अल्पज्ञानको चपेटामा ‘जय नेपाल’

परिचितहरुबीच भेटको प्रारम्भ, बिदाइ वा कार्यक्रमको समापनमा जय नेपाल, नमस्कार, अभिवादन आदि सम्बोधन सूचक आदरार्थी शब्द ‘नमन’का लागि नेपाली समाजमा प्रचलित छन् । तिरस्कृत गरिँदै छन् नमन सम्बोधित यस्ता शब्द । बरु, भर्खरै नाक चलाएर सिँगान पुछेको हात सफा गर्न नभ्याउँदै भेट भएको साथीसँग त्यही हात तेस्र्याएर मिलाउन उत्सुक जमात छ । पश्चिमी प्रचलनमा मुछिएर हाम्रा ‘फोहोरी’ हात पनि आफूभन्दा ज्येष्ठ सम्मानित सामु तेस्र्याउन गौरव गर्छौँ । हृदय वा शिरको नजिकबाट जुम्ला हातले नमस्कार भन्न लज्जाबोध गर्ने जमातको समाज बढ्दो छ । त्यसमाथि जय नेपाल त अल्पज्ञान वा दुराग्रहको चपेटमा परेकै छ । 

यो चपेटको रहस्य एकपटक फेरि सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले उजागर गरे । यो उनको अल्पज्ञान पनि होइन, उडन्ते जानकारी हो । किनभने, अल्पज्ञान पनि स्वआर्जन हुन्छ, स्वाध्ययनले प्राप्त गरिन्छ । त्यसो त, मानिस सबै अल्पज्ञानी हुन्छन् । उसले ज्ञानको सागरलाई गागर (गाग्री)मा भर्ने मात्र हो । कसैले सागरलाई ट्याङ्करमा भर्ला । अल्पमा पनि सानो, ठूलो र व्यापक अंशमा ज्ञान आर्जन गर्ने छन् । तर, ज्ञान आर्जनमा समग्रता र सम्पूर्णताको विराम सम्भव छैन । ज्ञानीहरुले स्वीकारेको कुरा हो यो । ती चिन्तकको नाम याद रहेन तर उनको भनाइ छ – ‘जसले आफूलाई बुझेको भन्छ, त्यहीँबाट उसको अज्ञान प्रकट हुन्छ ।’ प्रचलित ‘अल्पज्ञान’ शब्द कुनै विषयमा अलि बढी जानकारी नराख्नु वा त्यसको इतिहासको अपढ वा अबुझ भन्ने अर्थमा प्रयुक्त छ । 

तर ‘उडन्ते जानकारी’ कसैले दिने उडन्तेगफ जसलाई ‘हावादारी’ भनिन्छ नि, हावाको तरंगले कानमा ठोकिएर सम्झनामा अल्झिने जानकारी वा यादलाई नै ‘उडन्ते गफ’ भनिन्छ । त्यसमा ऐतिहासिक आधार भेटिँदैन । त्यसैको उद्धरण ‘उडन्ते जानकारी’ हो, त्यो बोलीमा व्यक्त हुन्छ । रुखो वाणीको समेत धनी मन्त्री बास्कोटाले ‘जय नेपाल’प्रति यस्तै उडन्ते जानकारीको पेटारो खोले । कुनै ‘चाकर’ कार्यकर्ताले ‘जय नेपाल’ महेन्द्रले भनेको सुनाइदिए । त्यो सुनेका मन्त्रीले गुह्यमन्त्र भेटेको उत्साहमा आफ्नो ‘ज्ञान’को पेटारो खोले । लेखको शीर्षकमा चाहिँ ‘उडन्ते’ राख्न जँचेन, त्यसैले अल्पज्ञान रोजियो ।  

उनले भनिदिए – नेपाली कांग्रेसले पाएको दुई तिहाइ बहुमतको संसद् विघटन गरेर प्रधानमन्त्री बीपी कोइरालालाई जेल हाल्ने राजा महेन्द्रले प्रयोग गरेको ‘जय नेपाल’ भन्न छाडोस् कांग्रेसले । उनले कांग्रेसलाई दिएको यो चुनौती ‘उडन्ते’ हो । अध्ययन आर्जन हुन्थ्यो भने यसप्रति केही न केही ज्ञान हुने नै थियो । इतिहासको ज्ञानले जय नेपाल महेन्द्रको उत्पादन हो भन्दैन । 

