जो आफ्नै चलचित्र हेरिदिन आग्रह गर्दैनन्

जो आफ्नै चलचित्र हेरिदिन आग्रह गर्दैनन्

काठमाडौं । नेपाली कला क्षेत्रका व्यक्तिको बानी नै हो- हरेक अन्तर्वार्ता तथा कुराकानीको अन्त्यमा नेपाली भएर नेपाली कला, साहित्यलाई माया गरिदिनुस् । नेपाली भएर एकपटक मेरो-हाम्रो गीत-चलचित्र सुनिदिनुस्-हेरिदिनुस् ।

“अरु कुनै पनि चलचित्र हेर्नु हुँदैन भने झैं नेपाली फिल्म भएकै कारण हेरिदिनुपर्छ भन्ने गलत आग्रह र धारणा हो । फिल्म आर्टको विजनेश हो । विजनेशमा प्रतिस्पर्धा हुन्छ, माया हैन,” निर्देशक दीपेन्द्र के खनाल बाह्रखरीसँग भन्छन् ।

तर केही चलचित्रकर्मी यस्ता पनि छन्, जो आफ्नै चलचित्र रिलिजको तयारीमा रहेका बेला सञ्चारमाध्यमसँगका अन्तर्वार्तामा पनि चलचित्र हेरिदिन दर्शकसँग आग्रह गर्दैनन् । नेपाली चलचित्र विभिन्न स्रोत साधनको अभावमा बनाइएका हुन्छन् भन्दै त्यही कारण चलचित्र हेरिदिन आग्रह नगर्ने निर्देशकमा दीपेन्द्र के खनाल, प्रदीप भट्टराई, नरेशकुमार केसी लगायत निर्देशक हुन् । चलचित्र कलाको विजनेश भएकाले यो आग्रह, अनुरोध र याचनाले हैन गुणस्तरले चल्नुपर्ने उनीहरु बताउँछन् । 

“अरु सामानजस्तै चलचित्र पनि कलाको प्रोडक्ट हो । त्यसैले यसमा पनि अरु सामानमा जस्तै उपभोक्ताको आकर्षण हुनुपर्छ । चलचित्रले नै लोभ्याउनु पर्छ,” निर्देशक दीपेन्द्र के खनाल बाह्रखरीसँग भन्छन्, “अरु कुनै पनि चलचित्र हेर्नु हुँदैन भने झैं नेपाली फिल्म भएकै कारण हेरिदिनुपर्छ भन्ने गलत आग्रह र धारणा हो । फिल्म आर्टको विजनेश हो । विजनेशमा प्रतिस्पर्धा हुन्छ, माया हैन ।”

दर्शकलाई चलचित्रका कलाकारले, ट्रेलरले, पोस्टरले, गीतले अथवा निर्देशकले लोभ्याउन र विश्वास दिलाउन सक्नुपर्ने बताउँदै निर्देशक खनाल भन्छन्, “फिल्म मेरिटमा चल्ने हो ।” 
सानो बजेटमा दुःख गरेर बनाएको भनेर याचना गर्दैमा चलचित्र हेर्नै पर्छ भन्ने आफ्नो धारणा नरेहेको उनी बताउँछन् । 

अर्का निर्देशक प्रदीप भट्टराई पनि नेपाली भाषामा बनेको र नेपाली कलाकारले अभिनय गरेकै भरमा चलचित्र नेपालीले हेरिदिनु पर्ने भन्ने विचारको विरोध गर्छन् । 

“म मेरो चलचित्र हेर्न आइदिनुस् । एकपटक आएर जसरी पनि हेरिदिनुस् । नेपाली चलचित्र भएकाले माया गरिदिनुस् भन्दिन । विश्वको जुनसुकै ठाउँमा बनेको भए पनि चलचित्र चलचित्र नै हो । चलचित्रको भाषा दृश्य नै हो । राम्रो लागे हेर्ने हो । नलागे नहेर्ने हो,” निर्देशक भट्टराई भन्छन् । 

उनी आफ्नो चलचित्र जसलाई मनपर्छ हेर्नसक्छ तर नेपाली भाषामा बनेकै कारण हेर्न आग्रह गर्दैनन् । आफूले भन्न खोजेको कथा राम्रोसँग भन्दिने हो त्यसले बाँध्न सक्छ र कन्भिन्स हुने दर्शक आफैं आउने भट्टराई बताउँछन् । 

“माया दया भन्ने कुरा च्यारिटी शो र मिसनमा देखिएला तर प्रतिस्पर्धामा जाने हो, हलमा चलचित्र शो गर्ने हो भने अनुनय विनय गरेर चलचित्र चल्दैन । विश्वको चलचित्र एउटै हो । नेपाली फिल्म भनेरै माया गर्नु जरुरी छैन ।” 

अर्का निर्देशक नरेशकुमार केसी यस्तो आग्रहले राम्रो चलचित्र बनाउन नसकेको र कमजोरी रहेको प्रमाणलाई पुष्टि गर्ने बताउँछन् ।

 “क्वालिटी दिन नसकेपछि यस्तो आग्रह गर्ने गरेको पाइन्छ । राम्रो चलचित्र बन्यो भने दर्शक आफैं खोजी खोजी हल जान्छन्,” निर्देशक केसी भन्छन्, “अहिले सानो बजेटमा हामीले चलचित्र दुःखले बनाएका छौं भन्दैमा कसैले हेरिदिनेवाला छैन । हलिउड र बलिउड जहाँका चलचित्र मनपर्छ दर्शकले त्यही चलचित्र हेर्छ । नेपाली भाषामा चलचित्र बनाएको छु त्यसैले चार सय रुपैयाँको टिकट काटेर हेरिदिनै पर्छ भन्नेजस्तो आग्रहले झनै आफ्नो कमजोरी देखिन्छ ।” विषयबस्तु र त्यसको प्रस्तुतीले दर्शकको मन जित्नु पर्ने उनी बताउँछन् । 

यद्यपी कोही भावनात्मक हिसावले आफ्नो भाषा र भुगोलको चलचित्रलाई प्राथमिकतामा राख्छ भने त्यो व्यक्तिको अधिकारको कुरा भएको उनीहरु बताउँछन् । 

प्रतिकृया दिनुहोस
ad