काठमाडौं । बुधबार अपरान्ह सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवका स्वकीय सचिव प्रेमप्रसाद आचार्यको कार्यकक्ष अगाडि हल्लाखल्ला हुँदै थियो । ठूलै हल्लाखल्ला भएपछि मन्त्री यादव कार्यकक्ष बाहिर आएर भने, “मेरो कार्यकक्ष अगाडि आएर ठूलो स्वर गर्ने को हो ?”
मन्त्री यादव जंगिएपछि विवाद गर्न आएका कर्मचारीको टोली र मन्त्री यादवका समर्थकबीच ठेलमठेल भयो, वरपरबाट धकेलाधकेल भयो र रिस उठेकाहरुले हाताहात गर्न थाले । मन्त्री यादवका प्रेस संयोजक सन्तोष विष्ट कुटाकुटपछि सामान्य घाइते भएका छन् ।
मन्त्री यादव र कांग्रेस निकट कर्मचारी संगठनका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारी हात हालाहालको अवस्थामा पुगेका थिए । मन्त्रालयका उपसचिव शोभाकर रेग्मीलाई उद्योग विभाग नपठाएपछि घुस लिएर विनोद खड्कालाई उता पठाइएको भन्दै कर्मचारी संगठन विरोधका लागि मन्त्रीको कार्यकक्षसम्म पुगेको थियो ।
कुटाकुट भएको स्थल मन्त्रीका स्वकीय सचिव आचार्य बस्ने कोठा हो । मन्त्रीको सचिवालयले भने विवाद गर्नेहरुलाई मन्त्रीले सम्झाएर पठाएको बताएको छ ।