एजेन्सी । रियाल मड्रिडले हारसँगै स्पेनिस ला लिगा फुटबलको यो सिजन समाप्त गरेको छ । सिजनको अन्तिम खेलमा आज बेटिससँग हार ब्यहोर्दै रियालले ला लिगाको यात्रा समाप्त गरेको हो ।
घरेलु मैदान सान्टीयागो बर्नाबेउमा रियालले अपेक्षाकृत नतिजा निकाल्न सकेन । पाहुना टोली बेटिसले दोस्रो हाफमा आक्रामक खेल प्रदर्शन गर्दै रियाललाई घरेलु मैदानमा नमिठो हार ब्यहोर्न बाध्य बनायो ।
पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा बेटिसले ६१ औं मिनेटमा अग्रता लिएको थियो । लोरेन मोरोनले गोल गरेपछि अग्रता बनाएको बेटिसले ७५ औं मिनेटमा दोस्रो गोल गर्यो । बेटिसका लागि दोस्रो गोल जेसेले गरे ।
बाँकी समय घरेलु टोली खेलमा फर्किन नसक्दा बेटिस २–० ले विजयी भयो । योसँगै बेटिस ला लिगामा ५० अंकसहित १० औं स्थानमा रह्यो । पराजित रियाल तेस्रो स्थानमा रह्यो । यो सिजन खराब प्रदर्शनबाट गुज्रिएको रियालले ३८ खेलमध्ये २१ मा जित ५ मा बराबरी र १२ खेलमा हार ब्यहोरेको छ ।