site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 टुक्रिँदै सम्बन्धहरू 

पेसाले दुबै शिक्षक । प्रेम विवाह भएको पनि १४ वर्ष बितिसक्यो । दुई छोरा छन् । परिवारमा राम्रो छ । सबैले देख्दा ठीकठाक नै छ तर यो सब भ्रम हो भन्छिन् अमिता (नाम परिवर्तन) । अनुहारमा असाध्य पीडाको भाव देखिन्छ उनको । पटक पटक दांँत् किटिरहेकी थिइन् । औँलाहरु कता राख्ने थाहा नभएजस्तो एक आपसमा हत्केलासँग जुधिरहेथे । तर, शरीर थाकेजस्तो देखिन्थ्यो । मानौ उनी ठुलो युद्ध गर्न गइरहेकी छिन र हार्ने सम्भावना धेरै छ । 

पछिल्लो पटक कान्छो छोरा ३ वर्षको हुँदा अर्थात् १० वर्षअघि उनले थाहा पाएकी हुन् पतिको अर्कै महिलासँग सम्बन्ध रहेको कुरा । त्यतिबेलै पतिलाई छोडेर हिँड्ने विचार नगरेकी होइनन् । तर, साना केटाकेटीका कारण रोकिइन् । पतिले पनि रुँदै ‘‘छोडेर नजाऊ अब यस्तो हुँदैन’’ भने पछि चुप लागेर बसिन् । तर त्यस यता पनि उनलाई थाहा छ पतिको अरु धेरै केटीहरूसँग उठबस छ । चार वटाको त सबुत नै छन् उनीसँग । हरेकपल्ट घर छोडेर हिँड्ने विचार आउँछ । र, पनि पतिको रुवाइ र माफीका अगाडि लाचार हुन्छिन् । आँखाअगाडि छोराहरूको अनुहार आएर बस्छ । आफ्नो भन्दापनि छोराहरू बाउ बिना हुर्किनुपर्ने सम्झिँदा झसङ्ग हुन्छिन् । 

फेरि सबै छोडेर कहाँ जाने ? प्रेम विवाह गरेकै कारण माइतीमा आउजाउ भए पनि सम्बन्ध अझै सहज छैन । बेलाबेला आफैँले छानेकी त हो भन्ने शब्द सुन्नुपर्छ । घर छोडेर छोराहरु लिएर त्यहाँ गएर बस्ने आँट पनि कहिल्यै आएन । आफ्नो मात्र कमाइले पुग्दैन । माइतीसँग माग्न उनी चाहन्नन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यो अवस्थामा सहेरै घर बस्नपर्ने बाध्यता रहेको बताउछिन् उनी । फेरि जुन सुखसयल र रेखदेखमा छोराहरु हुर्किरहेका छन्, आफ्नो स्वार्थका लागि सब खोसिने सम्झिँदै पनि कहाली लाग्छ उनलाई । सन्तान छोडेर हिँड्ने आट पनि छैन उनको । जे पर्ला पर्ला  हिँडुजस्तो नलागेको होइन तर यस्तो अविवेकी बाउसँग छोडेर जाँदा यिनको भविष्य के होला ? कस्तो होला ? यस्तै प्रश्नले अड्कायो । 

‘‘छोराहरूका अगाडि म बलियो हुन सकिन’’ भन्छिन् उनी । पतिको अरु सम्बन्धका बारेमा थाहा पाएपछि पछिल्लोपटक ठूलै झगडा भयो । रडाको मच्चियो । अब चाहिँ सक्तिन भन्ने लाग्यो उनलाई । जे पर्ला पर्ला, हिँड्छु भन्ने सोचेकी उनी पतिकै आग्रहमा पहिलोपल्ट मनोविमर्शका लागि आएकी हुन् । 

Global Ime bank

यति कुरा एकै सासमा भनिसकेर लामो सास फेरिन् र अगाडि गिलासमा रहेको पानी एकै घुड्कोमा सिध्याइन् । अलिअलि अनुहारमा आएको पसिना अनि आँखामा सल्बलाएका आँसु पुछिन् । झ्यालबाहिर हेर्दै एकतमासले टोलाइन् । म उनको पतितिर हेर्छु ।  

आफ्नो सम्बन्धको कुरा बिस्तारै हिच्किचाउँदै भनिरहँदा उनका पति सुरेश (नाम परिवर्तन) टाउको झुकाएर सुनिरहेका थिए । अब पालो सुरेशको थियो । उनी पनि स्वीकार्छन् यो सबै भएकै हो भनेर । एक दुई जनाबाहेक त्यो पनि एक दुई पटकबाहेक अरुसँग शारीरिक सम्बन्ध पनि रहेको छैन उनको । 

उनी भन्छन् – ‘‘च्याटमा भेट्छन् । च्याटमै धेरै कुरा हुने हो । बाहिर पनि खासै भेट गर्ने गरेका गरेको छैन । भ्याउदिन पनि । सांँझ बिहान यसो फुर्सद हुँदा च्याट गर्ने हो । निन्द्रा लागेन भने पनि गर्ने गर्छु । मलाई थाहा छ, मैले गल्ती गरेकै हो । त्यो पनि पटकपटक । उनले मलाई माफी अनि मौका पनि दिएकी हुन् । त्यो पनि पटकपटक । तर, खै कसरी कसरी म बहकिएँ । बेलाबेला मै छक्क पर्छु । आँफैसँग घृणा पनि लाग्छ बेलाबेला, मैले उनलाई दुःख दिएकोमा । तर, फेरि कोही न कोही अल्झिन आइपुग्छन् ।’’  

यति भनेर पत्नीतिर हेर्छन् । अनि भन्छन्, ‘तिमी मलाई छोडेर नजाउ ।  मेरो संसार नै सकिन्छ । म मेरो परिवार बिना बाँच्न सक्दिन । एकचोटि  मौका देउ मलाई । अब कहिलेपनि यस्तो गर्ने छैन ।’ 

सुरेशको अनुनयलाई नसुनेझै एकतमासले अमिता झ्याल बाहिर हेरिरहन्छिन् । अनवरत आँखाबाट आसु झरिरहेको देखिन्छ । सुरेशको आवाज पनि कामेको छ । आँखा रसाएका छन् । अनुहारमा तनाव र आत्मग्लानि भेट्छु म । पुरुष भएकै कारणले रुन नसकेका हुन् कि जस्तो पनि लाग्छ !

अल्लारे उमेर, २२ वर्षका सुरेश । २० कि अमिता । दुवै मरिहत्ते एकअर्काको लागि । बाहुनकी छोरी अमितालाई बाबुले छेत्रीलाई के दिन्थे ? दुवै भागे घरबाट । मिहनेती सुरेशलाई अमिताले सघाइन् । स्कुलमा राम्रै जागिर पाए । यता अमिता पनि पढाउन थालिन् । यहीबीचमा परिवार पनि बढ्यो ।

दुई छोराका बाबुआमा बने । घरधन्दा, केटाकेटीको स्याहारसुसार । फेरि स्कुलको कामले लखतरान हुन्थिन् उनी । सुरेश पनि बिहानै निस्किन्थे ।  ट्युसन् सेन्टरमा राम्रो कमाइ हुन्थ्यो । बिहान निस्केका उनी रातिमात्रै फर्किन्थे । अमिता पनि दिनभर व्यस्त हुन्थिन् । साँझ ८ बजेपछि भेट हुन्थ्यो दुवैको । दुवै लखतरान । ओच्छ्यान भेट्न नपाई भुसुक्कै हुन्थिन् अमिता । थुप्रै दिनसम्म सामान्य घरघरायसी कुराबाहेक अरु कुरा हुँदैनथ्यो । कहिले काहीँ केटाकेटी लिएर घुम्न जान्थे तर त्यो बेला पनि केटाकेटीकै कुरा हुने । दुवैलाई यो सामान्य नै लाग्थ्यो । 

यही अवस्थितिमा बिस्तारै एक अर्कासँग टाढिँदै गएको अनुभव नभएको पनि होइन तर केही समय त हो केटाकेटी अलि ठूला भएपछि सबै सहज होला भनेर मन थुम्थुम्याउथे । तर डेराबाट घर, घरको ऋण, बढ्दो महँगी, केटाकेटीको आवश्यकता, बेलाबेलाको सन्चो बिसन्चो आदि पूरा गर्दागर्दै दिन बित्दै गयो । एकआपसमा नजिक हुने मौका नै आएन । दुवैमा नजानिदो किसिमले दूरी र असन्तोषलाई मलजल गर्दैलग्यो फेसबुकले । के कसो छ ?  हराउनुभो त ? धेरै दिन जस्ता प्रश्नको जवाफ दिँदादिँदै, घन्टौं बितेको पत्तो हुन छाड्यो सुरेशलाई । अमितासँगको दूरी फेसबुके साथीका ठट्यौला गफले भुलाई दियो । बस्, अनि त कहिले काहीँ भेट गर्ने काम पनि सुरु भयो । सम्बन्धको सीमा कहिले तोडियो ? सुरेशले पत्तै पाएनन् । 

सुरुसुरुमा अमिता पनि बेलुका सुरेशले नखोजेपछि सुबिस्तै मान्थिन् । थकित ज्यानलाई लोग्नेको स्पर्शभन्दा पनि निन्द्रा नै प्यारो हुन्थ्यो । कहिले त लामो बिदा हुँदा पनि दुईबीचको सम्बन्ध कहिलेकाहीँ बाहेक हुँदैनथ्यो ! सुरेश ट्युसन मै बढी ब्यस्त हुन्थे । उनी थाकेर आएपछि, ठीकै छ नि त भनेर कहिले काहीँ उब्जने किन भन्ने प्रश्नलाई पनि थामथुम पार्थिन् । 

यसैबीच अमिताले थाहा पाइन् सुरेश अरु महिलामा रत्तिन थालेको । उनको पीडाको सीमा नै रहेन । उनको पीडा अब सुरेशसँगको हरकुरामा रिस बनेर पोखिन थाल्यो । राम्रै सोधे पनि जवाफ उल्टा दिन थालिन् ।  सुरेशको खानपिनको समेत् वास्ता हुन छोड्यो । कहिलेकाहीँ सबै ठीक गर्छु, अब सबै राम्रो हुन्छ भन्ने सोचेर केही दिन आफूलाई सम्हाले पनि, हाँसीखुसी बसे पनि सुरेशको मोबाइलमा आएको टिङटिङले उनको धैर्यको बाँध भत्काई दिन्थ्यो । कसलाई भन्नु ? के भन्नुले सधैँ पिरोल्थ्यो उनलाई । कहीँ गएर भक्कानिएर रुने ठाउँ पनि भेट्टाउँथिनन् । सबैले सुरेश र उनको गृहस्थीको चर्चा गर्थे तर ती सब झुटा हुन् भन्ने आँट उनमा हुँदैनथ्यो । 

त्यो सबै रिस, पीडा, क्रन्दन उनी जानीनजानी सुरेशमाथि नै पोख्थिन् । सुरेशले पनि केही हदसम्म बुझेका थिए तर कुनबाटो समात्ने कता जाने के गर्ने ? कुनै डोरी भेटेका थिएनन् । जतिजति अमिता टाढा हुन्थिन् त्यति उनी आफुलाई मोबाइलका पेजहरुमा डुबाउँथे । 

एक अर्काबीच सम्बन्ध बिग्रिएको कारण दुवैलाई राम्रोसँग थाहा थियो तर अमिता आफ्नो पीडा र रिसबाट बाहिर आउन सकिनन् । उसको सुखदुःखमा सधैँ मैले साथ दिएँ । आफूभन्दा सधैँ उसलाई नै अगाडि राखिरहेँ तर आज त्यसको प्रतिफल मलाई धोखा मिल्योे भन्ने आक्रोशबाट अमिता कहिल्यैबाहिर निस्किन सकिनन् । 

यता सुरेश पनि कसरी अमिता र आफ्नो सम्बन्धलाई सुधार्ने भनेर खोजेका हरेक उपाय असफल भएपछि त्यही संसारमा फर्किन्थे । आफ्ना कुरा अरु महिलाले सजिलै बुझेको र अमिताले नबुझेकोमा छक्क पर्थे । फेरि जानीनजानी त्यही संसारमा पटकपटक तैरिन पुग्थे । यसले अमिताको ‘‘अब त फर्किन्छन् कि ? सुध्रिन्छन् कि ? भन्ने आशामा तुषारापात हुन्थ्यो । फेरि उनी आँसु, रिस र पीडामा नै बस्थिन् । हरेकपल्ट सुध्रिन खोज्ने प्रयासको चुपचाप अवसान हुन्थ्यो । 

दुवैले आफ्ना व्यक्तिगत खिचातानीमा छोराहरूलाई भने अलग्गै राखे । तर अमितालाई लाग्छ – छोराहरूले अलिकति शंका गरेका छन् । उनी चुपचाप बसेको दिन ‘‘के भो मामु’’ भन्छन् । ’‘सन्चो भएन ?’’ भनेर सोध्छन् । छोराहरुको यो प्रश्नले अमिताको मन छियाछिया पार्छ । अब यस्तै हो मेरो जीवन भन्ने लाग्छ । जति नै मन बुझाए पनि हरेकपल्ट सुरेश घर छिर्दा आज कोसँग थियो ऊ भन्ने प्रश्नले पिरोल्छ । 

त्यसैले अमिताले ‘‘अब सँगै बस्न सक्तिन’’ भनेर सुरेशलाई भनेकी थिइन् । सुरेशले पनि अरुसँग घर व्यवहार नै गर्ने त कहिले पनि सोचेनन् । चलेकै छ, भन्नेमात्रै सोचे । अनि अमिता र आफ्नो सम्बन्ध ठीक भइहाल्ला भनेर यसलाई हलुकारुपमा मात्रै लिए । जब अमिताले घरै छोड्ने कुरा गरिन् त्यसपछि भने उनको मनमा ढ्याङग्रोे ठोकियो । अमिताविनाको जीवन सोच्दा पनि कहाली लाग्यो । फेसबुके सम्बन्धसित अमितासँगको सम्बन्ध तुलना गर्न सकेनन् । अनि, सम्बन्ध कसरी बचाउने भनेर सोधखोज गर्न थाले । यसै विषयमा चर्चा गर्दा मनोविमर्श एक उपाय हुन सक्ने ठहर भएपछि करै गरेर पनि अमितालाई लिएर आइपुगेका थिए ।    

पछिल्लो समयमा बिग्रिएको सम्बन्ध सुधार्ने प्रयत्नमा धेरै जोडी आइरहेका छन् । केही अविवाहित जोडी छन् भने केही विवाहित् । सुरेश र अमिता त प्रतिनिधि पात्रमात्र हुन् । सम्बन्ध बिग्रिने कुरा कुनै एउटा कारणले मात्र हुँदैन । हुर्काइ, सामाजिक सोच, वैचारिक मान्यता, उमेर, परिस्थितिलगायत अरु पनि थुप्रै कारण हुनसक्छन् । पछिल्लो चरणमा सामाजिक सञ्जाल पनि यससँग जोडिएको छ । 

सामान्यतया नेपाली समाजमा बिहे गर्नु वा सम्बन्धमा रहनु भनेको दुई व्यक्तिबीच मात्र निर्भर हुँदैन । कुनै न कुनै किसिमले दुई परिवार, समाज, धर्म, रीतिरिवाज सबै जोडिएर आउँछ । यी सबै उत्तरदायित्व वहन गर्दागर्दै जोडीहरूले बिर्सिन्छन् कि उनीहरूको आपसी सम्बन्धले यो सबै सिर्जित छ । जोडिएको छ । बाँधिएको छ । त्यसैले जति एक आपसको सम्बन्ध प्रगाढ र सुमधुर हुन्छ त्यति नै एक आपसमा जेलिएका अरु सम्बन्ध पनि खुकुला हुन्छन् । सजिला हुन्छन् । 

यौन सम्बन्धलाई समाजले सधैँ लुकाउने छिपाउने र वर्जित व्यवहारको रुपमा लिइरह्यो । अविवाहितबीच हुने यौन सम्बन्ध त पूर्णतः वर्जित नै रह्यो, विवाहितबीच पनि यो सम्बन्ध सधैँ लुकाउने छिपाउनेमा नैै रह्यो । घरमा सन्तान नजन्मिँदा दुःखी हुने समाज, पतिपत्नीसँगै हाँसीखेली बसेको देख्न नसक्ने नै रह्यो । यस्तो समाजमा हुर्किएका केही अपवादबाहेक अझै पनि आफ्ना यौन विचार आफ्नै पतिपत्नीसँग पनि साँट्न नसक्ने मानसिकतासँग हुर्किरहे । बिहे गर्नु भनेको एक अर्काको प्राप्ति हो, बच्चा जन्माउनु हो र घर व्यवहारमै आफूलाई सीमित गर्नु हो भन्ने नजानिँदो गलत मानसिकतामा हुर्किएको मस्तिष्कले महिला र पुरुषको विवाहित सम्बन्धको दायित्वका बारेमा पढ्ने र सिक्ने मौका पाएन ।

‘‘महिला र पुरुषको सम्बन्ध कोठाभित्रै राख्ने कुरा हो’’ सिकाइएको समाजले पुरुष र महिलाको शारीरिक र मानसिक आवश्यकता फरक फरक हुन्छन् र त्यसमा समस्या आएमा कहाँ जाने ? कसलाई सोध्ने ? के गर्ने ? भन्ने विषयमा दम्पतीलाई सिकाउनु पढाउनु उचित ठानेन । त्यसैले आजका शिक्षित कहलिएका महिला र पुरुष पनि आफ्नो वैवाहिक जीवनमा आएका समस्यालाई सुरुमा समस्याको रुपमा लिँदैनन् । सुरेश र अमिताजस्तै ठीक भइहाल्छ नि, यस्तै त हो नि ! भनेर चुप नै बस्छन् । धेरै त्यसरी नै पीडापूर्ण  जीवन बिताउँछन् । केही एकआपसमा छुट्टिन्छन् भने थोरैमात्रले सहयोगको खोजी गर्छन् । 

दुई व्यक्तिबीचको सम्बन्ध सधैँ शारीरिकमात्र हुँदैन, मानसिक पनि हुन्छ । एकअर्काको आवश्यकता बुझ्ने, दुःखसुखका कुरामात्र होइन, इच्छा र आकाङ्क्षाका कुरा पनि बुझ्न आवश्यक हुन्छ । हो, यौन जीवन विवाहको अभिन्न अंग हो तर योमात्रै सबै होइन । विवाह सुमधुर राख्ने प्रमुख विषयमा समस्या आउनासाथ दुवै जना त्यस्मा काम गर्न तत्पर हुन्छन कि हुन्नन् भन्नेमा पनि भर पर्छ । 

समस्या आउँदैमा, झगडा हुँदैमा बिग्रिहाल्ने त केही हुँदैन । दुई फरक व्यक्ति एकै घरमा बसेपछि कुरा नमिल्नु, स्वभाव बाझिनु सामान्य पनि हो । तर, एकआपसलाई दिने समय छैन, साथ बिताउने पलहरु घटिरहेका छन्, एकअर्काको दैनिकीमा हुने र भएका कुरा एकअर्र्कालाई थाहा हुँदैन, सरसल्लाहमा कमी आइरहेको छ, घर जान मन लाग्दैन, रिस र चिडचिडापन् बढेको छ भने सतर्क हुने बेला आयो भन्ने बुझ्नुपर्ने हुन्छ । यसैले सम्बन्धमा लागेको माकुराको जालो पनि सफा गर्नुपर्ने हुन्छ । आएका अप्ठेराहरुलाई नसच्याई यस्तै हो भनेर बस्ने हो भने सम्बन्ध ‘सम्बन्ध’ रहँदैन । बिस्तारै एकादेशको कथा हुन जान्छ ।   

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १, २०७६  ०८:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC