site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
गुरुले शिष्यलाई दिने ज्ञान झरनाले पानी दिएजस्तै
Sarbottam CementSarbottam Cement

नेपाल पर्यटन बोर्डले शिवकृपानन्द स्वामीलाई ‘भिजिट नेपाल २०२०’ को लागि सद्भावना दूत घोषणा गरेको छ । नेपालमा आएर अध्यात्मिक ज्ञान हासिल गरेका शिवकृपानन्द नेपाललाई केही गर्न भनी लामो समयदेखि सोचमग्न रहेको तर, नेपालले भर्खरैमात्र आफ्नो चाहना बुझेको बताउँछन् । उनी यसअघि गत मंसिरमा नेपाल आएका थिए । नेपालमा आएर आफूले ज्ञान पाएका कारणले गर्दा नै नेपालमा आएर ज्ञान बाँड्ने तथा ध्यान गराउने उनको भनाइ छ । भारत महाराष्ट्रको डान्डीमा शिवकृपानन्दको ‘समर्पण आश्रम’ छ । 
गुरुसेवाका लागि नेपाललाई योगदान गर्न चाहेको बताउने उनै शिवकृपानन्दसँग बाह्रखरीका रोविन पौडेल सौरभ रानाभाटले गरेको कुराकानीको सम्पादित अंशः

नेपाल आउँदा तपाईंलाई कस्तो महसुस भइरहेको छ ?
एकदमै खुसी छु । यो शिवको भूमि हो, मेरो गुरुको पनि । मेरा गुरुले यहाँ ४० वर्ष बिताउनुभयो । मैले पनि यहाँ आएर गुरुबाट ज्ञान लिएको हुँ, योभन्दा ४० वर्षपहिले म नेपाल आएको थिएँ ।

अध्यात्मको क्षेत्रमा तपाईं प्रवेश गर्नुको कारण र परिवेश कस्तो थियो ?
सानैदेखि मेरी हजुरआमाले ईश्वरलाई अविनासी भन्नुहुन्थ्यो । ईश्वर हिजो थिए, आज छन्, र भोलि पनि रहनेछन् भन्नुहुन्थ्यो । त्यसैले मैले सानैमा बुझेको थिएँ कि ईश्वर कुनै मान्छे होइनन्, शरीर होइनन् । म ईश्वरको खोजीमा निस्किएँ । मलाई कसैले पूजा गर भने, पूजा गरें । हवन गर भने, हवन गरें । पाठ पढ भने, पाठ पढें । तर, ईश्वर भेटिनँ ।
र, म ईश्वर खोज्दै–खोज्दै हिमालय आएँ । नेपालमा गुरु भेटें । गुरुले मलाई ईश्वरको अनुभूति गराएपछि ईश्वर खोज्ने मेरो यात्रा सम्पन्न भयो । गुरु कोही सामान्य व्यक्ति हुनुहुन्नथ्यो । उहाँलाई भेटेपछि मेरो खोज अन्त्य भयो । जसलाई ईश्वर मान्यो, उही ईश्वर हुने रहेछ । मैले गुरुलाई भगवान मानें । गुरुलाई भगवान मान्दा हाम्रो समर्पणको भाव वृद्धि हुन्छ । उहाँलाई भगवान मान्दा मलाई सम्पूर्ण समाधान प्राप्त भयो । गुरुलाई मान्छे मान्नुस् या ईश्वर । कोहीलाई ईश्वर मान्दा मेरो परमात्मा पाएँ । मेरो अन्तमुर्खी यात्रा प्रारम्भ भयो । पछि मैले यो पनि बुझें कि परमात्मा मेरै भित्र छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यो बुझ्नु नै मोक्ष हो त ?
अन्तर्मुखी हुनु आत्मसाक्षात्कारको विषय हो । गुरुले शिष्यलाई आत्मसाक्षात्कार गराउँछन् । तपाईं मेडिकल कलेजमा भर्ना हुनुभयो भन्दैमा डाक्टर बन्नुहुन्छ त ? बन्नुहुन्न । पढाई र अभ्यास गरेमात्र डाक्टर बन्नुहुन्छ । यसैगरी आत्मसाक्षात्कार मिलेपछि जीवनमा प्राप्त गर्न केही बाँकी रहँदैन । भित्रभित्रै आफैं प्राप्त हुन्छ । यसका लागि साधाना गर्नुपर्छ, ध्यान गर्नुपर्छ । मोक्ष एउटा स्थिति हो, जीवनकालमा प्राप्त हुन्छ ।

अध्यात्मलाई कसरी परिभाषित गर्नुहुन्छ ?

Global Ime bank

अध्यात्मलाई बुझ्न पहिले धर्म के हो जान्न जरुरी छ । मान्छे धर्म र अध्यात्मलाई एकै ठान्दछन् । मिश्रण गर्दछन् । दुवै फरक हुन् । अध्यात्म भेट्न चढ्नुपर्ने सिँढी धर्म हो । अहिले हामी जे कुरालाई धर्म भन्दैछौं, त्यो धर्म होइन, उपासनाको पद्धति हो । सबैको उपासनाको पद्धति फरक हुन सक्छ । हाम्रो धर्म त एकै हो, मनुष्य धर्म । अरु उपासना पद्धति हुन् । अध्यात्म भेट्न जुन उपासना पद्धति अपनाए पनि हुन्छ ।

सिँढी समाप्त भएपछिको चरण अध्यात्म हो । जो जहाँ हुन्छन्, सोही कुरा गर्छन् । सिँढीमा भएकाहरु धर्मको कुरा गर्छन् । टुप्पोमा पुगेपछि धर्मले उनीहरुलाई कुनै प्रभाव पार्दैन । उसले मनुष्य धर्म बुझिसकेको छ । म देशविदेश पुग्छु । तर, म हिन्दू भएपनि धर्मको कुरा गर्दिनँ । मैले हिन्दूको कुरा गरेँ भने उनीहरु क्रिश्चियनको कुरा गर्दछन् ।

मैले ध्यान सिकाउने बेला मेरा समीपमा क्रिश्चियन पादरी पनि हुन्छन् । उनी मसँगै सोफामा बसेका हुन्छन् । तर, उनले अनुभव गर्न सक्दैनन् । किनकि संस्कृतमा गुरुका समकक्षमा बसिँदैन । गुरुलाई माथि राखिन्छ किनकि गुरुको ऊर्जा माथिबाट तलतर्फ प्रवाह हुन्छ । उनै पादरी भुइँमा बसेर ध्यान गर्दा सो ऊर्जा महसुस गर्न थाल्छन् । लन्डनमा पनि एउटा प्रवचनको क्रममा सबै अंग्रेज कुर्सिमा बसेका थिए । तर, एकजना भलाद्मी भुइँमा बसेका थिए ।

यसमा कुनै धर्म आयो त ? उनको बुझाइमा कुनै उपासना पद्धति आयो त ? आएन ।

योग के हो ?
२१ जुनमा विश्वभर योग दिवस मनाइन्छ । सो दिन सबैजना योगासन गर्दछन् । सबैतिर योगासन देखिन्छ । तर, योगासनमात्र योग होइन । योगको क्षेत्र ठूलो छ । योगासन योगको एक अंग हो । यम नियम, प्राणायम, आसन, प्रत्यहार, धारण, ध्यान, समाधि आदि छन् । योगको चौथो अंग आसन हो भने सातौं अंग ध्यान हो । योग शारीरिक बनावट र निर्माणसँग कुनै सम्बन्ध छैन ।

मैले अध्यात्मबारे एउटा पनि पुस्तक पढेको छैन । तर, म अध्यात्मको कुरा गर्दछु । यो एकाउन्ट नपढेको मार्केटिङ म्यानेजरजस्तो भयो । तर, मैले मेरो अनुभवको आधारमा ज्ञान प्राप्त गरेको हुँ । अस्ट्रेलिया जाँदा ५ जना योग गुरु मलाई भेट्न आए । उनीहरु सुन्दर थिए, तर चित्त कुरुप । मैले योग गुरु हुन चाहनुको कारण उनीहरुलाई सोधें । उनीहरुको जवाफ थियो, शारीरिक सुन्दरता विकास गर्न, फिगर बनाउन ।

घरमा हजुरआमा ऐना हेर्दा गाली गर्नुहुन्थ्यो । सोबेला म कारण बुझ्दिनँ थिएँ । अहिले आएर बुझ्दै छु कि यो शरीर नाशवान हो । यही नाशवान शरीर सुन्दर देखाउन चित्त लगाएपछि चित्त कुरुप हुने नै भयो । अस्ट्रेलियामा भेटेका योग गुरुहरु हुनुको कारण पनि सोही रहेछ । मैले बुझिहालें ।
मैले उनीहरुलाई शुद्ध आकाशतर्फ हेर्न आग्रह गरें ।

डाक्टर हरेक दिन कति बिरामीमा चित्त लगाउँछन् ? त्यसैले डाक्टरहरुको चित्त पनि अशुद्ध हुन्छ । दुनियाँमा सबैभन्दा अशुद्ध चित्त हुनेहरु डाक्टर र प्रहरी हुन् । दिनैपिच्छे बिरामी र अपराधीलाई भेट्ने कत्तिको शुद्ध होलान् र ? यी दुवै पेशामा लागेकाले ध्यान गर्न जरुरी छ । वास्तविकता पनि अनौठो छ । अधिकांश डाक्टर लामो आयु बाँच्दैनन् । किनकी डाक्टरको वरिपरिको वातावरण खराब छ । हृदयको बिरामी समीपमा बस्ने डाक्टर हृदयकै रोगी हुन्छन् ।

मैले भन्ने खोजेको योगासन र योग फरक हो । अहिले जस्तो बुझाई विकास भइरहेको छ, यसले अर्को पुस्तामा योग भनेको योगासन मात्र हो भन्ने सन्देश पुर्याउँछ । म विश्व भ्रमण गरेको छु, विभिन्न जाति, धर्म, भूगोलको मान्छेलाई भेटेको छु । मलाई मान्छे योगले भेटाएको छ । त्यसैले म भन्न सक्छु कि मान्छेलाई मान्छेसँग जोडाउने माध्यम योग हो ।

मैले धेरै देशको सरकार प्रमुखलाई भेटेको छु । उनीहरु देशभित्र जाति, धर्म, भेषका आधारमा द्वन्द्व देख्न चाहन्नन् । म उनीहरुलाई द्वन्द्व अन्त्य भएको देख्न चाहने कुनै तरिका सोध्छु । उनीहरु अनुत्तरित रहन्छन् । अनि म जवाफ दिन्छु, “ध्यान गर्नुस् । शरीरको विकार कम हुन्छ । सारा झगडा समाप्त हुन्छ ।” वास्तवमा सबै झगडा शरीरका कारण हो । शरीर भएका कारण जात, भाषा, धर्म, राज्य, सीमा सिर्जना भएको हो । शरीरभाव कम भएमात्र यी झमेला शान्त हुन्छन् ।

यसको एकमात्र उपाय ध्यान योग हो । सबैले आफूलाई आफू एक पवित्र र शुद्ध आत्मा सोच क्लेश अन्त्य हुन्छ, आफूसँग र अरुसँगको क्लेश ।

यसको अर्थ योगले चित्तको आवृत्ति हटाउँछ भन्न खोज्नुभयो ?
पक्कै पनि हो । तर, योग भनेको योगासन मात्र होइन । यसको सन्देश विश्वभरि पुर्याउन म लागिपरेको छु । योगका आठ अंगमध्ये अघिल्ला चार प्राथमिक अंग हुन् । र, समाधि अन्तिम अंग हो । जस्तै, माध्यमिक शिक्षा हासिल गर्न प्राथमिक शिक्षा पढेको हुनुपर्छ । र, प्राथमिक शिक्षाले मात्र केही उपलब्धि हुँदैन । योगमा पछिल्ला अंग पनि उस्तै हुन् । योगासन गरे मात्र योग हुँदैन । ध्यान पनि गर्नुपर्छ ।

म योगासनको विरोधमा छैन, योगासन पनि गर्नुपर्छ । तर, जसरी योगको सन्देश गइरहेको छ, त्यो सकारात्मक छैन । तपाईं ध्यान गर्दा शरीरले सबैभन्दा पहिले विरोध गर्दछ । किनकी शरीरलाई एकाग्र हुने बानी छैन । योगासनले शरीरमाथि नियन्त्रण गर्छ, ध्यान गर्न सहायता गर्दछ ।

तपाईंले सिकाउने गरेको ‘समर्पण मेडिटेसन’ के हो ?

समर्पण एक संस्कार हो । यो पद्धति होइन । मैले जैन मुनिहरुको एउटा शिविर लिएको थिएँ । जसमा उनीहरु तल्लीन रहे । र, शिविर सकेपछि उनीहरुले मलाई ध्यानका तीन पद्धतिबारे सोधे । त्राटक (एकाग्रता), भस्त्रीका प्राणायाम र श्वासप्रश्वासको उपयोग नगरी ध्यान गरेको उनीहरुले अनुभव सुनाए । ‘बिनापद्धति अरुलाई ध्यान कसरी सिकाउने ?’ उनीहरुले प्रश्न गरे । मैले भने, ‘यो ध्यानको पद्धति होइन, संस्कार हो ।’

गुरुका साथमा भएको ज्ञान गुरुले मलाई संक्रमित गरिदिनुभयो । अर्थात् ममा सो ज्ञान प्राप्त भयो । यो पद्धतिलाई समरस भनिन्छ । एकलव्य ऋषि द्रोणाचार्यसँग धनुर्विद्या सिक्न जाँदा द्रोणाचार्यले सिकाएनन् । त्यसो भएपछि एकलव्यले द्रोणाचार्यको प्रतिमा बनाए र उनीप्रति समर्पित भए । यसरी एकलव्यलाई पनि समरस प्राप्त भयो ।
मलाई कसैले संस्कृतका विद्वान भने । म आश्चर्यचकित भएँ । मैले उनलाई हिमालयमा गुरुप्रति आफू समर्पित भएपछि ज्ञान प्राप्त गरेको सुनाएँ । हामीबीच ज्ञानको लेनदेन पनि भएन । किनकी लेनदेन शरीरमा हुन्छ, आत्मामा हुँदैन ।

विज्ञान प्रयोगशालामा अंग्रेजी अक्षर यू आकारको ट्युबमा जसरी एकातिर पानी राख्दा अर्कोतिर सिफ्ट हुन्छ, गुरु–शिष्य परम्परामा पनि गुरुको ज्ञान शिष्यमा समरस हुन्छ । यो जेजति ज्ञान प्राप्तिका कुरा छन्, नैसर्गिक हुन् । झरनाको मुनि गएर बस्दा झरनाले भेदभाव गर्दैन । बाहिर बसेर झरनाको पानीले नुहाउन सकिँदैन । गुरु–शिष्यको सम्बन्ध पनि त्यस्तै हो । गुरुको समीपमा गएर विद्याको भिख माग्नुपर्दैन, आफैं प्राप्त हुन्छ ।

समर्पण ध्यानको संस्कार पनि पद्धति होइन, यस्तै किसिमको संस्कार हो ।
 
मानव जगत र विश्वशान्तिको कुरालाई कसरी लिनुहुन्छ ?

यी सबै भारी शब्दमात्र हुन्, जसको समाधान छैन । हामीले विश्वशान्तिको अर्थलाई गलत बुझेका छौं । मैले ध्यान गरेको छु, मेरो वरिपरि २५ फिटको मेरो ‘औरा’ कायम छ । यो २५ फिटको विश्व मेरो निजी विश्व हो । जहाँ गएपनि मेरो साथसाथ जान्छ । छायाले अँधेरोमा साथ छाडेपनि यो औराले छोड्दैन । मैले विभिन्न धर्म समुदायलाई ध्यान सिकाउँछु । सिंहको मुखमा हात राख्दछु । मलाई केही क्षति हुँदैन । म जहाँ रहेपनि मेरो आसपासको वातावरण एकै रहन्छ ।

विश्वको अर्थ निजी विश्व हो । म निजी विश्व बनाउन सक्छु भने, तपाईं किन बनाउन सक्नुहुन्न ? ३० मिनेट ध्यान गर्नुस्, भइहाल्छ । वातावरण खराब हुनेहरुले ध्यान गर्न झनै जरुरी छ । ध्यान गरेपछि निजी विश्वशान्ति प्राप्त हुन्छ । त्यसपछि तपाईंलाई आम गतिविधिले कुनै प्रभाव पार्दैन । दुर्घटनामा पर्नुहुन्न, आत्महत्या गर्नुहुन्न ।
पन्छीको जन्म दुईवटा हुन्छ । एउटा अण्डाको क्रममा र अर्को बच्चा कोरलिने क्रममा । मान्छेको पनि त्यसरी नै दुई जन्म हुन्छ । एउटा आमाको कोखबाट शरीरको जन्म, अर्को गुरुबाट ज्ञान पाएपछि आत्माको जन्म ।

भर्खरै नेपाल पर्यटन बोर्डबाट तपाईंलाई गुडविल एम्बास्डर घोषणा गरिएको छ । कस्तो महसुस भइरहेको छ ? 

मेरो आत्माको जन्म नेपालमा भएको हो । त्यसैले मलाई नेपालका लागि केही गर्न मन थियो ।  मैले गुडविल एम्बास्डरको रुपमा स्वेच्छिक योगदान गरेको हुँ । नेपालले मलाई यस्तो बनाए, नेपाल मेरो गुरु हुन् । मलाई चाहना छ नेपालको लागि केही सेवा गरुँ । म पछिल्लो २५ वर्षदेखि नेपाललाई योगदान गर्न चाहिरहेको थिएँ । तर, मलाई त्यो प्लेटफर्म मिलेन ।

जब पछिल्लो वर्ष नेपाल आउँदा उनीहरुले म नेपाललाई सहयोग गर्न तयार भएको थाहा पाए, मलाई गुडविल एम्बास्डर बनाइयो । म अपेक्षा बोकेर यहाँ कार्यक्रम गर्न आएको थिइनँ ।

अब आउने दिनमा नेपाललाई कसरी सहयोग गर्न चाहनुहुन्छ ?

नेपालले मलाई जसरी उपयोग गर्न चाहन्छ, म तयार छु । तर, म कुनै आर्थिक लाभ बुटल्न चाहन्नँ । म नेपालका लागि होइन, म गुरुको लागि गर्दैछु । यही देशले मेरो गुरुलाई ४ वर्ष साधना गर्ने मौका दिएको थियो । मैले गुरुकार्य सम्झेर सहयोग गरेको हुँ । मैले गराउने साधना ‘समर्पण ध्यान’ विश्वभरि निःशुल्क छ । जसरी भगवानको प्रसाद निःशुल्क हुन्छ, यो ध्यान पनि निःशुल्क छ ।
आउने सेप्टेम्बरमा म फेरि नेपाल आउँदै छु । नेपाल अन्तर्राष्ट्रिय संस्थासँग जोडिँदै छ । संसारभर रहेका नेपाली एक हुनेछन् ।

नेपाल अध्यात्मिक पर्यटनको हब बन्न सक्ला त ?

किन सक्दैन ? मैले यहाँ आएर अध्यात्म सिक्न सक्छु भने, अरुले किन सक्दैनन् । यसका लागि नेपालले केही गर्नुपर्छ । नेपालमा आध्यात्मिक शिविर सञ्चालन गर्न जरुरी छ । आध्यात्मका पूर्वाधार विकास गर्नुपर्छ । ठूलो ध्यान गर्ने केन्द्र निर्माण गर्नुपर्छ । २०२० लाई भिजिट वर्ष घोषणा गर्दैमा पर्यटक कसरी आउँछन् ?
योजना बनाउनुपर्छ, प्रचारप्रसार गर्नुपर्छ, पूर्वाधार विकास गर्नुपर्छ । यहाँ युवाको संख्या धेरै छ । परिचालन गर्नुपर्छ ।

अन्त्यमा, ध्यान गर्न के गर्नुपर्छ ?

ध्यान गर्दा केही अपेक्षा राख्नु हँुदैन । दैनिक ३० मिनेट ध्यान गर्नुपर्छ । ४५ दिनमा धेरै कुरा सिक्न सकिन्छ, पैसा खर्च जरुरी छैन । ध्यान लागे पनि नलागे पनि ध्यान गर्नुपर्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २७, २०७६  ०६:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC