site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विकराल बन्दै महिलामा पाठेघरको समस्या
Ghorahi CementGhorahi Cement

काठमाडौं । ललितपुरको कोञ्ज्योसोम गाउँपालिका ३ दहचोकीकी ४५ वर्षीया ललिता तामाङलाई पिसाब र्फेन बस्दा पाठेघर खस्ने र पेट दुख्नेलगायतको समस्या देखियो । उनले त्यस्तो समस्या देखिएको करिब दुई वर्षपछि मात्र उपचारका लागि दहचोकी स्वास्थ्य केन्द्रमा गइन् । केन्द्रले उनको चेकजाँच गरेर तुरुन्तै थापाथलीस्थित परोपकार प्रसूति गृहमा रिफर गरिदियो । 

प्रसूतिगृहमा पाठेघरमा रिङ राखेपछि अहिले पिसाब गर्दा पेट दुख्ने र पाठेघर खस्ने समस्या निको भएको ललिताले बताइन् । "यस्तो समस्या अरुलाई सुनाउँदा लाज हुन्छ भनेर लुकाएर राखियो", उनले भनिन्, “पाठेघरको समस्या समयमा उपचार गरे निको हुनेरहेछ ।”

त्यसैगरी सोही गाउँपालिका १ चौघरेकी ४० वर्षीया सुनमाया तामाङलाई लामो समयदेखि गुप्ताङ्ग चिलाउने, पोल्ने समस्या देखियो । विशेषगरी महिनाबारीको समयमा यस्तो समस्या हुने गरेको उनले बताइन् । लामो समयसम्म यस्तो समस्या हुँदा पनि उनले स्वास्थ्य जाँच गरिनन् । दुखाई कम गर्ने औषधी खाएर बसिन् । एक दिन दुखाई कम गर्ने औषधी खाँदा पनि निको नभएपछि उनले श्रीमानलाई आफ्नो समस्या सुनाइन् । श्रीमानसँग नै उनी तुरुन्तै घर नजिकैको स्वास्थ्य चौकीमा गइन् । त्यहाँ चेकजाँच गर्दा उनको पाठेघरमा घाउ भइसकेको रहेछ । उनलाई उक्त स्वास्थ्य चौकीले तुरुन्तै पाटन अस्पताल रिफर गरिदियो । 

Agni Group

पाटन अस्पतालका चिकित्सकले उनको पाठेघर बिग्रेको भन्दै तुरुन्तै अप्रेशन गरेर फालिदियो । “आफूसुखी दुखाई कम गर्ने औषधी नखाई, समयमा श्रीमानलाई भनेर उपचार गरेको भए पाठेघर नै फाल्नु पर्दैन् थियो,” सुनमाया भन्छिन्, “पाठेघर नहुदाँ थोरै हिड्दा पनि स्वा: स्वा: हुने, काम गर्न नसकिने समस्या हुँदोरहेछ ।”

ललितपुर जिल्लाको कोञ्ज्योसोम गाउँपालिकाका महिलाहरुमा पाठेघरको समस्या बढी देखिने गरेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नवल किशोर महतोले बताए । महिलाहरु पाठेघरको समस्या लिएर उपचारका लागि अस्पताल नआउने गरेको उनले बताए । “यदि कुनै महिला पाठेघरको समस्या लिएर उपचार गर्न आए पनि अन्तिम अवस्थामा आउने गरेका छन्”, उनले भने, “स्वास्थ्य केन्द्रमा सामान्य रोकथामको औषधी दिएर तुरुन्तै अन्य सरकारी अस्पताला रिफर गर्छौ । तर बिरामीहरु उपचारका लागि आउँदैनन् ।”

Global Ime bank

महिलाहरुमा कुनै समस्या भए घरपरिवारले वास्ता नगर्ने डर र आर्थिक अवस्था कमजोर भएकाले पनि महिलाहरु रोग पालेर बस्ने गरेका महतोले बताए । महतोले भने, “कम उमेरमा बिहे गर्ने, उमेर नपुग्दै बच्चा जन्माउने, छिटोछिटो बच्चा जन्माउने, उमेर ढल्केपछि बच्चा जन्माउने, लामो समयसम्म पनि सुत्केरी ब्यथा लाग्दा पनि घरमै राख्ने, सुत्केरी अवस्थामा आराम नगर्ने, रोग लाग्दा समयमा उपचार नगर्ने महिलामा पाठेघर सम्बन्धी समस्याले सताउने गरेको छ । ”

त्यसैगरी महिलाहरु घरको काम व्यस्त हुने, पाठेघरको समस्याबारेमा खुलेर नभन्ने सोही गाउँपालिकाको वडा नम्बर ३ दहचोकी गाउँपालिकाकी स्वास्थ्य स्वयमसेविका कविता नगकोटीले बताइन् । “महिलाहरुले आफ्नो समस्या खुलेर भन्दैनन् । अझ वडामा राखेको स्वास्थ्यमा महिलाहरु आउँदैनन,” उनले भनिन्, “महिलाहरुले आफ्नो समस्या नभन्ने र घरपरिवारले नै त्यस्तो शिविरमा पठाउँदैनन् ।” महिलाहरु आफ्नो समस्याको बारेमा थाहा हुँदाहुँदै पनि लाज र संकोचले उपचारका लागि नआउने स्वास्थ्यकर्मी नगरकोटीले बताइन् । 

अशिक्षा र गरिबीको कारण महिलामा पाठेघर समस्याको उपचार नगरी रोग पालेर बस्ने गरेका दहचोकी स्वास्थ्य केन्द्र प्रमुख मालती शाही बताउँछिन् । वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. जागेश्वर गौतमले पाठेघरको समस्या ग्रामिण क्षेत्रमा बढी देखिने गरेको बताए । “महिलाहरुले पाठेघरको समस्या लाज र संकोचका कारण गम्भीर भएपछि मात्र उपचारका लागि आउने गर्छन् । ढिलो उपचारका लागि आउँदा ती महिलाहरुमा कसैमा पाठेघर फाल्नुपर्ने अवस्था हुन्छ भने कसैको पाठेघरको क्यान्सर समेत भइसकेको हुन्छ,” उनले भने, “कम उमेरमा बच्चा नजन्माउने, महिलाहरुले महिनाबारीको समयमा सरसफाईमा ध्यान दिने, हरेक वर्ष पाठेघरको चेकजाँच गर्ने, गर्भवती हुँदा र सुत्केरी भइसकेपछि पोषिलो खानेकुरा खाने, स्वास्थ्य संस्थामा सुत्केरी गराउने आदि गरेमा पाठेघरको समस्याबाट बच्न सकिन्छ ।”

महिलाको प्रजनन् स्वास्थ्यसम्बन्धी समस्यामध्ये पाठेघर खस्ने मुख्य समस्या हो । परिवारका सदस्यसँग कुरा गर्दा लाज र इज्जत जाने डरले सबैले रोग पालिरहेको अवस्था छ । यसले कतिपय महिलाहरू मानसिक, शारीरिक रूपमा श्रीमानबाटसमेत पीडित भएर बाँच्न बाध्य रहेको वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. विमला बछार बताउँछिन् ।

त्यस्तै, विश्वमा महिलाहरुमा हुने क्यान्सरमध्ये ७० प्रतिशतसम्म पाठेघरको मुखको क्यान्सर देखिएको छ भने दोस्रोमा स्तन क्यान्सर देखिएको उल्लेख छ । नेपालमा प्रत्येक वर्ष करिब १० हजार महिलामा २० जनामा पाठेघरको क्यान्सर हुने अनुमान छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर प्रत्येक वर्ष २ लाख ७० हजारभन्दा बढी महिलाको पाठेघरको मुखको क्यान्सरले मृत्यु हुन्छ । जसमध्ये नेपाललगायत ८५ प्रतिशत मृत्यु विकासोन्मुख मुलुककै महिला छन् ।

सांकेतिक तस्बिर

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ५, २०७६  १९:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC