site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेकपाले मुलुकलाई ‘कलकत्ता’ बनाउन खोज्दैछ
Sarbottam CementSarbottam Cement

पुँजीवादको दिग्भ्रम

नेपालको सन्दर्भमा, चाहे कम्युनिस्ट हुन्, या कांग्रेस उनीहरूको तात्कालिक कार्यनीति एउटै थियो– नेपाली पुँजीवादी क्रान्ति ।

कम्युनिस्टमध्ये कुनै घटकले नयाँ जनवाद भने, कसैले राजा (संवैधानिक राजतन्त्र)सहितको बहुदलीय जनवाद अलापे । कांग्रेस, एमालेलगायत मुलुकमा आजसम्म जति राजनीतिक पार्टीको जायजन्म भयो र क्रान्तिमा सामेल भए, उनीहरू सबैले लगाएको तात्कालिक नारा मूलतः ‘पुँजीवाद’ नै हो ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, आज हामीले गर्नुपर्ने समीक्षा यो हो– नेपालमा पुँजीवाद आयो या आएन, आउँछ या आउँदैन ? आएको हो भने यो कतिपटक आउँछ ? या आउने सम्भावना दूर भइसक्यो ? आजको बहसले पर्गेल्न नसकेको विषय पनि यही हो ।

२००७ सालको क्रान्ति मैझारो भइसकेपछि तिनताक कांग्रेसले भन्यो– नेपालमा राजनीतिक क्रान्ति पूरा भयो । नेपालमा पुँजीवाद आयो । कांग्रेसको नजरमा राणाशाही नै सामन्तवादको नाइके थियो । त्यो धूलाम्य भएपछि नेपालमा पुँजीवाद भित्रियो ।

Global Ime bank

तर, कम्युनिस्टको दृष्टिकोण अलग थियो । उसले मानेन ।

प्रजातन्त्रको अभ्युदयपश्चात कांग्रेस केही समय सरकारमा गयो । समृद्धि, समाजवाद उसको प्राथमिकतामा पर्दैथियो । राजाले ‘कू’ गरिहाले ।

कांग्रेसको घैँटोमा घाम पस्यो । कांग्रेस–कम्युनिस्ट समवेत स्वरमा भन्न थाले– पुँजीवाद आएकै रहेनछ ! त्यसका लागि पुनः लडाइ लड्नुपर्ने भयो । १०–२० वर्ष लडे पनि ।

२०४६ सालमा कांग्रेस– कम्युनिस्ट (संयुक्त वाममोर्चा) भएर गरेको क्रान्ति त्यो पनि वस्तुतः पुँजीवादी नै थियो । क्रान्ति सम्झौतामा टुंगिइसकेपछि दुवै पार्टीले बाह्र हात उफ्रिएर भन्न थाले– “बल्ल पुँजीवाद आयो ।”
पुँजीवादको विकास गर्न मदन भण्डारीले जनताको बहुदलीय जनवादको विकास नै गरे । र, कार्यक्रम भनेर ल्याइएको जबज पछि सिद्धान्त भनेर जप्दै हिँड्यो, एमाले ।

०५२ सालमा माओवादीले मानेन । कांग्रेस– एमाले स्वीकार्न तयार भएनन् । परिणाम देश युद्धमा गयो ।

दस वर्षपछि कांग्रेस– एमालेको बुद्धि फिर्‍यो । माओवादीसँग स्वर मिसाउँदै कांग्रेस र एमालेले पनि भन्न थाले– नेपालमा पुँजीवाद आएकै रहेनछ ! ०६२–६३ आन्दोलनको आवश्यकता र अपरिहार्यताको महसुस यसैकारणले भएको हो ।

प्रश्न यहाँनेर उठ्छ– ००७ सालमा आएको पुँजीवाद ०४६ सालमा दोहोर्‍याउन र ०६२–६३ मा तेहेर्‍याउन किन पर्‍यो ?

अहिले कांग्रेस, एमाले र माओवादी अथवा डबल नेकपाहरु संयुक्त स्वरमा भन्दैछन्, नेपालमा पुँजीवादी क्रान्ति सम्पन्न भइसकेको छ । पुँजीवादको विकास गर्दै समाजवादको लक्ष्य भेदन गर्नुपर्छ । यसका लागि उनीहरूले संविधानको प्रस्तावनामा नै ‘समाजवादउन्मुख व्यवस्था’ भनेर किटान गरेका छन् । सत्तामा पनि भएकाले नवगठित नेकपाले त्यसका लागि कार्यक्रमसमेत बनाउँदैछ ।

यहाँ समाज बुझेको र मसिनोसँग नाडी छामेको दाबी गर्ने एकाथरी ‘विद्वान’हरू छन्, चैतन्य मिश्र, नारायणमान विजुक्छे रोहितलगायत । उनीहरू तर्क गर्छन्– “पुँजीवाद आएको सात दशक भइसक्यो ।”
तर, सारमा नेपालमा पुँजीवाद आएको थिएन । र, आउँदा पनि आउँदैन ।

पुँजीवाद आउनका लागि त्यो देशको उत्पादनको मुख्य भूमिका पुँजीले निर्वाह गर्नुपर्छ । अथवा भनौँ न देशमा जेजति उत्पादन हुन्छ, ती सबै उत्पादित वस्तु तथा सेवा पुँजीमा आधारित हुनुपर्छ । पूँजीले लगानी, उत्पादन, बिनिमय, बितरण, नाफा र पुनर्लगानीको चक्र पूरा गर्नुपर्ने हुन्छ ! तर दिमागलाई ठण्डा बनाएर घोत्लिऔँ त, हाम्रो देशमा के उत्पादन हुन्छ ? हाम्रो देशमा हुने उत्पादनको मूल निर्णायक तत्व पुँजी छ या छैन ?

यसको सोझो उत्तर हो, उत्पादन केही पनि छैन र भएको उत्पादनको मुख्य निर्णायक तत्व पुँजी छैन ।

अलिअलि कृषिजन्य वस्तु उत्पादन हुन्छ, त्यसमा पुँजीको भूमिका मुख्य छैन । जमिन र मानव श्रम नै मुख्य जस्तो छ । हाम्रो देशको उत्पादनको हिस्सा पुँजीले बेहोर्दैन भने पुँजीवाद आयो कसरी ?

यता आजको परिवर्तित सन्दर्भमा हामीले जति नै तर्क प्रस्तुत गरे पनि विश्वको उत्पादन प्रणालीमा पुँजीको मुख्य भूमिका छैन । नयाँ उत्पादक शक्तिका रूपमा विज्ञान–प्रविधि आएको छ । यसर्थ पुँजीवाद अब आउँदैन ।

विश्वको उत्पादन प्रणालीको आधाभन्दा बढी हिस्सा (काउलीदेखि लिएर हेलिकोप्टर–जहाजसम्म) यो सबै विज्ञान–प्रविधिले ओगटेको छ । उत्पादनको मुख्य भूमिका विज्ञान–प्रविधिको छ । पुँजीको भूमिका निकै गौण छ ।

विश्वको अर्थतन्त्रमा विज्ञान–प्रविधि निर्णायक शक्ति हुने, हामीचाहिँ नेपालमा पुँजीवाद ल्याउँछौँ भनेर दाबी गर्ने । आजको हाम्रो अन्तरविरोध र विरोधाभाष (प्याराडक्स) यही हो । राज्य सञ्चालन गरिरहेका हुन् या प्रतिपक्षीको मोर्चा सम्हालेका दुवैको कार्यदिशामा अहिले तात्विक भिन्नता छैन, उहाँहरू अहिले पुँजीवादको विकास गर्न मरिमेटेर लाग्नुभएको छ । 

जबसम्म नआउने पुँजीवादमा हाम्रो दिलचस्पी देखिन्छ, समृद्धि दिवास्वप्न बन्छ । नेतृत्वमा यसप्रकारको वैचारिक संकट देखिइसकेपछि समृद्धि हाम्रो पालामा भन्ने नाराले हावा खानुबाहेक अर्को विकल्प छैन ।
अहिले सत्ता सम्हालेका मानिसहरूको मुखमा रेल, पानीजहाज झुण्डिएको छ । ठूल्ठूला भौतिक संरचनाका सपना उनीहरूका ओठमा झुन्डिएका छन् । नेपालमा विदेशबाट रेल ल्याएर के पठाउँछौँ ? भारतको रेल नेपालमा ल्याएर हामीले के पठाउँछौँ ? काम खोजिरहेका युवा ? 

हामीकहाँ विदेशी आएर केही किनेर लैजाँदैनन् । रेलमा उनीहरूले आफ्नो देशमा उत्पादित कमोडिटी (वस्तु) बेच्न ल्याउनेवाला छन् । यसर्थ हामी उत्पादनको बाटोमा दिशाकृत भइराखेका हुन्थ्यौँ भने मात्रै रेल ल्याउनुको औचित्य हुन्थ्यो ।

यथास्थितिमा ती वस्तु खरिद गर्ने क्रयशक्ति त हाम्रो छैन । अतः प्रत्येक घरका कमाउन सक्ने मान्छेलाई हामीले खाडी, कतार, मलेसिया, युरोप, अस्ट्रेलिया, जापान, कोरिया, भारत, पठाउनुपर्नेछ । वैदेशिक रोजगारीमा जानेको संख्या अहिले ८० लाख पुगेको छ, निकट भविष्यमै यसको संख्या हुनेछ ।

चीनले अहिले गुन्द्रुक–जनैसम्म पठाइरहेको छ, भारतले नपठाएको के छ र ?  नेपाली चुल्हो–चौका, भात- भान्छा चीन र भारतको बजारमा निर्भर रहन्छ । र, देश दलाल पुँजीवादभित्र कमिसन खाने र दलाली गर्न सक्ने चतुर धूर्तहरूका लागि स्वर्गभूमि हुनेछ ।

अहिले नै हेरौँ न, बूढीगण्डकी निर्णय गर्छन्, अर्ब कमिसन खान्छन् । एनसेलको निर्णय गर्छन्, त्यति नै कमिसन सोहोर्छन् । अपर कर्णाली विदेशी कम्पनीलाई दिन्छन्, सात पुस्तालाई पुग्ने कमिसन कुम्ल्याउँछन् ।
यसर्थ सत्तासिन डबल नेकपा र प्रतिपक्षी कांग्रेसले कुन भावभूमिमा टेकेर आर्थिक कार्यनीति तर्जुमा गरिरहेछन् र लागु गर्ने भगिरथ यत्न गरिरहेछन् ? यसर्थ समृद्धिसँग हाम्रो जम्काभेट कहिल्यै हुँदैन । सरकार पूरा नहुने समृद्धिको सपना बाँडेर हावामा ताजमहल अड्याउन लागिपरेको छ ।

अवसरवाद आफैँमा सिद्धान्त हो । तर, अवसरवादीको कुनै सिद्धान्त हुँदैन । उनीहरूको निम्ती सत्ता, शक्ति र पैसा नै अन्तिम सत्य हो । यसका निम्ति जता पनि पल्टिन तत्पर रहन्छन् । अहिलेको सत्ता अवसरवादीहरूको अखडा बन्न पुगेको छ ।

विचार, सिद्धान्त, उद्देश्य ओझेलमा पर्छ, सत्ता, शक्ति र पैसा जीवन–लक्ष्य बन्छ । यसर्थ केपी शर्मा ओली नेतृत्वको सरकारको मूल चरित्र बोक्रे दलाल–पुँजीवादी छ । जुन हामीले भन्दै आएको पुँजीवादी सारतत्वको होइन । राजनीतिक रूपमा त हामी पुँजीवादमा गइसकेका छैनौँ । सांस्कृतिक रूपमा त सामन्तवाद जस्ताको तस्तै, ज्युँ का त्युँ छ । चाहे होली वाइन होस्, चाहे राष्ट्रपतिको सवारी, या समाजका रहेका उँचनीच, विभेद, कुप्रथा सबैमा यो चरित्र प्रकट भइरहेकै छ । अर्थतन्त्रका हिसाबले त हामी पुँजीवादमा जान पाएकै छैनौँ । भनेपछि हामी कता गइरहेका छौँ ?

जसरी जमिन हुनु र नहुनुसँग सामन्तवाद जोडिँदैन । उत्पादनको भूमिका जमिनले निर्वाह गर्दा त्यो सामन्तवाद हुन्छ । त्यस्तै पुँजीको चलखेल हुनु पुँजीवाद होइन । पुँजी, लगानी, उत्पादन, वितरण, नाफा र पुनःलगानी र पुनः नाफाको अनिवार्य (शाश्वत्) चक्र हो पुँजीवादको । यहाँ त न लगानी छ, न उत्पादन छ । राजनीतिको चरित्र पनि त्यस्तै छ । पुँजीवादमा छनोटको स्वतन्त्रता हुन्छ । क्षमता उसको प्राथमिकतामा पर्छ । रूपमा हेर्दा जनता, प्रधानमन्त्री, सांसद जनताका प्रतिनिधि (चुनिएर)आएका जस्ता देखिन्छन् । सारमा यहाँको राजनीतिले रक्तनाता, नश्ल, गुट, आर्थिक सम्बन्ध, चलखेल त्यसमा पनि गणेश प्रवृत्ति उसको प्राथमिकमतामा पर्छ । यो त पुँजीवादको चरित्र होइन ।

अझ प्रष्ट भाषामा भन्नुपर्दा आज हामी न सामन्तवादमा छौँ, न पुँजीवादमा नै प्रविष्ट भएका छौँ । सामन्तवादभित्रको विद्रूप पाटो जस्ताको तस्तै छ । पुँजीवादभित्रको नकारात्मकता यहाँको राजनीतिको अङ्ग बन्न आइपुगेका छन् ।

दुनियाँले सामन्तवाद छाड्यो र पुँजीवादी संस्कृति बेहोर्‍यो । तर हामी सामन्तवाद र पुँजीवाद दुवैको नकारात्मक संस्कृतिको नक्कल गरिरहेका छौं ! 

अहिले डबल नेकपाको चरित्र यस्तै छ, अर्को एउटा पक्ष यहाँ जबर्जस्त आएको छ: सिद्धान्तविहीनता ।

एमाले बहुदलीय जनवादी क्रान्ति गर्ने भन्दै संसदीय राजनीतिको बाटो हिँड्यो । नेकपा (माओवादी) नयाँ जनवादी क्रान्ति गर्ने भन्दै जनयुद्धको बाटो हिँड्यो । तर, पुँजीवादी क्रान्ति भएन । अहिले उहाँहरू अँध्यारो सुरूङभित्र त पस्नु भएको छ तर जाने कहाँ ? पुग्ने कहाँ ? टुंगो छैन ।

यस्तो अवस्थामा नेकपाले भन्नुपर्थ्यो– “हामीले बाटो देखेनौँ !” समयले ठूलो बहसको माग गरेको छ ।

तर, नेकपालाई त्यसमा रुची छैन । बरु नेकपाका दुई पाइलट भनिराखेका छन्– “अघि बढ केटा हो, हामी हिँडेकै बाटो समृद्धिको राजमार्ग हो ।”

अहिले केही कुरालाई उहाँहरूले समृद्धिको प्रस्थानविन्दू भनिरहनुभएको छ । पहिलो, नेपाल ठूल्ठूला हाइड्रो (जलविद्युत) चलाउने । नदीनाला छेकेर ठूलो ताल निर्माण गर्ने नेकपाको तर्क छ ।

हाम्रो पहाडको सौन्दर्य नदी किनारका बस्ती हुन् । नदी, खोलो मानवसभ्यताको जननी मानिन्छ । आदिकालदेखि अद्यपर्यन्त ।

उत्पादन, भौतिक पूर्वाधारहरूको विकासको दृष्टिले डाँडाको टुप्पामा गएर बस्ने अवस्था त छैन ।

५० मेगावाटको कुलेखानी बाँध बनाउँदा सात किलोमिटर बस्ती विस्थापन गर्नुपर्‍यो । ५००, १००० मेगावाटको ड्याम बनाउँदा कति किलोमिटरसम्मका बस्तीहरू उठिबास लगाउनुपर्ने हो ? हामीले हेक्का गरेका छौँ  ? त्यो ड्यामले कति जमिन र बस्ती डुबाउँदै छ ? हामीले अनुमान गरेका छौँ ? मानव सौन्दर्य नामेट बनाएर समृद्धि सम्भव छ ?

नेपाल विश्वकै कान्छो जमिन हो– जहाँ पानी पर्नेबित्तिकै माटो बग्छ । एउटा हाइड्रोको आयु ३०–४० वर्ष हो । ३०–४० वर्षमा त यहाँका ड्याम त पूरै माटोले भरिने रहेछ । कुलेखानी ड्याममा ६० प्रतिशतभन्दा बढी माटो जम्मा भइसकेको छ । माटो निकाल्ने प्रविधि उत्तिकै खर्चालु छ । यस्तो बाटोबाट समृद्धिको गन्तव्यमा पुगिन्छ कि पुगिँदैन ?

हाम्रो भूमि भूकम्पीय जोखिममा छ । फेरि यो अनिवार्य शक्ति हो । काल्पनिक होइन । २०५० सालमा आएको सामान्य भलबाढीले कुलेखानी फुट्यो । सयौँ जनधनको क्षति भयो ।

५०० मेगावाट विद्युत निकाल्ने क्षमताको बाँध बाँधियो, कदाचित् फुट्यो भने त्यसले निम्त्याउने परिणामको आँकलन हामीले गरेका छौँ ? जुरे महाविनास पनि हामीले हेर्‍यौँ । यसर्थ पनि त्यो सम्भव छैन ।

अर्को हाम्रो नदी उच्च करेन्ट प्रवाह भएका नदी हुन् । विश्वका मुख्य करेन्ट भएका नदीमध्ये पर्छन्, हाम्रा खोला । त्यो प्रवाहलाई प्राकृतिक गतिमा बग्न दिए पो ठीक होला । नदीको धार बदल्दा जुरेको महाविनास अरू ठाउँमा फैलने खतरा रहन्छ । यस कारणले सम्भव रहेनछ ।

चौथो, ४० वर्षसम्म बिजुली विदेशीले उत्पादन गरेर लैजान्छ । त्यसपछि त्यो परियोजना हाम्रो हुन्छ । ४० वर्षसम्म ड्याममा माटो–माटो भइसकेको हुन्छ, पहिलो । दोस्रो, ४० वर्षपछि विश्वले के यही प्रविधिले विद्युत् उत्पादन गर्ला त ? विश्वकै महँगो विद्युत् त हुने हैन ? यस्तो ‘समृद्धिको रटान’को के तुक ? साना साना लघु विद्युतमा ध्यान छैन । 

सरकारले भनिराखेको छ– चीन र भारतको रेल अब काठमाडौंमा आएर जोडिन्छ । ठीक छ, रेल आउनु सुखद् कुरा हो । माथि नै भनिसकियो, काठमाडौँमा रेल आउँदा हामीसँग बेच्न मिल्ने वस्तु भए पो समृद्धिमा टेवा पुग्छ । व्यापारघाटा चुल्याउँदै सामान ल्याउनेवाला पर्‍यौँ । यसर्थ यथास्थितिमा रेल उत्पादक होइन, प्रत्युत्पादक बन्ने पक्कापक्की छ ।

प्रशान्त महासागरमा नेपाली झन्डावाल पाँचवटा पानीजहाज दौडियो रे ! नेपालको उत्पादन प्रणालीमा त्यसले दिने योगदान कति ?

अतः हामीले आमजनतालाई विज्ञानप्रविधिमा आधरित उत्पादन प्रणालीमा निर्णायक सहभागिता गराउनेतिर जानुपर्थ्यो ! १–१० मेगावाटको स–साना जलविद्युत सञ्चालन गर्ने बाटो हिँड्नुपथ्र्यो । तर, दलाल पुँजीवादले कहाँ त्यो बाँटो हिँड्न दिन्छ  ? जति ठूलो जलविद्युत परियोजनामा हस्ताक्षर गर्‍यो, उति नै बढी कमिसन आर्जन हुन्छ । बूढीगण्डकी त्यसको दृष्टान्त हो । नेपालको मन्त्रीले विदेशी कम्पनीको सहायक स्तरको मान्छेसँग सम्झौता गरेको छ, त्यसो गर्न मिल्छ ?

यो समृद्धिको मोडालिटीले नेपाललाई ‘कलकत्ता’ बनाउनेवाला छ ।

कलकत्तामा दुनियाँलाई चकित पार्नेगरी हावडा पुल बन्यो, फोल्डिङ खालको । जहाज आउनेबेलामा पुल आफैँ माथि सर्छ, जहाज पास भएपछि तल ।

सन् १९५० कै दशकमा रेल पनि आयो । पानीजहाज उहिल्यै आयो । ३० औँ वर्ष कम्युनिस्ट सरकारले नै शासन गरेको छ । तर, कलकत्ताको परिचय बदलिएन । कलकत्ता अहिले ‘मगन्ते’को सहर भनेर चिनिन्छ । विश्वमै सबैभन्दा बढी मान्छेहरू सडकमा माग्न बस्ने सहरका रूपमा परिचित छ, कलकत्ता ।

हावडा पुल छ । चौबीसै घन्टा रेल कुद्छ । पानीजहाज पनि आवतजावत गर्छन् । त्यतिका धेरै विकासले पनि गरिबी किन पन्छाउन सकेन त ? किनभने रेल–पानीजहाज–पुल गरिबका लागि थिएन ।

विकल्पः वैज्ञानिक समाजवाद

आजको सन्दर्भमा मार्क्सवादको औचित्य सकियो भन्ने पनि छन् । तर, मार्क्सवाद त बल्ल किशोरावस्था अथवा टिन एजमा प्रवेश गर्‍यो । बल्ल थर्टिन लाग्यो।  यसकारण कि, कार्ल मार्क्सले परिकल्पना गरेको समाजवादका तीनवटा विशेषता छन् ।

पहिलो, प्रचुर उत्पादन । उत्पादन छ्यालब्याल गर्ने भनेको हो त्यो । उत्पादन यति मनग्गे होस्– चोर्न, लुकाउन, सञ्चित गर्न नपरोस् । उत्पादन नभएर, खान नपुगेर त चोर्न (विद्रोह गर्न) परेको हो । चोर पनि बन्न नपर्ने र भकारी पनि भर्न नपर्ने त्यसप्रकारको उत्पादनको वकालत गर्दछ, प्रचुर उत्पादनले ।

धेरै मजदुरलाई काममा लगाउने । उत्पादनको सम्पूर्ण जिम्मा मजदुरले लिने । धेरैभन्दा धेरै उत्पादन गरेर मजदुर आफैँले बाँड्ने । मार्क्सवादको परिकल्पना यस्तो थियो ।

तर, अहिले चामत्कारिक परिवर्तन आयो । एप्पल कम्पनीले ६ अर्ब थान आईफोन उत्पादन गर्न नसकेर नगरेको होइन । हिजोको दिनमा पो यन्त्र–उपकरण चाहिन्थ्यो । त्यही अनुसार मानव श्रम आवश्यक हुन्थ्यो । र, उत्पादनमा सीमितता थियो । अहिले विज्ञान–प्रविधिमा आएको फेरबदलले ६ अर्ब उत्पादन निमेषभरमै सम्भव छ ।

आज एउटै फर्सी २०० किलोको फलाउन सम्भव छ । चार फिटको आँपको बोटमा दुईसय किलो आँप फलाउन अब कहालिनु पर्दैन । इजरायल त्यसको उदाहरण हो । दस प्रतिशतमात्रै किसान हुँदा उसले आफ्ना उत्पादित वस्तु विश्वभरि बेच्छ । यसकारण मार्क्सको पहिलो नारा सार्थक भइसकेको छ ।

समस्या यहाँनेर छ, विज्ञान–प्रविधिलाई विश्वका पुँजीपतिहरूले कब्जा गरिरहेका छन् । पाइरेसी या कपिराइटको नाममा एकाधिकार जमाइरहेका छन् । यसर्थ आजको वर्गसंघर्ष सर्वाहारा र पुँजीपतिबीच होइन, उत्पादनको मुख्य तागत बनेको विज्ञान–प्रविधिलाई कब्जा गरिराखेको पुँजीपति वर्ग र उत्पादनबाट विस्थापित भएको वर्गबीचको अन्तरविरोध नै आजको प्रधान अन्तरविरोध हो ।

राजनीतिक लडाइँ यहाँनेर आवश्यक छ । उत्पादनमा विज्ञान–प्रविधिलाई सम्पूर्ण हिसाबले लगाउने । त्यो उत्पादनको जिम्मा समुदायलाई दिने । उत्पादन प्रणालीमा समुदायको साझेदारी र उत्पादित वस्तु तथा सेवामा समुदायको स्वामित्व स्थापना गर्ने ।

अतः अहिले हामीले निर्वाहमुखी कृषि–प्रणालीबाट माथि उकासिन नसकेको उत्पादन गर्न नसकेर होइन, विज्ञान–प्रविधिको विकास गर्न नसकेर हो ।

समानता मार्क्सीय समाजवादको दोस्रो नारा हो । श्रम विभाजनका कारण लेनिनको रुसमा पनि र माओको चीनमा पनि समानता सम्भव थिएन ।

एउटाले शौच–सडक सफा गर्नैपर्थ्यो । कोही हाकिम हुनैपर्थ्यो । मानसिकता र वर्गका कारणले हुने असमानताको दूरी छोट्टिए पनि वस्तुगत कारणले हुने असमानता कायमै थियो । र, त्यसले वर्ग जन्माउँथ्यो ।
अहिले त रिमोट थिचेर शौचालय सफा हुन्छ । बाटो पिच हुन्छ । अतः मानव श्रमका कारणले हुने असमानता हट्यो ।

तेस्रो, निजी स्वामित्वको अन्त्य । वर्गीय समाजको उदयसँगै निजी स्वामित्वको शुरुवात भयो । खोलाको ढुंगा घर ल्याएपछि निजी, बिहे गरेपछि महिला निजी, जोतेपछि जग्गा निजी । सम्पत्तिमा निजी स्वामित्वको प्रारम्भपछि नै दुनियाँ ‘पथभ्रष्ट’ भयो। विभेदको जड पनि यही हो । निजीकरणको वकालत गर्ने पुँजीवाद र निजिकरणको अन्त्यको घोषणा गर्ने हिजोको समाजवादको प्रयोगमा एउटा रोचक संयोग छ–
पुँजीवादले बीमा (इन्सोरेन्स), किस्ता (इन्स्टलमेन्ट), कर (ट्याक्स) लिन्छ । विदेशमा बसेका नेपाली भुक्तभोगी हुन् । त्यहाँ बीमा नगरे बाँच्नै कठिन छ । मोबाइलदेखि घरसम्मको किस्ताले जीवन बाँधा प्रतीत हुन्छ । करले घाँटी कसेको कस्यै छ । यसरी उसले सबैकुरा राज्यलाई बलियो बनायो ।

आफूलाई समाजवादी भन्नेहरूले बीमा (इन्सोरेन्स), किस्ता (इन्स्टलमेन्ट), कर (ट्याक्स)को लफडातिर त लागेन । तर, व्यक्तिलाई लाजपूर्जासम्म नदिएर राज्यको केन्द्र आफैँलाई बनायो ।
फरक के भयो त ? अतः दुवैको उद्देश्य राज्यलाई नै बलियो बनाउनेमा केन्द्रित रह्यो ।

आजको दुनियाँमा फेसबुक, ट्विटर, इन्स्टाग्राम, इमेललगायत चिजबिना हामीले आफूलाई यो समाजमा हिँडाउन सक्दैनौँ । यो त विज्ञान–प्रविधिको कुरा हो । कसैले निजी बनाउन मिल्ने, सक्ने कुरा होइन । बुद्धि र विवेकको कुरा हो । यो त आइन्स्टाइनद्वारा प्रतिपादित ‘इ इक्वेल टु एमसी स्क्वायर’को सिद्धान्तजस्तै हो । कसैको हकदाबी नहुने ।

पुँजीपतिहरूले फेसबुक, ट्विटर, इन्स्टाग्राम, इमेललाई ‘आफ्नो’ बनाउन लागिपरेका छन् । तर, विश्वमा यस्ता मुलुक पनि छन् । जहाँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, इमेल चल्दैन । उनीहरूको आफ्नै सामाजिक सञ्जाल छ ।

हामीले पनि समानान्तर ढंगले उत्पादनका सबै अवयव चलाउन सक्छौं कसैले निजी बनाउन सक्दैन । यसरी दुनियाँमा निजी स्वामित्वको अन्त्यको वस्तुगत अवस्था देखापरेको छ । चौथो, हिजो समाजवाद राज्य नियन्त्रित थियो । अब समुदाय नियन्त्रित हुनुपर्छ । राज्य नियन्त्रित गर्दा पुँजीवाद भन्दा केही फरक त भयो तर समुदायले अपनत्व महशुस गर्ने खालको भएन ! हिजो तथ्य र तर्कमा आधारित समाजवाद थियो अब विज्ञान–प्रविधिमा आधारित हुनेछ । 

यसर्थ अबको दुँनियामा वैज्ञानिक समाजवाद निर्विकल्प बन्न पुगेको छ ।

(रायमाझीसँग अक्षर काकाले गरेको कुराकानीमा आधारित)
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ५, २०७६  १८:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC