राजेश खनाल
गएको आइतबार । पहिलो पटक चर्चित गायक दीपक खरेललाई भेटेको थिएँ, टंगालमा । त्यस दिन उनको नयाँ गीति एलबम ‘माई म्युजिकल ओडिसी’ सार्वजनिक हुँदै थियो ।
उनीसँग भेट्दा मेरो ध्यान उनको नयाँ एलबममा सङ्गृहीत सात वटा गीतमा थिएन । म सम्झिरहेको थिएँ करिब ३६ वर्षअघिको यो गीत—
बादल बनाइदेऊ आकार बदल्न सकूँ
क्षमता दिलाइदेऊ जिउँदै म जल्न सकूँ....
नीर शाहको शब्द रचना, शम्भुजित बाँसकोटाको संगीत अनि दीपक खरेलको मनमोहक आवाज । यो गीतले आज पनि उत्तिकै नशा लाग्ने गरी लठ्याउँछ !
दीपकसँग पहिलो पटक भेट्दा पनि मैले यही गीतको कुरा गरें । परिचय नै शायद यही गीतको प्रसंगबाट गरें । मैले ठीक गरें वा गरिनँ, त्यता सोचिनँ । उनले के सोचे, थाहा भएन ।
त्योबेला मनोरञ्जनको सबैभन्दा सजिलो र गतिलो माध्यम नै रेडियो थियो । फिल्म हेर्ने मेलोमेसो त्यति जुर्थेन । रेडियो घरमा मात्रै होइन, बजारमा पनि जताततै घन्किरहेको हुन्थ्यो । कतै विविध भारती, कतै रेडियो सिलोङ, कतै रेडियो नेपाल ।
त्यतिबेलै रेडियो नेपालबाट सुनिएका हुन्, दीपक खरेल र उनका दर्जनौं कालजयी गीतहरू ।
बिहीबार दीपकसँग दोस्रो भेट भयो ।
दीपकले ०३४ सालतिर रेडियो नेपालमा स्वर परीक्षा पास गरे, द्वारिकालाल जोशीको संगीतमा गौरी नेवाको गीत गाएर । गीत थियो ‘मैले रचेको गीत तिमीलाई भनेर नसम्झ...’
यही गीत उनको पहिलो रेकर्डेड गीत बन्यो । दीपक पनि रेडियोका गायक भए ।
यसरी गीत गाउन थालेपछि रेडियो नेपाल जाने–आउने क्रम बढ्नु स्वाभाविक थियो । तिनताक नाचघरमा कुनै कार्यक्रम थियो । दीपक कार्यक्रम हेर्न पुगे, नाचघर । त्यहीँ आएका थिए, शम्भुजित बाँसकोटा पनि । दीपक र शम्भुजितको पहिलो भेट त्यहीँ भयो । दुबैबीच परिचय पनि भयो ।
त्यसैबेला शम्भुजितले दीपकलाई भने, “तपाईंलाई मैले रेडियो नेपालमा देखेको थिएँ, तपाईंको गीत सुनेको छु । राम्रो गाउनुहुन्छ । मैले एउटा गीत लेखेर कम्पोज गरेको छु । गाउनुहुन्छ ?”
२०–२१ वर्षको उमेर, भर्खर स्वर परीक्षा पास गरेर गायक भएको । गीत गाइरहूँ जस्तो लाग्ने उमेरमा ‘गीत बनाएको छु, गाउने हो ?’ भनेर अफर गरिँदा नगाउने प्रश्नै उठेन । दीपकले शम्भुजितलाई ‘हुन्छ’ भने ।
केही दिनपछि डिल्लीबजारस्थित दीपकको घरमा शम्भुजित आए । उनले गितार बजाएर दीपकलाई सुनाए, गीतको शब्द र लय—
तिम्रो त्यो हसिलो मुहारको
झझल्को जब आउँदा
बिछोडका कुरा कल्पिन थाल्छन्
तिम्रो तस्बिरले चित्त बुझाउँदा....
दीपकले पनि धून सुने । गिटार उठाएर गाउन थाले, “तिम्रो तस्वीरले चित्त बुझाउँदा ...”