आधुनिक सञ्चार, सूचना र प्रविधिजस्तो विशद विषयको तालुकदार मन्त्रालयका प्रमुख, त्यसमाथि सरकारको प्रवक्ता मन्त्रीले यति हल्काफुल्का टिप्पणी गर्नु न सुहाउने कुरा हो, न त अपेक्षित नै थियो र न सुखद विषयै भयो । उनको टीप्पणी क्षमतालाई सरकारको शिल्प मापक बनाइयो भने आउने तस्बिर ज्यादै निम्न कोटीको देखिनेछ । 

राष्ट्रपतिले सरकारी नीति कार्यक्रम प्रस्तुत गर्दै ‘मेरो सरकार’ भन्दा भएको चौतर्फी विरोधको आक्रोशमा मन्त्री बाँस्कोटाले कांग्रेसलाई चुनौती हुने ठानी यस्तो ‘ठट्टा’ गरे । संविधानविद्हरु भन्छन् – राष्ट्रपतिलाई मेरो सरकार भन्ने वैधानिक आधार छैन । जनसामान्यले भन्नु र संविधानको रक्षकले भन्नुमा फरक छ । रक्षक राष्ट्रपतिको भनाइ संविधान अनुकूल नै हुनुपर्छ भन्ने स्थापित मान्यता हो ।  

अर्को यस्तै ‘ठट्टा’ मन्त्री बाँस्कोटाले गरे र भने – ‘मेरो सरकार र जय नेपाल भन्ने शब्द शब्दकोषबाट ‘डिलिट’ गरिदेऊ । उनको भनाइको अर्थ यही थियो । शब्दकोषमा भएको शब्दको विरोध भएको होइन, थिएन । संविधानको व्यवस्था अनुकूल राष्ट्रपतिले गरेको सम्बोधन मिलेन भन्नेमा आलोचना थियो । मन्त्रीको उदाहरण त –‘एकातिरको सातु अर्कोतिर सर्प्याक’ भने जस्तो पो भयो । 

जय नेपालको साइनो आधुनिक नेपालको प्रजातान्त्रिक आन्दोलनसँग छ । भनिन्छ – राणा शासकले फाँसीमा चढाउने तयारी गरेका बेला शुक्रराज शास्त्रीले आफ्नो अन्तिम इच्छा जय नेपाल हो भनेर राणा सत्तालाई चुनौती दिँदै तिनका  प्रतिनिधिलाई सुनाएका थिए । यही इच्छाको प्रेरणाले नै उनलाई सहिद बनायो । त्यसपछि नेपाली काँग्रेसले गठन गरेको मुक्ति सेनाले ‘जय नेपाल’ लाई प्रजातन्त्रको मन्त्र बनायो । नेपाली कांग्रेसले स्वतन्त्रता, देशभक्ति र प्रजातान्त्रिक आन्दोलनको सन्देश सञ्चार जय नेपाल भनेरै गर्यो । 

प्रजातन्त्र रेडियो (अहिले रेडियो नेपाल) २००७ साल मंसीर २८ गते पहिलो आवाज ‘जय नेपाल’ को उद्घोषबाट बज्न सुरु भएको थियो । त्यस रेडियोको सञ्चालक तारिणीप्रसाद कोइराला थिए । वासुदेव मुनालले लामो समयसम्म रेडियो नेपालको बाल कार्यक्रम सुरुमै ‘जय नेपाल’ भाइबहिनी भनेर चलाएको सम्झना यही पुस्तालाई हुनुपर्ने हो । 

मुक्ति सेनाको गठन भारतीय स्वतन्त्रता संग्राममा संलग्न नेपाली युवाले नेपालमा प्रजातन्त्र स्थापनाका लागि गरेका हुन् । भारतीय स्वतन्त्रता संग्रामका नेता सुवासचन्द्र बोसले ‘आजाद हिन्द फौज’ बनाएका थिए । त्यो फौजमा जीबी याक्थुम्बालगायत नेपाली युवा सहभागी थिए । ती नेपाली युवाले मुक्ति सेना बनाएका हुन् र जय नेपाल सन्देश स्थापित गरेका हुन् । 

