site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
ज्ञानेन्द्र पनि यस्तै पाराले पाखा लागेका हुन्
Sarbottam CementSarbottam Cement

सरकारले पछिल्लो दिनमा संसद्मा ल्याएका विधेयकमाथि खरो टिप्पणी गर्ने व्यक्ति हुन् वरिष्ठ अधिवक्ता शम्भु थापा । मानवअधिकार आयोग, मिडिया काउन्सिल, शिक्षा सम्बन्धी विधेयकमा राखिएको प्रावधानले शासक सही दिशामा अघि बढ्न नसकेको निष्कर्ष उनको छ । विचारका हिसाबले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट मानिने थापा सरकारको त्रुटिका कारण नै यस्तो भएको बताउँछन् ।

उनै थापाले बुधबार थापाथलीमा केही पत्रकारहरुसँग अहिले मिडियालाई नियन्त्रण गर्ने कानुन आफूहरुलाई मान्य नहुने बताउँदै सत्तारुढ दलको शुभचिन्तक भए पनि आफू स्वतन्त्रताको पक्षमा उभिने स्पष्ट पारे । उनले राजा ज्ञानेन्द्रको शासनकालमा पनि स्वतन्त्रताका लागि लडाइँ लड्नुपरेको स्मरण गराउँदै अहिले पनि आफू सोही स्थानमा रहेको बताए ।
प्रस्तुत छ, थापासँग गरिएको कुराकानीको मुख्य अंशः

मिडिया काउन्सिल विधेयकको बारेमा अहिले देशव्यापी चर्चा भइरहेको छ । यो विधेयकमा यहाँको धारणा के छ ? 

Prabhu Bank
Agni Group
NIC Asia

यो कानुनी विषय पनि हो । कानुनी विषय किन हो भने यो विधेयकमा लेखहरुको सम्बन्धमा जरिवानामात्रै किन राखियो भन्नु होला । जरिबानाबाहेक कैदको पनि कुरा राख्दा  अदालततिर जानुपर्छ भनेर हो ।  यो कुरा पत्रकारहरुले बुझ्नु जरुरी छ । अर्को कुरा गणतन्त्रसम्म आउँदा पनि धेरै कानुन व्यवसायी अहिले पक्ष प्रतिपक्षमा विभाजित हुनुहुन्छ । उहाँहरु अहिले वरिष्ठ अधिवक्ता हुनुभएको छ । सांसद हुनुभएको छ । तर, उहाँहरुले अहिले आफूले नियुक्त गरेको व्यक्तिबाट जरिबाना गर्ने कानुन ल्याउन लाग्नुभएको छ । त्योे प्रारम्भिक धारणाबाट विचलित भएको अवस्था हो । खालि शासन गर्दाखेरी आफ्नो पक्षमा नउभिने जनमतलाई ठीक गर्ने प्रवृति  पञ्चायतकालमा थियो, त्यो प्रवृतितर्फ अहिले पनि गएको देखिन्छ ।

म यो मान्छे त्यो मान्छे भन्दिनँ । तर, यो यथार्थ हो । त्यसपछि अर्को खट्किएको विषय के हो भने यस्तो निकायमा दण्डात्मक मुद्दा हेर्ने अधिकारी हुँदैन । किनभने न्यायीक निकाय भनेको कानुनले नै तिमी फैसला गर भनेर अदालतको रुपमा सृष्टि गरेको हुन्छ । अर्धन्यायिक निकाय भनेको के बुझ्न जरुरी छ भने जुन निकाय हुन्छ त्यसले अदालत जानुअघिका प्रशासनिक गतिविधि हेर्छ । जस्तो भन्सारले सामान छलीको बारेमा हेर्ने हो । अन्य  निकायसँग त्यसबारेको  विज्ञता हुँदैन । यस्ता कुरा अदालतले मात्रै हेरेर सकिँदैन । अर्ध न्यायीक  निकायले नै त्यस्ता प्रशासनिक काम हेर्ने हो । कसैले भन्सार छल्योे भने अर्को निकायलाई त्यो विषयको विज्ञता हुँदैन ।

Global Ime bank

फेरि अर्को निकायले मुद्दा लैजाँदा ढिला हुन्छ । त्यही भएर अर्धन्यायीक निकाय चाहिन्छ ।  त्यसैले भन्सार, भूमिसुधार जस्ता निकाय चाहिएको हो ।  कानुनी थिति बसाल्नका लागि अर्धन्यायीक निकाय जन्मेको हो । तर, अहिले त्यसलाई नै लत्याउने काम हुन लागेको छ ।

समाप्त पार्ने काम भएको छ । मैले वकालत गरेको बारेमा कसैले मलाई बार काउन्सिलमा गएर जरिबानाको व्यवस्था आग्रह गर्न सक्छ ।  त्यो मेरा लागि  स्वतन्त्रताको कुरा  हो । त्यस्तै कुनै नियोजित खबर पनि प्रकाशन हुन्छ । पत्रकारहरु लेख्नुहुन्छ । हामी पढ्छौं पनि, त्यो यहाँमात्रै होइन संसारमै छ । हुँदै नहुने चाहिँ होइन । त्यो खबर हेर्न प्रेस काउन्सिल जन्मेको होइन नि । उसले मिडियाको वर्गीकरण र आचारसंहिता हेर्ने हो । कस्तो लेखेको भन्ने विषयको व्याख्या कानुनअनुसार अदालतले हेर्ने हो ।  कानुनले व्यवस्था गरेको निकाय अदालत हो । लेखिएको विषय नियन्त्रित विचार अन्तर्गत पर्छ कि पर्दैन भनेर हेर्ने हो । पत्रकारिता १० वर्ष गरेँ १५ वर्ष गरेँ भनेर मात्रै हुँदैन । त्यो संविधान र कानुनको व्याख्यासँग सम्बन्धित छ ।

छापाखाना तथा प्रकाशन सम्बन्धी ऐनले नै मिडियाको जन्म गराएको हो । हामी कानुनका विद्यार्थीले बुझेअनुसार कसैले उजुरी गरेको आधारमा सरकारले मनोनयन गरेको मान्छेले जरिबाना गराउन पाइँदैन ।

त्यस्तो मुद्दा उच्च अदालतमा जाने कुरा छ ।  उच्च अदालतमा जान मात्रै कहाँ सजिलो छ र ? तौरतरिकानै फरक छन् । जरिबाना गर्दा अंक राख्नुपर्छ । जरिबाना हेरिन्छ । जिल्ला अदालतमा जाँदा शुरुवाती प्रमाण हेर्ने कुरा हुन्थ्यो तर उच्च अदालतमा फरक हुन्छ ।  जुन विषय वस्तुको कुरा आएको छ
त्यसबाट यो कुरा भन्न आपत्ति छैन, यही कुरा मागेको हो त ? 

यस्तो विधेयक ल्याउनुमा सरकारको नियत के होला त ? 

प्रष्ट रुपमा भन्नुपर्दा समग्र लेख रचना हेर्नुभयो भने कन्स्ट्रक्टिभ (सिर्जनशील) खालका पाइन्छन् ।  सरकारसँग रचनात्मक ढंगले असहमति राखिएका पाइन्छन् । यो कुरामा विवाद छैन । विधेयक हेर्नुभयो भने पनि थाहा हुन्छ ।  प्रकाशक, सम्पादक वा संवाददाताविरुद्ध उजुरी हाल्न सकिने भनिएको छ ।

निर्देशन दिने आमसञ्चार नीतिअनुसार आचारसंहितामा उजुरी लाग्ने भो । प्रारम्भिक रुपमा छानबिन गर्ने र प्रकाशक र पत्रकारलाई सो ऐनभित्र छिरेर जरिबानासम्म गर्न सकिने कुरा छ । नियत छ कि छैन भन्ने कुरा होइन । यदि तपाईँले राज्य विप्लवको काम गरेको छ भने राज्यविप्लवको कानुन लाग्छ । कसैलाई हानी नोक्सानी गरेको छ भने गाली बेइज्जतीको कानुन लाग्छ । अदालतको अवहेलना गर्नुभएको छ भने अवहेलनाको मुद्दा लाग्दछ ।

पत्रकारलाई मुद्दा नै लाग्दैन भनेर कसले भनेको छ र ? अहिलेसम्म लागेको छैन र ?  नियतको कुरा गर्दा  नेपालको संविधान २०४७ पछि आएको अन्तरिम संविधान र अहिलेको संविधानमा जरिबानाको कल्पना गरिएको  छैन । प्रेस काउन्सिलबाट जरिबाना गर्ने संवैधानिक व्यवस्था गरिएको छैन । अहिलेको संविधानको धारा १९ मा सञ्चारको हक सम्बन्धी व्यवस्था गरिएको छ  ।  त्यसमा प्रतिबन्ध लगाउन सकिने छैन भनिएको छ । यसो गर्नुको कारण शाही शासनकालमा ज्ञानेन्द्रले पहिला मिडियालाई नै आक्रमण गर्न खोजेकोले हो ।

अन्तरिम संविधानले अझ हक बढी सुरक्षित गरेको छ । त्यसमा पूर्ण प्रेस स्वतन्त्रता भनिएको छ । जरिबानाको व्यवस्था नै छैन । धारा १९ ले लेख रचनाका कानुनव्यवसायीलाई पनि आचारसंहिताको नाममा तपाईँले यस्तो मुद्दामा बहस गर्नुभएछ भनेर मुद्दा लाग्दैन । पक्षका प्रमाण हुन पनि सक्छन् नहुन पनि सक्छन् ।  मिडियाले सधैँभरी हाम्रो पक्षमा मात्रै माला गाँसेको छैन । मेरो बारेमा पनि आलोचनात्क धारणा बनाउनु भएको छ । मिडिया सधैं गीतमात्रै गाएर हिंडेको छैन । पत्रकारलाई नेपालको सार्वभौमसत्ताको विरुद्धमा लेख्दा वा गाली बेइज्जतीको ऐन लगाउन सकिन्छ । त्यस्तो कानुनमार्फत् छापा वा डिजिटल नियमन गर्न सकिन्छ । बुझ्नुपर्ने कुरा के हो मिडिया काउन्सिल जस्तो निकाय जरिबाना गर्ने निकाय होइन । यस्तो भयो भने संविधानको उल्लंघन हुन्छ । 

प्रधानमन्त्रीले हालै सम्पादकहरुसँगको भेटमा पनि समाज सही दिशातर्फ गइरहेको छ तर मिडियामा नकारात्मक कुरा बढी आयो भन्नु भएको थियो । मिडियाले गलत नै गरिरहेको हो त ?

यो मलाई चित्त नबुझेको कुरा हो । यस्तो सोचतिर नजाऔं । यसमा मलाई चित्त बुझेको छैन । यतिका वर्ष यतिको लामो समय पत्रकारिता गरेको तपाईं पत्रकारले नबुझ्ने हुन्छ र ? वकालतको विषयमा म शम्भु थापाले नबुझ्ने कुरा होलान् र ?   अहिले मानवअधिकार आयोग ऐनप्रति आयोग असन्तुष्ट छ  । न्यायाधीश नियुक्तिमा बार असन्तुष्ट छ । मिडिया, शिक्षालगायतका ऐनमा सम्बद्ध क्षेत्र असन्तुष्ट छन् ।

शिक्षा सम्बन्धी ऐनबारे त्रिविमा कोही पनि सन्तुष्ट छैनन । वामपन्थीदेखि प्रजातान्त्रिक सबै असन्तुष्ट छन् । अर्को सार्वजनिक खरिद नियमावली आएको छ ।  त्यसमा भ्रष्टाचारको मात्रै विषय छैन । कुनै ठेकेदारविरुद्ध उजुरी पर्यो भने ठेकेदारलाई प्रतिस्पर्धामा भाग लिन नदिने भनिएको छ ।  १ रुपैयाँ छ भने चार रुपैयाँ देखाउनुपर्ने अवस्था छ । नेपाली त गरिब नै छन् । तर, चार गुणा बढी  देखाउनुपर्ने रे !

जसको बारेमा कानुन बनाउन लागिएका छन् सबै क्षेत्र असन्तुष्ट छन् । यो अवस्थाले गर्दा ठूला एयरपोर्ट बनाउने परियोजनामा नेपाली ठेकेदारको पूँजी नै पुग्दैन । यसरी हरेक क्षेत्र असन्तुष्ट छ । गणतन्त्रले यस्तै कानुन खोजेको हो ? अहिलेकै सरकार पाँचवर्ष जान्छ । यो समयमा आगामी चुनावमा यस्तो काम गर्नेको नियतका बारेमा आवाज उठाउनुपर्ने हो कि होइन ? कांग्रेस कम्युनिष्ट नभनी यो कुरा हामीले सार्वजनिक रुपमा भन्ने कि नभन्ने ? यस्ता विषय बोकेर हिँड्नेलाई न्याक्ने काम हुनुपर्छ । 

सबै क्षेत्रलाई चलाउन खोजेर सरकारले तर्साउन खोजेको हो  ? 

आउने निर्वाचनमा भोट नदिने भनेर हामीले यस्ताका विरुद्धमा कुरा उठाउनुपर्छ । तपाईँ हामी बेकम्मा भयौं क्या ! यस्तालाई बोकेर हिंड्ने मान्छे । अहिले को पर्छ त्यसमा नजाऔं । नेपाल सरकारले बार काउन्सिलाई निर्देशन दिन मिल्छ  ? हामी वकिल पत्रकार भनेको पेशागत संगठनमा छौं । हामी आफैैँ आचारसंहिता बनाउन सक्छौं । हाम्रो पेशाले मागेको हामी आफै गर्छौँ भन्ने हो । पत्रकार, वकिल, डाक्टर आफैँले आचारसंहिता तय गर्ने हो । 

सबैलाई कानुन लाग्ने पत्रकारलाई नलाग्ने भन्ने आवाजपनि अहिले विभिन्न कोणबाट उठिरहेका छन् यसलाई के भन्नुहुन्छ ? 

तपाईँ माथि कानुन छ त, कसले भन्यो छैन भनेर ? पत्रकारबारे छापाखाना तथा प्रकाशन सम्बन्धी कानुन छ । गाली बेइज्जती कानुन छ । राज्य विप्लबको पनि कानुन छ । मानहानीको कानुन छ । कुन कानुन छैन र ?  अब  अनलाइनलाई पनि कानुन बनाउनुस् न ! संविधानमा पनि हामीले अनलाइनलाई पारेका छौं । 
अहिले पनि अनलाइनलाई विद्युतीय कारोबार ऐन अन्तर्गत राखिएको छ ।  त्यसैले तपाइँहरुलाई हेर्ने कानुन अहिले नै छ । प्रश्न के हो भने क्षतिपूर्तिको मात्रै कुरा हुन्छ  । 

बाहिरका कानुनमा यस्तो क्षतिपूर्ति खर्बसम्म पनि हुन्छ । मिडियाले क्षतिपूर्ति तिर्दा टाट पल्टिन पनि सक्छन् । कानुनमा पर्दै नपर्ने कहाँ हो र ? कन्जुमर राइट्स (उपभोक्ता अधिकार) अन्तर्गत म पनि पर्न सक्छु । मैले एउटा काम गर्नुपर्ने अर्को गर्यो भने उपभोक्ता अधिकार ऐन आकर्षित हुन्छ । 

तत्कालीन राजा ज्ञानेन्द्रको शासनमा भन्दा पनि कडा मिडिया कानुन आउन लाग्यो भनेर नेपाली मिडिया चिन्तित देखिन्छ यसलाई कसरी लिनुभएको छ ?

