site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भाकल
Ghorahi CementGhorahi Cement

– नारायण अधिकारी


र, मदन ल्हासा पुग्छ ।

Agni Group

ओहो ! कस्तो अचम्म ! जताततै सुनैसुन । दले लामाको दरबार, घर, बाटो, बगैंचा, पर्खाल— सबैतिर सुनैसुन । सुनैसुन देख्दा मदन आफ्नै आँखालाई विश्वास गर्दैन । मदन आफ्नो गोजी, पोल्टो, थैली सबैतिर सुनैसुन भर्न थाल्छ । अट्नेसम्म र बोक्न सक्नेसम्म सुन भरिसकेपछि मदन आफूलाई संसारको सबैभन्दा धनी मान्छे सम्झिन्छ । खुशीले खुट्टा भुइँमा हुँदैन । सम्हालिन नसकेको मदन खुशीले ल्हासामै चिच्याउँछ, “हामी धनी भयौं मञ्जु...!”

मदन झल्याँस्स ब्युँझिन्छ । “ओहो ! सपना पो रै’छ ! थुइक्क !”

Global Ime bank

खाटमै असिनपसिन मदन यो सपनामात्र भएको थाहा पाउँदा एकपटक आफैंलाई धिक्कार्‍यो, “थुइक्क ! किन ब्युँझिएँ सपनाबाट ? यही सपना देख्दादेख्दै एकैपटक किन मरिनँ म ? यो कस्तो सपना देखें मैले ? के म त्यही मदन हुँ, जो देवकोटाले लेखेको दुःखान्त कविताको मुख्य पात्र थियो ? के मेरी मञ्जु त्यही मुना थिई, जसले बिदेसिएको पतिको अनुहारसमेत हेर्न नपाई यो संसार छोडेर गई ? के म जन्मिनुअघि नै देवकोटाले मेरो सपनाको चोरी गरे ?”

प्रश्नहरूले निदाउन दिएनन् । कोल्टो फर्केर सँगै सुतेकी मञ्जुलाई नियाल्यो । ऊ अझ मस्त निदाइरहेकी थिई । मदनले सोच्यो— मञ्जुले के सपना देख्दी हो ? उसको सपनामा म आउँछु होला कि नाइ ? मेरोजस्तै उसको सपना पनि कसैले चोरी पो सक्यो कि ?

उज्यालो नहुँदै ऊ मन्दिरतिर हिँड्यो । ऊ मन्दिर नपुग्दै भक्तजनहरूको घुइँचो लागिसकेको थियो । तर, यो घुँइचो उसका लागि थिएन । ऊ यहाँ दर्शन गर्न आएको होइन । सरासर मन्दिरको मौलोपट्टि लाग्यो, जहाँ सधैंजसो उसको प्रतीक्षामा हुन्छन्— जीवनको अन्तिम घडी कुरिरहेका हाँस, कुखुरा, पाठी र बोकाहरू । पर्खिरहेका हुन्छन् धारिलो खुकुरी । पर्खिरहेका हुन्छन् केही भक्तालुहरू, जसको उपहारसहितको कृतज्ञता भगवानसम्म पुर्‍याउने एकमात्र माध्यम हो मदन ।

बलि चढाउन मन्दिरमा आउनेहरूको अनुहारमा बेग्लै उज्यालो चमक देख्छ मदन । भाकल पूरा गरिदिएकोमा भगवानप्रतिको कृतज्ञता स्पष्ट बोध हुन्छ तिनका आँखामा । उनीहरूका आफ्नै कथा हुन्छन्—

“मेरो रोग निको भयो । मेरो शोक हरायो । मेरी श्रीमतीले बल्लतल्ल छोरो पाई । मेरो छोरोको विदेश भिसा लाग्यो । मैले मुद्दा जितें । मेरो शत्रुकी स्वास्नी उसैको नोकरसित पोइल गई ।” यस्तै यस्तै ।

यस्तै अनेक सफलतामा प्रशन्न मान्छेहरूको कृतज्ञता भगवानसम्म पुर्‍याउँछ मदन । हरेक दिन ऊ हाँस चुँड्छ, कुखुरा चुँड्छ । ऊ आफ्नो धारिलो हतियारले बलिदान भएका बोका र पाठीहरूको घाँटी सेर्छ । बिहानदेखि बेलुकासम्म सेर्छ । वैशाखदेखि चैतसम्म सेर्छ । कहिलेकाहीँ ऊ सपनामा समेत आफू रगतपच्छे हुने गरी बोका र पाठीहरू सेरिरहेको हुन्छ ।

तर, आज त्यही मदनले मन्दिरमा कुनै बोका, पाठी सेरेन । ऊ भुलेर मात्र आज मन्दिर सबैरै आइपुगेको हो । किनकि आज एकादशी हो । आज कोही पनि भक्तालु बलि लिएर मन्दिरसम्म आउँदैनन् । आज मदनले आफूलाई बेरोजगार महसुस गर्‍यो । एकपटक मन्दिरको परिक्रमा गर्‍यो, निधारमा टीको लगायो र कुनै जनावरको टाउको नबोकी घर फर्कियो । १५ दिनमा आज एकपटक घरमा कुनै मासुको तरकारी पाक्दैन । कदाचित मदनले बजारबाट तरकारी लैजान बिर्सियो भने मञ्जु भोकै बस्छे ।

मनभरि अनेक कुरा खेलाउँदै मदन डेरा फर्कियो । फर्किंदा–फर्किंदै एकपटक विदेश जान महिनौंअघि म्यानपावरमा बुझाएको पासपोर्ट फिर्ता माग्न जाऊँ कि पनि भन्ठान्यो तर पनि ऊ छिरेन । भिसा लाग्ने झिनो आशा पालेर बसेको छ । हुन त चाँडै भिसा झरोस् भनेर मदनले पटक–पटक भाकल पनि गरेकै हो तर पनि आजसम्म उसले गरेको भाकल भगवानले सुनेनका छैनन् । शायद उसले गरेको भाकलमा भगवानलाई विश्वास छैन ।

कोठाको दैलोनेर पुग्नै लाग्दा हतार–हतार निस्किँदै गरेको चन्द्रेलाई देख्यो । मदनलाई देखेर फिस्स हाँस्दै केही नबोली आफ्नो बाटो लाग्यो । मदनले पनि जवाफमा फिस्स हाँसो फर्काइदियो तर केही बोलेन ।

चन्द्रे यहीँ छिमेकमा बस्छ । खास नाता नपरे पनि मञ्जु चन्द्रेलाई माइती गाउँको साख्खै नातेदार भएको बताउँछे । चन्द्रेले अलि पर घर किनेको छ र उसकी दुइटी श्रीमती छन् । उमेरले ४५ कटे पनि चन्द्रेले भर्खरै कान्छी श्रीमती ल्याएको छ, जो साख्खै उसकी साली पनि हो । चन्द्रे प्रायः मदनसँग बोल्दैन । कदाचित बोल्नै परेका बेला ‘ज्वाँइसाप’ भनेर बोलाउँछ । चन्द्रे बेलाबखत मदनको डेरातिर देखिइरहन्छ । मञ्जुले उसलाई माइतीपट्टिको नजिकको नाता पर्ने चन्द्र दाइ भन्ने भएकाले आफू नभएको बेलामा डेरा छिरे पनि मदनले आजसम्म आपत्ति जनाएको छैन । तर, उसले मनैदेखि स्वागत पनि गरेको छैन ।

मदन डेराभित्र छिरेर पुरानो खाटमा थ्याच्च बस्यो । पुरानो घरको अँध्यारो कोठाभित्र खाना पकाउन स्टोभमा दम दिइरहेकी मञ्जुले पुलक्क मदनलाई हेरी ।

“खै त ? रित्तो हात पो आको ? तरकारी ल्याउनु पर्दैन ? आज एकादशी हो । खान्नँ म यो बोकाको बासी गिदीको झोलसँग भात । तिमी नै खाऊ ।”

मदन झल्याँस्स भयो । बेसुरमा हिँड्दा उसले तरकारी ल्याउन बिर्सेछ ।

“भसक्क बिर्सेछु । हिजोको बाँकी खसीको टाउको पकाऊ । अहिले त्यही खाऊँ न । बेलुकी म तरकारी किनेर ल्याउँला ।”

“खसीको टाउको किन, मेरै टाउको खाए भैहाल्यो नि ! अनि म्यानपावर नगको ? हुन त तिम्लाई किन विदेश जान परेको छ र ! विदेश गए पैसा कमाइन्छ, सुख हुन्छ, राम्रो लाउन र मीठो खान पाइन्छ । तिम्लाई स्वास्नीले सुख पाओस् भन्ने इच्छा नै कहाँ छ र !”

मदन केही बोलेन । बरु सोध्यो, “चन्द्र दाइ चैं के कामले आ’का थे नि आज ?”