भारतीय स्वतन्त्रताको आन्दोलनका बेला वा आजाद हिन्द फौजमा जय हिन्द भन्ने नारा गुञ्जिएको हुन्थ्यो  रे । त्यसको सकारात्मक अनुकरण गर्ने प्रेरणाले जय नेपाल फैलिएको हुनसक्छ । यही मुक्ति सेनाका नेताहरु पछि क्रमशः नेपाल प्रहरीका प्रमुख (आइजीपी) भए । जीबी याक्थुम्बा, रोमबहादुर थापा र डीबी लामालगायत मुक्ति सेनामा थिए । यी आईजीपी बने । नेपाल प्रहरीको संस्थागत र संगठनात्मक विकासमा मुक्ति सेनाको भूमिका ऐतिहासिक छ । प्रहरीमा जय नेपाल गुञ्जनुको कारण पनि यही हो ।  

कुनैदिन, अहिलेका कम्युनिस्टका गुरु पुष्पलालले पनि ‘जय नेपाल’ भनेका हुन् । पुष्पलाल कांग्रेस थिए, पछि डा. डिल्लीरमण रेग्मीले विभाजन गरी बनाएको कांग्रेसमा लागेका हुन् । जय नेपाल भन्न नसक्ने कम्युनिस्टहरुले अनुकरणमै ‘लाल सलाम’ भन्न थाले । अहिलेसम्म आइपुग्दा व्यर्थ लागेको रक्तरञ्जित ‘लाल सलाम’ भन्न छोडेर केहीले ‘अभिवादन’ भन्न थालेका छन् । कसैले ‘जय देश’ भन्न लागे, कसैले ‘जय नरेश’ पनि भने । कसैले जय मधस अनि कसैले जय जनजाति बोले । सिको गर्नखोजे । तर, समग्रतामा पूरै देश र नेपाली जाति सम्बोधित हुने अभिवादन ‘जय नेपाल’ भन्न कांग्रेसले मात्रै सक्यो । 

जय नेपालको सामान्य ऐतिहासिक पृष्ठभूमिले सिकाउने कुरा राजा महेन्द्रले यसको अनुकरण गरे र जय नेपाल भने । कुनै खराब गरेनन् । तर राजालाई नै राष्ट्रिय एकताको प्रतीक मान्नेहरुले ‘जय नेपाल’ पनि राजाको मात्रै पेवाजस्तो बनाउने कोसिस गरे । राज शाहीको बेला राजा नै जय नेपालको प्राधिकार प्रयोक्ता होजस्तो गरे । राजाहरुले पनि त्यही भ्रम पाले । जनतालाई जय नेपाल भन्नै नदिने । उनीहरुले जय नेपाल भन्ने नेपाली नागरिकलाई प्रजातन्त्रका लागि लड्ने कांग्रेस भने, अराष्ट्रिय तत्त्व घोषित गरे । कम्युनिस्टले पनि यस्तै राजावादी बोलीमा लोली मिसाए । जय नेपाल पनि कतै अराष्ट्रिय शब्द हुन्छ नेपालीलाई ?

पाँच अक्षरको मन्त्र ‘जय नेपाल’को सन्देश हाम्रो सन्दर्भमा व्यापक छ । नेपालको जय, नेपालीको जय, अर्थात् देश र जनताको जय । जयले कल्याण बुझाउँछ, समातावादी सम्बोधनको सम्मान बुझाउँछ । जय अर्थात् समग्रतामा उन्नति, प्रगति र समृद्धि । नेपालीका लागि यसभन्दा अर्को सम्मानित सम्बोधन वा अभिवादन शब्द के हुन्छ ? राष्ट्रियता र देशभक्तिको भावधारा प्रवाहित गर्ने शब्द हो जय नेपाल । 

तर, यस्तो सुन्दर सन्देश ‘जय नेपाल’लाई राजनीतिक पूर्वाग्रहले हेरियो । पूर्वाग्रहको आरम्भ राजाले गरे, त्यही ‘काउसो’ यहाँका कम्युनिस्टहरुलाई पनि सल्क्यो । भनुन् वा नभनुन् तर जय नेपालप्रति द्रोह बोक्ने व्यक्ति र संस्कार कसरी राष्ट्रवादी, देशभक्त हुनसक्छ ?    
 

प्रतिकृया दिनुहोस
ad