– नरेश फुयाँल
गत वर्ष अनमोल केसीको फिल्म ‘क्याप्टेन’को प्रतीक्षा थियो । त्यसपछि उनका दर्शकले ‘ए मेरो हजुर–३’ पर्खिए ।
प्रदीप खड्काको फिल्म ‘लभ स्टेसन’को प्रतिक्षा थियो । विपीन कार्कीको ‘हरि’को प्रतीक्षा थियो । दर्शकले मात्रै होइन, समीक्षकले पनि पर्खिएको फिल्म थियो ‘हरि’ । साम्राज्ञी राज्यलक्ष्मी शाहको ‘कायरा’को पनि प्रतीक्षित थियो ।
यस्ता थुप्रै अभिनेता÷अभिनेत्रीका फिल्म प्रदर्शनमा आए । कति फिल्म त पानी पनि भन्न नपाई गए । कतिले सन्तोषजनक व्यापार गरे । जबकि फिल्म युनिटले कलाकारको नाम भजाएर मार्केटिङमा मनग्य पैसा खर्च गरेका थिए । धेरैजसोले फिल्म गज्जब बनेको र दर्शकहरूले त्यसको व्यग्र प्रतीक्षा गरेको समाचार सञ्चार माध्यममा ‘फिड’ पनि गरे ।
फिल्मका लागि नायक÷नायिकाको मात्रै प्रतीक्षा हुने हो ? निर्देशकको हुँदैन ?
हुन्छ । भारतमा जति शाहरुख खान, सलमान खान, आमिर खान, अमिताभ बच्चन, दीपिका पादुकोण, आलिया भट्टको व्यग्र प्रतीक्षा हुन्छ, त्यत्ति नै निर्देशकको पनि । राजकुमार हिरानी, सञ्जयलीला भन्साली, अनुराग कश्यप, करण जोहर, जोया अख्तरलगायत निर्देशकको नाम त्यहाँका स्टारको भन्दा कम छैन । दर्शकले उनीहरूका फिल्म व्यग्र प्रतीक्षा गर्छन् । उनीहरूको नाम नै ब्रान्ड बनिसकेको छ । ख्यातिले बलिउडको भूगोल पार गरिसकेको छ । उनीहरूका फिल्ममा अभिनेता÷अभिनेत्री को छन्, विषय के छ, त्यसले खासै अर्थ राख्दैन । कलाकारजत्तिकै वा अझ त्योभन्दा बढी निर्देशकको नाम बिक्छ । फिल्म घोषणासँगै महँगो बजेटमा उनीहरूका फिल्मको स्याटेलाइट बिक्री हुन्छ । यसबाटै उनीहरूले लगानीको ठूलो हिस्सा उठाउँछन् ।
नेपालमा फिल्मको सम्पूर्ण भारी कलाकारको काँधमा हुन्छ । फिल्म कलाकार एक्लैले बन्दैन । यो सामूहिक कार्य हो । फिल्ममा निर्देशक चालक हुन्, बाँकी त सहयात्रीमात्रै हुन् ।
कलाकार राजेश हमाल फिल्ममा आफूजस्ता कलाकार औजारमात्रै भएको बताउँछन् । “कलाकारको एकखालको क्रेज हुन्छ । कलाकारको नाम र उसको छविले काम गर्छ । त्यो राम्रो पनि हो,” राजेश भन्छन्, “तर, फिल्ममा कलाकार औजारमात्रै हो । सबै हात निर्देशककै हुन्छ । त्यो खालको भूमिका निर्वाह गर्न सक्ने निर्देशक हुनुपर्छ ।”
फिल्म स्क्रिप्टमा राम्रो भएर नहुने भन्दै राजेश त्यसलाई पर्दामा देखाउन सक्नुपर्नेमा जोड दिन्छन् । “कागजमा कथा राम्रो भएर हुँदैन । कागजमा जतिसुकै राम्रो भए पनि त्यसलाई पर्दामा देखाउन सकिएन भने त्यो राम्रो कथाको के अर्थ ?” कुशल निर्देशकको अभाव औंल्याउँदै राजेश प्रश्न गर्छन् ।
भारतमा जस्तै नेपालमा आफ्नो नामलाई ब्रान्ड बनाएका नेपाली निर्देशक छैनन् । हुन–हुन खोज्दा चिप्लिएका धेरै छन् । भएका कलाकारको पनि स्टारडम खस्किरहेका बेला ब्रान्ड निर्देशक पनि नहुँदा नेपाली फिल्म कसरी चल्ने हुन्, भन्न गाह्रो छ ।
निर्देशक दीपेन्द्र के खनालले ‘पशुपतिप्रसाद’ निर्देशन गरेपछि उनले लोभलाग्दो छवि बनाएका थिए । तर, जब उनका ‘धनपति’, ‘लभ लभ लभ’ र ‘चंगाचेट’ रिलिज भए, ‘पशुपतिप्रसाद’बाट उचालिएको छवि धूलिसात भयो ।
‘कबड्डी’ बनाएर आफूलाई चिनाएका रामबाबु गुरुङले त्यही ‘कबड्डी’मात्रै राम्रो बनाए । ‘पुरानो डुंगा’, ‘मिस्टर झोले’ले उनको बन्दै गरेको छविलाई धुमिल्याए । पछिल्लो फिल्म ‘साइँली’ले पनि ‘कबड्डी’को शाख फर्काउन सकेन । धेरैले यसलाई ‘कबड्डी—३’ भनेर आलोचना गरे ।
‘लुट’ निर्देशन’ गरेर एक्कासि आफूलाई उच्च कोटीको निर्देशकमा पुर्याएका निश्चल बस्नेतलाई ‘लुट’को सिक्वेलले साथ दिएन । ‘टलकजंग भर्सेस टुल्के’ले मिश्रित प्रतिक्रिया पायो । तर, यसले पनि उनको ‘लुट’ शाख जोगाउन सकेन । त्यसयता उनले फिल्म निर्देशन गर्ने हिम्मत जुटाउन सकेका छैनन् । ‘फनफनी’ बनाउने तयारी चले पनि कथामा चित्त नबुझेको भन्दै निश्चलले निर्देशन गरेका छैनन् । बचेको शाखलाई थप धुमिल हुन नदिन उनी यतिबेला निर्देशन छोडेर अभिनयमा व्यस्त छन् ।
दीपाश्री निरौलाले फिल्म ‘छक्पा पञ्जा’बाट आफूलाई निर्देशक बनाइन् । यसको सिरिज ३ सम्म आइपुग्दा उनका फिल्मले दर्शक बटुले । उनका फिल्मको पर्खाइ दर्शकमा देखिएको छ । भलै ती फिल्मले समीक्षा राम्रो पाउन सकेका छैनन् ।
निर्देशक झरना थापाले निर्देशकको करिअरमा दुइटा फिल्म बनाइन् । ‘ए मेरो हजुर–२’ र ‘ए मेरो हजुर–३’ । यी दुइटै फिल्मले हलमा दर्शक त ताने तर उनले पनि राम्रो समीक्षा बटुल्न सकिनन् ।
एउटा फिल्म निर्देशन गरेर आशाको सम्भावना देखाए पनि त्यसपछिका फिल्ममा अपेक्षित निर्देशन गर्न नसक्दा फिल्ममा उनीहरू ब्रान्ड बन्न सकेका छैनन् । पछिल्लो समय फिल्म ‘बुलबुल’ निर्देशन गरेर सम्भावना देखाएका विनोद पौडेलले दोस्रो फिल्म कस्तो बनाउने हुन्, त्यो प्रतीक्षाको विषय हो ।
कथाका विषय छन्, तिनलाई उठाउन पनि खोजिएको छ तर पर्दामा बलियो गरी देखाउन नसक्नु नेपाली फिल्म उद्योगको मूल समस्या हो ।
“कति फिल्ममा शुरुमा यस्तो र उस्तो भनेर कन्भिन्स गर्छन् । तर, पछि शुटिङमा जाँदा स्क्रिप्ट नै हुँदैन,” अभिनेता विपीन कार्की भन्छन्, “तपाईं त थिएटरबाट आउनुभएको, आफैं मिलाएर गर्नुस् न भन्छन् निर्देशक नै ।”
अर्का अभिनेता दयाहाङ राईको पनि गुनासो उस्तै छ । पहिले देखाउने स्क्रिप्ट र सेटमा दिइने स्क्रिप्टमा आकाश–पातालको फरक पर्ने गरेको उनी सुनाउँछन् । “शुरुमा स्क्रिप्ट हेर्यो, चित्त बुझेर ओके गरिन्छ । पछि शुटिङमा जाँदा त्यसको रूप नै अर्कै भइसकेको हुन्छ । साइन गरिसकेको फिल्म, छोडेर हिँड्न पनि मिलेन । त्यही बाँकीलाई पनि पर्दामा आधा देखाउन सक्ने अवस्था छैन,” दयाहाङ भन्छन् ।
राजेश हमाल निर्देशकले कागजको कथा सुन्दै उसको दिमागमा फिल्मको पूरै नक्सा तयार भइसक्नु पर्ने बताउँछन् । कागजमा उतारिएको कथालाई मात्रै पनि पर्दामा देखाउन सक्ने अवस्था आए नेपाली फिल्मको गुणस्तरमा निकै अभिवृद्धि हुने उनको धारणा छ ।
फिल्मको बजार छैन, राम्रो फिल्म बनाउन उत्कृष्ट कथा लेख्ने स्क्रिप्ट राइटर छैनन्, मन खोलेर खर्च गर्न बजेट छैन, अनि क्यारेक्टरमा डुब्ने कलाकार छैन भनेर टिप्पणी भइरहँदा कथालाई भिडियोमा उतार्न सक्ने निर्देशकको खोजी हुन थालेको छ । दर्शकलाई प्रतीक्षा गराउन सक्ने निर्देशक पनि चाहिएको छ ।
कुनै समय कलाकारका रूपमा पोस्टरमा राजेश हमालको टाउको मात्रै राखे पनि उनलाई खोज्दै हलमा दर्शक आइपुग्थे । नायकमा राजेशको जस्तै नायिकामा करिश्मा मानन्धरको ईश्र्यालाग्दो क्रेज थियो । भुवन केसी फिल्ममा ब्रान्ड नेम थियो । निखिल उप्रेतीले केही समय राजेशको क्रेज आफूतर्फ सोझ्याएका थिए । पछिल्ला दुई–तीन वर्ष राजेशको जति नभए पनि युवापुस्तामा अनमोलको क्रेज थियो । तर, लगालग उनका फिल्मले धूलो चाटे । उनको स्टारडमले मात्रै अब दर्शक हलसम्म आउँदैनन्, पछिल्ला केही फिल्मले यो पुष्टि गरिसके ।
स्टार त चलेनन् चलेनन्— निर्देशक त चल्नुपथ्र्यो !
तर, आशा मारिसक्न पनि सकिँदैन । ढुंगाको कापबाट पीपल उम्रिन बेर लाग्दैन ।