“बैनी सम्झेर आए नि । किन नतातेको ज्वाइँ भन्दैथे नि । पैसा कमाउन मन छैन जस्तो छ ज्वाइँलाई, बोका सेरेरै जिन्दगी जाने भो भन्थे ।”

मदनले चन्द्रेको नाम लिनेबित्तिकै मञ्जुको आवाज चर्को हुन्छ । मदनले चन्द्रेको बारेमा सोधेको मन पर्दैन मञ्जुलाई । ऊ मदनलाई खाउँलाजस्तो गर्छे ।

“तैपनि अर्काको कोठामा बारम्बार किन आइरहनू ! त्यो पनि बच्चाबच्ची नभएकी एक्ली आइमाई बस्ने कोठामा । म नभएको मौका पारेर !”

“ए ! अनि के साइत हेराएर आउनु पर्ने ? अनि के तिम्लाई चाहिँ आफ्नै स्वास्नीप्रति विश्वास छैन ? लोकलाज के हो, मलाई नि थाहा छ । बैनी भनेर आए, एक कप चिया खाए र गए । अनि तिम्लाई बच्चाबच्ची नभएको पीर छ भने जाऊ न जचाऊ । बिहे गरेको पाँच वर्ष भयो । एक सरो नयाँ धोती त दिन सकेनौ सकेनौ, एउटा कोख भरिदिन पनि सकेनौ ।”

मञ्जुले दिएको मुखभरिको जवाफ मदनले चुपचाप सुनिरह्यो । उसले मञ्जुको अनुहारमा आफ्नो लागि सहानुभूति खोज्यो तर मरुभूमिको मृगमरिचिकाझैं त्यो भ्रममात्रै भइदियो । न ऊ चर्को स्वर गरेर जवाफ फर्काउन सक्थ्यो न हात उठाउन, न ग्वाँ–ग्वाँ रोइदिन नै । ऊ केवल सहन सक्छ । जसरी सहन्छन् मन्दिरको मौलोमा आइपुगेका बलिका बोकाहरू । ऊ सहनमात्रै सक्छ । सहिरहनमात्रै सक्छ ।

“कोसिस नगरेको हो र ? छिटो गर्दे भनेर म्यानपावरमा कराएकै छु । भिसा झर्दैन त म के गरूँ । मैले नचाहेर मेरो भिसा नलागेको हो र ? भगवानले मेरो प्रगति होस् भनेर चाहेकै छैनन् ।”

“प्रगति गर्न त आँट हुनु पर्‍यो नि आँट । मर्द भए पो ।”

मञ्जुले एक वाक्यमा जवाफ फर्काई । ‘नामर्द’ शब्दले तिखो भालाझैं मदनको मुटु छेडेर निस्कियो । ऊ रुन सक्दैन तर प्रतिकार पनि गर्न सक्दैन । मञ्जुले भनेको आँट के हो, उसलाई केही थाहा छैन । तर, ‘नामर्द’ शब्दको सम्बोधनसँग ऊ अत्यन्त सशंकित छ । त्यसो त कतिपटक अस्पताल गएर आफ्नो स्वास्थ्य जँचाऊ भन्ने नसोचेको पनि होइन उसले तर नतिजाको भयले परीक्षामै बस्न डराउने विद्यार्थीझैं आजसम्म अस्पताल जाने आँट गर्न सकेको छैन ।

ऊ घरबाट निस्कियो । म्यानपावर छिर्‍यो । छिटो भिसा झारिदिन बिन्ती बिसायो र पुनः निराश भएर मन्दिर नछिरी घर फर्कियो ।

साँझ प¥यो, रात छिप्पियो । शान्त खाटमा अशान्त भएर मदन रातभर छट्पटायो । मञ्जु मस्त निदाइरहेकी थिई । मनले उसलाई छुन खोज्यो तर दिउँसभरि थाकेर सुतेकी मञ्जुलाई देखेर हच्कियो । महिना, पन्ध्र दिनमा कहिलेकाहीँबाहेक प्रायः निदाइरहेकी मञ्जुको निद्रा खल्बलाउँदैन ऊ । उ कोल्टे फर्कियो । मन्दिर सम्झियो र भगवानसँग सधैंझैं उही भाकल दोहोर्‍यायो, “हे ईश्वर ! मञ्जुको कोख भरिदेऊ । म तिमीलाई मेरै हातले सग्लो बलि चढाउँला ।”

हरेक रात प्रायः यसरी नै छट्पटाइरहन्छ मदन । भिसा लागोस् भनेर कतिपटक उसले प्रार्थना गरिसक्यो । मञ्जुको कोख भरियोस् भनेर कति भाकल गरिसक्यो । तर, अहँ ! यतिका मान्छेका भाकल सुन्ने भगवानले उसको भाकल आजसम्म सुनेनन् ।

मदन सधैं अशान्त रहन्छ, खाट प्रायः शान्त रहन्छ । मञ्जु मस्त निदाइरहन्छे । मदन सधैं नबिराई भाकल गरिरहन्छ । आक्कल–झुक्कल ऊ कहिलेकाहीँ आफू पुरुष हुनुको प्रमाण मञ्जुको शरीरभित्र छोड्छ ।

हरेक दिन मदन बिहान उज्यालो नहुँदै उठ्छ, मन्दिर जान्छ । मन्दिरमा कयौं जनावर सेर्छ । ऊ हरेक दिन रगतले जिउ नुहाउँछ र पानीले अनुहार धुन्छ । ऊ आफ्नो धारिलो खुकुरीले धेरै घाँटी सेरिरहन्छ । बिहान ११ बजेतिर ऊ मन्दिरबाट खाना खान डेरा फर्किन्छ । फर्किने बेला डेरा छेउछाउ ऊ चन्द्रेलाई देखिरहन्छ । चन्द्रे हरेक भेटमा मदनलाई देखेर फिस्स हाँस्छ तर बोल्दैन । जवाफमा मदन पनि फिस्स हाँसिदिन्छ मात्रै ।

मञ्जु सधैं विदेश जान र पैसा कमाउन कराइरहन्छे । मदन हरेक दिन चन्द्रे आउनुको कारण नरिसाई सोधिरहन्छ । चन्द्रेको नाम लिनेबित्तिकै मञ्जुले मदनको सातो खाइरहन्छे । मदन सधैं खाना खाएर एकपटक म्यानपावर छिर्छ र मन्दिरतिर लाग्छ । साँझपख एउटा छिनेको टाउको झुन्ड्याउँदै डेरातिर लाग्छ । रात ढल्छ, अनिदो मदन मञ्जुको कोख भरियोस् भनेर भाकल गर्न कुनै रात छुटाउँदैन ।

सधैंझैं मन्दिरबाट घर फर्किंदा घरको दैलोअगाडि चन्द्रे भेटियो । ऊ फिस्स हाँस्यो । मदनले पनि हाँसो फर्कायो । तर, आज चन्द्रे चुपचाप बाटो लागेन, “म ज्वाइँसापकोमै पसेर आ’को । के छ बैनी ज्वाइँको सञ्चो–बिसञ्चो भनेर । यसो बजारबाट कान्छीको सामान किनेर आउँदा बाटो परेर पसेको थें । बैनीले ‘हाम्रो त साह्रै बिजोग भो दाइ, ज्वाइँको भिसा नि लागेन, अलि गतिलो म्यानपावर खोजेर अलि राम्रो देश पठाइदिनू परो’ भन्दैथिन् । अब हजुरको पनि त्यही विचार हो भने सोचूँला है म ज्वाँइसाप ।”

प्रायः आफूसित खासै नबोल्ने चन्द्रे आज यसरी बोलेको सुन्दा पहिले त मदन आश्चर्यमा पर्‍यो । अनि यत्रो सहानुभूति आज एक्कासि कहाँबाट ? मदनले केही प्रश्न गरेन ।

“हुन्छ नि चन्द्र दाइ । म मञ्जुसित सल्लाह गरेर निधो गरूँला नि है !” छोटो जवाफ दिएर मदन डेराभित्र छिर्‍यो ।

डेरा आज पनि अँध्यारै थियो । मट्टिटेलको धूवाँले कालाम्य कोठाका भित्ता आज पनि कालाम्य नै थिए । तर, सधैं औंशीको जून हुने मञ्जु आज भने पूर्णिमाको चन्द्रझैं उज्याली थिई ।

“यो स्टोभको धूवाँले म त मर्न आँटिसकें । अचेल त सबैको भान्छामा ग्यास चुलोमा खाना पाक्छ । ५ हजारजति भए त ग्यास र चुलो आउँथ्यो नि । बरु सरसापट गरे नि हुने हो ।”

मदन केही बोलेन । मञ्जुको नरम आवाज सुनेर छक्क परिरह्यो । मञ्जुले थप्दै गई, “अँ यसरी हुँदैन । म्यानपावर फेरेर भए नि विदेशचाहिँ जाऊ । विदेश गएर अलिकति पैसा कमाए हाम्रा पनि सुखका दिन फिर्लान् कि । सपना पनि राम्रो देख्न थालेकी छु । भगवानले पुकारा सुने भने हाम्रा पनि सन्तान होलान् भन्ने आश लाग्न थालेको छ । तिन्लाई हुर्काउन, बढाउन पनि पैसै चाहिन्छ । चन्द्र दाइ आ’का थे । मैले अलिकति ऋण मिलाइदिन पर्‍यो, जानेबित्तिकै तिर्नुहुन्छ भनेकी छु, मानेका छन् ।”

ठीकै भनेकी हो मञ्जुले । विदेश त जानै पर्छ । कतिन्जेल मन्दिरमा बोका सेरेर बस्ने ! तर, चन्द्रेसँग पैसा माग्नुपर्ने कारणचाहिँ के ? मदनको चित्त बुझेन ।

“माग्न पर्दैन चन्द्रेसित पैसा । मलाई त्यो मान्छेको नियत ठीक लाग्दैन । धेरै दाइ, दाइ नभन । त्यसको आँखा गिद्धको जस्तो छ । सध्दे मान्छे भए छँदाखाँदाकी श्रीमती हुँदाहुँदै कान्छी ल्याउँथ्यो ? त्यो पनि को ? आफ्नै साली ।”

“के भो त जतिवटा ल्याए नि । मिलाएरै राख्या छ क्यारे ! राम्रो लाकै छन्, मीठो खाकै छन् । जेठीका तीन्टी छोरी थे, कान्छीले छोरो पाइदी । घर भर्दी । मर्दले ल्यायो, के नौलो भो र !”

‘मर्द’ शब्दको वाण एकपटक फेरि मदनको मुटुसम्म छेडेर पार भयो । ऊ आवेशमा आयो । हात उठाउन खोज्यो तर फेरि रोकियो । हात तल झार्‍यो । केही नबोली खाटमै थच्चियो ।

दिन ढल्यो, साँझ पर्‍यो, रात छिप्पियो । मदन छट्पटायो । मञ्जु मस्त निदाइरहेकी थिई । निदाइरहेकी मञ्जुलाई छुन खोज्यो तर फेरि हात हटायो । कोल्टे फर्कियो । मन्दिर सम्झियो र भगवानसँग भाकल ग¥यो, “हे ईश्वर ! हे विधाता ! यो अपराध नगर प्रभू । बिन्ती, मञ्जुको कोख भरिदेऊ । समाचार सुनेको दिन म तिमीलाई मेरै हातले सग्लो बलि चढाउँला ।”

दिन बित्दै गए । मदनले मन्दिर र डेरा गरिरह्यो । तर, मञ्जुले भनेझैं म्यानपावर फेर्न मानेन । मञ्जु चन्द्रेले भनेको म्यानपावरबाट कोसिस गर्न कराइरही । तर, पहिलेजस्तो चन्द्रे अचेल मदनको डेरातिर नियमित देखिँदैन । बाटोमा कहिलेकाहीँ भेटिन्छ तर भेटमा ऊ फिस्स हाँस्छमात्रै, बोल्दैन । जवाफमा मदन पनि फिस्स हाँसिदिन्छ मात्रै ।

एकदिन मन्दिरबाट फर्किंदा मदन अत्यन्त हर्षित मुद्रामा थियो । एकादशी होइन तर पनि उसले एउटा हातमा हरियो तरकारी, फलफूल र अर्को हातमा लड्डुको प्याकेट झुन्ड्याएर ल्याएको थियो ।

ऊ खुशी हुँदै डेरा छि¥यो र मञ्जुको मुखमा लड्डु कोच्याइदियो, जुरुक्क उचाल्यो ।

“हाम्रा पनि खुशीका दिन आउने भए बूढी । म्यानपावर छिरेर आ’को, मेरो भिसा लाग्यो रे ! अब त विदेश सरर हो बूढी म पनि । को बस्छ त्यो मन्दिरमा बोका र पाठी सेरेर ! बुझ्यौ, पहिलो महिनाको तलबले म तिमीलाई नामी सारी पठाइदिन्छु । चन्द्रेको कान्छीजस्तै बनेर हिँडौली तिमी । गतिलो कोठामा सरौली, ग्यासमा खाना पकाउली ।”

श्रीमानको भिसा लागेको खबर सुनेर मञ्जुको खुशीको सीमा रहेन । ऊ खुशीले पागलझैं उफ्रिई । मदनलाई चुम्बनको वर्षा गरिदिई ।

“भगवानले हाम्रो पुकारा सुनिदिए जस्तो छ बूढा । अब त हाम्रा नि खुशीका दिन आउने भए । यत्ति धेरै खुशी कसरी थाम्न सकूँला मैले । थाहा छ, यस पटक मेरो महिना नाघेको पनि आज १३ दिन भइसक्यो । भगवानले मेरो कोख पनि भरिदिएजस्तो छ । अब हाम्रा दुःखका दिन गए जस्तो छ ।”

मञ्जुले एकै सासमा सबै सुनाई । अचानक आफू बाबु बन्न लागेको खबर सुन्दा मदन शुरुमा त आश्चर्यचकित भयो तर एकैछिनमा खुशीले बुरुक्क उफ्रियो ।

“साँच्चै हो मञ्जु ? हे ईश्वर ! आखिर यो दुःखीको भाकल सुनिदियौ प्रभू । धन्य छौ भगवान । यो अभागीलाई लागेको नामर्दको दाग मेटाइदियौ । धन्य भगवान । धन्य ईश्वर ।”

मदन यति देखियो कि मानौं ऊ यही दिनको पर्खाइमा आजसम्म बाँचेको थियो । उसले मञ्जुलाई अंकमाल गरिरहह्यो, मञ्जु मदनको अँगालोमा बाँधिइरही ।

आज मन्दिरबाट घर फर्किंदा साँझ पर्‍यो । रात छिप्पियो । मञ्जु मस्त निद्रामा थिई । तर, मदन सदाझैं आज अशान्त देखिएन । निदाइरहेकी मञ्जुलाई उसले एकटकले नियाल्यो । मञ्जुलाई छुन उसका दुवै हात अघि बढे तर उत्तिखेरै यथास्थानमा फर्किए ।

मदन खाटबाट बिस्तारै उठ्यो र कुनामा राखेको खुकुरी हेर्‍यो । यो त्यही खुकुरी हो, जसले मन्दिरमा बलि लिएर आउने हजारौं कृतज्ञ मान्छेहरूले चढाएको उपहार ईश्वरसम्म पुर्‍याइदिएको छ । यो त्यही खुकुरी हो, जसले आजसम्म मदन र मञ्जुको पेट भरिदिएको छ ।

मदनले बिस्तारै खुकुरी समायो । खुकुरीको धारमा आफ्ना औंला बिस्तारै दौडाउँदै खुकुरीको धार जाँच्यो । यसरी उसले कयौं पटक खुकुरीको धार जाँचेको छ । धार जाँच्दै गर्दा उसका आँखामा ती हजारौं अभागी जनावरहरूको तस्बिर अगाडि आयो । तिनको आलो रगतले भिजेको आफ्नो शरीर याद आयो । ऊ बिस्तारै खुकुरी लिएर खाटसम्म पुग्यो, जहाँ मञ्जु अझै निदाइरहेकी थिई । एकहातले मञ्जुको पेट छाम्यो । उसको अनुहार र आँखामा हेर्‍यो । निमेषभरका लागि सास रोक्यो । मध्यरातमा एक्कासि केही आवाज निस्कियो तर सुन्ने कोही थिएनन् ।

सबैरै मन्दिरमा घण्टी बज्न थाले । मन्दिरको मौलोबाहिर भाकल पूरा भएका मान्छेहरूले ल्याएका हाँस, कुखुरा, पाठी र बोकाहरू बलिदान हुने पालो कुरिरहेका थिए । तर, मौलोभित्र उज्यालो नहुँदै आजको पहिलो बलि चढिसकेको थियो । बलिको आधा सेरिएको घाँटी, ढलेको शरीर र रक्ताम्य मौलो सबै शान्त थिए । मौलोको छेउमा एउटा अन्तिम बलि चढाएको सेवानिवृत्त खुकुरी सधैंका लागि आराम गरिरहेको थियो ।

र, सँगै चीर आराम गरिरहेथ्यो मदन पनि । ऊसँगै खल्तीमा आराम गरिरहेको थियो— कदापी बाबु बन्न नसक्ने हालसालैको एकथान मेडिकल रिपोर्ट ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ ४, २०७६  ०९:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC