहेछन् । उनको अन्तर्वार्ता लिनु पर्ने भएछ । बकिङ्घम प्यालेस पुगे मणि । नेपालमा जस्तै त्यहाँ पनि दरबारबाटै आउँथे अन्तर्वार्ताका प्रश्न । त्यही सोधे उनले पनि । तर, सडकबाट बकिङ्घम प्यालेस हेर्दै हिँड्ने मणिले त्यो दिन बकिङ्घम प्यालेसबाट सडक हेरे । बिल्कुल नौलो र दुलर्भ अवसर थियो त्यो उनका लागि । शायद कमै नेपालीले त्यो अवसर पाएका होलान् ।

० ० ०

एकफेर अधिराजकुमार ज्ञानेन्द्र लन्डन पुगेका थिए । बीबीसी टेलिभिजनले बोलाएको थियो अन्तर्वार्ताका लागि । अहिलेको जस्तो सहज प्रविधि थिएन । भारी रेकर्डर बोकेर उनी ज्ञानेन्द्र बसेकै ठाउँ पुगे । चिया खाँदै बसिरहेका थिए ज्ञानेन्द्र । उनले सीधै अन्तर्वार्ताका लागि आग्रह गर्न सकेनन् । बीबीसीबाटै गएका अर्का व्यक्तिलाई भन्न लगाए । 

ज्ञानेन्द्रले हाँसीहाँसी भने, “नट दिस टाइम, मे बी नेक्स्ट टाइम ।”

तत्कालिन अधिराजकुमार ज्ञानेन्द्रसँग अन्तर्वार्ता गर्ने उनको चाहना अधूरै रह्यो ।

० ० ०

सगरमाथा आरोहणको २५ औं वर्षगाँठ थियो । वर्षगाँठ समारोहको नेतृत्व गरिरहेका लोर्ड हन्ट र प्रथम सगरमाथा आरोही सर एड्मन्ड हिलारी लगायत टोली वेल्स पुगेका थिए । रिपोर्डिङका लागि मणि पनि वेल्स गए । सर एड्मन्ड हिलारी र लोर्ड हन्टसँग कुरा गरे । हिलारीसँग करिब १५ मिनेटको अन्तर्वार्ता लिए । लोर्ड हन्टसँग पनि अन्तर्वार्ता गरे । तर, हिलारीसँगको अन्तर्वार्ता रेकर्ड नै भएनछ ।

\"\"

डराई–डराई मणिले हिलारीसँग भने, “हामीले अघि गरेको अन्तर्वार्ता रेकर्ड भएनछ, पुनः एक पटक पाँच मिनेट कुरा गर्न सकिन्छ ?”

धन्न ! हिलारी ‘हुन्छ’ भने ।

० ० ०

विश्वेश्वरप्रसाद कोइराला लन्डन पुगेका थिए, स्वास्थ्य उपचारका लागि । तर, बीबीसी वल्र्ड सर्भिसले नेपाली सेवालाई खबरै नगरी उनलाई लन्चका लागि बोलायो । अहिले पनि त्यो खबर सुनाउँदा असन्तुष्ट सुनिन्छन् मणि । ध्रुवहरि अधिकारी पनि त्यो बेला बीबीसीमा काम गर्थे । दुई जना बीपी बसेकै ठाउँ पुगे । मणिले बीपीसँग समसामयिक राजनीतिका विषयमा कुरा गरे । ध्रुवहरिले साहित्यका विषयमा कुरा गरे । पञ्चायतको समय थियो । राजनीतिकै कुराको प्रधानता थियो । त्यो अन्तर्वार्ता बीबीसीले प्रसारण गरेन । “त्यो टेप मसँग अहिले पनि छ । बीपी मेमोरियल ट्रस्टलाई दिन मन छ,” मणि सुनाउँछन् ।

सन् २००३ मा मणिले स्वेच्छाले बीबीसी छोडे । १६ वर्ष भयो सक्रिय पत्रकारिताबाट विश्राम लिएको । तर, अहिले पनि उनको स्वर सुनेर ‘मणि राणा हो ?’ भनेर सोध्ने धेरै भेटिन्छन् । उनको स्वरको प्रशंसा गर्ने आज पनि उत्तिकै छन् ।

“मैले केही वर्षअघि एउटा अन्तर्वार्तामा भनेको थिएँ— नेपाली पत्रकारिता अराजक हुँदै छ । यसलाई बेलैमा नियन्त्रण गनुपर्छ,” मणि अन्तिममा भन्छन्, “मैले जति सोचेर त्यो भनेको थिएँ, त्योभन्दा पनि कयौं गुणा बढी अराजक भएको छ पत्रकारिता । क्रिएसनमा हुने अराजकता त स्वीकार्य हुन्छ तर छाडापनलाई भने ग्रहण गर्न सकिन्छ र ?”

तस्बिरः सरिता खड्का

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १४, २०७६  ०७:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC