site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 जबज छाप्दा सहायक सम्पादकबाट लखेटिएँ
Ghorahi CementGhorahi Cement

मदनसँगको भेट

विक्रम् सम्वत् २०३४ वैशाख ४–५ गतेको कुरा हुनुपर्छ । म मजदुर, विद्यार्थी आन्दोलनमार्फत कम्युनिस्ट मुभमेन्टमा सक्रिय थिएँ । नख्खु जेल विद्रोहपछि म मदन भण्डारीलाई खोज्दै बनारस पुगेको थिएँ । पहिले मोदनाथ प्रश्रितसँग भेट भयो । त्यसपछिमात्रै मदन भण्डारीसँग भएको थियो । तिनताक उहाँहरू मुक्ति मोर्चामा हुनुहुन्थ्यो । त्यो कुनै पार्टी होइन । औपचारिक संघ–संगठन पनि थिएन । भावनात्मक एकता भनौँ । त्यो समूहको नेताचाहिँ जीवराज आश्रित हुनुहुन्थ्यो । उहाँ पनि मदनसँगै मारिनुभयो ।

मदन र म दुवै पूर्वका । त्यो पनि कोशीको नेरोघेरोको । एकाक्षेत्रका मानिस भेट्दा नौलो त लागेन । तर, व्यक्तित्व अद्वित्तीय थियो । वाचाल । तिलस्मी । हामी झापाली थिएनौँ । यसअर्थले कि हामी चारु मझुमदारको प्रभाव हामीमा थिएन । विशेष गरेर ममा । काठमाडौंको विद्यार्थी र मजदुर आन्दोलनको प्रकृति पनि त्यस्तै थिएन ।

Agni Group

मदनसँगको त्यो भेटमै मैले कम्युनिस्ट आन्दोलनमा हुर्कन थालेको, विशेषगरी झापा आन्दोलनको प्रभावमाथि प्रश्न उठाएको थिएँ । मेची–कोशी को–अर्डिनेसन कमिटीबाट विद्रोह गरेर बनेको को–अर्डिनेसन कमिटी, झापाले २०२८ सालमा सुरू गरेको ‘वर्गशत्रु खतम अभियान’को बाटोबाट कम्युनिस्ट आन्दोलन अघि बढ्दैन भन्ने मेरो निष्कर्ष थियो । मैले दृढताका साथ राखेँ ।

तिनताक झापाली नेताहरू भन्थे– ‘वर्गशत्रुको रगतले नरंगिएको हात कम्युनिस्टको हात हुँदैन ।’  तर, मचाहिँ मान्छे मारेर परिवर्तन हुँदैन । र, कम्युनिस्ट आन्दोलन पनि अघि बढ्न सक्दैन भन्नेमा निश्चिन्त थिएँ । यस्तै ६–७ वटा मत राखेर म को–अर्डिनेशन केन्द्रमा प्रविष्ट भएको थिएँ ।

Global Ime bank

झापा–संघर्ष उग्र वामपन्थमा परिणत भए पनि त्यहाँका क्रान्तिकारी योद्धाहरू लोभलाग्दा थिए । उनीहरूको शब्दकोशमा विश्राम भन्ने शब्द थिएन ।  एकछिन नरोकिइ, नअडिइ पार्टी काम र संगठन निर्माणमा लाग्थे । उनीहरूको त्यसप्रकारको निष्ठा, त्याग र समर्पणलाई पुँजीकृत र एकीकृत गर्नुपर्छ भन्ने मेरो ध्येय थियो ।

मैले मदनसँगको त्यो भेटमा यही कुरा राखेँ– “को–अर्डिनेशन केन्द्रमा मिसिऊँ र त्यो ऊर्जालाई उपयोग गरौँ र त्यो कम्युनिस्ट धारालाई सुधारौँ पनि ।” मदनले कुनै मूर्त उत्तर दिनुभएन । उहाँको अनुहारको गाम्भीर्य म अनुमान गर्न सक्थेँ । उहाँले नेपाली कम्युनिस्ट आन्दोलनलाई एकीकृत र रचनात्मक तवरले अघि बढोस् भन्ने चाहेको प्रष्टै देखिन्थ्यो ।

त्यसबखत उहाँले भन्नुभयो– “हामी स्वतन्त्र ढंगले अध्ययन गर्छौं । बुझ्छौँ । मिले मिलौँला नमिले पनि साथीजन्य व्यवहार गरौँला ।” मदनले त्यो मौका उम्काउन चाहनु भएन । भदौको तेस्रो हप्तातिर हुनुपर्छ– को–अर्डिनेशन केन्द्र र मुक्ति मोर्चा समूह मिलेर नेकपा (माले) गठन भइहाल्यो ।

मदनको उदय

नेपाली राजनीतिमा मदनको उदय केहीलाई अस्वभाविक लाग्न सक्छ । झापा आन्दोलनको पृष्ठभूमिबाट आएकाहरू मदनको व्यक्तित्वलाई कम आँकेको मैले देखेको छु ।

को–अर्डिनेशन केन्द्रले मदनसँग वार्ता गर्न खटाएको र पार्टी एकतापछि मदनसँग बाक्लै उठबस भएकाले मलाई लाग्छ– उहाँको व्यक्तित्व असाधारण थियो । खुबै अध्ययनशील । नेपाली राजनीतिमा मदन भण्डारीजति अध्ययनशील र चिन्तनशील राजनीतिक व्यक्तित्व, नेतृत्व मैले भेटेको छैन । समकालीनमध्ये कांग्रेसका प्रदीप गिरि अध्ययनशील मानिनुहुन्छ । अरू नेता त पढ्दैपढ्दैनन् भन्दा हुन्छ ।

उहाँ संस्कृत भाषा–साहित्यका मुर्धन्य व्यक्तित्व । उहाँको अध्ययन तदनुसार हुर्कियो । तर, राजनीतिक चेतना झाँगिएपछि अंग्रेजीका किताब खोजीखोजी पढ्न थाल्नुभयो । जन्मजात त होइन । परिश्रमकै विलक्षणता थियो– उहाँको व्यक्तित्व ।

२०३६ सालको विद्यार्थी आन्दोलनले निर्विकल्प भनिएको पञ्चायती व्यवस्थाको जग हल्लायो । कतिपय सन्दर्भमा त्यसको जरा काट्यो । त्यतिबेला पनि हामी विद्यार्थीलाई आन्दोलनको तागतबारे हेक्का थिएन । कम्युनिस्ट आन्दोलनकै प्रभाव (सत्ता प्राप्त गर्न, फौजी कार्यदिशा चाहिन्छ । गुरिल्ला (छापामार) शक्ति निर्माण गर्नुपर्छ) थियो ।

०३६ सालको परिवर्तन पनि पार्टीमा विषद् (वृहत्) अध्ययन सुरू भयो । मलाई लाग्छ– त्यतिबेला कम्युनिस्ट आन्दोलनले प्रधानशत्रु किटान गरिसकेको थिएन । सामन्तवाद, विस्तारवाद, साम्राज्यवादी शक्ति भन्दै गगनभेदी नारा त लगाउँथ्यौँ । तर, मुलुकभित्रको सामन्तवाद को हो ? त्यसको चरित्र कस्तो हुन्छ ? त्यसको अन्त्यका लागि कस्तो प्रकारको कार्यक्रम र संघर्ष आवश्यक पर्छ भन्ने विषयमा अनेक मतमतान्तर थिए । एकरूपता थिएन । आ–आफ्नै दृष्टिकोण विद्यमान थियो ।

कस्तो प्रकारको आन्दोलन गर्ने ? फौजी रणनीति अख्तियार गर्ने या समाजलाई सुसूचीत गराउँदै आन्दोलित तुल्याउने भन्ने व्यापक बहस भयो । झन्डै दुईवर्ष पार्टी आन्दोलन त्यतै अल्झियो । २०३७ भदौताक हुनुपर्छ– हामीले निष्कर्ष निकाल्यौँ– जनसंगठन बनाउनुपर्छ र सामाजका आधारभूत तह र तप्काका जनतालाई आन्दोलनमा गोलबन्द गर्नुपर्छ । कम्युनिस्ट आन्दोलनको आयातन अझ फराकिलो र विस्तृत तुल्याउनुपर्छ । 

पार्टीको संरचना र आन्दोलनलाई यो रूपमा परिस्कृत गराउन मदनको उल्लेख्य भूमिका छ । अर्को सामन्तवादको प्रतीत राजालाई मान्ने कि नमान्ने भन्ने विषयमा पनि पार्टीभित्र ठूलो बहस थियो । सामन्तवाद छ भन्ने तर त्यसको नाइके को हो भनेर नभन्ने अवस्था पनि थियो ।

मदनले तर्क गर्नुभयो– “राजालाई सामन्तवादको प्रतीक नभन्ने हो भने हामीले कसकाविरुद्ध आन्दोलन गर्ने ? हाम्रो आन्दोलन कसको विरुद्ध हुन्छ ?” मदन आफ्नो अडानमा टसको मस हुनुहुन्नथ्यो । त्यो उहाँको विशेषता नै थियो । पार्टीमा उहाँका विचार र दृष्टिकोण लागु हुँदै गए । गुट, समूहले होइन विचार र दृष्टिकोणले नेता निर्माण गर्छ । तिनताक जीवराज आश्रित भन्नुहुनथ्यो– “मदन भण्डारीको विकास तीव्रतर गतिमा हुँदैछ । पछि उहाँ नै हाम्रो नेता हुनुहुन्छ ।”

त्यो समूहको सबैभन्दा ठूलो नेताले नै मदनलाई नेता स्वीकार गरिसकेपछि अरूले नमान्ने कुरै भएन । जनसंगठन निर्माण भएपछि पहिलोपल्ट अनेरास्ववियु तत्कालीन एकताको पाँचौले देशव्यापी बन्द आह्वान गर्‍यो । २०३७ साल चैत १ गते । नेपालको इतिहासमा त्यो नै पहिलो चक्काजाम थियो ।

नेकपा (माले) नै पहिलो पार्टी हो जसले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (मार्च ८) मनायो । दिवस मनाउनेक्रममा ठूलो झडप भयो, झापाको दमकमा । कयौँ साथीहरूले राजकाजको मुद्दा बेहोरे । डेढवर्षसम्म जेल परे । १२ जना त गम्भीर घाइते भए । किसान यात्रा गर्‍यौँ । धरपकड त्यहाँ पनि भयो । पार्टी तहमा मात्रै सीमित भएको आन्दोलन मजदुर, विद्यार्थी, महिला, किसान हुँदै तल तल ओर्लियो । यसको आर्किटेक वास्तवमा मदन भण्डारी नै हो ।

रत्नकुमार वान्तवाको हत्या भएपछि मेरो कार्यक्षेत्र पूर्वतिर सर्‍यो । लुम्बिनीमा थिएँ, मेची जानुपर्ने भयो । त्यतिबेला मदन भण्डारीसँग बाक्लै भेटघाट हुन्थ्यो । त्यतिबेला पार्टीले राष्ट्रिय पञ्चायतको निर्वाचनलाई उपयोग गर्ने निर्णय लिएको थियो । बाहिरबाट पनि पञ्चायतको जरा काट्ने, भित्र पसेर जीर्ण तुल्याउने, त्यो एकप्रकारको अन्तध्र्वंश थियो ।

मेचीबाट हामीले दुईजना प्रतिनिधि जिताएका थियौँ । केशवकुमार बुढाथोकी, जो कांग्रेसका भनेर चिनिएका थिए, उहाँलाई पनि जितायौँ । राष्ट्रिय पञ्चायतमात्रै होइन स्थानीय पञ्चायतको निर्वाचनको पनि उपयोग गर्ने रणनीति बनायौँ । मेचीमा मात्रै हामीले त्यसरी ९ जनालाई जिताएका थियौँ ।

मेचीको अनुभव काठमाडौंले पनि सिको गर्ने भयो । मेचीबाट म पुनः स्थानान्तरण भएर काठमाडौँ आएँ र नगरपञ्चायतको चुनाव उपयोग गर्ने रणनीति बनाए । तर, काठमाडौंको भावभूमि तदनुकूल भएन । पार्टीभित्र मदनको प्रभाव उद्दीप्त भइसकेको थियो । जहिले महाधिवेशन भए पनि मदन पार्टी नेतृत्वमा चुनिन्छन् भन्ने एक किसिमको विश्वास पैदा भइसकेको थियो ।

०४६ सालको महाधिवेशनले मदन भण्डारीलाई पार्टी महासचिवमा चुन्यो । झलनाथ खनाल र सीपी मैनालीले बाहेक मुख फोरेर हुँदैन भन्ने अवस्था बनेन ।

बहुदलीयता स्वीकार

बहुदल स्वीकार गर्ने तर परम्परागत पुँजीवादी पारामा होइन भन्ने दृष्टिकोण मदनको सुरूदेखि नै थियो–विशेषतः २०४६ को जनआन्दोलनपछि । बहुदलीयताप्रति उहाँको दृष्टिकोण सु–स्पष्ट थियो । रेडक्रसदेखि उपभोक्ता समितिसम्मका चुनावमा भाग लिने, जनताको पक्षधर शक्तिले जित्ने । कुनै पनि संस्थाको सुधार बाहिर बसेर होइन, भित्र पसेर मात्र गर्न सकिन्छ भन्ने नीति नै थियो, मदनको ।

चौँथो महाधिवेशनले त्यो दृष्टिकोण पास गर्‍यो । माले इतरकाले सक्दो विरोध गरे । सबै कम्युनिस्ट घटकहरूको गच्छेअनुसारको विरोध थियो त्यतिबेला । “अब माले सकियो । संसदीय भासतिर गयो । संशोधनवादको पिछलग्गु भयो, माओत्सेतुङ विचारधारा छाड्यो,” अनेक भनेर सकुञ्जेल गाली गरे ।

कसलाई नेता मान्ने र केलाई नीति मान्ने भनेर मदन बडो प्रष्ट र नीर्भिक हुनुहुन्थ्यो । रत्तिभर प्रभाव परेन । ०४६ को महाधिवेशनले जनआन्दोलनको कार्यदिशा पनि तयार पा¥यो । सामन्तवाद, राजाशाहीलाई समाप्त पार्न बुर्जुवा वर्गसँग मिलेर पनि आन्दोलन गर्नुपर्ने हुन सक्छ भनेर त्यसले आधार तयार पारेको थियो । त्यसमा मदनको भूमिका अहम् छ ।

आन्दोलनको लगत्तै माक्र्सवादीसँग एकता भएर एमाले बन्यो । एकीकरणताक जनताको बहुदल भन्ने कार्यदिशालाई एकताको आधारपत्रका रूपमा प्रवेश गरायो ।

जनताको बहदुलीय जनवादी कार्यदिशा अघि सार्दाका सकस

२०४७ सालमै अमेरिकाको पत्रिका न्युज विकले छाप्यो– इन नेपाल, कार्ल मार्क्स लिभ्स । त्यसले राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा तरङ्ग पैदा गरिसकेको थियो । मदन स्वयम् पनि यसअघि आफूले अघि सार्दै आएका कुराहरूलाई नेपाली कम्युनिस्ट आन्दोलनको तत्कालीन कार्यक्रम बनाउने र त्यही बाटो भएर कम्युनिस्ट आन्दोलनलाई अघि बढाउने तयारी गरिरहनुभएको थियो ।

अध्ययन र अन्वेषणमा माहिर मदन अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनबाट पाठ सिकेर नेपाली कम्युनिस्ट आन्दोलनलाई गतिदिने ठाउँमा हुनुहुन्थ्यो । अहिले पनि मदन भण्डारी नेपालमा माक्सवाद पढ्ने र सिर्जनात्मक उपयोग गर्ने एक्लो नेता हुनुहुन्छ । अहिलेका कतिपय नेताहरूले मार्क्सवाद पढेका छैनन् । लेनिन पढ्यो, स्टालिन पढ्यो, माओत्सेतुङ पढ्यो ।

कार्ल मार्क्स संसारका सबैभन्दा पाका र पूराना प्रजातान्त्रिक दार्शनिक हुन् । नेपालको सन्दर्भमा जुनकुरा मदनले मात्रै खुट्याउनुभयो ।  “हामी ती कम्युनिस्ट भन्दा फरक छौँ, जो समाजलाई एउटा गोदाममा परिणत गर्न चाहन्छन् । हाम्रो विश्वासमा स्वतन्त्रता नपाएको समाजले समानता दिन सक्दैन,” मार्क्सको भनाइ उद्धृत गर्दै उहाँ भन्नुहुन्थ्यो– “स्वतन्त्रता र समानता एकै सिक्काको दुई पाटा हुन् । र, आजको कम्युनिस्ट आन्दोलनको आवश्यकता पनि यही हो ।”

जनतालाई काम लाग्ने र जनताको जीवनमा प्रयोग हुने चिजमात्रै कम्युनिस्ट पार्टीको कार्यनीति, कार्यक्रम हुनुपर्छ ।  त्यसैलाई कार्यक्रम (जसलाई पछि सिद्धान्त भनियो)को रङ दिएर उहाँले ल्याउनु भयो ।

पार्टीभित्र गञ्जागोल भयो । लेनिन, स्टालिन, माओ घोकेर आएकाले मदनको कार्यक्रमलाई शायद पत्याएनन् । स्थायी कमिटीमा उहाँ अल्पमतमा पर्नुभयो । म त केन्द्रीय कमिटीमा मात्रै थिएँ । मैले थाहा पाएसम्म जनताको बहुदलीय जनवादका पक्षमा ३ जनामात्रै उभिनुभएको थियो । तर, केन्द्रीय कमिटीका बहुमत सदस्यले उहाँको विचार पास गरे ।

माधव नेपाल पनि शुरूमा सहमत थिएनन् । पछि हामीले च्याप्यौँ । भरतमोहन अधिकारीचाहिँ मदनको पक्षमा खुलेरै लाग्नुभयो । भन्नुहुन्थ्यो– “मदनले के ल्याउनुभयो, हामी बूढाले त खासै बुझ्दैनौँ । तर, हामी युवाका पक्षमा खुलेर लाग्नुपर्छ ।”

जबजको उग्र प्रवक्ता

२०४९ सालको पाँचौँ महाधिवेशनताक म नवयुगको सहायक सम्पादक थिएँ । सम्पादक हुनुहुन्थ्यो– झलनाथ खनाल । जनताको बहुदलीय जनवाद स्थायी कमिटीमा छलफल भइरहेको थियो । मैले झलनाथलाई भने– “तपाईंहरूले स्थायी कमिटीमा छलफल गरिरहनुभएको छ । नवयुगमा पनि छापौँ । तल पनि बहस हुँदै गर्छ ।”

उहाँले हुन्छ, किन नहुनु भन्नुभयो ।

स्थायी कमिटीमा छलफलको विषय भएछ । झलनाथलाई खेदेछन्– “किन छापेको नवयुगमा ?”

उहाँले प्याच्च भन्नुभएछ– “मैले होइन, प्रदीप नेपालले छाप्नुभएछ । उहाँ सहायक–सम्पादक ।”

त्यसपछि मलाई पार्टीको विभागबाट हटाइयो । सहायक–सम्पादकबाट पनि लखेटियो ।

अतिशय रिस उठ्यो । काठमाडौंका केही साथीसँग पैसा उठाएँ । जनताको बहुदलीय जनवादको हाते पुस्तिका बनाएर ठाउँठाउँमा बाँडे । १० हजार हातेपुस्तिका बनाएर बाँडेको थिएँ, त्यतिबेला ।

जबज विरोधी मदन भण्डारीसँग भन्दा मसँग क्रूद्ध भए ।

पुष्पलाल श्रेष्ठलाई कम्युनिस्ट पार्टीको संस्थापक भएकाले मान्छौँ । तर, सही मार्क्सवाद उहाँले पनि दिन सक्नुभएन । यसकारण कि उहाँ स्वयम् पनि चिनियाँ क्रान्ति, माओत्सेतुङबाट प्रभावित हुनुहुन्थ्यो । यथार्थमा माओत्सेतुङ विचारधारा उहाँकै पालादेखि आरम्भ भएको हो ।

मदन भण्डारीचाहिँ नेपालको पहिलो मार्क्सवादी नेता हुनुहुन्थ्यो । तर, कांग्रेसले बीपीलाई बिर्सिएझैँ नेकपाले पनि मदन भण्डारीलाई बिर्संदैछ ।

अकर्मण्य कांग्रेस

२०४८ सालको निर्वाचनको पूर्वसन्ध्या । मिति र समय ठ्याक्कै याद भएन । तीसकै दशकमा म र किसुनजी (कांग्रेसका तत्कालीन सभापति, अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई) सँगै जेल बसेका थियौँ । 

महासचिव मदनले भन्नुभयो– “दुईवटा चुनाव मिलेर लड्न पाए, प्रतिगमनको खतरा हुँदैनथ्यो । अरूले किसुनजीलाई भेट्न सक्दैनन् । पाउँदा पनि पाउँदैनन् । तपार्ईंलाई खुब मन पराउनुहुन्छ रे ! मेरै नाकमुनिबाट सुरुङ खन्ने यी बहादुर केटाहरू भन्नुहुन्छ रे ! कि जाने त कुरा गर्न ?”

त्यही दिन बालुवाटार गएँ । भेट्नासाथ किसुनजीले सोध्नुभयो– “५० हजार लिनुभयो ? तपाईं त राजनीतिक पीडित हो नि त !” 

“त्यो त लिउँला । तपाईं प्रधानमन्त्री हुँदै हुनुहुन्छ, पैसा त भोलिपर्सि लिँदा पनि हुन्छ । तर, मैले अर्को प्रस्ताव लिएर आएको,” मैले भनेँ ।

“के ?,” उहाँले प्रतिप्रश्न गर्नुभयो ।

“गिरिजाप्रसाद पार्टीको महामन्त्री भइहाल्नुभयो, मान्नुहुन्न । दुई अध्यक्षचाहिँ मिलेर चुनाव लड्नुपर्‍यो, तपाईंका लागि हामी काठमाडौं ठाउँ छाडिदिन्छौँ, मनमोहनजीका लागि धरान ठाउँ छाड्नुहोस् ! धरान वामपन्थी प्रभाव क्षेत्रै हो, कसैले हराउन सक्दैन । तर, काठमाडौँ–१ वामपन्थी गढ होइन, कांग्रेसलाई पनि सहज छैन । कहिले नानीमैयाले जित्छिन्, कहिले कसले जित्छ, यो खतरापूर्ण छ, मिलाऔँ । कांग्रेसले चाह्यो भने अरू पदाधिकारीका लागि पनि ठाउँ छाड्न एमाले तयार छ । महासचिवले काठमाडौं–५ बाट मात्रै उठ्छु, किसुनजीलाई ठाउँ छाड्दिन्छु भन्नुभएको छ,” मैले स–विस्तार राखेँ ।

“तपाईंहरूको जमानत जफत हुन्छ,” किसुनजी बेस्सरी हाँस्नुभयो र फेरि भन्नुभयो, “तपाईंहरू डबल डिजिटमा त टेक्नुहुन्छ । तपाईंहरूको संगठन राम्रो छ रे ! तर चुनाव जित्न गाह्रो छ बुझ्नुभो !”

मैले उहाँलाई हिँड्ने बेलामा भनेँ– “कांग्रेसभित्रको कलह हामीलाई थाहा छ । अरू के गर्छन् भन्न सक्दिनँ तपाईंचाहिँ हार्दै हुनुहुन्छ ।”

अहँ किसुनजीले मान्नुभएन । परिणाम चुनाव हार्नुभयो । कांग्रेसको विश्लेषण एमालेले दश सिट जित्ला भन्ने रहेछ । किसुनजी किन पछि हट्नुहुन्थ्यो ।

उपनिर्वाचनमा पनि किसुनजी कांग्रेसकै शिकारमा पर्नुभयो । हामीले त भनेकै थियौँ– “न उठ्नूस्, विद्या भण्डारीको सेतो सारीले जसलाई पनि हराउँछ ।”

त्यसपल्ट पनि मान्नुभएन । हार्नुभयो ।

मदनको वियोग

मदन भण्डारी महासचिव भएदेखि नै म सचिवालयमा थिएँ । र, त्यसदिन पनि पार्टी अफिसमै थिएँ । वातावरण निकै धमिलो थियो । पानी परेर भर्खर रोकिएको थियो । ६ बजेतिर हुनुपर्छ, म घर (डल्लु)तिर लागेँ ।

घर पुग्न पनि पाएका थिइनँ । कार्यालयको लेखापाल लेखनाथ कोइरालाले असनमा भेटेर भन्नुभयो– “महासचिव दुर्घटनामा पर्नुभयो रे ! खबर राम्रो छैन !”
 
प्रहरीलाई फोन गरेँ, तत्कालै । घटनाको पुष्टि गर्‍यो । विश्वास नलागेर चितवनका पार्टी नेतालाई फोन गरेँ । उनीहरूले पनि भने– “महासचिव, संगठन विभाग दुवै गुमायौँ ।”

सबैकुरा सिध्धिएको प्रतीत भयो । तर, हामी हार्नेवाला थिएनौँ । शोकबाट माथि उठ्यौँ । अहिले एमाले र माओवादी एक भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको छ । पार्टी दुईतिहाइ सन्निकट मत पाएर सरकारमा छ । जबज विरोधी र जबज पढेरै हुर्किएकासमेत जबजको उपादेयता सकिएको घोषणा गर्दै हिँड्न थालेका छन् । यसमा कुनै द्विविधा पाल्नुपर्दैन । जबसम्म हामी समाजवादमा पाइला चाल्दैनौँ त्यतिबेलासम्म जबज कामयावी नै रहन्छ । परिपक्व पुँजीवादपछि समाजवाद आउँछ, भाषण गरेर, संविधानमा लेखेर समाजवाद आउने होइन ।

त्यहाँसम्मको बाटो मदनले कोरिसक्नु भएको छ । हारे प्रतिपक्षमा बस्ने । जिते सरकारमा जाने र जनहितका नीति कार्यक्रम बनाउने, सबै मदन भण्डारीले तय गरिसक्नुभएको छ । मदन भण्डारीको दृष्टिकोणमा राज्य संयन्त्र विस्तारित हुनु, उपरीसंरचनाभन्दा तलका संरचना बलियो हुनु नै समाजवादको आधार निर्माण हुनु हो ।

संघीयताले समाजवादको बाटोतिर जान सघाउ पुर्‍याउँछ । यसकारणकि संघीयताले तलका संस्था बलियो बनाउँछ । कामकाजी बनाउँछ । संघीय संसदको काम कानुनमात्रै बनाउने हो । जनसमुदायमा शक्ति पुग्नु नै जनताको बहुदलीय जनवाद हो । अतः आजको सन्दर्भमा जबजको औचित्य सकिएको होइन, बरु बलियो बन्दै गइरहेको छ ।

(२६ औँ मदन–आश्रित स्मृत दिवसका अवसरमा नेकपा नेता प्रदीप नेपालसँग अक्षर काकाले गरेको कुराकानीमा आधारित)
 


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ३, २०७६  ०८:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC