उपत्यकाबाट जनतै सरुवा गरौँ ! 

 उपत्यकाबाट जनतै सरुवा गरौँ ! 

गोविन्द अधिकारी 


राष्ट्रपति र प्रधानमन्त्रीको मात्र हैन उपराष्ट्रपति ‘सवारी’ हुँदा पनि काठमाडौं उपत्यकाको घर्ती र आकाश बन्द गर्न थालिएको छ । गणतन्त्रको गरिमा अति विशिष्ट व्यक्तिको सवारीमा ! यसैलाई लिएर कोहोलो मच्चाउनेलाई प्रधानमन्त्री केपी ओलीले जवाफ दिइसकेका छन् – सामन्तीले गर्दा चाहिँ हुने हामीले गर्दा भएन भन्नेहरू गणतन्त्र विरोधी हुन् । मुलुकको कार्यकारी प्रमुखले भनिसकेपछि हैन भन्ने को ? 

पञ्चायत कालमा अञ्चलाधीश पद निकै आकर्षक मानिन्थ्यो । राजाले पत्याउनेबित्तिकै पाइने र अञ्चलमा पुगेपछि आफैँलाई राजा ठान्न सकिने पद आकर्षक हुनु स्वाभाविकै हो । एकपटक त्यतिबेलाका पञ्चायत तथा स्थानीय विकास मन्त्री नवराज सुवेदीले उनको सहपाठी श्रीभगवान सिंह नामका तनहुँका प्रमुख जिल्ला अधिकारीलाई उही ख्याल उही ठट्टामा भनेको सम्झन्छु – मन्त्रीभन्दा अञ्चलाधीश ठूलो अञ्चलाधीशभन्दा सीडीओ झन् ठूलो ! 

यही अञ्चलाधीश हुने रहर थियो राष्ट्रिय पञ्चायतका एकजना पूर्व सदस्यलाई । उनले आफू अञ्चलाधीश हुने संकेत पाएको समाचार हामीलाई सुनाए । हामीमध्ये कसैको टिप्पणी थियो – अब तपार्ईँ त कडा मान्छे । अञ्चलाधीश भएपछि त झन् कडा हुनुहोला । त्यो अञ्चलका जनतालाई अप्ठेरो पर्ला । त्यसैले तपार्इँ अञ्चलाधीश भएर गएपछि त्यहाँका जनतालाई सरुवा पनि गर्ने हो कि ? पहिले त उनले बुझेनन् र अकमकिए तर बुझेपछि दुर्वासाको अवतारमा प्रकट भए । 

अब यहाँ पनि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलाई राजधानीबाट बाहिर पठाउन मिल्ने कुरा भएन । सडक खाली गराएर आफ्नो सवारी चलाउने सोख पनि मेट्न सकिँदैन । मेट्न खोज्नेबित्तिकै गणतन्त्र विरोधीको बात लागिहाल्छ । अनि बन्दै गरेको गोकुल ऐन लगाइदिए के गर्नु ? हाम्रा महान् कम्युनिस्टहरूलाई राणाहरूको भन्दा पनि चर्को आठपहरिया र बिजुलीगारत अघिपछि लगाएर सवारी चलाउने रहर बानी नै हुनुको पछाडि कुमलकोटी न्यायले काम गरेको छ । (कुमलकोटीले गुँडमा एउटा किरा लगेर थुन्छ । पछि त्यो कीरा त्यही गुँडबाट कुमलकोटी भएर निस्कन्छ रे ! यसैलाई मैले ‘कुमलकोटी न्याय’ भनेको । सामन्तीहरूको विरोध गर्दागर्दा कम्युनिस्टहरू स्वयं पुराना सामन्ती शासकभन्दा बढी विलासी र हैकमी भएको ठूलो उदाहरण त रुस र चीनका शासकहरू नै हुन् । यही सिद्धान्तले पनि हाम्रा अति विशिष्ट व्यक्तिहरूको सामन्ती सोख घट्ने सम्भावना देखिँदैन । सामन्तीको चर्को विरोध नगर्ने डा. रामवरण यादवले त सडक खाली गराएर सवारी चलाएकोमा रमाइलै मानेको देखिएको थियो भने कमरेडहरू त सामन्तवादका चर्का विरोधी ! आकाश चाहिँ डा. यादव, सुशील कोइरालाहरू प्रधानमन्त्री हुँदा बन्द गरिएको थाहा भएन । ती राष्ट्रपति र प्रधानमन्त्री भए पनि यति अतिविशिष्ट् थिएनन् नि त !  

अतिविशिष्ट व्यक्तिहरूलाई दरबारमै बसिरहन भन्न पनि मिलेन । उनीहरूको बाहिर सवारी चलाउँदा जनतालाई सँगै हिँड्न दिनु त गणतन्त्रकै अपमान हुने भएपछि अब एउटै उपाय छ – जनतालाई नै उपत्यकाबाट सरुवा गर्ने ! त्यसपछि ‘भीभीआईपी मुभमेन्ट’मा सुरक्षाकर्मीलाई सास्ती पनि नहुने । जनताले पनि बाटो छेक्ने प्रहरीको अवज्ञा गरेर गणतन्त्रको अपमान गर्न नपर्ने । राष्ट्रपतिलाई असुविधा भएपछि प्रहरी प्रतिष्ठान सार्न हुन्छ । उपराष्ट्रपतिलाई नयाँ दरबार चाहिएर जनताको चन्दाले बनाएर सामाजिक सेवा भवनबाट समाज कल्याण परिषद्लाई सार्न हुन्छ भने यहाँका जनतालाई काठमाडौं बाहिर सार्दा के बिग्रन्छ ? नमानी सुख्ख ! बहादुर भवनमा उपराष्ट्रपति निवास छँदा जमलको बस स्टप हट्यो । लैनचौरमा त बस स्टप उपराष्ट्रपतिको दरबारै अगाडि छ । अब त्यहाँबाट पनि बस स्टप पक्कै हट्ला । यस्तै हो भने बबरमहल र कुपण्डोलबाट अर्को बसको स्टप लाजिम्पाट र ठमेलमा पुग्न सक्छ । यति दुःख दिएर जनतालाई किन काठमाडौंमा राख्ने ? महान् कम्युनिस्ट कमरेडहरूको जनवादी सिद्धान्त उल्लंघन गराउन पनि त भएन नि ! उनीहरू त आजीवन जनताको मुक्ति र प्रगतिका लागि संघर्ष गरेर आजको ओहोदामा पुगेका हुन् नि ! 

काठमाडौंका जनतालाई सहरबाट सरुवा गर्दा अर्को पनि एउटा कीर्तिमान कायम हुन्छ । महान् कमरेडहरू लेनिन, स्टालिन, माओ, पोलपोट सबैले सहरका जनतालाई गाउँतिर पठाएर बाटो देखाइसकेका छन् । एक्काइसौं शताब्दीमा पनि जनताले चुनेर कम्युनिस्ट पार्टीलाई सत्तामा पठाएपछि कीर्तिमान त कायम गर्नैपर्छ नि ! 
त्यसैले सरकारको यसमा ध्यानाकर्षण होस् – काठमाडौंबाट जनतालाई सरुवा गरौँ !      
 

प्रतिकृया दिनुहोस
ad