यो उनको जीवनको ‘ब्रेकथ्रु’ गीत बन्यो । शम्भुजित बाँसकोटाले लेखेको यो गीत त्रिविमा एमबीए गर्दै गरेका दीपकले साथीहरूलाई सुनाए । साथीहरूले वाहवाही गरेपछि कलेजकै कतिपय कार्यक्रममा उनले यो गीत गितार बजाएर गाए । कयौंपटक त्रिवि अडिटोरियममा गरिएको कार्यक्रममै पनि यो गीत सुनाए । रेकर्ड नहुँदै यो गीत चर्चित बन्यो । केही समयपछि मात्रै रेडियो नेपालमा रेकर्ड भयो ।
गीत रेडियोबाट बज्न थाल्यो । स्रोताले अत्यधिक मन पराए । दीपक र शम्भुजित दुबैको चर्चा भयो । हेर्दाहेर्दै दुबै सफलताको शिखरतर्फ उक्लिए ।
दीपक भन्छन्, “यो गीतले स्रोताको अपार माया पायो । यो गीत मैले छानेर गाएको थिइनँ । तर, मेरो सांगीतिक यात्राको शुरुआतै यहीबाट हुन गयो । मलाई लाग्छ– शम्भुजित बाँसकोटाको नाम र मेरो नाम शायद कहिल्यै छुट्न सक्दैन ।”
यो गीतले दीपक र शम्भुजित दुबैलाई सांगीतिक क्षेत्रमा स्थापित गरायो । ०३४ सालको अन्तिमतिरको कुरा हो यो ।
यो दोस्रो गीत रेकर्ड गरेर दीपक खोटाङको चिसापानी माध्यमिक विद्यालयमा विकासे शिक्षक (एनडीएस) भएर गए । एनडीएस अर्थात् राष्ट्रिय विकास सेवाअन्तर्गत उनले चिसापानीमा १० महिना विद्यार्थीलाई भ्याएसम्मका विषय पढाए । एनडीएसको विकासे शिक्षकको कामबाट फर्किंदासम्म शम्भुजितले अर्को एउटा गीत तयार गरिसकेका थिए—
पूर्णिमाको रात पनि
औंसीको झैं लाग्न थाल्यो
मेरो जीवन तिम्रो सिउँदो
कुन पापीले रंगाइहाल्यो....
यो गीत ०३६ सालतिर रेकर्ड भयो । जब यो गीत बनेर रेडियोबाट बज्न थाल्यो, दीपक र शम्भुजित बाँसकोटा एकपटक फेरि चुलीमा उक्लिए । यसपछि स्रोताले यिनका गीत खोज्न थाले । यो गीतमा फर्माइसी पनि खुबै आउँथ्यो । दैनिक पाँच–सात पटक यो गीत बजेकै हुन्थ्यो ।
यो प्रसंग सम्झिँदा दीपक भन्छन्, “कहिलेकाहीँ प्लान नगर्दा पनि राम्रो गीत उत्पादन हुन सक्छ भन्ने मलाई लाग्छ । त्यो बेला मेरो र शम्भुजितको ट्युनिङ मिल्यो । गीत पनि स्रोताले मन पराउने खालको बन्यो ।”
दीपक चिसापानीबाट फर्किसकेका थिए । त्यसैबेला एकदिन शम्भुजितले उनलाई गिटार बजाएर ‘पूर्णिमाको रात पनि औशीको झैँ लाग्न थाल्यो’ सुनाए ।
गीत राम्रो लाग्यो । यो गीत पनि उनले केही दिन गितार बजाएर अभ्यास गरे । अभ्यास गर्दैगर्दा आफ्ना साथीहरूलाई पनि सुनाए । साथीहरूलाई सुनाउँदा नै यो गीत पनि हिट भइसकेको थियो । स्रोताले यो गीत पनि मन पराउँछन् भन्ने दीपक र शम्भुजित दुबैले अनुमान गरिसकेका थिए ।
यो गीत रेकर्ड गर्न एकदिन बिहानै दीपक रेडियो नेपालको स्टुडियोमा गए । गाउन धेरै समय लागेन । दुई–चार टेकमै गीत ‘ओके’ भएको उनलाई सम्झना छ ।
त्यो समय रेडियो नेपालमा गीत रेकर्ड गर्न पाउनु पनि गाह्रो थियो । नातिकाजी, शिवशंकर, तारादेवी, मीरा राणाहरू गीत स्तरीय बनाउनमा विशेष ध्यान दिन्थे । त्यसैले राम्रो गीत छान्थे ।
राम्रा गायक र गीतलाई उनीहरूले रेकर्डिङका लागि कहिले झमेला नगरेको दीपक खरेलको अनुभव छ । सबै स्तरीयताकै लागि गरिएको थियो ।
दीपकको गीत मन पराउन थालेपछि रेडियो नेपालबाट उनले पनि गीत गाउने डेट सजिलै पाउन थाले । त्यसैले मौका मिल्यो कि गीत रेकर्ड गरिहाल्थे दीपक र शम्भुजित ।
गीतकार राजेन्द्र रिजालसँग दीपकको सम्बन्ध थियो । उनैले दीपकलाई अभिनेता नीर शाहसँग चिनापर्ची गराए । नीर कलाकारमात्रै नभएर कुशल गीतकार पनि थिए । यसरी नीर, राजेन्द्र, दीपक र शम्भुजितको सांगीतिक टोली नै बन्यो ।
त्यही बेला नीरले दीपकलाई भने, “एउटा गजल छ । गाउने हो ?”
