बजेटमा सुदूरपश्चिम ठगिएको छ

बजेटमा सुदूरपश्चिम ठगिएको छ

रमेश लेखक नेपाली कांग्रेसका प्रभावशाली नेता मानिन्छन् । प्रतिनिधिसभाको निर्वाचनमा कञ्चनपुर–३ बाट थोरै मतले पराजित लेखक स्थानीय स्तरमा भिजेका नेता हुन् । कांग्रेस सरकारको पालामा भौतिक पूर्वाधार मन्त्री भएका लेखकले मन्त्री हुँदा आफ्नो क्षेत्र र समग्र सुदूरपश्चिमका लागि विभिन्न योजनाहरु ल्याएका थिए । सरकारले हालै ल्याएको बजेटले सुदूरपश्चिमलाई प्राथमिकता नदिएको र आफूले सुरु गरेका योजनालाई समेत पर्याप्त बजेट नछुट्याएको गुनासो उनको छ । बजेट, कांग्रेसको जारी राष्ट्रिय जागरण अभियान तथा पार्टीको आन्तरिक राजनीतिबारे कांग्रेस नेता लेखकसँग बाह्रखरीका केशव सावदले गरेको कुराकानीः

सरकारले केही दिन अघिमात्रै आगामी आर्थिक वर्ष २०७६–०७७ का लागि बजेट ल्याएको छ । प्रतिपक्षी दल नेपाली कांग्रेसले उक्त बजेटलाई वितरणमुखी भनेको छ, के साँच्चै वितरणमुखी मात्रै हो र बजेट ? 

प्रत्येक आर्थिक वर्षमा बजेट आउँछ, त्यो सरकारको निरन्तरको काम हो । बजेटको निरन्तरताका रुपमा बजेट आएको छ । यो बजेटले नेपाली जनतालाई उत्साहित गर्ने, नयाँ भरोसा दिने र सरकारले दिएका विकास, समृद्धि, दुई अंकको आर्थिक विकासका नाराहरु पूरा गर्नका लागि यो बजेट पूर्णरुपेण निराशाजनक छ । 

बजेट आफैंमा भ्रमपूर्ण, प्रचारमुखी, संघीयता विरोधी र विकासलाई पूर्णरुपेण वैदेशिक परनिर्भतामा राखेको छ । यो बजेटले न त विकास गर्न सक्छ, न यो बजेटले समृद्धि ल्याउन सक्छ, न यो बजेटले सरकारले भनेको जस्तो दुई अंकको आर्थिक वृद्धि गर्न सक्छ । 

सुदूरपश्चिमका नागरिकले बजेटमा सरकारले आफूहरुलाई ठगेको भनिरहेका छन् । तपाईं आफै सुदूरपश्चिमबाट राजनीति गर्दै आउनुभएको छ, सरकारले सुदूरपश्चिमबासीलाई ठगेकै हो त ? 

गतवर्षको बजेटका बारेमा पनि मैले टिप्पणी गरेको थिएँ, मेरो टिप्पणी के थियो भने– सुदूरपश्चिमका लागि इतिहासकै सबैभन्दा ज्यादा लज्जास्पद र निराशाजनक बजेट । अहिलेको बजेट भनेको पनि त्यसकै निरन्तरता हो । जसरी गत वर्ष पनि संघीय सरकारले सुदूरपश्चिमलाई ठग्यो, हेरेन त्यसरी नै यस पटक पनि सुदूरपश्चिमलाई सरकारले ठगेको छ, हेरेको छैन ।  

हिजोका दिन आफू सत्तामा हुँदा सुदूरपश्चिमको विकासका लागि केही नगर्ने अहिले सत्ता बाहिर हुँदा बजेटले सुदूरपश्चिमलाई ठग्यो भन्नु कत्तिको उचित हो ? 

कसले के आरोप लगाउँछ, कसले के भन्छ भन्नुभन्दा पनि यथार्थमा हामीले सुदूरपश्चिमका लागि केही नगरेको भन्ने आरोप शतप्रतिशत झुटो हो । हिजो म आफू मन्त्री हुँदा भौतिक पूर्वाधार निर्माण अर्थात् सुदूरपश्चिममा सडक र पुल निर्माणका लागि थप बजेट पठाएको थिएँ । त्यो पठाएको थप बजेटको १० प्रतिशत पनि अहिले मूल बजेटमा छैन । यसका बारेमा डकुमेन्ट हेरेर कसैले छलफल गर्न चाहन्छ भने म छलफलका लागि तयार छु ।         

कसरी ठग्यो भन्न सक्नुहुन्छ ? महाकाली नदीमाथिको चार लेनको पुलका लागि बजेट छुट्टयाएकै छ, अत्तरिया–धनगढी जोड्ने छ लेनको सडक निर्माणका लागि बजेट विनियोजन गरेकै छ, सेती लोकमार्गका लागि बजेट आएकै छ । 

कुनै पनि एउटा नयाँ योजना सरकारले सुदूरपश्चिमलाई दिन सकेको छैन । बडो अचम्मलाग्दो कुरो के भएको छ भने हिजो हामीले प्रारम्भ गरेको योजनाहरु जुन थिए, हामीले बजेट व्यवस्था गरेर टेण्डर गरेर काम सुरु गराइसकेका योजनाहरुमा पटक–पटक नाम लियो बजेटमा । 

उदाहरणकै लागि– महाकाली नदीमाथि बन्ने चार लेनको पुल भनौं । त्यो हिजोका दिन मै मन्त्री भएको बेला चार अर्ब रुपैयाँको व्यवस्था गरेर त्यही बेला टेण्डर गरेर काम सुरु गरिएको हो । अर्को अत्तरिया–धनगढी हुँदै मोहना नदी जाने छ लेनको सडक भनेर पटक–पटक भन्यो, त्यो सडक पनि मन्त्री भएकै बेला टेण्डर गरेर आफै गएर धनगढीमा कार्यालय स्थापना गरेर योजना प्रारम्भ गराएको हुँ । 

त्यसरी नै धनगढी–खुटिया–दिपायल जोड्ने द्रुतमार्ग भनेर भनेको छ, त्यो पनि त्यही बेला पैसा छुट्टयाइएको पुरानै योजना हो । त्यतिबेला मैले पैसा थप गरेर डोटीको वीपी नगरमा त्यसको कार्यालय स्थापना गरेको हुँ । 

हामीले महाकालीमा चार लेनको पुल बनाउने भनेर काम सुरु गरेका थियौं । त्यसैसँग जोडिएको अर्को प्रोजेक्ट थियो दोधारा–चाँदनीमा सुख्खा बन्दरगाह । दोधारा–चाँदनीमा सुख्खा बन्दरगाह बनाउने र तयसलाई भारतसँग जोड्ने प्रक्रिया अगाडि बढिसकेको थियो । अहिले यो सरकारले त्यो सुख्खा बन्दरगाह निर्माण प्रक्रिया अगाडि बढ्ने गरी बजेट नै विनियोजन गरेको छैन ।  

हामी प्रत्येक वर्ष महाकाली नदी र जोगबुढा नदीको बाढीले गर्ने कटान रोकथामका लागि अर्बौं रुपैयाँ विनियोजन गथ्र्यौं तर अहिले त्यो करोडमा पनि गएको छैन । सडकहरुमा हुलाकी राजमार्ग बनाउने कामहरु अगाडि बढेका थिए, त्यसमा पनि बजेट गएको छैन । नयाँ कुरा गर्ने त कहाँ हो कहाँ, पुरानै कुराहरु पनि अगाडि बढेका छैनन् । 

यसरी पहिले नै जुन योजनाहरु अगाडि बढिसकेको थिए, ती योजनाहरुकै नाम लिएको छ, नयाँ कुनै एउटा योजना बजेटमा छैन भने यो सरकारले नठगेको भए के हो ? यो सरकारले त सुदूरपश्चिमका लागिमात्रै नभएर देशकै लागि अत्यन्तै रणनीतिक महत्वका योजनाहरुलाई रोक्ने र अगाडि नबढाउने काम गरेको छ ।

देशकै लागि अत्यन्तै रणनीतिक महत्वका योजनाहरु भन्नुभो, कुन–कुन योजनाहरुलाई सरकारले बजेटमा रकम विनियोजन गरेन भन्नुभएको हो ? 

यसको उदाहरणका निमित्त महाकाली कोरिडोर अत्यन्त ज्यादा रणनीतिक महत्वको सडक हो, त्यसले भारत र तीन दुवैलाई नेपालसँग जोडेर एउटा ठूलो व्यापारिक केन्द्रका रुपमा सुदूरपश्चिमाञ्चललाई त्यसमा पनि खास गरेर कञ्चनपुरलाई विकास गर्ने सम्भावना थियो । त्यसलाई सरकारले अगाडि बढाएन । त्यसको नामै कहीँ उच्चरण गरिएको छैन । 

त्यस्तै सेती लोकमार्गका रुपमा त्यस्तो गम्भिर रुपले कुनै बजेट विनियोजन भएको छैन । हाइड्रोपावरका बारेमा स्थिति के छ भने, गत वर्षको बजेटमा प्रत्येक प्रदेशमा एउटा हाइड्रोपावर बनाउने भनिएको थियो । अब योपालि दुइटा बनाउने भन्यो, पोहोर सालको एउटावाला अगाडि बढेको छैन । एकदमै भ्रमपूर्ण कस्तो भने पोहोरकै योजना लागू भएको छैन, पोहोर सालकै योजनाहरु प्रारम्भ भएका छैनन्, पोहोर सालकै बजेटमा गरेको प्रतिवद्धता कार्यान्वयनमा अगाडि बढेको छैन । नयाँ नयाँ कुरा फजुलमा गर्ने र ठग्ने काम भएको छ । 

स्थानीय साझेदारी तथा पूर्वाधार विकास कार्यक्रमका नाममा सांसदहरुलाई छ करोड रुपैयाँका दरले बजेट दिने सरकारको निर्णयका बारेमा के भन्नुहुन्छ ? 

यसको दुईवटा पाटो छ । एउटा कुरा के भने अब हामीले पनि हिजो यो रकम लिएको हो । त्यस कारण सांसदहरुलाई विकासको पैसा नै दिनुहुन्न भने कुरा त फेरि हिजो तिमीहरुले लिएकै थियौ, यो पालि दिँदा के हुन्छ भन्ने सवाल उठ्न सक्छ । तर, हिजो र आजको परिस्थिति अलि फरक छ । हिजो न त स्थानीय तहमा जनप्रतिनिधिहरु थिए, न त प्रदेश तहमा जनप्रतिनिधिहरु थिए । सोझै केन्द्रमा मात्रै सांसद र मन्त्रीका रुपमा जनप्रतिनिधिहरु थिए । 

तर सबै कामहरु कर्मचारीले गरिरहेको अवस्थामा गाउँठाउँमा विकास पुर्याउनका लागि केन्द्रमा भएका जनप्रतिनिधिमार्फत् योजना लैजाने सिद्धान्त अन्तर्गत त्यो बजेट दिइने गरिएको थियो । अहिले स्थानीय तह र प्रदेश सरकार रहेको अवस्थामा त्यसरी सांसदमार्फत् बजेट विनियोजन गर्नु भनेको प्रदेश र स्थानीय तहलाई कमजोर गर्ने कुरा हो । 

यो रकम लिने–नलिने बारेमा तपाईंको पार्टीमा मत विभाजनको अवस्था देखिएको छ, कांग्रेसका शुभचिन्तकहरुले यो बजेट लिनु हुँदैन भनेर सुझाव दिइरहेका छन् । तपाईं के भन्नुहुन्छ ? 
कांग्रेसले त्यसका लागि संस्थागत निर्णय गर्ला । तर, वास्तवमा यो संघीयता विरोधी, स्थानीय तह र प्रदेशको क्षमता विरोधी कुरा भएको हुनाले कांग्रेसले यो स्थानीय साझेदारी तथा पूर्वाधार विकास कार्यक्रमका नाममा सांसदहरु दिइने बजेट नलिँदा राम्रो हुन्छ ।  

प्रसंग बदलौं, कांग्रेसको राष्ट्रिय जागरण अभियान पार्टीलाई क्रियाशिल बनाउने अभियान हो कि गुटबन्दीमा रमाउने ? अभियानका क्रममा सबै नेताहको समान धारणा आउने भनिएको थियो, समान धारणाभन्दा पनि एकले अर्कोलाई कमजोर देखाएर आफू बलियो बन्ने प्रयास भइरहेको छैन ? 

वास्तवमा तपाईंले भनेको कुरामा सत्यता छ । जागरण अभियानका दुईवटा पाटा हुन् । एउटा पार्टीको आन्तरिक संगठनलाई अलि चुस्त बनाउने, अलि ऊर्जावान बनाउने र ज्यादा व्यवस्थित गर्ने हो । अर्को पार्टीका दृष्टिकोणहरु, मुलुकको समसामयिक राजनीतिक परिस्थिति र सरकारको दृष्टिकोणलाई जनतामा लिएर जाने हो । 

यो उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । यो भई पनि रहेको छ तर सँगसँगै महाधिवेशन नजिक आउन लगेको छ । त्यही भएर सबैले आफ्नो–आफ्नो गुटगत कुराहरु पनि गरिरहेका छन् । 

महाधिवेशन नजिक आउन लागेकाले नेताहरु महाधिवेशनको तयारीमा जुटिसकेको आशयको कुरा गर्नुभयो, भनेपछि समयमै महाधिवेशन हुन्छ होइन ? 

मलाई लाग्दैन, निर्धारित समय भनेको चार वर्ष हो । अब चार वर्षमै महाधिवेशन गर्न सकिन्छ भन्ने मलाई लागेको छैन । महाधिवेशन साढे पाँच वर्षमै हुन्छ र साढे पाँच वर्षमा महाधिवेशन हुने कुरामा कुनै पनि नेतालाई द्विविधा छैन । साढे पाँच वर्षमा महाधिवेशन गर्ने कुरामा कांग्रेसमा सबै नेताहरुको बीचमा सहमति छ । त्यसमा कसैको विमति नै छैन । 

विधान बनाउँदा नै समयमै महाधिवेशनमा जाने हो भने एउटा ढंगले विधान तयार गरौं, होइन भने विधान अर्को ढंगले डिजाइन गरौं भन्दा समयमा महाधिवेशन सम्भव देखिँदैन भनेर विधान डिजाइन गरिएको हो । 

संस्थापन इतर समूहका नेताहरु सभापति शेरबहादुर देउवाको विरोधमा उत्रिनुभएको छ, संस्थापन समूहले यसलाई कसरी लिएको छ ?   

नेपाली कांग्रेसभित्र शेरबहादुर देउवा स्थापित हुनुहुन्छ । अहिले कांग्रेसको बहुमत उहाँसँगै छ । सेन्ट्रल कमिटिदेखि सबै ठाउँमा उहाँको बहुमत छ भने आफू जित्नका लागि, आफू हुनका लागि शेरबहादुर देउवालाई ‘अट्याक’ गर्नुपर्यो नि त । त्यसकारण यो पनि महाविधेशनकै तयारीको सेरोफेरोमा यो सबै भइरहेको छ । 

नेतृत्वको आलोचना भइरहँदा जनतामाझ बिग्रिएको कांग्रेसको छवि सुध्रिन्छ त ? 

त्यसले नोक्सान गर्छ नि । पार्टीको ऊर्जा आपसी कलहमै गयो भने बाहिरीयासँग लड्ने स्थिति हुँदैन । अहिलेको कम्युनिस्ट सरकारले यत्रो ज्यादति गरिरहेको छ, जथाभावी काम कुरो गरिरहेको छ, मुलुकका लागि केही पनि राम्रो काम गर्न सकेको छैन, सबै बेठिक गरिरहेको छ, यस्तो बेलामा कांग्रेस आन्तरिक झगडामा लड्नु अर्थात् फस्नु भनेको छ देशका लागि, लोकतन्त्रका लागि, कांग्रेसका लागि त दुर्भाग्य हो नै । पार्टीको नेतृत्वकै विरुद्धमा खनिँदा पार्टीलाई बलियो बनाउने होइन । 

नेतृत्वमा खनिएर पार्टी बलियो हुँदैन भन्नुभयो, तपाईंको पार्टीकै आन्तरिक जीवन व्यवस्थित छैन । जनतामा आशा भर्न जागरण अभियान चलाउनअघि पार्टी व्यवस्थित गर्न सकिन्थ्यो होला नि ?  

कांग्रेसले पार्टीको आन्तरिक जीवन व्यवस्थित गर्न अत्यन्तै आवश्यक छ । पार्टीलाई व्यवस्थित गर्न सभापतिजीले पनि रिक्त विभागहरुलाई पूर्णता दिनुपर्छ । पार्टीको महत्वपूर्ण भ्रातृ संगठन नेविसंघ गठन गर्नुपर्छ । त्यस्तै पार्टीका कतिपय संयन्त्रहरु पनि तयार नभएको स्थिति छ । यि कुराहरुलाई उहाँले अगाडि बढाउनुपर्छ । 

र, अर्को पक्षले पनि सहयोग गर्नुपर्छ । प्रत्येक कुरामा विरोध गर्ने, प्रत्येक कुरामा झमेला गर्ने, प्रत्येक कुरामा समस्या गर्ने कुराले राम्रो गर्दैन । हुन त अरु पार्टीमा भन्दा कांग्रेसमा आन्तरिक समस्या कमै छ । यहाँ अरु पार्टीमा आन्तरिक समस्या बढी छ तर जनतामा कम छ भन्ने ढंगले जान्छ । कांग्रेसमा आन्तरिक समस्या कम छ तर जनतामा बढी छ भन्ने ढंगले गइदिन्छ । 

उदाहरणका लागि कांग्रेसमा आदर्शका विषयमा विवाद छैन । कांग्रेसमा सिद्धान्तमा विवाद छैन । नीतिगत कुराहरुमा विवाद छैन । कांग्रेसले संविधानलाई हेर्ने दृष्टिकोणमा विवाद छैन । कांग्रेसले अहिलेको सरकारलाई हेर्ने दृष्टिकोणमा विवाद छैन । यसको मूल विवाद भनेको आन्तरिक व्यवस्थापनको समस्या हो । पार्टी सञ्चालनको विधि र पद्धतिमा मात्रै विवाद हो । 

अरु पार्टीमा त नीतिगत, सैद्धान्तिक, पार्टी सञ्चालनको विधि र पद्धतिमा विवाद छन् । उनीहरुमा तह–तहमा विवाद छ । तर, उनीहरुको विवाद ढाकछोप हुन्छ, हाम्रो विवाद ज्यादा सतहमा जान्छ । किनकी हामी आफैं त्यो कुरालाई बाहिर लिएर जान्छौं र एकदमै ठूलो समस्या छ भन्ने ढंगले प्रस्तुत हुन्छौं । जबकि जति ठूलो समस्या छ भनेर नेताहरु बाहिर लिएर जानुहुन्छ त्यति ठूलो समस्या कांग्रेसमा हुँदै होइन र छँदै छैन ।    

यहाँले भनेकै मान्ने हो भने पनि पार्टीमा रहेका थोरै मात्रामा रहेका समस्या समाधानका लागि पार्टी सभापतिबाट पहल हुनु पर्दैन ? 
होइन, उहाँले पटक–पटक पहल गरिरहनुभएकै छ । सबैलाई मिलाएर लिएर जाउँ, पार्टीलाई समग्र रुपमा संगठित गरेर लैजाउँ भन्ने चाहनाका साथ सभापतिजी काम गर्न खोजी रहनुभएको छ । तर, सबैलाई मिलाउने क्रममा उहाँले पाउनुपर्ने सहयोग पाइराख्नु भएको छैन । 

जस्तो पार्टीको विभाग बनाउने कुरा छ, आजसम्म विभाग बनेन भनेर आलोचना भइरहेको छ । पार्टीको विभाग बनाउने कुरामा उहाँको कुरा के छ भने पार्टीभित्रका सबै समूहहरुलाई मिलाएरै लैजाने प्रयत्न भइरहेको छ । यसको ठिक विपरित अरु समूहले उहाँलाई गर्नुपर्ने सहयोग गरिरहेका छैनन् । यसले पनि समस्या भइरहेको छ । 

नेतृत्व र नेतृत्वको आलोचनामा उत्रिएका नेताहरुबीच सहमति जुटाएर पार्टीलाई मजबुत बनाएर लैजाने मध्यमार्गी बाटो छैन ? 

कांग्रेसमा मध्यमार्गी बाटो अहिले कमजोर पनि भएको छ । यो पनि कांग्रेसको एउटा समस्या हो । कांग्रेस आन्तरिक समस्यामा छ, समस्यामा परेर मध्यमार्ग कमजोर भएको छ किनकी प्रत्येक मानिस कुनै न कुनै समूहसँग बाँधिएर बसेको छ । समूहको बीचमा ‘क्याटलिस्ट’को काम गर्ने अथवा त्यो समूहको बीचमा मिलाउने काम गर्नेभन्दा पनि आफ्नो आफ्नो समूह निर्माणमा ज्यादा व्यस्त छन् । 

मध्यमार्गको खोजीका लागि सबैतिरबाट अलिअलि ‘ब्रोडरनेस’ को आवश्यकता मैले देखेको छु । अलिकता खुला मन र खुला हृदयको आवश्यकता छ, जुन कुरा सबैले ममन गर्नैपर्ने देखिएको छ ।     
   


 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ad