पोखरा । एकीकरणपछि समाजवादी पार्टी नेपालको पहिलो भेला पोखरामा सकिएको छ । गत वैशाख २३ गते तत्कालीन नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम मिलेर ‘समाजवादी पार्टी नेपाल’ गठन भएको थियो । उपेन्द्र यादव नेतृत्वको तत्कालीन फोरम सरकारमा सहभागी थियो भने डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टी नेपाल प्रतिपक्षमा थियो ।
यी दुई पार्टीको सैद्धान्तिक एकीकरणपछि पोखरामा पहिलोपटक प्रादेशिक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अध्यक्षद्वयसहित जातीय राज्यको वकालत गर्दै आएका समावादी पार्टीका वरिष्ठ नेता अशोक राई, सहअध्यक्ष राजेन्द्र श्रेष्ठसहित दर्जन बढी केन्द्रीय सदस्यहरुले सम्बोधन गरे ।
इन्द्रधनुषी राज्यराष्ट्र हो, समाजवादी पार्टी : भट्टराई
तत्कालीन नेकपा माओवादीबाट छुट्टिएपछि नयाँ शक्ति पार्टी नेपालमार्फत वैकल्पिक शक्तिको वकालत गर्दै आएका पूर्वप्रधानमन्त्री एवम् समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले कांग्रेस र कम्युनिष्ट सत्ताको विकल्पमा समाजवादी पार्टी जन्मिएको बताए । कांग्रेस र कम्युनिष्ट सरकारहरु देश खोक्रो बनाउन मात्र लागेको आरोप उनले लगाए ।
"दुई तिहाइको सरकारबाट जनताले आशा राख्नु स्वभाविक हो, हामीले त बुझेका थियौँ, हाम्रा आँखाले देखेको थियो, यो त नाममात्रको कम्युनिस्ट हो, वास्तवमा यो कमाउनिष्टको पार्टी हो, भ्रष्टाचारी हो, खानपानमा समय बिताउँछन्, अंशबण्डा, भागबण्डा नमिलेपछि त्यहाँ कचिंगल सुरू हुन्छ, र सोभियत संघमा झैँ कुहिएको फर्सी जसरी छताछुल्ल हुन्छ भन्ने हाम्रो आँखाले देखेको थियो, तर हाम्रो आँखाले मात्र देखेर भएन", उनले भने ।
नेकपालाई क्यान्सर रोगी जस्तो धेरै आयु नभएको भन्दै उनले कटाक्ष गरे । "डाक्टरले एउटा क्यान्सर लागेको रोगीलाई ठ्याक्क उसले भन्छ यति समयसम्म बाँच्छ तर सामान्य मान्छेले भन्न सक्दैन, अन्तिम समयसम्म पनि क्यान्सर लागेको मान्छे टाँठै देखिन्छ, तर डाक्टरले उसको आयु किटान गरिसकेको हुन्छ, यो नाममात्रको कम्युनिस्ट सरकार हो, यो टिक्नेवाला छैन्, तर जनताले बुझेका थिएनन्, यो १ वर्षमा जनताले धेरै बुझे ।"
विभिन्न समयका राजनीतिक घटनाक्रममा भने उनले सबै दलहरुको भूमिका उल्लेख्य रहेको बताए । शाहीकालदेखि गणतन्त्रसम्म कुनै न कुनै दलले महत्वपूर्ण भूमिका निभाए पनि अब गणतन्त्र संस्थागत गरी समृद्ध राष्ट्र बनाउन समाजवादी पार्टी नेपालको विकल्प नरहेको उनले बताए ।
"विभिन्न आन्दोलनमा कांग्रेसले लार्भाको भूमिका खेल्यो, कम्युनिष्ट झुसिलकिरा बन्यो अब समाजवादी पार्टी नेपालले पुतलीको रुप लिन्छ" उनले थपे, "ईन्द्रधनुषी राष्ट्र राज्य, भ्रष्टाचारमुक्त गरि सुशासनबाट समुन्नत मुलुकको निर्माण गर्नुपर्छ भनेर हामी अगाडि आएका हौँ ।"
समाजवादी पार्टीले विकल्प दिनुपर्छ भनेर नै एकीकरण गरेको उनले बताए । "अब पनि विकल्प दिन सकिएन भने नकारात्मक स्थिती आउन सक्छ, उपेन्द्रजीले पनि वैकल्पिक शक्तिमार्फत समुन्नत नेपाल निर्माण हुनुपर्छ भन्दै आउनुभएको थियो । यो पार्टीको नेताको मात्र एकीकरण होइन, इन्द्रेणीको रंगजस्तो, हिमालदेखि तराईसम्म र खसआर्यदेखि मधेसका थारुहरु अट्ने पार्टी हो", उनले भने, "अहिलेको बनोटअनुसार शासन व्यवस्था हुनुपर्छ भन्ने हाम्रो माग हो । १० प्लस १ को संघीयता मोडेल त्यसको विकल्प हुनसक्छ भन्नेहरुले बाबुरामले डलर खाएर ल्यायो, फुट ल्याउन खोज्यो भन्लान तर म प्रधानमन्त्री हुँदाको बखतमा तत्कालीन सबै दलका नेता बुद्धिजीविहरुले बुझाएको प्रतिवेदन हो त्यो । को आउँछ बहस गर्न हामी तयार छौँ ।"
दुई पार्टीको एकीकरणले विश्वव्यापी रुपमा तरंग आएको र आउनु स्वभाविक नै रहेको उनले बताए । "हाम्रो एकीकरणपछि विश्वव्यापी तरंग आउनु स्वभाविक छ, अपेक्षित नै हो, अहिलेको आवश्यकता पनि वैकल्पिक राजनीतिक शक्तिको हो । यसबाट कोही आत्तिनु, बहुलाउनु स्वभाविक नै हो", उनले भने ।
अपाङ्ग संघीयतापूर्ण बनाउन हामी जुट्यौँ : मन्त्री यादव
अर्का अध्यक्ष एवम्, उपप्रधान तथा स्वास्थ्य एवम् जनसंख्यामन्त्री उपेन्द्र यादवले अपाङ्ग संघीयतालाई पूर्णता दिन वैकल्पिक शक्तिको खाँचो रहेको बताए । "संघीयता त जन्मियो तर अपाङ्ग संघीयता जन्मियो । एउटा हात छ खुट्टा छैन, कृतिम हातखुट्टा लगाएर दौडाउन परेको छ" उनले भने, "पहिचानको मान्यता र जातजाती, संस्कृति, भाषा, धर्म, लिंगको आधारमा राज्यको नीतिले विभेद गरेको छ । पहिचानको मान्यता, विभेदको अन्त्य र समावेशिता नभए संघीयता नै हुँदैन, हामीले यो नक्कली संघीयतालाई साँच्चैको संघीयता बनाउँछौँ ।"
अहिले प्रदेश र केन्द्रकोबीचमा शक्ति, श्रोत र सत्ताको बाँडफाँडमा विवाद छ । अहिले प्रदेशलाई पिछलग्गु बनाइएको छ । संघीयता सफल बनाउन प्रदेशहरु सम्पन्न बन्न साधन स्रोतमा सम्पन्न बन्नुपर्ने उनको भनाई थियो ।
संघीय समाजवादी र नयाँ शक्तिको एकता भने अलिक ढिलो भएको उनले बताए । "जति धेरै पानी हालेपनि फल लाग्न सिजन चाहिँदो रहेछ । हामीले यो एकीकरण अलिक पहिले पनि प्रयास गर्यौँ, तर फल लाग्न सिजन नै चहिँदो रहेछ । यो सिजनमा आएर एकीकरण भयो", उनले थपे, "यो एकिकरणले वास्तविक रुपमा सबैलाई अटाएको छ, यहाँ हिमालदेखि तराईसम्म, देशका सबै भाषाभाषी, जातजाती अटाएका छन् ।"
'संविधान संशोधन नभए सडकबाटै आन्दोलन गर्छौं'
"मधेसमा आन्दोलन हुँदा भारतले उक्साहटमा लागे भन्ने आरोप हामीमाथि थोपरिन्थ्यो, अब उनीहरुले (सत्तासीन दल) के भन्लान ?" मन्त्री यादवले प्रश्न गरे, "हाम्रो एकता भएको देखेर हतारमा हिजो मात्र उनीहरुले (नेकपाले) जनवर्गीय नेतृत्व हतारमा टुंग्याएको छ । हामीले उठाएका मुद्दामा के जवाफ दिने भनेर अत्तालिएका छन् ।"
सरकारमा सहभागिताको प्रसंगमा उनले भने, "हामी सहभागी हुँदा दुई तिहाइ पुग्थ्यो, संविधान संशोधन गर्न सहज हुन्थ्यो, पाएका अधिकार संरक्षण गर्न तथा थप अधिकार प्राप्ति गर्न हामी सरकारमा गयौँ । अब त्यो समय आएको छ । संविधान संशोधन नभए सडकमा ओर्लन्छौँ । सडकबाटै हामीले अधिकार माग्छौँ ।’
पार्टीका वरिष्ठ नेता अशोक राईले एकतापछि पार्टीमाथि धेरै तहबाट आक्रमण हुने र त्यसको प्रतिकार गर्न कार्यकर्ताहरुलाई आग्रह गरे । "राजनीतिमा के हुँदोरहेछ भने कानूनी राजनीतिक सामाजिक मान्यता पाउनुपर्दो रहेछ र बल्लपूर्ण बन्दोरहेछ र हामी एकतापछि पूर्ण भएका छौँ । त्यो मान्यता पूर्णता सर्वाङ्गिण रुपमा प्राप्त गर्न सफल भएका छौँ । अब हामीमाथि विभिन्न किसिमका आरोपहरु आउन सक्छन्, त्यसको प्रतिकारको निम्ति हामी तयार हुनुपर्छ, हामीले वैचारिक एकता गरिसक्यौँ संगठनात्मक एकता गर्दैछौ, छिटै नैं स्थानीय तह, जनवर्गीय संगठनको पनि गर्नेछौँ ।"
निश्चित उद्धेश्य र कारणले राजनीतिमा आएको उनले प्रष्टाए । अन्य प्रदेशमा पनि अभिमुखीकरण गर्ने कार्यक्रम रहेको उनले सुनाए । कार्यक्रममा अन्य वक्ताहरुले देशको आवश्यकता, बाध्यताका कारण एकीकरण भएको बताएका थिए ।