दीपकले नाइ भन्ने कुरै भएन । शम्भुजितले नीरसँग गीतरचना मागे । अनि धूनमा काम गर्न थाले ।
एकदिन गजल प्याटर्नको त्यो गीत शम्भुजितले दीपकलाई सुनाए । दीपकले पनि गीतको अभ्यास गरे—
बादल बनाइदेऊ आकार बदल्न सकूँ
क्षमता दिलाइदेऊ जिउँदै म जल्न सकूँ...
यो गीत रेकर्ड गर्दा नीर र राजेन्द्र रेडियो नेपालको मास्टर कन्ट्रोल रुम (एमसीआर)मा बसेर सुनिरहेका थिए । दीपक गाउँदै थिए । शम्भुजित संगीतज्ञहरूलाई कन्डक्ट गर्दै थिए ।
दीपक सुनाउँदै थिए त्यो दिनको प्रसंग, “अन्ततः गीत रेकर्डिङ सकियो । सबै बाहिर निस्किए । नीर शाहले मेरो खुबै प्रशंसा गर्नुभयो । मलाई लाग्छ, शायद यो ईश्वरले दिएको गिफ्ट नै होला । मैले जति गीत गाएँ, सबै स्रोताले रुचाए ।”
गीत रेकर्डिङको कुरा गर्दा दीपकले रमाइलो प्रसंग उल्लेख गरे । उनका अनुसार त्यो बेला गीत रेकर्ड गर्न गाह्रो थियो ।
‘तिम्रो त्यो हँसिलो मुहार’ रेकर्ड हुँदै थियो । स्टुडियोमा सबै मिलेर एकसाथ गाउने, बजाउने काम हुँदै थियो । गायकले माइकअगाडि उभिएर गाउनुपथ्र्यो । माइकको अगाडि रेकर्डको सूचकका रूपमा हरियो बत्ती बल्थ्यो । त्यो बल्यो कि गोमन सर्प माइकअगाडि आएर फँणा फैलाएजस्तै अनुभूत दीपकलाई भएको थियो ।
यति भन्दै गर्दा उनी हाँसे । वास्तवमा कठिन थियो गीत गाउने काम पनि । गीत रेकर्ड गर्दा अलिकति पनि बिग्रियो कि पूरा गीत फेरि रेकर्ड गर्नुपथ्र्यो । आजको जस्तो डिजिटल र ट्र्याक सिस्टम थिएन । एकजनाको गल्तीको सजाय सबैले भोग्नुपथ्र्यो ।
दीपक भन्छन्, “तथापि, सबै संगीतकर्मी डेडिकेटेड थिए । सिर्जनशील थिए । वाद्यवादकले बीचबीचको पिस धून आफैं सिर्जना गर्थे । अहिलेको जस्तो एरेन्जर थिएनन् त्यसबेला । सबै मेहनेती र लगनशील भएकै कारण उत्पादन पनि उत्कृष्ट हुन्थ्यो ।”
दोस्रो गीत नै चर्चित बनेपछि दीपकले रेडियो नेपालमा ‘क’ श्रेणीको गायक हुने मौका पाए । उनले दुई–तीन महिनामा गीत रेकर्ड गर्ने डेट पाउँथे ।
दीपक सुनाउँदै थिए, “त्यसबखत गीत गाएबापत मैले ४५ रुपैयाँ पारिश्रमिक पाउँथें । तर, गीत रेकर्ड सकिएपछि सबैका लागि चिया–खाजा गरेर करिब १ सय रुपैयाँ सकिन्थ्यो ।”
दीपकका यी तीन गीतमात्रै होइनन्, त्यसबेलाका सबै गीत कर्णप्रिय र कालजयी छन् । तिनै गीतले आज पनि दीपकलाई ऊर्जा दिँदै आएका छन्, गीतमा निरन्तर लागिरहन ।