काठमाडौं । नेपाल जल तथा मौसम पूर्वानुमान महाशाखाले धनुषा, सिन्धुली, सिराहालगायतका जिल्ला आसपासका क्षेत्रमा हावाहुरीको सक्रियता बढ्दै गएकोले सतर्कता अपनाउन आग्रह गरेको छ ।
शुक्रबार नेपाल मौसम पूर्वानुमान महाशाखाले ट्विट गर्दै धनुषा, सिन्धुलि, सिराहा आसपासमा मेघ गर्जन र वर्षा सुरु भएको उल्लेख गरेको छ। ट्विटमा भनिएको छ, "यो प्रणालि थप मजवुत हुँदै हावाहुरीसहित पूर्वतिर सर्ने क्रममा रहेको देखिएकोले सतर्कता अपनाउन जरुरी देखिन्छ ।"
यतिबेला देशको धनुषा, सिन्धुलि, सिराहा आसपासमा मेघ गर्जन र वर्षा शुरु भईसकेको अवस्था छ। यो प्रणालि थप मजवुत हुंदै हावाहुरि सहित पूर्व तिर सर्ने क्रममा रहेको देखिएकोले सतर्कता अपनाउन जरुरि देखिन्छ। pic.twitter.com/xjoICZoqZh
— Nepal Weather Forecast (@DHM_Weather) June 7, 2019
बिहीबार राति सूदुरपश्चिम प्रदेशबाट सुरु भएको हावाहुरी अहिले पूर्वतिर सर्ने क्रममा छ । शुक्रबार बिहानै काठमाडौंमा पनि वर्षासँगै हावाहुरी चलेको थियो । यद्यपि कुनै भौतिक तथा मानवीय क्षति भने भएन ।
सुदूरपश्चिम प्रदेशमा हावाहुरीमा परि दुई जनाको ज्यान गएको थियो भने एक सयभन्दा बढी घाइते भएका छन् ।
घाइतेको कैलालीको धनगढी र अत्तरियाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । त्यसैगरी हावाहुरीका कारण सयौं परिवार प्रभावित भएका छन् । विद्युत सेवासमेत अवरुद्ध भएको छ ।