कुरा के हो भने मिडिया काउन्सिलले नियमन गर्न सक्छ तर मुद्दा हेर्न सक्दैन । चुरो कुरा यही हो । जरिबाना तिराउन सक्दैन । जरिबाना तिराएमा के जेल जाने ? न्यायीक निकाय होइन, अर्धन्यायीक निकाय पनि होइन । पत्रकारिता वा वकालत स्वस्फूर्त रुपमा काम गर्ने पेशा हो । जागीर खान तपाईँ हामीले कहिले पनि लोकसेवा आयोगको फारम भरेनौं । त्यसैले जुन मिडिया काउन्सिल विधेयक ल्याइएको छ त्यो असंवैधानिक छ ।

अहिले ल्याइएको मिडिया काउन्सिल विधेयक पास भयो भने के गर्ने त ?

बार एशोसिएसनमा म छैन । उसले के गर्छ उसैले जान्ने कुरा भयो । हामीले शाही शासन कालमा मिडियालाई साथ दिएका हौं । त्यतिबेला तत्कालीन प्रधानन्यायाधीश दिलीप पौडेलले मिडियाको पक्षमा अन्तरिम आदेश दिएनन् । त्यतिबेला हामीले मिडियाप्रति ऐक्यबवद्धता जनाएका थियौं । कालोपट्टी बाँधियो । प्रधानन्यायाधीशको बेन्च बहिस्कार गर्ने कुरा थियो तर साथीहरुले मान्नु भएन । तर दिलीप पौडेललाई हामीले कार्यक्रममा बोलाएनौं । संसारमा मान्छे च्याँ गरेर पहिला रुन्छ, त्यो उसको मानवअधिकार हो  । उ जन्मेपछि नै बोल्न पाउँछ । तर त्यसबेला बोल्न किन पाइँदैन भन्दा मुद्दा हारियो । 

प्रधानन्यायाधीशलाई बहिस्कार गरियो । प्रजातन्त्र जब आयो त्यसपछि न्यायाधीशहरुले बोलाउनुभयो । त्यहाँ जाँदा मिडियामा भयंकर गाली खाइयो । मिडियाले शम्भु थापा झुक्यो पनि भने । किन यस्तो लेखेको भनेर अनौपचारिक रुपमा सोधेँ ।  उहाँहरुले तपाईँ सगरमाथा पुग्नुभयो अलिकति झर्नुपर्छ पनि भन्नुभयो । त्यसैले अहिले पनि जबर्जस्ती पास गर्ने काम भयो भने अब सरकारले पठाएका सबै सामग्री नै बन्द गर्नुपर्ने हो कि ! जरिबाना आयो भने जेलमा जानुपर्ने हो कि ! 

पहिला पनि मिडियाले सम्पादकीय नलेखेर विद्रोह गरेका थिए ।  अहिले पनि गर्न सक्छन् । न्यूजमा आउन कसलाई मन पर्छ र ? तपाईँ हामी न्यूजमा आउन मनपराउने त होइनौं नि । हामी पूर्ण प्रजातन्त्रतर्फ लागेको भन्ने हो भने प्रेसलाई अदालतमा जाने व्यवस्था गर्न सकिन्छ । अदालतमा जाँदा तपाईँलाई लेखवापत जरिबाना पनि हुन सक्छ ।

मेरो बेइज्जत भइरहेको छ भने तपाईँलाई जेल नहोस् भन्न त सकिँदैन ।  अदालतबाट प्रेसलाई जरिबाना हुन सक्छ । तर, मिडिया काउन्सिल विधेयकमा १० वर्ष अनुभव भएकोे अध्यक्ष र १५ वर्ष अनुभव भएको रे हेर्नुस्त !

सञ्चारमन्त्रीले त जरिबानाको रकम लिन सक्नेछ भनिएको हो । लिने कहाँ भनेको छ र भनेर तर्क गरेको पनि सुनियो । यसलाई कसरी बुझ्ने ?

जरिबानाको प्रसंग राख्नै नमिल्ने भनेपछि लिन सक्ने वा लिन नसक्ने भन्ने कुरै भएन । 

कतिपयले गल्ती नै नगर्ने हो भने किन जरिबानासँग डराउनुपर्‍यो भन्ने तर्क पनि गरेका छन् नि ?

सबैको एउटै विचार कहाँ हुन्छ ? एक जना न्यायाधीशका अनुसार  ३३ प्रतिशत मत फरक हुन्छ रे । किताबमै लेखिएको छ यसबारेमा । कुनै एउटा अदालतमा जितेको मुद्दा अर्कोमा हार्न सकिन्छ । त्यसैले मतभेद हुन्छ । त्यसैले मिडियामा गल्ती पनि यस्तै कुरा हो ।  

अनेकथरीका कानुन ल्याउने काम भइरहेको र त्यसमा विभिन्न क्षेत्रमा तीव्र असन्तुष्टिलाई हेर्दा के राज्यपक्षले लोकतन्त्रलाई नै तलमाथि गर्न खोजेको त होइन ?

सबै क्षेत्रहरुमा विवाद उठाएर आफ्ना पक्षकालाई मात्रै सन्तुष्ट पार्न खोज्दा तत्कालीन राजा ज्ञानेन्द्र पनि पाखा लागेका हुन् । म जस्तैबाट एक एक गरेर यो सरकारले मत पाएको हो र  जितेको हो  । मैले मेरो क्षेत्रबाट ईश्वर पोखरेललाई भोट दिएको हुँ । मैले राम्रो होस् भनेर नै भोट हालेको हो । जिल्लामा गएर हिमाल राईलाई भोट मागेँ । 
कांग्रेसलाई त मागिनँ । तपाईँ हामी भोटर हौं । सञ्चार मन्त्रीले के भन्नुभयो भन्ने होइन । तपाईंले आचारसंहिता बनाउन सक्नु हुन्छ । 

तर तपाईँले यो लेख गाली बेइज्जतीपूर्ण छ र यो ऐनको प्रतिकूल भयो भन्न सक्नु हुन्न । नत्र पत्रकारिता कसरी चौथो अंग हुन्छ ?  इजरायलका प्रधानमन्त्रीले दोस्रो विश्वयुद्धपछि पत्रकारितालाई चौथो अंग भनेका हुन् । त्यसअघि तीन अंग मात्रै थिए । बेलायतमा विन्स्टन चर्चिलले चुनाव हारे । चर्चिल भनेको दोस्रो विश्व युद्ध जिताएका व्यक्ति हुन् ।  प्रेस त्यस्तो बलियो रहेछ भनेर त्यतिबेलै भनिएको हो । 

अम्बेडकरले संविधान बनाए तर उनको चुनावमा जमानत जफत भयो । राम्रो काम गरेर मात्रै जनताले मान्छन् भन्ने छैन । 

अहिलेको मिडिया काउन्सिल सम्बन्धी विधेयक  पास भयो भने के हुन्छ त ?

पास हुन सक्छ । अहिले उहाँहरुले संविधान नै संशोधन गर्न सक्नु हुन्छ । सरकारले ल्याएपछि यो विधेयक पास हुन सक्छ । प्रधानमन्त्रीले विदेशबाट आउँदा पनि यो विधेयक जानीबुझी ल्याइएको भन्नुभएको छ । संविधान कार्यान्वयन गर्न तपाईँहरु (पत्रकार) बाधक हुनुहुन्छ र ? यो ऐन आउँदा देश बन्ने र नआउँदा नबन्ने हो र ? तपाईँका कारणले समृद्धि आउन रोकिएको हो र ? जिम्मेवार लेख आएन भने अदालतमा जान सकिन्छ  । मैले न्यायाधीशलाई भेट्नु हुँदैन, आचारसंहिताले छेक्छ  । पत्रकारको प्रसंगपनि उस्तै हो । तपाईँहरुले समाचार लिएर किनमेल गर्नु भएन । तिम्रो बारेमा यस्तो समाचार छ भनेर बार्गेनिङ गर्नु भएन । यही त हो । अहिलेकै अवस्थामा पास भयो भने सार्वजनिक रुपमा विरोध गर्न सकिन्छ । म सधैं तपाईँहरुकै साथमा छु । आफ्ना अभिमतहरु राखेर नमान्न त सकिन्छ नि ।

तपाईँ २०६२–२०६३को आन्दोलनमा पनि सक्रिय रुपमा लाग्नु भएको मान्छे । सोही आन्दोलनमा रहेको दल र नेताहरु अहिले सत्तामा हुँदा पनि  मिडियामाथि यस्तो अवस्था आउला भन्ने ठान्नु भएको थियो ?

ठानिएको थिएन । मैलै अहिले प्रधानमन्त्री रहनु भएका केपी शर्मा ओलीलाई समर्थन नै गरेको हुँ । उहाँले लिएको अडान मन पराउने मान्छे नै हुँ । अहिलेका सञ्चारमन्त्री पनि मेरो भाइ जस्तो मान्छे हुनुहुन्छ । पहिला त उहाँपनि ठीकै जस्तो लाग्थ्यो । भूकम्पको बेलामा उहाँलाई मैले सहयोग नै गरेको थिएँ । तर, यस्तो गर्नुहोला जस्तो लागेको थिएन । 

पछिल्लो समयमा तपाईँका अभिव्यक्तिलाई लिएर माथिल्लो तहबाट कसैले केही भने कि ?

माथिल्लो तहबाट कतालाई भन्ने ? त्यस्तो कतैबाट आएको छैन । बरु घरपरिवारबाटै त्यसरी नबोलेको भए हुन्थ्यो भन्ने आएको छ । तर, चित्त नबुझेको कुरा बोल्न मन लागि हाल्छ ।

राजा ज्ञानेन्द्रको बेला, लोकमानसिंह कार्की र अहिले झनै डरलाग्दोगरी कानुनहरु आइरहँदा फेरि पनि शम्भु थापाहरु नै अघि आउनुपर्ने किन ?

यो मलाई मात्रै होइन । म अलि सिधा बोल्छु । घरबाट सकेसम्म कम बोल्नु भन्ने पनि छ । चित्त नबुझ्दा बोलिहालिन्छ । जन्मिदा नै कुण्डली नै त्यस्तो छ । न्यायाधीश सबैलाई चित्त बुझ्छ मलाई बुझ्दैन । यस्तै छ ।

सञ्चारमन्त्री गोकुल बास्कोटासँग तपाईंको व्यक्तिगत रिसिइवी हो कि के हो ?

होइन व्यक्तिगत सम्बन्ध नराम्रो होइन । भूकम्पको बेलादेखि मैले सहयोग गरेको छु । तर मन्त्री र प्रवक्ताको जुन भूमिका हो त्यो जनताप्रति जति नरम हुनुपर्ने हो त्यो भएन । उहाँ गुठियारको मालिक हो र ? पत्रकारलाई जंगेलेजस्तो बोल्यो भने बोल्यो बोल्यो भन्नुभयो, त्यस्तो भन्ने कुरा हो र ? त्यस्तो भन्दा मेरो चित्त साह्रै दुख्यो ।

यो विधेयक जस्ताको त्यस्तै पास भयो भने पनि विकल्प छन् । तपाईंहरु लेख्न नछोड्नुस् । अवज्ञा गर्नुस्, जेल जान तयार हुनुस् । सरकारको खबर नराख्नुस् । हामीले पहिले गरेका हौं त । सम्पादकीय छापिएन, पहिलो पृष्ठमा समाचार प्रकाशित गरिएन । छन् त विकल्प । सरकारको समाचार नै नछाप्न पनि सकिन्छ ।

लोकतन्त्रमा पनि यस्तो हुन्छ भन्ने लागेको थिएन । म पनि मान्छे हुँ गल्ती गरेको हुन सक्छु भनेर सरकारले भन्न त सक्छ नि ! 


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ९, २०७६  ०८:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC