site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘पशुपतिप्रसाद’पछिको भोक ‘आमा’बाट मेटाउने प्रयासमा दीपेन्द्र
Sarbottam CementSarbottam Cement

आजकाल उनी खासै बाहिर निस्किदैनन् । घर । घर नभए अफिस, उनको दैनिकी हो । साथीभाइ भेट्ने, गफ लगाउने अनि, जमघट र रमाइलोबाट उनी टाढै छन् । त्यसो त घरमै बसे पनि घरकालाई भने उनी घरमा बसेको अनुभूत हुँदोरहेनछ । एकोहोरो कम्प्यूटरमा घोत्लिरहने । एकोहोरिने । रातरातसम्म बसिरहने । न परिवारको मतलब, न आफ्नै । प्रसङ्ग हो, चलचित्र ‘आमा’ को स्क्रिप्ट लेखक दीपेन्द्र के खनालको । स्क्रिप्ट लेखनमा अहिले उनी व्यस्त छन् । लेख्दै च्यात्दै, लेख्दै च्यात्दै । कति पटक ? अनगिन्ती पटक । 

आइतबार गहनापोखरीस्थित दीपेन्द्रको कार्यालय पुग्दा उनको टेलबमा ६४ पृष्ठको स्क्रिप्टको वाइन्डिङ फाइल थियो, ‘ आमा’को । “पाचौं ड्राफ्ट हो यो,” उनी भन्दै थिए, “चार पटक त मैले कम्प्युटरमा चलचित्रको ओपनिङ र इन्डिङ कसरी गर्ने भनेर परिवर्तन गरेको छु ।”

नौ महिना भयो दीपेन्द्रले यो स्क्रिप्ट लेख्न थालेको । स्टोरीको आइडिया जेनेरेट भएको त चलचित्र ‘धनपति’ रिलिज भए देखिकै हो । ‘धनपति’ पछि उनले ‘लभ लभ लभ’ र ‘चङ्गा चेट’ निर्देशन गरे । “तर ब्याक अफ द हेड’ मेरो दिमागमा यो कथाले झक्झक्याइरहेको थियो,” दीपेन्द्र भन्छन्, “कसरी स्टोरी पूरा गर्ने भन्ने दिमागमा आइरहन्थ्यो ।”
‘पशुपतिप्रसाद’ले एउटा हाइप दियो । त्यसकै हाराहारीको बनाउने भन्दै दीपेन्द्रले ‘धनपति’ निर्देशन गरे । दुर्भाग्य ‘धनपति’ले त्यो हाइप निर्माण गर्न सकेन । त्यसपछिका दुई चलचित्र त उनले फरक जानरामा बनाए । त्यसबाट उनले ‘पशुपतिप्रसाद’को हाइपको अपेक्षा नै गरेनन् । 

Prabhu Bank
Agni Group
NIC Asia

० ० ०

बलिउडबाट कथा सापट लिएर चलचित्र निर्माण गर्ने नेपाली चलचित्र उद्योगमा आफ्नै कथा भन्न सुरू गर्‍यो । भलै त्यो धिमा गतीमा छ । तर अहिलेसम्म नेपाली चलचित्रले आफ्नै सिनेम्याटिक ल्याङ्ग्वेज बनाउन सकेको छैन । यो पक्ष दीपेन्द्रको मनमा खट्किरहेको छ । त्यसैले उनी नेपाली दृश्य भाषा निर्माण गर्नुपर्छ भन्ने पक्षमा छन् । त्यसको सुरुआत उनी आफ्नै चलचित्र ‘आमा’बाट गर्ने तयारीमा छन् । “कथासँगै हाम्रो आफ्नै दृश्य भाषा पनि चाहिन्छ । त्यसैले म यो पटक मेरो चलचित्र म आफैँ खिच्दैछु,” उनी भन्छन् ।
 
‘पशुपतिप्रसाद’को कथा लेख्दा दीपेन्द्रमा एक खालको आत्मविश्वास पैदा भएको थियो । चलचित्र आम दर्शकले मन पराउँछन् र समीक्षकले पनि राम्रो लेख्छन् भन्ने ।  अहिले त्यही आत्मविश्वास उनमा देखिएको छ । ‘आमा’को कथालाई लिएर उनमा ‘पशुपतिप्रसाद’कोभन्दा धेरै आत्मविश्वास जागेको छ । ‘पशुपतिप्रसाद’ अगाडि जस्तो ‘फिल’ भएको थियो । त्यस्तै ‘फिल’ अहिले पनि भइहेको उनी बताउँछन् ।
 
“म अहिले केही बोल्दिन किन भने यहाँ चलचित्र रिलिज हुनु अगाडि ठूलठुला कुरा गरेर दशर्कलाई ढाँट्ने प्रवृत्तिले दर्शकले पत्याउन छोडिसके,” दीपेन्द्र चलचित्रकर्मीको आम प्रवृत्तिको कुरा गर्दै त्यसबाट आफू अछुतो रहन खोज्छन्, “मलाई मेरो काम दर्शकले पर्दामा देखुन् भन्ने लाग्छ । पर्दामा काम राम्रो देखियो भने दर्शकलाई गफ लगाउनु नै पर्दैन । आफैँ आउनुहुन्छ चलचित्र हेर्न ।” 

Global Ime bank

उनले ‘आमा’को ड्राफ्ट सुरक्षा पन्त, सूर्यमाला शर्मा, सरिता गिरी र देशभक्त खनाललाई दिए र भने, “यो स्क्रिप्ट पढेर वाह क्या दामी स्क्रिप्ट भनेर मेरो अगाडि नआउनुस् । मलाई प्रश्न र समस्या चाहिन्छ ?” स्क्रिप्टमा रहेको कमजोरी पत्ता लगाउन उनले भनेका थिए । 

नभन्दै कलाकारले आफूले जानेको समस्या र लागेको जिज्ञासा दीपेन्द्रसँग राखे । सुझाव उनका लागि शीरोधार्य छ । 

० ० ०

नामबाटै अनुमान लगाउन सकिन्छ । ‘आमा’ महिलाको कथा बोकेको चलचित्र हो । तीन जना आमाहरुको कथा भन्दैछ ‘आमा’ले । चलचित्र फिमेल प्रोटागोनिस्ट भएको चलचित्र हो । तर, एक कदम अगाडि बढेर दीपेन्द्र भन्छन्, “आमाहरुको यो चलचित्र फिमेल प्रोटागोनिस्ट त हुँदै हो तर मलाई लाग्छ, महिला चरित्र यती धेरै सशक्त भएको नेपाली चलचित्र सम्भवत यो पहिलो हुनेछ ।”

‘आमा’हरुको कथा भएको चलचित्र नाम अरु राख्ने कुरै भएन । स्क्रिप्ट लेख्दा उनले नामको विकल्पबारे सोचेनन् पनि । 

“मैले चलचित्र विकास बोर्डमा अनुमतिका लागि नाम दर्ता गर्न जाँदा  नाम जुध्यो भन्यो भने विकल्प के हुन सक्छ ? सोचेकै थिएनन्,” दीपेन्द्र सुनाउँछन्, “कथा लेखिसकेपछि गएको हुँ ।” 

नेपालमा नेपाली भूमीमा नेपाली भाषामा बनेको पहिलो चलचित्र ‘आमा’ । त्यसपछि करिब १२ वर्ष अगाडि अर्को चलचित्र पनि बनेको थियो सोही नाममा । धन्न कानुनी प्रावधान रहेछ, १० वर्ष पुगेपछि सोही नाममा अर्को चलचित्र बनाउन पाइँने । 

जसले दीपेन्द्रलाई निर्देशनमा अग्लो हाइप दियो । त्यो चलचित्र ‘पशुपतिप्रसाद’ आर्यघाटमा खिचिएको थियो । त्यो हाइपलाई पनि उछिनेर थप अग्लिने महत्वाकांक्षी चलचित्र ‘आमा’ उनी निर्देशनसँगै आफैँ खिच्दैछन् पनि । तर कहाँ ? 

जवाफमा उनी भन्छन्, “अहिले भन्यो भने मजा आउँदैन ।” 

“तिमी, म, हामी सबै दिनदिनै गइरहेको । देखिरहेको पनि तर नजरअन्दाज गरेको ठाउँ हुनेछ ।” 

कथा ?

वान लाइन स्टोरी उनले भने, “आमाहरुको कथा हो ।” 

तर त्यसपछिको कथा उनी खोल्न तयार छैनन् । कथाको प्रकृति भने सुनाउँछन्, “आमाको कथा मेरो घरको सदस्यको समस्या हो । सुनेको र हामी आफैँले देखेको र पढेको कुरा हो । कति क्यारेक्टर म आफैँ हुन्छु । कति क्यारेक्टर मैले आफैँले देखेको र सुनेको हुन्छ । यो कथामा प्रत्यक्ष अप्रत्यक्षमा हामी स्वयम् संलग्न छौं । प्रत्येक व्यक्तिको मन छुन्छ र मथिङ्गल हल्लाउँछ ।”  

“सयौं पटक रिसर्च गर्न फिल्डमा पुगेको छु । सानो सानो कुराको विस्तृत खोजेको छु । लुप होल नछोडियोस् भन्ने मेरो उद्देश्य छ,” खनाल भन्छन्, “दर्शकले आहा ! र समीक्षकले वाह ! भन्ने चलचित्र बनाउँछु । सधैँ कमजोरी र कमेन्ट हुने गरेको दृश्य भाषामा ख्याल गरेको छु । दृश्य भाषा हाम्रो आफ्नै हुनेछ ।”
 
चलचित्र जसरी लाग्छन् पत्तै नपाई, त्यसैगरी उत्रिन्छन् थाहै नपाई । न दर्शकको साथ पाउँछन् न समीक्षकको तारिफ । त्यसैले दीपेन्द्र अहिले ‘पशुपतिप्रसाद’ पछिको दर्शक र समीक्षकको साथ नपाएको भोक मेटाउने तयारीमा छन् । “समीक्षकले वाह ! र दर्शकले आहा ! भन्ने चलचित्र बनाएर चलचित्रको भोक मेटाउँदैछु,” दीपेन्द्रमा उच्च आत्मविश्वास देखिन्छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ५, २०७६  १५:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC