ऐतिहासिक तस्बिरलाई सकस

ऐतिहासिक तस्बिरलाई सकस

राजतन्त्रको समाप्तिपछि २०६३ असारमा पहिलोपटक राष्ट्राध्यक्षको हैसियतमा भोटोजात्रा अवलोकन गर्दै तत्कालीन प्रम गिरिजाप्रसाद कोइराला। 


बाह्र बर्षअघिको (२४ असार २०६३) भोटोजात्राले ऐतिहासिक परम्परा तोड्दै थियो । चौधसय वर्ष पुरानो जात्रा अवलोकन गर्न पहिलो पटक जननिवार्चित नेपाली नागरिक राष्ट्राध्यक्ष्यको हैसियतमा उपस्थित हुँदै थिए । फोटोपत्रकारको हैसियतमा तस्बिर कैद गर्नु त थियो तर त्यस्तो तस्बिर त अरू पनि थुप्रैले कैद गर्ने नै भए । मलाई भने थप चुनौती आइलाग्यो – ऐतिहासिक विषयवस्तुको प्रस्तुतिलाई पनि ऐतिहासिक कसरी बनाउने ? अर्थात् एउटै तस्बिरलाई कसरी परम्परागत तस्बिरभन्दा भिन्न बनाउने ?

केही दिनअघि देखि नै मनमा अनेक उपाय खेल्न थाले । तर, कुनै पनि उपाय फरक खाले या चित्त बुझ्दो आएन । राजाका पालामा पनि हरेक वर्ष भोटोजात्राका तस्बिर सञ्चार माध्यममा आउँथे नै । तर हरेक वर्ष उही परम्परागत दुई तस्बिर ( १. भोटो देखाउँदै गरेको र २. राजाले हेर्दै गरेको । फ्याट्टै उपाय फुर्यो – भोटो र राष्ट्राध्यक्षको एउटै फ्रेमको तस्बिर किन नहुने ? तर, गाह्रो थियो । किनभने, सँधै मच्छिन्द्रनाथको रथ र भीभीआईपी बस्ने मञ्चको बीचमा फोटोपत्रकारलाई राखिन्छ । अगाडि रथ, पछाडि राष्ट्राध्यक्ष । कसरी एकै तस्बिरमा उतार्न सकिन्छ र !!

तीन दिनअघि म जावलाखेल पुगेर रेकी गर्न थालेँ । रथको उचाइ, रथमा उभिएर देखाइने भोटोको उचाइ, भीभीआईपी मञ्चको उचाइ, रथ र मञ्चको दूरी, पत्रकार उभिने ठाउँ आदि । मञ्चमा पुगेर पनि चारैतिर नियालेँ । भोटो रथको चारै कुनाबाट देखाइन्छ । कुन कुना सही होला ? कुनै उपाय सुझेन । किनभने म रथमाथि चढ्न पनि पाउँदिन, मञ्चको पछाडि पनि मलाई उभिन दिँदैनन् । ति दुई स्थानभन्दा बाहिर गए सर्वसाधारणको भिड अनि भोटो र मञ्चको कोण पनि मिल्दैन । रथबाट एक सय मिटर परको बेकरीमा गएर चिसो खाएँ । माथिल्लो तलाको झ्यालबाट नियालेँ । मानिसको भिड थियो नै । सोचेँ, भोटोजात्राकै बेलामा सुरक्षाकर्मीले सहजै एताउता जान पनि दिँदैनन् । फर्केर एकछिन मञ्चको सिँढीमै बसेँ । रथभित्रको मच्छिन्द्रनाथ नियालेँ । पुजारी व्यस्त थिए । नरिवल, बेलुन, खेलौना, पानीपुरी बेच्नेलगायत मानिसको भिड, तीन दिनअघि पनि माहोल नै जात्रामय थियो ।

म मञ्चमै बसेर रथको कुना नियाल्दै थिएँ । एक्कासि पर एउटा अग्लो घरको छतमा आँखा गयो । त्यो घर रथबाट करिब डेढ सयदेखि दुई सय मिटर पूर्व थियो, ठ्याक्कै कोण मिल्ने । एक्कैछिनमा दिमागमा बत्ती बलेको भान भयो – त्यो घरको छतबाट फोटो लिन पाए एउटै फ्रेममा आउने पक्का थियो ।

सही स्थान त देखियो । तर, अनेक प्राविधिक चुनौती र कठिनाइ पार गर्न पर्ने भयो । सबैभन्दा पहिले गतिलो जुम या टेलीलेन्स चाहियो । मैले त्यतिखेर निकनको डिजिटल –डि (सेभेन्टी) क्यामेरा चलाउथेँ । मसँग ८०–२०० एमएमको जुम लेन्स थियो र एउटा कन्भर्टर पनि । धेरै जुममाथि कन्भर्टरको प्रयोगले तस्बिरको क्वालिटी खस्कने पक्का भयो, तर ४०० को लेन्स त भयो नि । ऐतिहासिक ‘स्पट न्युज फोटो’ (नदोहरिने घटना) हुनाले मैले क्वालिटीमा सम्झौता गर्ने नै निधो गरेँ । अर्को चुनौती भनेको भोटो साँझ देखाइने हुनाले एन्टीलाइट पर्ने भयो । मसँग लेन्स हुड त थियो लाइटको फ्लेयर छेक्नको लागि । तर, एन्टिलाइटमा दुई सय मिटर परका मानिसका अनुहार कन्भर्टेड जुम लेन्सको सहायताले प्रस्ट चिनिनुपर्ने अर्को चुनौती । यो चुनौतीलाई चुनौतीकै रुपमा लिनुपर्ने भयो अनुहार चिनिने हो कि होइन भनेर । अर्को चुनौती भनेको त्यो घरकाले मलाई अनुमति देलान् त ? यो पनि मैमा भर पर्ने भयो । मेरै सम्झाइबुझाई गर्नसक्ने क्षमताको कसीजस्तो !

म सोझै त्यही घरमा पुगेँ । तल पसल र माथि अफिसहरू थिए । घरको मालिक खोज्दै माथि गएँ । मैले दुईवटा क्यामेरा बोकेको थिएँ । पुरुष थिए, घरधनी हुन् कि होइनन् मलाई याद भएन तर आफ्नो परिचय दिएँ । तुरुन्तै छतमा जाने अनुमति प्राप्त गरेँ र भनेँ मलाई पर्सी भोटोजात्राको दिन पनि यहाँबाट तस्बिर लिनु छ । यो तस्बिर कत्तिको महत्वपूर्ण हो भनी सम्झाएँ पनि । उनले खुसीसाथ अनुमति दिए । अब अन्तिम चुनौती रह्यो सुरक्षाकर्मीको । के सुरक्षाकर्मीले मलाई यहाँमाथि बस्ने अनुमति देलान् त ?

छतमाथिबाट हुडसहितको लामो जुम लेन्सले ताक्दा त ठूलै हतियार झैं देखिन्छ । सुरक्षा निकाय चनाखो भइहाल्छन् ।

राजतन्त्रको समाप्तिपछि २०६३ असारमा पहिलोपटक राष्ट्राध्यक्षको हैसियतमा भोटोजात्रा अवलोकन गर्दै तत्कालीन प्रम गिरिजाप्रसाद कोइराला। 


पुरानो कुरा याद आयो द्वन्द्वको समयमा तिब्बत जाने क्रममा तातोपानी नाकामा बास बसेका थियौँ । बजारमा सेनाको पोस्ट पनि थियो । ज्योति, नारायण र म निषेधित डाँडा चढेछौँ जहाँबाट बजार देखिन्थ्यो । मैले जुमलेन्ससहित क्यामेरा र मोनोपोड बोकेको थिएँ । माथिबाट मैले बजार ताकेँ तल बजारबाट भने सेनाको सेच्ट्रीले हामीलाई ताकेका रहेछन् बालुवा भरिएका बोरै बोलाको प्वालबाट । धन्न एक सैनिक जवानले तलबाट चिच्याउँदै ओर्लन संकेत गरेपछि मैले मेसो पाई हालेँ । हामी तल बजार पुगेपछि थाहा भयो झन्डै तारो भइएनछ । हाम्रो पासपोर्ट र आइडी चेक गरेपछि बल्ल बल्ल छोडे ।

भोटोजात्राको दिन पनि यस्तै जोखिमपूर्ण हुने पक्का नै छ । तर, अलिकति आश भने थियो । शान्तिपूर्ण अवस्था र लोकतन्त्रको सुरुआतले सुरक्षा निकायमा अलिकति लचकता आउला भन्ने । त्यो भने भोटोजात्राकै दिन थाहा हुने भयो ।

भोटोजात्राको दिन तीन घन्टाअघि नै म त्यस ५–६ तले घरमा पुगेँ । माथि जानुअघि एक प्रहरी ड्युटी अफिसरलाई परिचयसहित जानकारी दिएँ – म माथिबाट तस्बिर लिँदैछु । मनग्य तस्बिर कैद गरेँ र साँझ सम्पादक मण्डललाई देखाएँ । महत्व र फरक दर्शाएँ । उक्त तस्बिर कान्तिपुर र काठमाडु पोस्टको प्रथम पृष्ठमा ठूला ठूला आकारमा छापिए ।
 

राजेश केसी

प्रतिकृया दिनुहोस
ad