वाशिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी साइबर हमलाको अवस्थाबाट अमेरिकी कम्प्युटरलाई बचाउनको लागि भन्दै राष्ट्रिय आपतकाल (संकटकाल)को घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार एक कार्यकारी आदेश जारी गर्दै सो घोषणा गरेका हुन् ।
उनको यो आदेश अन्तर्गत विदेशी टेलिकम सेवाको उपयोग गर्न प्रतिबन्ध लगाइएको छ । आदेशमा विदेशी टेलिकम सेवाबाट राष्ट्रिय सुरक्षामा खतरा रहेको जनाइएको छ ।
उनले आफ्नो आदेशमा कुनै विदेशी कम्पनीको नाम भने लिएका छैनन् । यद्यपि विश्लेषकहरुले राष्ट्रपति ट्रम्पको कदम विशेषगरी चीनको टेलिकम कम्पनी हुवावेतर्फ लक्षित रहेको बताएका छन् । कैयौं देशले चीनको कम्पनी हुवावेका उत्पादनहरुमार्फत निगरानी हुन सक्ने आशंका यसअिघ देखि नै व्यक्त गर्दै आएका थिए ।
यद्यपि हुवावेले भने यो कुरा खण्डन गर्दै आइरहेको बीबीसीले जनाएको छ । उसले आफ्नो कामबाट कसैलाई नोक्सान नहुने र जासुसीको जोखिम पनि नरहेको बताउँदै आएको छ । ट्रम्पको आदेशको उद्देश्य विदेशी दुश्मनबाट सूचना, सञ्चार र सेवाको उपयोगको माध्यम मार्फत अमेरिकालाई बचाउनु भएको बीबीसीमा प्रकासित समाचारमा जनाइएको छ ।